पुरानो बागलुङ बजारको नारायणचोक, कम्पुटोल देउरालीचोक, नौविसेटोल, राधाकृष्णटोल र किनाराटोलका केही घरहरुमा देखिने कला कौशल तथा सीपयुक्त एवं पुरातात्विक हिसाबले गर्दा संरक्षित छन् कि जस्ता देखिन्छन् । तर, ‘धन देखे महादेवका तीनै नेत्र खुल्छन्’ भन्ने अग्रजका कुरा मान्ने हो भने यस्ता घरहरुको पनि आयू धेरै नभए जस्तो लाग्छ ।
कतिलाई यो अनुभव होला या नहोला तर मलाई छ । त्यो के भने, मैले चिया थालीबाट ‘खाएको’ छु अनि कचौरा (बटुको) मा राखेर पनि खाएको छु । मैले त हजुरआमाले थालीमा दिनुभएको त्यो गुलियो चिया थपिथपी खाएको छु । कचौरामा ढिलो सेलाउने तर थालीमा छिटो ! वाह, गुलियो पाएपछि केटाटीलाई के चाहियो ! यस्तो अनुभव अहिलेका फुच्चाफुच्ची तथा नानीबाबुलाई के थाहा !
त्यस्तो थपिथपी खाने चिया कसरी घरगाउँमा आयो होला ! त्यो बेला यस्तो चियाको बारेमा जो कसैलाई पनि जिज्ञासा रहनु स्वभाविकै थियो । लाहुर (इण्डिया) गएर फर्कँदा लाहुरेहरुले चियापत्ति लिएर आउँथे र चिया बनाएर खान्थे । अरुलाई पनि खुवाउँथे र चिया खान सिकाउंथे । यिनै लाहुरेहरुले गाउँघरमा चियाको चलन भित्र्याएका हुन् भन्छन् बुढापाकाहरु । अग्रजहरुको भनाई मान्दा, सुरुमा यसरी नै घरगाउँमा चिया आयो भनेर बुझ्न सकिन्छ ।

तर, चिया ल्याउनेले चियासंगै गिलास भने भित्र्याएनछन् । सायद, हप्तौंको पैदल यात्रा, उकाली–ओराली खोलानाला तथा जंघार तर्दै घर फर्कनुपर्ने हुँदा त्यस्ता फुट्ने सामान ल्याउन सजिलो नहुँदो हो, त्यसैले गिलास भित्र्याएनन् भनेर मान्न सकिन्छ । गिलास नभएपछि सबैले घरमै उपलब्ध थाल र कचौरामा चिया खान्थे । मैले पनि त्यसैगरी खाएको हुँ । यद्यपि त्यो समयमा सबैका घरमा चिया पाक्दैनथ्यो पनि । समयको गतिसँगै विस्तारै घर–घरमा र सर्वत्र चिया पाक्न थाल्यो । समयको परिवर्तन संगै बर्तन पनि आउन थाले र अहिले गिलास मात्र होईन अनेकखाले रंगीबीरंगी कपहरुमा राखेर चिया कफि पिएको अनुभव पनि फेरि आफैलाई भएको दशकौं भयो ।
ऊ बेलाका घुमाउनी घर । खरले छाएको छानु । घुमाउने घरको भित्रपट्टि बीचमा लगाइएको अँगेनो । अँगेनोमा झ्याप्प नबल्ने काँचा चीसा दाउरा । घरभित्र धुवैधुवाँको कुईरीमण्डल । बाहिर जाडो । भित्र बसीनसक्नु धुवाँ । अहो ! चूल्हो सम्हालेर खाना पकाउने आमा हजुरआमाहरुलाई परेको सास्ती कसले बुझ्ने ? अनि बुझेर पो के गर्नु ? कसैले केही गर्ने अवस्था थिएन । तर, हामी केटाकेटीहरुलाई आमाहरुको दुःख सास्तीको के मतलब झगडा ग¥यो, रोयो,माग्यो खायो ! आँखाबाट धुवाँले झारेका आँशुसँगै चियाको सुरुप्प–सुरुप्प कम्ताको मिठो हुन्थ्यो र, क्यार्नु !
