शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुद्ध जयन्ती र बौद्ध दर्शनबारे एक परिचर्चा

बुद्ध जयन्ती र बौद्ध दर्शनबारे एक परिचर्चा


  • डा. नरनाथ पाण्डे
  • बैशाख २९ २०८२, सोमबार

पृष्ठभूमि
२५८७ औं बुद्ध जयन्ती पर्व यसवर्ष वैशाख शुक्ल पूर्णिमाका दिन वैशाख २९ गते नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमहरूका साथ भगवान्को रुपमा पुजिएका नेपाली सपूत गौतम बुद्धको स्मरण गरी मनाइँदै छ । नेपालको प्राचीन कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् तरपनि उनलाई भगवान भनेर पुज्ने गरिन्छ र हिन्दु धर्ममा त उनलाई विष्णुका अवतार भनेर मानिन्छ । यस्ता दार्शनिक व्यक्तित्व जसले जीवित छँदै आफूलाई भगवान् नमान्न, नभन्न र पछि पनि त्यसो नगर्न सुझाएका थिए तर उनी संसारबाट बिदा भएपछि भने भगवान् भनी पुजिन थाले । उनको दर्शनबाट प्रभावित संसारको ठुलो समुदायले अहिले पनि बुद्ध धर्म नै मानिरहेका छन् । बुद्ध दर्शन किन यति धेरै लोकप्रिय भयो र दार्शनिक व्यक्तिलाई किन भगवान भनियो भन्ने प्रश्नमा उनले विश्वमा नयाँ विचार र क्रान्ति ल्याएका थिए त्यो पनि ज्ञानका माध्यमबाट । त्यतिबेला धर्मका नाममा हुने बेथितिबाट फरक धारको विचार उनले प्रतिपादन गरेका थिए जुन अहिले पनि उत्तिकै लोकप्रिय छ । बुद्ध आफैंले संसारमा कुनै भगवान् नै छैनन् र भगवान्का नाममा गरिने अनेक कार्यहरू वाहियात हुन् भन्ने गर्दथे र उनले कर्ममा मात्र विश्वास गर्दथे । उनका उपदेश र सिद्धान्तमा यस्तै विचार पाइने हुँदा उनलाई नास्तिक दर्शनका व्याख्याता मानिन्छ । साथै उनले गरेका काम, उनले दिएका उपदेश र संसारलाई देखाएको उज्यालोका कारण लाईट अफ एशियाका नामले पनि उनलाई चिनिन्छ । बुद्ध जयन्तीका दिन प्रस्तुत भएको यस आलेखमा बुद्धले प्रतिपादन गरेका सिद्धान्तमा के छ र उनको जीवनी कस्तो थियो भन्नेबारेमा समेत उल्लेख गरिएको छ । आशा छ, विभिन्न अध्ययन अनुसन्धानकर्ता, बौद्ध धर्म र बौद्ध दर्शनसँग सम्बन्धित पाठकहरूलाई यसबाट पक्कै फाइदा पुग्ने नै छ ।

पूर्वीय दर्शनका अनुसार हिन्दू र चार्बाक दर्शनको बीचबाट अघि बढ्न खोजेको बौद्ध दर्शन गौतम बुद्धको उपदेशबाट प्रादुर्भाव भएको हो । तत्कालिन समयमा व्याप्त अन्धविश्वास तथा रुढिहरूको विरोधमा यो दर्शन आएको थियो । विशेष गरी त्यसबेला कर्मकाण्डमा हिंसाको विभत्स तान्त्रिक साधनको नामले नरवली दिने र पुरोहितको अहङ्कारको बीचमा गौतम बुद्धको अहिंसा, विनय, दया र करुणामा आधारित सिद्धान्त जनताहरूका लागि अमृत बराबर भएको थियो । ई.पू. ५६३ मा (आधिकारिक जन्ममिति) लुम्बिनीमा जन्मेका २४ औं पुस्ताका शाक्यमुनि बुद्ध वा राजकुमार सिद्धार्थ २९ वर्षको उमेरमा दरबार परित्याग गरी (महाभिनिष्क्रमण) बाहिर निस्केर करीब ६ वर्षको तपस्या पछि ३५ वर्षको उमेरमा बोधि ज्ञान (४ वटा ज्ञान– पूर्वानुस्मृति, दिव्यचक्षु ज्ञान, प्रतीत्यसमुत्पादक र सर्वज्ञाता) प्राप्त गरेपछि बुद्ध बने र बुद्ध दर्शनको रुपमा उनका उपदेशहरू आएका हुन् । वृद्ध, रोगी, सन्यासी र मृत्यु भएका मानिस देखेर (चतुरनिमित्त) दुखित भई दुःखबाट मुक्त हुन तपस्या गर्ने क्रममा गौतम बुद्धले ज्ञानको खोजी गरे । यस दर्शनले ४ आर्य सत्य र ८ मार्गहरूको साधना गर्नाले अज्ञानता नष्ट भई पूर्ण शान्ति (निर्वाण) प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्दै ८ मार्गको अनुसरण गर्न निर्देश (देशना) गर्दछ ।

