नेपाली कांग्रेस–एमाले सम्मिलित शक्तिशाली सरकारले जनआकांक्षा पूरा गर्न नसकेको सत्य हो तर सरकारलाई सही बाटोमा हिँडाउने एवं गणतान्त्रिक व्यवस्थालाई मजबुत बनाउने दायित्व लोकतन्त्रवादी दलहरुकै काँधमा थियो । पछिल्लो समय चाहिँ गणतन्त्रका सूत्रधार मानिएका दलहरुको रवैया आफैमा ठीक थिएन । फरक कित्तामा उभिनु बहुदलीय व्यवस्थाको सुन्दरता र चरित्र हो तर उनीहरुको मानशिकता प्रष्ट थिएन । जनताको बढ्दो निराशा संवोधन गर्न चुकिरहेका दलहरु एकअर्कालाई दोषारोपणमात्र गरिरहेका थिएनन्,कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणाली र संविधान संशोधनजस्ता मुद्दाहरु उरालिरहेका थिए । चरम दक्षिणपन्थीहरुले उचाल्दै आएको हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनाको मुद्दालाई चिर्नुको साँटो ती दलका नेताहरुबाट लोकरिझ्याइँवादको दौरा समात्दै अगाडि बढ्ने धृष्टता पनि प्रदर्शन भएको थियो । जुन आफैमा नाजायज र हीन मानशिकताको पराकाष्ठा थियो । जब, गणतन्त्र ल्याउने प्रमुख दलहरु नै हीनभावले ग्रष्त भए, दक्षिणपन्थीहरु सल्बलाउन सुरु गरे ।
चैत १५ गते राजावादीहरु सडकमा उत्रँदा देशका गणतन्त्र ल्याउन प्रमुख भूमिका खेल्ने प्रमुख राजनीतिक दलहरु दन्तबझानमा व्यस्त थिए । नेपाली कांग्रेस र माओवादीले सत्ता साझेदारी गरेसँगै सत्ताबाट बाहिरिएको माओवादी केन्द्र आफैं सडकबाट यो सरकार अनि गतिविधिहरुको आलोचना गरिरहेको थियो । प्रमुख प्रतिपक्षी दलको नाताले सरकारलाई खबरदारी गर्नु माओवादी केन्द्रको कर्तव्य र दायित्व दुवै हो । तर, त्यो उपक्रममा उसले जनतामा देखिएको पछिल्लो असन्तुष्टिको कारक कोही नभएर अहिलेको सरकारमात्रै हो भन्ने तर्क गर्दै अप्रत्यक्ष रुपमा सरकारको विरोध गर्ने दक्षिणपन्थीहरुलाई पनि उक्साउने काम गरेको थियो । पछिल्लो समय उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य साना दलहरुको रवैया पनि उस्तै थियो । यो बीचमा मुख्य दलहरुले लोकतन्त्र रहेमात्र आफ्नो अस्तित्व रहन्छ भन्ने भुलेकै हुन् । कांग्रेसभित्र धर्मभीरुहरु सल्बलाउनु, एमालेभित्र निराशा बढ्दै जानुले राजावादीहरु हौसिए र सडकमा आए ।
राजावादीको मक्सद भनेको लोकतन्त्रको चीरहरण नै हो । उनीहरुको हिंश्रक प्रदर्शनपछि गणतन्त्रवादीहरु एकै ठाउँमा उभिने वातावरण बनेको छ । उनीहरुको उदण्डता रोक्ने हिम्मत र वातावरण राज्यले मिलाउनुपर्छ । फरक विचार राख्ने स्वतन्त्रता संविधानले प्रत्याभूत गरेको छ भन्दैमा पछाडि फर्कने र एकदलीय शासनको पक्षपोषण गर्नेहरुको उदण्डता सहनुपर्छ भन्ने छैन । उनीहरुका हिंश्रक गतिविधि राज्यबाटै नियन्त्रणमा लिनुपर्छ । र, यो उपपक्रममा मुख्य दलहरु आफै पनि विचारमा प्रष्ट हुनुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुनसक्छ । लोकतन्त्र रहेमात्र, प्रतिस्पर्धा गर्न पाइन्छ । जनताको छोरा देशको सर्वोच्च पदमा पुग्ने वातावरण बन्छ भन्ने दलहरुले भुल्नु हुँदैन । लोकरिझ्याइँवादको पछि लाग्दा,लोकतन्त्र खतरामा पर्छ । आफूलाई वर्तमान व्यवस्थाको मसिहा ठान्ने दलहरुले यो कुरा हेक्का राखून् । आफ्नै कारणले अहिलेको परिस्थिति आउनुमा आफ्ना गतिविधि पनि कारक हो भन्ने दलहरुले स्वीकारुन् ।