गाउँघरको मान्छे बजार झरियो । बजारमा अनेक देख्न थालियो । दिनको बजार र रातको बजार फरक लाग्थ्यो । रातिमा बत्तिको झिलीमिली देखेर रमाइलो लाग्थ्यो । टुकीको उज्यालो र लालटिन, लम्फा र मैण्टोलको उज्यालो अहो, कस्तो फरक ! अनि नौलानौला मान्छेहरुको बोलि पहिरन पनि उस्तै रमाइलो लाग्थ्यो । खास गरेर नेवार समुदायले आपसमा बोल्ने नेवारी भाषा सुनेर झन् छक्क परिन्थ्यो । के भनेको होला, खलामखुला भन्छन् भन्थे । समय क्रममा आफैले हल्काफुल्का बोल्न थालियो । बोल्न थालेपछि आफूले आफैलाई नेवारै भएजस्तो अनुभुति हुन्थ्यो ।

त्यो जमानाको बागलुङ बजार अहिलेको जस्तो विस्तारित थिएन । नामका होटलहरु ( अर्थात् साइनबोर्ड लेखेर चिनाउने) थिएनन् तर कामका होटलहरु अहिलेका ‘होमस्टे’ बराबरका थिए । कुर्सी टेबुल कतै थिएनन् । साधारणतया परालको गुन्द्रीमा पाहुनाहरु बस्थे । अल्लि ठुलाबडा पाहुना परे भने गुन्द्री माथि गलैंचा, राडी कम्मल बिच्छ्याएर स्वागत गर्थे । बजारमा आउनेहरुले फलानो होटलमा बस्छु– खान्छु भन्नुको सट्टा फलानो व्यक्तिको घरमा बस्छु–खान्छु भन्थे । किनकि खाने ठाउँलाई होटल भनिसकिएको अवस्था पनि थिएन र साइनबोर्डको चलन पनि थिएन । त्यति बेलाका यि होटलहरुले पनि गिलास देखेका थिएनन् । यस्ता होटलहरुले चिया तथा ‘चियापानी’ बेच्दा समेत कचौरा (बटुको) को प्रयोग गर्थे । ठिक्क नापेर नभै अन्दाजमा पैसोको कारोबार हुन्थ्यो ।
बिस्तारै यो पनि बदलिंदै गएर आजको बागलुङ बजार बनेको छ । जहाँ अन्तर्राष्ट्रियस्तरको झल्को दिने सुविधायुक्त होटल समेत बनिसकेका छन् । स्वदेश तथा विदेशबाट विभिन्न खाले मानिसहरु यहाँ आउँछन् । तर ऊ बेला सपनामा पनि बागलुङमा मोटरबाटो आउला र बागलुङ बजारमा मान्छेहरुको यो चमक–धमक देखौंला भन्ने त धरोधर्म कहिल्यै सोचिएन ! न त, कालीगण्डकीमा वारपार भएर झुण्डिएका लामा लामा झोलुङ्गे पुल बन्लान् र पर्वत पाङ छिट्टै पुगिने कल्पना नै गरियो । त्यस्तै यस्ता होटलहरु बागलुङ बजारमा स्थापित होलान भन्ने पनि पटक्कै लाग्दैन्थ्यो, तर कल्पना नगरेका सबैकुरा आँखै अगाडी बनेका देखियो । यि यावत चिजहरु देखेर अहिले दङ्ग परिन्छ !
बागलुङ बजार ठूलो त भयो तर लहलह धान झुल्ने खेतका फाँटहरु बेपत्ता भएका छन् । धान रोपाईं हेर्न अहिले बजार वरिपरिका खेतमा पुग्न पर्छ । असारे पन्ध्रका दिन बजारमा रोपाइँ गर्ने रोपारहरुले रमाइलो गर्थे । सडक छेउका खेतहरुमा धान रोप्दारोप्दै रोपार्नीहरुले बजार घुम्दै टहलिने अपरिचित र सरकारी कार्यालयका कर्मचारीहरुलाई हिलो छ्यापेर रमाइलो गर्थे । त्यस्तो रमाइलो क–कसले देख्नुभयो ? अहिले त्यस्तो देख्न असंभव बन्यो ! हिलोमा खेल्ने हाम्रो संस्कृति नै थियो त्यसैले हिलो छ्याप्दा कोही कसैसँग रिसाउँदैनथे । विशुद्ध हार्दिकता बोकेको हिलो छोपेर रमाईलो गर्ने त्यो बागलुङ बजार अहिले कता हरायो होला !
अग्ला अग्ला घरहरुले जेलिएर बजारको सतहमा हावा बहन पाउँदैन । धौलागिरी, कालीगण्डकी र काँठेखोलाबाट बहने शितलो हावा यिनै बनेका घरले छेकेका छन् । पहिला जस्तो शितलो हुने सडकमा छापेका ढुङ्गा र माटो भेटिंदैन । सडक पूरै कालोपत्रे भएकाले गर्मीमा पोल्ने र ठण्डीमा कठ्याँग्रिने चिसो अहिले हुन्छ । फेसबुकमा कहिलेकाही झुल्किने बागलुङ बजारका पुराना फोटो देखेर नयाँपुस्ता दङ्ग पर्छन् र भन्छन्– ओहो, यस्तो पो थियो बागलुङ ! उस्तो बागलुङ यस्तो भयो है !