बुद्धको निजी जीवनबारे
बुद्ध मायादेवीका कोखबाट जन्मेका हुन् । विभिन्न ग्रन्थहरूमा बुद्ध जङ्गलमा जन्मेको कुरा चर्चामा आएको छ । पहिलो सन्तान मामाघरमा जन्माउनुपर्छ भन्ने तत्कालिन मान्यता अनुसार मायादेवी माइत जाने क्रममा बाटोमा नै सुत्केरी व्यथा लाग्दा लुम्बिनीको बगैंचामा बुद्ध जन्मिएका हुन् भन्ने किम्बदन्ती पाइन्छ । बुद्ध जन्मेको ७ दिनपछि नै आमा मायादेवीको मृत्यु भएको थियो । असिद नामक सन्यासीले यो बालक भविष्यमा सन्यासी (बुद्ध) बन्छ र बुद्ध नबनेमा चक्रवर्ती राजा हुन्छ भनेर भविष्यवाणी गरेका थिए । यस्तो भविष्यवाणी भएपछि बुद्धका पिता राजा शुद्धोदनले छोरा सन्यासी हुनसक्छ भनेर डराई सम्पूर्ण राजसी व्यवस्था दरबारभित्रै मिलाएका थिए । उनलाई बढी मनोरञ्जन र विलासिताको जीवन बिताउन लगाएका थिए, ताकि कहिल्यै पनि बुद्धको विचार सन्यासी तर्फ नजाओस् भनेर सबै व्यवस्था मिलाएका थिए । बुद्ध राजा नै बनोस् भनी रम्य, सुरम्य र सुरभ नामका ३ वटै ऋतुको आभास मिल्ने गरी र भोग विलासका सम्पूर्ण व्यवस्था दरबारभित्रै मिलाइएको थियो । यसैक्रममा उनको छिटो विवाह गरी पारिवारिक जिम्मेवारी प्रदान गर्ने उद्धेश्यले देवदहकि राजकुमारी गोपा (उनलाई पछि यशोधरा वा भद्रकाव्यायिनी भनेर पनि चिनिन्छ) सँग १६ वर्षकै उमेरमा विवाह गराइयो ।

कुनै एकदिन बाटोमा घुम्न निस्केको बेला बुद्धलेचतुरनिमित (४ वटा दुःख— रोगी, वृद्ध, सन्यासी र मृत) देखे । संसारमा यस्तो दुःख पनि हुँदो रहेछ भनेर उनले पहिलो पटक थाहा पाए । यो कुराले उनको मनमा अशान्ति पैदा ग¥यो । मानिस दुःखी छ र दुःख हटाउने उपाय के होला भन्ने कुराले उनको मनमस्तिष्कमा हानिरह्यो । यही क्रममा उनी २९ वर्षका भैसकेका थिए र उनको छोराको समेत जन्म भयो । दुःखको कारण हटाउने उपाय खोजी गर्ने क्रममा आफ्नो अवरोधको रुपमा छोरा आएकोले यो राहु हो र यसको नाम राहुल राख्नुपर्छ भनी नामाकरण गरेका थिए । जे होस् गौतम बुद्धलाई कुनैपनि राजसी सुख सयल, सुविधा, घरपरिवार, श्रीमती बच्चा जस्ता आदि कुनैपनि कुराले उनको विचारलाई रोक्न सकेनन् र अन्ततः उनी २९ वर्षको उमेरमा दरबार परित्याग गरी ज्ञानको खोजीमा निस्किए ।

