शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

के ढोरपाटनमा शिकारका लागि पर्याप्त छन् नाउर र झारल ?

के ढोरपाटनमा शिकारका लागि पर्याप्त छन् नाउर र झारल ?


  • जीवन भण्डारी
  • बैशाख १३ २०८२, शनिबार

ढोरपाटन शिकार आरक्ष गण्डकी प्रदेशको बागलुङ, म्यादी र लुम्बिनी प्रदेशको रुकुम पुर्वमा फैलिएको छ । यसको क्षेत्रफल १३२५ वर्ग कि.मी. निर्धारण गरिएको छ । कुल भू–भागको ६०% पुर्वि रुकुम, २६% बाग्लुङ र १४% म्यादीले ओगटेको छ । चुरेन हिमालबाट सुरु भई धौलागिरी हिमालको चुचुरो, टक, यम्खार गाउँ हुँदै कुल्टा भञ्ज्याङसम्म । उत्तरमा कुल्टा भञ्ज्याङ , सुनदह हुँदै जङ्ला भञ्ज्याङ, पुथा र चुरेन हिमालसम्म र दक्षिणमा भाल्ने डाँडा हुँदै कुचिवाङ खोलाको मुहानसम्म आरक्षले चार किल्ला मान्दै आएको छ ।

जैविक विविधता, सांस्कृतिक, धार्मिक महत्वका स्थानहरुको संरक्षण साथै प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भूदृष्य साथै दुर्लभ वनस्पति र वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन गरि पर्या पर्यटनको विकास गर्ने हेतुले वि.स. २०३९ चैत्र २८ मा स्थापना भइ वि.स. २०४४ बैशाख १४ को राजपत्र भाग ३ खण्ड ३७ संख्या २ मा सूचना प्रकाशित भई ढोरपाटन शिकार आरक्षको घोषणा गरिएको हो । यो नेपालको एकमात्र शिकार आरक्ष हो । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी बन्यजन्तुहरु पाइन्छन् । हाब्रे (रेड पाण्डा), हिँमचितुवा, कस्तुरी मृग, थार, नाउर, झारल, हिमाली कालो भालु, ब्वासो, मुसे खरायो, स्याल, बाँदर, लङ्गुर, बनेल, रतुवा आदी जनावरहरु पाइन्छन् । दुर्लभ एवम संरक्षित डाँफे, मुनाल, चिर साथै काडेँभ्याकुर, हिँउकुखुरा, काग, चिल लगाएतका १६४ प्रजातिका पंक्षीहरु पाइन्छन् । आरक्षमा नाउर, झारल, बँदेल, रतुवासंगै केही पंक्षीको शिकार गर्न सकिन्छ ।

राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हरेक ५ वर्षमा गणना गरी वार्षिक कोटा निर्धारण गर्दछ । विभिन्न चरणका प्रक्रियाहरु पुरा गरि स्वदेशी तथा विदेशी पेशेवर शिकारीहरुले शिकार गर्न पाउने व्यवस्था छ । शिकारका लागि २१ दिनको समय दिई पुरक र सामान्य शिकार अनुज्ञापत्र जारी गरिन्छ । हालसम्म नेपाल ट्राभल एण्ड एक्सपिडिसन, ग्लोबल सफारी, हिमालयन वाइल्डलाइफ आउटफिर्टस, हिमालयन सफारिज, ट्रयाक एण्ड ट्रेल्स, नेपाल वाइल्डलाइफ एडभेन्चर, नेपाल वाइल्डलाईफ सफारी र ओपन नेपाल वाइल्डलाईफ सफारी गरी ८ वटा कम्पनीहरु बैधानिक रुपमा शिकार गर्न संलग्न हुँदै आएका छन् ।

आरक्षमा सुर्तिवाङ, फागुने, बार्से, घुस्टुङ, सुनदह, डोगाडी र सेङ गरि ७ वटा ब्लकहरु छुट्टाइएका छन् । बार्से ब्लग म्यादीमा पर्दछ । सुर्तिवाङ र फागुने बागलुङमा पर्दछ भने बाँकी ४ ब्लक पुर्वी रुकुममा पर्दछ ।

