बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वन्यजन्तुको संरक्षणबाट पछि हट्ने हैन

वन्यजन्तुको संरक्षणबाट पछि हट्ने हैन


  • Dhorpatan News
  • फाल्गुन १९ २०८१, सोमबार

बाघको आक्रमणबाट नागरिकहरुको मृत्यु हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले बढी बाघ आवश्यक नभएको प्रतिक्रिया दिएका दिए । केही समयअघि उनले भनेका थिए,‘मान्छे खुवाएर बाघ पाल्ल सकिँदैन ।’
अहिले नेपालमा ३५५ वटा बाघ छन् । सन् २००९ मा यो संख्या १२१ थियो । २०१० मा भएको पिटसवर्ग सम्मलेनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने घोषणा गरेको थियो । सोही अभियानअन्तर्गत नेपालमा बाघको संख्या बढेको हो । यो ठूलै उपलब्धि हो तर पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेपछि चाहिँ प्रधानमन्त्रीले बाघको बढी संख्या आवश्यक नभएको प्रतिक्रिया दिएका हुन् । उनको भनाइलाई कार्यान्वयन गर्ने÷नगर्ने अर्को कुरा हो । यस्तो अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनुहुन्थ्यो वा हुँदैनथ्यो भन्नेतर्फ पनि नजाऊँ ।
बरु भारतीय प्रधानमन्त्रीको कुरा सुनौँ । विश्व वन्यजन्तु दिवसकै अवसर पारेर सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले भने जंगल सफारी गरेका छन् । उनले बाघ संरक्षणमा प्राप्त उपलब्धिमाथि गर्व गर्दै संरक्षणमा आदिवासी र खासगरी महिलाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
बाघ संरक्षित जनावरको सूचीमा छ । संसारको यो सुन्दर प्राणिलाई बचाउँदा मानवको कल्याण नै हुन्छ । त्यसो त, यो धर्तीमा रहेका सबैजसो जीवजन्तु,चराचुरुङ्गीले बाँच्न पाउनुपर्छ । तर,चोरी सिकारी, बासस्थानको अतिक्रमण, प्रदूषणजस्ता कारणले गर्दा जनावरहरुको संख्या दिनानुदिन घट्दै गएको छ । कतिपय लोप भएका छन् भने केही लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपालको वन तथा वातावरण मन्त्रालयले कालो र सेतो गरुढ,सारस,चीर, डाँफे,मुनाल,खर मुजूर र सानो मुजूर र राजधनेशलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । हाब्रे, हुँडार, जंगलीयाक, चिरु, नायन, अर्ना, गौरीगाई, बाह्रसिंगा, कस्तुरी मृग, गैंडा, हात्ती, हिउँचितुवा, बाघ, ध्वाँसे चितुवा, लिंक्स, चरीबाघ, हिमाली खैरो भालु, ब्वाँसोहरु संरक्षितको सूचीमा छन् । घस्रने जातका जन्तुहरु अजिङ्गर, घडियाल गोहीसुन गोहोरो पनि संरक्षित नै हुन् । यी जनावरलाई मार्न पाइँदैन । दुःख दिँदा पनि सहेर बस्नुपर्ने र कथंकदाचित भगाउन खोज्दा मारिए उल्टो सजाय भोग्नुपर्ने अवस्था छ । राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र वरपरका जनताहरु यो कारणले बढी पीडित हुने गरेका छन् । जंगली हात्ती, गैंडाको आक्रमणबाट नागरिकको ज्यान जाने उपक्रम घटेको छैन । पछिल्लो समय बाघ र चितुवाको आक्रमण पनि ब्यापक बनेको छ । पहाडी भेगमा चितुवाले मान्छेलाई आक्रमण गर्न थालेको छ ।
हालसालै वन तथा वातावरण मन्त्रालयले रातो बाँदर र जंगली बँदेललाई पनि हानिकारक जनावरको सूचीमा समावेश गरेको छ । हानिकारक जनावरको सूचीमा संलग्न जनावर धपाउने क्रममा मारिए सजाय हुँदैन । किसानहरु यो व्यवस्था सकारात्मक भए पनि राहतको व्यवस्था नहुँदा भने सास्ती उस्तै रहेको बताउँछन् । बाँदर र बँदेलले निकुञ्ज वरपरको क्षेत्रका किसानलाई दुःख दिँदै आएका छन् । मानिसमाथि आक्रमण हुन थालेपछि, खेतीबालीमा नोक्सानी पुगेपछि त्यस्ता वन्यजन्तुहरुलाई मानुपर्ने आवाज उठ्न थालेको छ । तर, मानव बस्ती पस्नुमा वन्यजन्तुमात्र दोषी छैनन् । यसमा मानिसको ठूलो भूमिका रहेको छ । उनीहरुको आवास क्षेत्र नष्ट गरिदिने, आहारासमेत मानिसले नै खाइदिने अनि उनीहरु हिँड्ने परम्परागत बाटो छेक्नेजस्ता कारणले वन्यजन्तुहरु रुष्ट बनेका हुन् । उनीहरुलाई वनमै रहने वातावरण निर्माण गर्ने हो भने अहिले देखिएको मानव–वन्यजन्तु द्वन्द्व स्वतः हल हुन्छ । बर्दिया र चितवन राष्ट्रिय निकुञ्जल आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापननिम्ति रणनीतिक योजनासहित काम गरिरहेका छन् । यो रणनीतिलाई अझ परिमार्जन गर्दै कार्यन्वयनमा ल्याउनुपर्छ । सकेसम्म उनीहरुलाई वनमै रहने र कथंकदाचित मानव बस्ती पसे लखेट्ने वा नियन्त्रणमा लिने काम गरिनुपर्छ । बाली क्षतिको जुन कुरा छ, सकेसम्म क्षति हुनै नदिने र भए त्यसको क्षतिपूर्तिको प्रबन्ध गरिनुपर्छ । भएका वन्यजन्तु नै मारेर समस्याको समाधान हुँदैन । बरु, त्यसले अर्को विपत्ति निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->