बुद्धको ज्ञान प्राप्तिको रोचक सन्दर्भ
दरबार परित्याग गरेर निस्किएपछि बुद्ध आलर काराम र उद्क रामाक्रुद गुरुसँगको सम्पर्कमा गए र ६ वर्षसम्म कठोर तपस्या गरे । उनीसँगै ५ जना विद्धान पनि तपस्यारत थिए । पछि बुद्धले खाना नखाई यसरी शरीर सुकाएर कमजोर मनमस्तिष्कले कुनै ज्ञान प्राप्त नहुने निचोड निकाली मध्यममार्ग अपनाउने विचार गरे । त्यही दिन सुजाता नामक कन्याको हातबाट ४९ गाँस खिर खाए र बोधीवृक्षमुनि घाँसमा पलेटी कसी तपस्या गरिरहेको बखत उनलाई सोही दिन ज्ञान प्राप्त भयो । खिर खाएकै दिन राती ३५ वर्षको उमेरमा ४ प्रहरमा उनलाई ४ वटा ज्ञान प्राप्त भएका थिए । ती ज्ञानहरू पूर्वानुस्मृति, दिव्यचक्षु ज्ञान, प्रतीत्यसमुत्पादक र सर्वज्ञाता ज्ञान हुन् । ज्ञान प्राप्त भइसकेपछि पनि बुद्ध ४ सप्ताहसम्म त्यही बोधीवृक्षमा नै रहेका थिए । संयोगको रुपमा बुद्धका जीवनमा भएका कुनैपनि महत्वपूर्ण घटनाहरू (जन्म, ज्ञानप्राप्ति, निर्वाण आदि) वैशाख शुक्ल पूर्णिमाका दिन नै भएका थिए ।

यसरी अद्भूत ज्ञान प्राप्त भएपछि अरुलाई यो ज्ञान कसरी दिने, ज्ञान ग्रहण गर्ने क्षमतावान मानिस छन् छैनन् भनी मनमा कुरा खेलिरहेको अवस्थामा उनलाई ब्रह्मादी देवताले परामर्श गरेको कुरा पनि त्रिपिटकमा पाइन्छ । यो ज्ञान कसले ग्रहण गर्न सक्ला भनी ध्यानदृष्टिले हेर्दा गुरु लगायत अन्य विद्धानको मृत्यु भैसकेको कुरा थाहा पाएपछि ५ जना आफूसँगै तपस्यारत अन्य व्यक्तिलाई पहिलो ज्ञान दिने विचार गरे । ती ५ जना व्यक्ति पनि सारनाथ गएको थाहा पाएपछि हिंड्दै जाँदा बाटोमा भेटिएका तपस्वु र भल्लुक नामक २ जना व्यापारीलाई सातु खुवाई उनीहरूलाई नै पहिलो पटक शिष्यका रुपमा ज्ञान दिएका थिए । बनारस पुगेपछि देशना (प्रथम धर्मचक्र प्रवर्धन ज्ञान) ५ जनालाई प्रतीत्यसमुत्पादकको सिद्धान्तको ज्ञान दिए । जसमा ४ आर्यसत्य सम्बन्धी कुराहरू थिए । यसैगरी गयामा गई शिष्यहरू बनाए र उनको ज्ञानको प्रचार विश्वभर तीब्र रुपमा हुनथाल्यो ।आफ्नो जीवनभर यसरी बुद्ध संसारभर गएको देखिन्छ ।

