विक्रमाब्द २०८१ को सुरुतिरै देशका दुई ठूला तथा प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भयो । दुई दलले देशमा स्थायित्व,सुशासन र समृद्धि प्रदान गर्न तथा संविधान संशोधनका निम्ति यस्तो सहकार्य गरिएको बताए । सहकार्यले प्रधानमन्त्री केपी ओली बलिया भए तर ठूला दलको सहकार्यले पनि आम नागरिकमा व्याप्त निराशा र असन्तोषको संवोधन गर्न चाहिँ सकेन । विदेशी मुद्राको संचिति बढे पनि आन्तरिक अर्थतन्त्रमा खासै सुधार भएन । नागरिमा देखिएको निराशा र असन्तुष्टिको पारो घटेन । झण्डै दुई तिहाइको सरकारलाई रचनात्मक काममा लाग्न खबरदारी गर्ने काम प्रतिपक्षबाट पनि हुन सकेन । आशा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने स्वयं सहकारी ठगी प्रकरणमा मुछिएपछि यो दल पनि रचनात्मक प्रतिपक्षको भूमिका निभाउबाट चुक्यो । बरु,लोकरिझ्याइँवादलाई हतियार बनाउँदै उदाएको रास्वपाको सुस्ततापछि एकाएक दक्षिणपन्थी शक्तिहरुको चलखेल बढ्यो । पूर्वराजा ज्ञानेन्द्र शाहले गएको फागुन ७ गते ‘अब आफूलाई साथ दिन’ आह्वान गरेपछि त परिस्थिति यति बिग्रियो कि,त्यसकै जगमा यही चैत १५ गते काठमाडौंमा विध्वंशात्मक गतिविधि भए । हिंसाको मनोवृत्ति बोकेका तथाकथित अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा भएको आपराधिक गतिविधिका घाउहरु अझै ओभाएका छैनन् । घटनापछि भारत पसेका दुर्गा पक्राउ परेका छन् । उनीमाथि न्यायिक अनुसन्धान सुरु भएको छ । तर, त्यसपछि पनि राजतन्त्र फर्काउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य केही समूह सडकमा निस्कन छाडेका छैनन् । बगेको खोला फर्कँदैन । जनताको ठूलो संघर्ष र बलिदानीबाट आएको गणतन्त्रको रक्षा जनताले नै गर्छन् र आउँदो वर्ष जनता यो कामको लागि बढी नै तल्लीन हुनुपर्ने आवश्यकता अहिले खड्किएको छ ।
गणतन्त्र ल्याउन लडेका दलहरुले राजवादीको प्रदर्शनपछि गणतन्त्रको पक्षमा ऐक्यवद्धता जाहेर गरेका छन् । यो खुसीको कुरा हो तर, अहिलेको असन्तुष्टि संवोधन भएन भने अराजक समूहहरु अझै सल्बलाउँछन् भन्ने तथ्यप्रति अझै नजरअन्दाज गरिरहनु चाहिँ दुर्भाग्यपूर्ण देखिएको छ । जनतामा देखिएको असन्तुष्टि र निराशा कामले मात्र दूर गर्न सकिन्छ । यतिबेला जनतालाई परिणाममुखी काम चाहिएको छ । सुशासन उनीहरुको पहिलो माग हो । सुशासन कायम गर्नु सरकारमा रहेका मुख्य राजनीतिक दलको दायित्व हो । यो दायित्व निभाउनप्रति उनीहरु संवेदनशील देखिएका छैनन् । देशमा घटित विभिन्न भष्टाचारका काण्डमा सत्ताधारी र सत्ताकै वरपरका मान्छेहरु संलग्न भएको आरोप लागिरहँदा उनीहरुमाथि छानबिन भएको छैन । उनीहरुले निराश जनताको मनोभाव बुझेका छैनन् वा बुझ्न खोजेका छैनन् भनेजस्तो देखिएको छ । यतिबेला सत्ता नेतृत्व गरेको दल सडकमा ओर्लिएको छ । लाग्छ, सत्ताधारी दल वर्तमानमा देखिएको संकटलाई विषयान्तर गर्न खोज्दैछन्, राजावादी वा अराजक समूहलाई देखाएर सत्तामा टिक्ने प्रयत्न गर्दैछन् । सत्तामा बस्ने दलसँग संगठन बिस्तार गर्ने अधिकार छ तर सडकमा आएर पाखुरा सुर्केको सुहाउँदैन । उसको दायित्व कामले जवाफ दिनु हो । जनताका अगाडि गरिएका प्रतिवद्धता पूरा गर्नु नै हो । त्यसो गर्दामात्र लोकतन्त्र बलियो बन्छ । दक्षिणपन्थीहरुको मुख आफै बन्द हुन्छ ।




