गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरिएको विषयले प्रवेश पायो । प्रदेशसभा राष्ट्रिय राजनीतिक घटनाक्रमबाट निरपेक्ष रहन सक्दैन । जनप्रतिनिधिले त्यो विषय उठान गर्नु स्वभाविक थियो । सरकारले गरेका सबै कामलाई सही भन्नुपर्छ भन्ने पनि छैन । सभासद हरि भण्डारीले फरक मत राखे । कालो चस्मा लगाएर सांकेतिक विरोध गरे । त्यो विषय टुंगिएको थियो । तर, त्यसको एक घण्टापछि एमालेबाट सदनमा प्रतिनिधित्व गर्ने सभासद गोविन्द नेपालीले नियमापत्ति जनाए । नियमापत्ति जनाउनु उनको अधिकार हो तर त्यसको पनि समय हुन्थ्यो । सदनको परम्परा अनुरुप तत्काल गर्नुपर्ने त्यो कृत्य ढिला हुन पुग्यो । त्यतिमात्र नभएर उनले बोल्दै नबोलेको शब्दलाई रेकर्डबाट हटाउनुपर्ने माग गरे । यी यावत कृत्यहरुमा राजनीतिक गन्ध बढी थियो भने यथार्थको टाढा थियो । यो कुरा सभामुखले महसुस गरे । बुधबार सभासद नेपालीको अभिव्यक्तिको पुनः आलोचना भयो । त्यसलाई संसदको रेकर्डबाट हटाउने माग भयो । नबोलेको कुरामाथि गरिएको टिप्पणी गर्नु सुहाउने विषय थिएन । यो विषयको सभामुखले नै निरुपण गर्लान् तर यो घटनाले सांसदहरु कत्तिको जिम्मेवार अनि आफ्नो सीमाप्रति सचेत छन् भन्ने चाहिँ प्रष्ट पारेको छ ।
सभासदहरु नीति निर्माता मात्र नभएर जनताकै आवाज मुखरित गर्ने अधिकारप्राप्त व्यक्ति हुन् । सार्वभौम अधिकार प्रत्यायोजन गरिएका सभासदबाट जनताले आफ्ना भावनाहरु मुखरित भएको हेर्न चाहन्छन् । उनीहरु चुक्दा÷गलत कृत्य हुँदा जनता चुक्चुकाउँछन् । आफूले चुनेका प्रतिनिधि राम्रा होऊन् भन्ने अपेक्षा उनीहरुको अधिकार हो । त्यसो त संविधानले नै सभासदहरुको काम, कर्तव्य र अधिकार निर्धारण गरिदिएको छ । त्यो अधिकारको समुचित प्रयोगबाट नै पदको गरिमा कायम हुन्छ । विधिको शासन स्थापित हुन्छ । अतः सभासदहरु विधिसम्मत रुपले चल्नुपर्छ । सदनको मर्यादा ख्याल गर्नुपर्छ, आफ्ना सीमाहरुबारे अवगत हुनुपर्छ र सामाजिक परीक्षणमा पनि खरो उत्रनु पर्छ । व्यक्तिगत आचरण, नैतिकता र पारदर्शिता त छँदैछ ! सदनमा दिने प्रस्तुति र उठान गर्ने विषयप्रति सभासदहरुले विशेष ख्याल पु¥याउनुपर्छ । किनकि, सदन पाँडेगाली गर्ने, मनगढन्ते विषय उठान गर्ने तथा आलोचनामा समय खर्चने थलो हैन । त्यो नीति निर्माण गर्ने, जनआवाज मुखरित गर्ने तथा उनीहरुकै हितका निम्ति कार्यपालिकालाई निर्देश गर्ने ठाउँ हो । ती विषयहरुकै सेरोफेरोमा रहेर प्रस्तुत हुँदा पनि सभासदले सदनको मर्यादालाई ख्याल गर्नैपर्छ । आफ्नो सीमा कति हो भन्ने मनन गर्नैपर्छ ।




