शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कलमको सन्देश

कलमको सन्देश


  • याम बहादुर थापा मगर
  • बैशाख २० २०८२, शनिबार

कलम कहिल्यै बन्दुक थिएन,
तर इतिहासमा यसको असर बारुद भन्दा गहिरो थियो।
जसले सामन्ती महल हल्लायो,
तानाशाहीको पर्दा च्यात्यो,
र जनता बोल्न सिके-कलमको छायाँमा।

विश्व प्रेस स्वतन्त्रता दिवस
स्मरण हो,
कि सत्य लेख्ने अधिकार जन्म सिद्ध होइन,
संघर्षले पाएको उपहार हो।
जनताको आवाज बन्ने प्रेस
केवल समाचारको प्रवाह होइन,
यो चेतनाको पुल हो,
जहाँ जनताले आफ्नो अनुहार देख्न सक्छन्।

इतिहासका पानामा प्रेसले चिच्यायो ।
जब जनतामाथि गोली चलाइयो।
प्रेस बोल्यो
जब संसदमा सौदाबाजी भयो।
तर बोल्दा-बोल्दै घाँटी थिचियो,
कहिल्यै जेल, कहिल्यै गाली, कहिल्यै बहिष्कार भयो।

आज, २०२५ मा ।
सूचना डिजिटल प्रविधिमा छ,

कृत्रिम बौद्धिकतामा भुलेको छ ।
तर विचारहरू अझै बार बन्धनमा छन्।
छलफलको ठाउँमा आक्रोश बढेको छ,
र सत्यको सट्टा सनसनी बिक्दैछ।
प्रेस स्वतन्त्र देखिए पनि,
अदृश्य शृङ्खलाले बाँधिएको छ ।
विज्ञापन, राजनीतिक दबाब र सामाजिक धाकको सन्दर्भमा।

भोलिको चुनौती केवल सेन्सर होइन,
एआईले बनाएको गलत तथ्य,
अल्गोरिदमको प्राथमिकता,
र पाठक कै धैर्य हराउने डर हो।

तर समाधान छ ।
जब प्रेस आत्मा खोज्छ,
निष्पक्षताको ऐना समाउँछ,
र समाजको सेवक बन्ने प्रण गर्छ।
शिक्षित पाठक, निडर सम्पादक,
र विवेकी पाठशालाको निर्माण
यी नै पत्रकारिताको नयाँ मुहार बन्न सक्छन्।

आजको दिन
एक सकारात्मक संकल्प गरौं,
प्रेसलाई फेरि जनताको साथी बनाऔं,
सत्यको कसम खाऔं,
र लोकतन्त्रको मेरुदण्ड बलियो बनाऔं।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->