वन्यजन्तु शिकारको विगत र वर्तमान
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ढोरपाटन शिकार आरक्ष कार्यालय ढोरपाटनको अनुसार वि.स. २०४७ बाट शिकार गर्न थालिएको हो ।

आरक्षमा वि.स.२०८१/८२ को पहिलो सिजन सकिँदासम्म नाउर, झारल, रतुवा र बँदेल गरी ४ सय ९ वटाको शिकार गरिएको छ । जुन तथ्याङ्क वि.स. २०६७ पछिको मात्र हो । वि.स. २०५५ देखि वि.स. २०६४ सम्म राजनैतिक द्धन्दका कारण ९ वर्ष शिकार पुर्ण रुपमा बन्द थियो ।

अवकाश प्राप्त शिकार आरक्ष कर्मचारी जंगबहादुर अदैको अनुसार, वि. सं. २०५९ को चैत्र अन्तिम साता ८÷९ जनाको समूहमा आएका माओवादीहरुले शिकार आरक्षको कार्यालयका सबै कागजातहरु जलाई दिए । बाइनोकुलर, टेलिस्कोप लगाएतका सरसामान जफत गरी लगे । आरक्षमा कार्यरत कर्मचारीहरु त्रासले बस्न सकेनन् । सदरमुकाम बस्न थाले ।

तत्कालिन विद्रोही माओवादीले आरक्ष मुख्यालय पाखाँथरमा रहेको सम्पुर्ण कागाजात जलाई दिएकाले वि.स २०६७ अघि के कति शिकार भएको थियो त्यो तथ्याङ्क उपलब्ध छैन ।

वि.स. २०४७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३६ वटा नाउर र १६ वटा झारल शिकार गर्न अनुमति दिएको देखिन्छ । विगत हेर्दा वि.स. २०५५ सम्म ८ वर्ष नियमित शिकार भएको देखिन्छ । शिकारको कोटा अहिलेभन्दा बढी हुने गरेको देखिन्छ । के अनुमान गर्न सकिन्छ भने तत्कालिन समयमा अहिले गरिने शिकारभन्दा बढी शिकार भएको हुनसक्छ । आरक्ष स्थापना भएदेखि द्धन्दकाल बाहेक आजको दिनसम्म २४ वर्ष शिकार भएको देखिन्छ । तथ्याङ्क नभएको अवस्थामा के कति जंगली जनावरहरु शिकार भए अनुमान लगाउन मात्रै सकिन्छ ।

अहिलेसम्म बैधानिक रुपमा गरिएको शिकार संख्या

स्रोतः नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन शिकार आरक्ष ।

शिकारका लागि छुट्टाइएका ब्लकमा गरिएको शिकारको विवरण हेर्दा नाउर २५७, झारल १२७, रतुवा २० र बँदेल ५ वटा शिकार गरिएका छन् । जसमध्ये सबैभन्दा धैरै दोगाडी ब्लकमा नाउर ६५, झारल २०, झारल सबैभन्दा धेरै फागुने ब्लकमा ३५, नाउर ३४ र रतुवा ८ शिकार गरिएका छन् । म्यादी खण्डको बार्सेमा नाउर २९ र ५ रतुवाको शिकार गरिएको छ । सबैभन्दा कम शिकार गरिएको ब्लग सुर्तिवाङ हो । जसमा २ झारलको शिकार गरिएको छ । बनेलको शिकार सबै फागुनेमा गरिएको छ ।

शिकारका लागि विश्वभरका धनाढ्य पेसेवर शिकारी खेलाडीहरु आउने गर्छन् । शिकार खेल्न आउनेमा धेरै युरोपका छन् । जसमा रसिया, स्पेन, फ्रान्स, जर्मनी, बेलारुस, बुल्गेरिया, लातभियाका छन् । अमेरिकन, मेक्सिकन, अष्ट्रेलियन, उजेकिस्तानका नागरिकले शिकार गरेका छन् ।

