बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेताहरु सच्चिऊन्, राजावादीहरु नउक्सिऊन्

नेताहरु सच्चिऊन्, राजावादीहरु नउक्सिऊन्

पूर्वराजा स्वयंले पनि पुनः शक्ति आर्जनको रहर छाडेर नागरिकसरह जीवन जिउँदा नै कल्याण हुन्छ भन्ने बुझ्नुपर्छ । गलत नियत भएका मान्छेले उक्साउँदैमा महत्वाकांक्षी हुँदा अनिष्ट निम्तन्छ भन्ने हेक्का राख्नुपर्छ ।


  • Dhorpatan News
  • फाल्गुन २५ २०८१, आइतबार

पूर्वराजा ज्ञानेन्द्र नेपालको पूर्वी क्षेत्रको भ्रमणपछि माघ २७ गते पोखरा आए । यहाँका सुविधासम्पन्न होटलमा बस्ने क्रममा उनले मठ-मन्दिर घुमे,शुभेच्छुकहरुसँग भेटघाट गरे । पोखरा १० मा रहेको आफ्ना दाजुको शालिक अनावरण गरे । शाह वंशको कुलदेवता मानिने आलमदेवी मन्दिरको दर्शनसमेत गरेका पूर्वराजाले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टिमात्र जनाएनन्, आफू सक्रिय रहने सन्देश पनि प्रवाहित गरे । राजाको अभिव्यक्तिप्रति राजनीतिक दलहरुले कडा प्रतिक्रिया जनाए तर पूर्वराजा र उनका समर्थकहरु रोकिएनन् । राजाको समर्थनमा जयजयकार गरिरहे । उनीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति राजतन्त्र फर्काउनको लागि अनुकूल रहेको र त्यसका लागि देशमा आन्दोलन गर्ने उद्घोष गरे ।

त्यसको सुरुवात पनि पोखराबाटै गरियो । पूर्वराजा आइतबार पोखराबाट काठमाडौं फर्कने कार्यक्रम तय भयो । त्यसको अघिल्लो दिन उनले शुभेच्छुकहरुलाई रात्रिभोजसमेत दिए । राजाले रात्रिभोजसमेत दिएपछि समर्थकहरु उत्साहित नबन्ने कुरै भएन । आइतबार पूर्वराजाको बिदाइको क्रममा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका व्यक्तिहरुले शक्ति प्रदर्शन गरे । उता, काठमाडौंमा पनि पूर्वराजाको स्वागतको लागि भन्दै व्यापक तयारी गरियो । राजावादीहरुले विमानस्थलदेखि निर्मल निवाससम्म नै जुलुस प्रदर्शन गरे । त्यो उपक्रममा एकातिर पूर्वराजा र अर्कोतिर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीरसमेत प्रदर्शन गरियो ।

राजावादीहरु सल्बलाएपछि देशका प्रधानमन्त्रीदेखि गणतन्त्रवादी प्रमुख राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका छन् । राजावादीहरुले लोकतन्त्रमाथि प्रहार गर्न थालेको र अराजतकता निम्त्याउन उद्यत रहेको उनीहरुको भनाइ छ । हेर्दा त्यस्तै देखिन्छ । जनताको ठूलो आन्दोलनको बलमा देशमा गणतन्त्र आएको हो । गणतन्त्र ल्याउनुमा जनतामात्र नभएर तत्कालीन राजा ज्ञानेन्द्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । यसमानेमा कि, उनले दमनको सिद्धान्त अंगिकार गरे । दलहरुलाई निषेध गरे अनि नागरिक अधिकार खोसे । पूर्वराजा ज्ञानेन्द्र जनताबाट अस्वीकृत व्यक्ति हुन् । राजतन्त्र फर्काउनु भनेको जनताको छोरा देशको सर्वोच्च पदमा पुग्ने बाटो बन्द गर्नु र अधिनायवादी शासन ल्याउनु नै हो । नेपाली जनतालाई यो स्वीकार्य हुँदैन । हो, यतिबेला जनतामा असन्तुष्टि देखिएको छ । दुई ठूला दल मिलेर बनेको सरकारले पनि जनआकांक्षा पूरा गर्न सकेको छैन । तर, लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । सच्चिनुपर्ने र जनआकांक्षा पूरा गर्दै सुशासनको प्रत्याभूत गराउनुपर्ने दायित्व चाहिँ दलहरुले पूरा गर्नुपर्छ । अहिलेको असन्तुष्टि त्यत्तिकै हराउँछ । २–४ हजार मान्छे भेला गराउँदैमा, सडकमा होहल्ला गर्दैमा राजतन्त्र आइहाल्दैन ।

बरु, यस्ता अराजक गतिविधिहरुलाई मलजल गर्ने अभिव्यक्ति दिनबाट दलका नेताहरु बच्नुपर्छ । लोकतन्त्र नचाहने आन्तरिक र बाह्य शक्तिकेन्द्रको चलखेलको रोक्नको लागि उनीहरु सच्चिनुपर्छ । राजनीतिक दलहरु सच्चिए राजावादीहरु आफैं चुप लाग्न बाध्य हुन्छन् । अपितु, कानून हातमा लिन खोज्दा र अराजकतातर्फ उद्यत हुँदा चाहिँ ती प्रवृत्तिमाथि अंकुश लगाउनैपर्छ । पूर्वराजा स्वयंले पनि पुनः शक्ति आर्जनको रहर छाडेर नागरिकसरह जीवन जिउँदा नै कल्याण हुन्छ भन्ने बुझ्नुपर्छ । गलत नियत भएका मान्छेले उक्साउँदैमा महत्वाकांक्षी हुँदा अनिष्ट निम्तन्छ भन्ने हेक्का राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->