ज्ञानेन्द्र शाह जनताबाट त्यक्त तथा मानवीय व्यवहार प्राप्त व्यक्ति हुन् । पूर्वराजाको रुपमा राज्यले उनलाई बासदेखि सुरक्षासम्मको प्रबन्ध गरिदिएको छ । राष्ट्रप्रमुखको रुपमा रहँदा उनीबाट भएको दमन तथा मानव अधिकार उल्लंघनको फेहरिस्त लामो छ । राजाबाट नागरिक बनेपछि उनी चुप लाग्लान्, परिवर्तनलाई स्वीकार गर्दै बाँकी जीवन बिताउलान् भन्ने आम नागरिकको अपेक्षा थियो । तर, उनले त्यसो गरेनन् । पुनः राजगद्दीको चाह राख्दै अराजक र आपराधिक मानशिकताका मान्छेहरुलाई उचाले । जसको परिणामस्वरुप शुक्रबार संघीय राजधानी काठमाडौं अशान्त बन्यो । दुर्गा प्रसाई ंजस्तो आपराधिक मानसिकताका व्यक्तिबाट निर्देशित भिडले एकजना संचारकर्मीको हत्या गर्यो । संचारगृह र संचारकर्मीमाथि आक्रमण गर्यो । व्यक्तिका सम्पत्ति, सरकारी उद्योगमा आगो झोस्यो । लुटपाट गर्यो । हदैसम्मको अराजकता र आपराधिक कार्यमा संलग्नहरुलाई कारवाही गर्ने सरकारले प्रतिवद्धता जनाएको छ । उनीहरुमाथि कडा कारवाही हुनैपर्छ । राजवादीहरुले अपराधको सजाय भोग्नैपर्छ ।
र, सबैभन्दा ठूलो सजाय चाहिँ यस्तो आपराधिक घटनाका सूत्रधार ज्ञानेन्द्र शाहमाथि नै गरिनुपर्छ । किनकि, यो घटनाको पृष्टभूमिमा उनै ज्ञानेन्द्रका अभिव्यक्ति, उक्साहट र प्रत्यक्ष सहयोग रहेको लुकेको छैन । राजनीतिक दलहरुप्रति जनतामा बढ्दो असन्तोषकै बीच ज्ञानेन्द्र शाह सल्बलाए । पोखराबाट उनले आफूलाई साथ दिन आग्रह गरे । त्यो आग्रहसँगै अराजक समूहलाई निर्मल निवास बोलाएर हत्या, लुटपाट र आगजनीमा उत्रन निर्देशन दिए । त्यही निर्देशन शिरोपर गर्दै दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी कुँदाउने चेष्टा गरे । त्यसपछिका घटनाहरु चर्चा गर्न लायक छैनन् । अहिले जे भएको छ, पूर्वराजा ज्ञानेन्द्रकै कारण भएको छ । उनी यो दोषबाट मुक्त हुन पाउँदैनन् । उनलाई उन्मुक्ति दिन पनि मिल्दैन । सरकारले उनीमाथि कारवाहीको दण्डा चलाउनैपर्छ । त्यसका अलावा सम्भावित बितण्डाप्रति पनि उत्तिकै सचेत बन्दै संकटको यो घडीमा गणतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउने काममा पनि सरकारले अग्रसरता देखाउनुपर्छ । यो जनताको बलिदानीबाट ल्याइएको गणतन्त्रतात्मक व्यवस्था हो । व्यवस्थामाथि धावा बोल्नेहरुलाई तह लगाउन अब कुनै कसर बाँकी राखिनुहुँदैन ।