शिकार आरक्षमा सबैभन्दा धेरै नाउरको शिकार गरिन्छ । त्यसपछि झारल । नाउर ३ हजार मिटर माथिको पाटनमा समुहमा बस्ने भएकाले गणना गर्न सकिन्छ भने अन्य जनावरको गणना गर्न नसकिएको अवस्था छ । अर्थात् गणना गरिएको छैन ।

शिकार आरक्षमा नाउर संख्या

स्रोतः नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन शिकार आरक्ष ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ढोरपाटन शिकार आरक्ष कार्यालय अनुसार, वि.स.२०३३ को गणनामा नाउरको संख्या १ हजार ४ सय ६०, झुण्ड १ सय ३२, घनत्व (प्रति कि.मी. औसतमा) २.०९ थियो । सबैभन्दा बढी नाउर वि.स. २०७३ मा २ हजार २ सय २ झुण्ड ८३ र घनत्व ४.२२ सबैभन्दा कम वि.स. २०६४ मा ८ सय ५२, झुण्ड ७३ र घनत्व १.४५ वि.स.२०७९ मा नाउर १ हजार २ सय ९० झुण्ड ७९, घनत्व २.२ देखिन्छ ।

वि.स. २०६४ को गणनामा नाउरको संख्या ८५२ मात्रै गणना भएको देखिन्छ । तत्कालिन विद्रोही माओवादीको आधार इलाका भएकाले चोरी शिकार भएर घटेको हुनसक्छ । तर वि.स. २०६८ मा १६४८ र बि.स. २०७३ को गणनामा २ हजार २ सय २ नाउरको गणना गरिएको छ । त्यस्तै वि.स. २०६९ मा १ हजार २ सय ९० मात्रै गणना गरिएको देखिन्छ । ०७३–०७९ बिचको ६ वर्षको अबधिमा ९ सय १२ नाउरको कमी देखिन्छ । ति नाउरहरु कता गए त ? हरेक ५ वर्षमा हुने गणनामा नाउरको संख्यामा तलमाथी देखिन्छ । यि आँकडा हेर्दा गणना गर्ने निकाय र शिकार आरक्ष उपर आशंका उत्पन्न हुन्छ । तथ्याङ्कको आँकडा चित्तबुझ्दो छैन् । शिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको अवस्थामा जंगली जनावरको संख्यामा बृद्धि हुनुपर्नेमा उल्टो घट्दो छ । जुन चिन्ताको विषय हो । के कति कारणले नाउरको संख्यामा उतारचढाप देखिएको हो कारण खोज्नुपर्ने हुन्छ ।

यसरी बर्षेनी अबोध जंगली जनावरहरु ट्रफि हन्टिङको लागि मारिनु के उचित हो त ? भलै नेपालले शिकार खेलाएबापत राम्रै अर्थोपार्जन त गरेको छ । तर हरेक ५ वर्षमा हुने गणनामा नाउरको संख्या घट्दो क्रममा देखिन्छ । कतै आगामी दिनमा लोप भई जाने त होइनन् ? यस विषयमा कहिंकतै प्रश्न उठेको सुनिदैन । के बैधानिक रुपमा शिकार खेलाएर मात्रै नाउर लगाएतका जनावरको संख्यामा गिरावट आएको हो त ? कि गणनामा त्रुटी भएको हो ? कि आरक्षमा ब्वासा, हिमचितुवाको संख्या बढेकाले अन्य जनावर घटेका हुन् ? कि आरक्षमा चोरी शिकारी भएको त छैन ? कैयन प्रश्नहरु छन् सम्बन्धित निकाय सामु । पक्कै पनि सरोकारवाला निकायको ध्यान पुग्ने छ कुनै दिन ।