बौद्ध दर्शनमा के छ ?
बौद्ध दर्शनले मुख्य प्रकाशमा ल्याएको सिद्धान्त ४ आर्यसत्य र दुःख निवारण गर्ने ८ मार्गहरू नै ज्ञानका प्रमुख सिद्धान्त हुन् । यसरी बौद्ध दर्शनमा उल्लेख गरिएका ४ आर्य सत्यहरू (चतुर आर्यसत्य) र दुःख निवारण गर्ने यी ८ मार्गहरू यसप्रकार छन् ।
१. संसारमा दुःख छः जरामरण, शोक, विछोड आदिका कारण यस संसारमा दुःख छ र दुःखबाट कोही पनि अछुतो छैन ।
२. दुःखका कारणहरू छन्ः दुःखका कारणलाई काम, भव र विभव भनी वर्गीकरण गरिएको छ । काम भन्नाले—मिठो खाने, भव भन्नाले—फेरि जन्म लिने र विभव भन्नाले—धन सम्पत्ति तृष्णाका कारण आर्जन गर्ने जस्ता कुराहरू नै दुःखका कारण हुन् । यही विभव कारणलाई नै प्रतीत्यसमुत्पादक÷कार्य कारण सिद्धान्त भनिन्छ ।
३. दुःख नाश गर्न सकिन्छः यसका लागि तृष्णालाई स्थान नै नदिएर दुःख हटाउन सकिन्छ भन्ने यस दर्शनको मूलभाव रहेको पाइन्छ ।
४. दुःख निवारण गर्ने उपायहरू छन्ः अष्टाङ्गमार्ग मार्फत दुःखलाई निवारण गर्न पनि सकिन्छ भन्नु यस दर्शनको अर्को सिद्धान्त हो ।
दुःख निवारण गर्ने ८ मार्गहरूभनी बुद्ध दर्शनमा वर्णन गरिएको छ, जुन यसप्रकार छन्–
१. सम्यक दृष्टि
२. सम्यक सङ्कल्प
३. सम्यक वचन÷वाक
४. सम्यक कर्म÷कर्मान्त
५. सम्यक जीवन÷आजिविका
६. सम्यक व्यायाम
७. सम्यक विचार÷स्मृति
८. सम्यक समाधि

यो दर्शन नास्तिक हुँदाहुँदै पनि आत्माको अस्तित्व मानेको र पुनर्जन्म पनि हुन्छ भनी मानेको छ । आत्मा निरन्तर परिवर्तनशील छ र पुनर्जन्म परिवर्तनबाट हुन्छ भन्नेकुरा यस दर्शनमा पाइन्छ । यसलाई प्रतीत्यसमुत्पाद (एउटा वस्तुमा आश्रित भएर अर्को वस्तुको उत्पत्ति हुनु) पनि भनिन्छ । यस दर्शनले साङ्सारिक बन्धनलाई भवचक्र (साङ्सारिक चक्र) का रुपमा व्याख्या गरेको र मुक्ति पाउनुलाई निर्वाण प्राप्ति गर्नु भन्दछ ।

बौद्ध दर्शनको आलोचना
बौद्ध दर्शन भित्र पनि बिस्तारै विभिन्न खालका अन्य विचारहरू राख्ने व्यक्तिहरू देखापरे, जसले आ—आफ्ना विचारहरू प्रस्तुत गरी बौद्ध दर्शनलाई परिमार्जन गर्ने काम पनि गरे । बौद्ध दर्शनका सम्बन्धमा आएका महत्वपूर्ण केही विशेषताहरू जुन कुनै आलोचनात्मक प्रकारका पनि छन् ती यसप्रकार छन्–
१. विवादहरूप्रति उदासिनताः बुद्ध आफ्ना सिद्धान्तप्रति देखापर्ने वादविवाद भन्दा टाढै रहने, कुनै उत्तर नदिने र विवादमा फस्न नचाहने भएकोले उनलाई बुद्धिवादी थिएनन् भन्न सकिन्छ ।
२. निराशावादः संसार दुःखमय छ र यसबाट निर्वाण प्राप्त गर्नुपर्ने कुरा भन्ने हुँदा उनको सिद्धान्त निराशावादी भएको मान्न सकिन्छ ।
३. यथार्थवादः बुद्धले ईश्वरलाई नमान्ने र जीवनको यथार्थ उपदेश दिनेहुँदा उनका सिद्धान्त यथार्थवादी छन् ।
४. व्यवहारवादः चार आर्यसत्यमा आधारित बुद्धका उपदेशहरू व्यवहारवादी छन् ।
बौद्ध धर्म सम्बन्धी विभिन्न ग्रन्थ र साहित्यहरू प्रकाशित छन् । ती सबै बुद्धका उपदेशहरूको सङ्गालोबाट विकसित हुँदै आएका हुन् ।बौद्धदर्शनका मुख्य तीनवटा ग्रन्थहरू आधिकारिक ग्रन्थ हुन् जसलाई पिटक (पेटिका) वा त्रिपिटक पनि भनिन्छ । ती हुन्–
१. सुत्तपिटकः बौद्ध भिक्षुहरूको पहिलो सङ्गीति (सम्मेलन) बाट बुद्धको निर्माणकालमा नै बुद्धका पट्टशिक्ष आनन्दद्धारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरू रहेका छन् ।
२. विनयपिटकः उपालिको सहयोगमा तयार गरिएको यस पिटकमा आचार सम्बन्धी ग्रन्थहरूपर्दछन् ।
३. अभिधम्मपिटकः यसमा दार्शनिक विचारहरूको सङ्ग्रह रहेको छ ।