ढुङ्गाले छाएका र ढुङ्गा माटोले जडान गरिएका पुराना घरहरु त्यो समयका चिनारी हुन् । यस्ता पुराना घरहरु अहिले मेटिंदै गएका छन्, नाम मात्रका बाँकी छन् । पुराना ढुङ्गा माटाका घर यसरी मेटिंदै जानुमा पुराना घर भाडामा नजानु हो । जतिसुकै खर्च गरेर सजाउँदा पनि व्यापार व्यवशायमा आकर्षण दिन नसक्दा पुराना घरहरु भाडामा खोज्नेहरुको रोजाईमा पर्दैनन् । भाडामा गैहाले पनि घरधनीले उचित भाडा पाउँदैनन् । त्यसैले पुराना घरहरु लोप हुन थालेका हुन् । तै, पुरानो बागलुङ बजारको नारायणचोक, कम्पुटोल देउरालीचोक, नौविसेटोल, राधाकृष्णटोल र किनाराटोलका केही घरहरुमा देखिने कला कौशल तथा सीपयुक्त एवं पुरातात्विक हिसाबले गर्दा संरक्षित छन् कि जस्ता देखिन्छन् तर, ‘धन देखे महादेवका तीनै नेत्र खुल्छन्’ भन्ने अग्रजका कुरा मान्ने हो भने यस्ता घरहरुको पनि आयु धेरै नभए जस्तो लाग्छ । ग्वाम्म पैसा पाएमा ‘कला न सला’ हुनसक्छ ! किनकि, अचेल मान्छेले भनेको पैसा पायो भने आफ्नो धर्म पनि बेच्छ ।
हिजो त्यसरी सुरुप्प गरेर चिया ‘खाने’ जमानाबाट अहिले हामीले चिया ‘पिउन’ थालेको थुप्रै भएको छ । अझ भनौं, गाउँघर शहरबजारको जीवनशैलीमा आमुल परिवर्तन भएको छ । दिउँसो मोही मकैभट्टको खाजाले भोक मेट्ने जमाना बदलिएर पिज्जा, बर्गर, चिकन, मटन मःमः चाउमिनले बजार ढाकिएको छ । त्यतिबेला पढ्नका लागिसमेत छोरीहरुलाई घरबाहिर नपठाउने अभिभावक अहिले दिउँसोको खाजा खान रेष्टुरेण्ट, बर्गर हाउस, पिज्जा हाउस जस्ता अनेकानेक हाउसमा पुगेर छोरीहरुले खाजा खाँदा खुशी हुन थालेका छन् । त्यतिमात्र होइन, महिलाको मुहारमा श्रृँगार सामग्रीको नाममा सिंदुर बाहेक केही हुँदैन्थ्यो तर अहिले ब्युटीपार्लरमा गएर खर्चिलो मेकअप गरेर दिनदिनै ‘बुढीफुल’ बाट ‘ब्युटीफुल’ बन्ने परम्परा बसेको जो छ, रमाइलो छ !
बागलुङ पनि एउटा सानो उपत्यका हो । बजारको वरिपरि चारैतिर पहाडले घेरेको छ । बजार हेर्न कुनै भ्यूटावरको जरुरी छैन । जानैपरे पनि टाढा जानु पर्दैन । साधनबिना पनि पाँचै मिनेटमा नजिकको प्रख्यात रात्माटाको उचाइमा पुगिन्छ । त्यहिंबाट बागलुङ बजारको समग्र दृश्य देख्न पाईन्छ । हुनतः आफै जन्मेको ठाउँ सँधै हेरिरहिन्छ । फेरी पनि केही समयको अन्तरालमा देख्दा स्मृतिमा आउने पुराना कुराहरु लेखाजोखा गर्न मनलाग्दो रहेछ । रात्माटाबाट बागलुङ बजारलाई झलक्क हेरेपछि हिजोको बागलुङ र आजको बागलुङ तुलना गर्दा उपरोक्त कुराहरु व्यक्त गर्न मन लाग्यो । बागलुङको बर्णन गरेर झट्टै के सकिन्थ्यो र ! बागलुङमा अथाह कुराहरु भेटिन्छन् खोज्ने हो भने त्यो पछिपछि हुँदै जाला ! यो त केवल तुलनात्मक रुपमा तत्काल स्मृतिमा आएको एक छेऊलाई मेरो प्रिय पाठकहरु समक्ष पस्केको छु । आगे यहाँहरुकै मर्जी ! सबैको जयहोस ! धन्यवाद !