शिकार आरक्षमा चोरी शिकारी भैरहेको छैन भन्न सकिन्न । बेलाबेलामा चोरी शिकार हुने गरेका घटना सुन्नमा आईरहेको हुन्छ । एउटा उदाहरण जोड्न चाहे – वि.स. २०८१ मंसिर २ मा चोरी शिकार गर्दै गरेका म्यादी जिल्ला धौलागिरी गा.पा. गुर्जाखानीका पे्रम छन्त्याल, पहलमान छन्त्याल र सुमन छन्त्याललाई भरुवा बन्दुक, पासो, नाउरको मासुसहित बार्से ब्लकको मनसुन मेलाबाट पक्राउ गरिएको भन्ने समाचार देशका मुलधारका मिडियाहरुले प्राथमिकताका साथ स्थान दिएका थिए । यो त एउटा प्रतिनिधी घटना मात्रै हो । आरक्ष क्षेत्रमा यस्ता चोरी शिकारी कैयन हुने गरेको पाईन्छ, जुन बाहिर नआईकनै सेलाउने गर्छ । सरसर्ती हेर्दा त्यो घटनाले पुष्टी गर्छ कि मनसुन मेला ३ हजार ५ सय मिटर माथिको क्षेत्र हो । त्यहाँ कुनै सुराकी बिना आरक्ष कर्मचारी र सेना जानसक्ने सम्भावना नै छैन । कहिलेकाहीँ नेपाली सेना गस्ती गर्न तल्लो एरियामा जाने गर्दछन् ।

गत वर्ष आरक्ष भित्रका मैले केही ब्लकहरु अवलोकन गरेको थिए । त्यहाँ देखिएको केही घटनाहरु चोरी शिकारसँग सम्बन्धित थिए जुन यहाँ जोड्दा सान्र्दभिक नै होला । फागुने ब्लग पार गरि घुस्टुङ ब्लक भित्रको ठाकुर भन्ने ठाउँमा केही गोठहरु थिए । स्थानीय सँगको गफगाफमा नाउर झारल सम्बन्धि मेरो जिज्ञासामा स्थानीय कालु बुढा भन्दै थिए– “दशै लागेसँगै बुकी सुनसान भयो, हिजो राती ९ बजेतिर सिकारीले पाँच राउन्ड बन्दुक फाईरिङ गरे मुर्चुला देउराली वरपर हुनुपर्छ । रातका रात हान्छन् शिकारीहरु ।”

जुन क्षेत्र आरक्ष कर्मचारी सजिलै पुग्न सक्दैनन् । ठाकुरमै भेटिएका थिए शिकार आरक्ष पेल्मा पोष्टमा कार्यरत सिनियर गेम स्काउटका एक कर्मचारी । सरकारी कर्मचारी भएकाले उनको नाम यहाँ उल्लेख गर्न मैले चाहिन । उनी भन्दै थिए– “सबैभन्दा बढी झारल चोरी शिकार हुने घुस्तुङ ब्लगमा हो । चोरी शिकारीहरुको गिरोह नै सक्रिय छ । चिनेर पनि केही गर्न नसकिने अवस्था छ । यस्तो जंगलको बाटो एक्लै हिंड्नुपर्छ । ज्यानको मायाले गर्दा केही बोल्नै नसकिने रैछ । डर छ हजुर । पाखाथरमा भएका सैनिकहरु कहिलेकाही गस्तीमा आउँछन्–जान्छन् । उनीहरु मुलबाटो भएर हिंड्छन् ।”

ज्यानको माया कसलाई पो नहोस् ? ति कर्मचारीको कुरा गम्भिर थियो । ति सरकारी कर्मचारीलाई चोरी शिकारीलाई पक्राउ गर्न नसकेकोमा हिनताबोध थिएन बरु ज्यान बचाउन पाएकोमा खुशी देखिन्थे । ति कर्मचारी जुन चोरी शिकार हुने जंगल क्षेत्रमा सुरक्षार्थ खटिएका सेनाहरु नपुग्ने गुनासो पोख्थे ।