पछिल्लो समय बौद्ध धर्ममा पनि धार्मिक मतभेदका कारण २ वटा सम्प्रदायहरू देखापरेका छन् । ती हुन्—
१. हीनयान (घेरावाद÷धर्मको प्राचीन रुप): यस सम्प्रदायको मुख्य थलो दक्षिण भारत, श्रीलङ्का, बर्मा र थाइल्याण्ड हुन् भने ती स्थानमा बुद्ध धर्मको बढी प्रभाव परेको छ । वैभाषिक र सौत्रान्तिकवाद पनि यही सम्प्रदाय अन्तर्गत पर्दछन् ।
२. महायान (प्राचीन बौद्ध धर्म भन्दा फरक, बुद्धलाई अवतार मान्ने र मिश्रित खालको विचार): तिब्बत, चीन, कोरिया र जापानमा बौद्ध धर्मको बढी प्रभाव परेको पाइन्छ । शुन्यवाद र विज्ञानवाद यस अन्तर्गत पर्दछन् ।

अन्तमा,
बौद्ध दर्शन प्राचीनकालमा निकै लोकप्रिय दर्शनका रुपमा फरक खालले आएको दर्शन हो । यस दर्शनले विश्वमा शान्तिको ज्योति छर्ने काममा निकै महत्वपूर्ण योगदान दिएको छ । सबैकुरा भगवानले नै बनाएको हो र उनको इच्छा विपरित केही पनि हुँदैन भन्ने त्यतिबेलाको मान्यताका बीच यो दर्शनले भगवान नै हुँदैन र सबैकुरा कर्मले गर्दछ भन्ने फरक विचार स्थापित गर्न सक्नु यस दर्शनको मुख्य विशेषता हो । जति पनि पूर्वीय दर्शनहरू आएका छन्, ती मध्ये कमैले मात्र ईश्वर छैन भन्दछन् तर अधिकांश दर्शनले ईश्वरको घेराभित्रै रहेर वकालत गर्दछन् । यसरी प्राचीनकालमै आएको यो दर्शन निकै क्रान्तिकारी दर्शन भएकोले यसलाई संसारका अन्य दार्शनिकहरूले पनि निकै चासोपूर्वक अध्ययन गर्ने गर्दछन् । यो नास्तिक दर्शन भएरपनि त्यस समयमा आफ्नो प्रभुत्व जमाउन सक्नु यस दर्शनको सबैभन्दा राम्रो पक्ष हो । यसरी नेपालमै जन्मिएका एक सपूतले संसारलाई नै उज्यालो बाटो देखाउने सामथ्र्य राख्न सकेका छन्, यही नै हामी नेपालीको लागि गौरवको विषय पनि हो । बुद्धले दिएका ४ आर्यसत्य र अष्टाङ्ग मार्गमा बताइएका ज्ञानहरूलाई यदि हामीले व्यवहारमा उतार्न सक्यौं भने हामीले विश्वलाई नै नर्कबाट स्वर्ग बनाउन सक्छौं । त्यसैले अहिलेको वैज्ञानिक युगमा आएर पनि बुद्धदर्शनको निकै सान्दर्भिकता रहेको प्रष्ट हुन्छ । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->