वि.स. २०७३ देखी शिकार आरक्ष सुरक्षार्थ सेनाको एक गुल्म तैनाथ छ । सेनाको गुल्म मुख्यालय पाखाथरमा छ । निसेलढोर, उत्तरगंगा देउराली र गुर्जाघाट (म्यादी), सुरक्षा पोस्ट खडा गरिएका छन् । जुन शिकार आरक्षको तल्लो क्षेत्र हो । सबैभन्दा धेरै आरक्ष भू–भाग रहेको पुर्वि रुकुमको पुपाल, स्याङखोला, जाङ्ला, पेल्मा र म्याग्दी खण्डको उच्च भू–भाग जुन ठाँउमा आवश्यकता छ त्यहाँ सुरक्षा पोस्ट राखिएको छैन ।

त्यस्तै गुर्जाखानी रेञ्जपोस्ट, देउराली रेञ्जपोस्ट, गुर्जाघाट पोष्ट, पेल्मा पोष्ट, दुले पोष्ट, निसेलधोर पोष्ट र तकसेरा सेक्टर कार्यालय खडा गरिएको छ । तर, ति कार्यालयहरुमा पर्याप्त कर्मचारीहरु भेटिदैनन् । राज्यले पनि आवश्यक जनशक्ति खटाउन नसकेको अवस्था छ । अर्को कुरा असुबिधाका कारण कर्मचारीहरु खटाईएको ठाउँमा बस्न सक्ने अवस्था छैन ।

शिकार आरक्ष स्थापना कालदेखिनै आरक्षमा कार्यरत जो गणनामा पटक पटक सहभागि भएका थिए । हाल अवकाश प्राप्त ति कर्मचारीहरु सँगको छलफलमा स्यामलाल मगर (परिवर्तित नाम) भन्छन्– “हाम्रो पालामा गणना गर्ने प्रबिधीको विकास भएको थिएन । बाइनोकुलरको सहायताले हेरेर गणना गर्नुपथ्र्याे । प्रत्येक ब्लकमा छुट्टाछुट्टै गिन्ती हुन्थ्यो । सबै ब्लकको गणना सकेपछि हाकिमहरुले माथि पठाउँथे । कुनै कुनै ठाँउमा जान सकिदैनथ्यो, अनुमानको भरमा पनि नाउरको संख्या टिपाईएको हुन्थ्यो ।”

हिजोआज प्रविधिले फड्को मारिसकेको अवस्था छ । ढोरपाटन शिकार आरक्षको सातै ब्लकमा नाउर गणनामा त्रुटी हुँदैन होला । कतै ति स्यामलाल मगरले भनेझै अनुमानको भरमा नाउरको नम्बर माथि चढाईएको त छैन ? ट्रफि हन्टिङको लागि आउने ति शिकारी खेलाडीहरुको लागि शिकार गर्न दिदै गर्दा कतै ढोरपाटनका बुकी फाँट, खगरमा डुल्ने नाउर अनि चिमली र भुजिपातको झाडीमा लुक्ने झारल लोप भई जाने त होईनन् ?

अन्त्यमा शिकार गरेबापत संकलन हुने राजस्व, आन्तरिक तथा बाह्य पर्यटकहरुबाट संकलित राजस्व, प्राकृतिक स्रोत साधनको प्रयोगबाट संकलित आरक्षको समग्र आम्दानीको खर्च गर्ने निकाय नहुँदा शिकार आरक्षको आम्दानी ढोरपाटनभित्रै खर्च गर्न नसकिएको अवस्था छ । आरक्षको सम्पतिबाट आएको राजस्वको केही अंश ढोरपाटनको विकास निर्माण कार्यमा लगानी गर्न पाउनु पर्छ । सम्बधित निकायमा ध्यान कहिले पुग्ला ? ढोरपाटनबासी जनताले जोगाएर राखेको सम्पतिबाट आएको राजस्व ढोरबासीको जनजीवन सुधारका लागि प्रयोग गर्न कहिले पाइएला ?
(लेखक भण्डारी ढोरपाटन नगरपालिका ६ निवासी हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->