बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साँझपख वनको चरीको आवाज

साँझपख वनको चरीको आवाज


  • याम बहादुर थापा मगर
  • जेष्ठ १० २०८२, शनिबार

साँझपख घाम अस्ताउँदै गर्दा,
पाखामा उक्लँदै गरेको उज्यालोको छायामा
चराहरुको आवाज सुनिन्छ ।
चिरबिर… चिरचिर… च्याँ च्याँ…
जसरी मनका भावहरू पनि फुसफुसाउँछन्,
अदृश्य वेदनामा पनि गुञ्जिन्छ सृष्टिको स्वर ।

ती स्वरहरु केवल रमाइलो मात्र होइन,
त्यो गीत हो – विरहको पनि, पर्खाइको पनि ।
दोसल्ला ओढेको मायालु चराले
कुन बोटको फेदमा बास बनाएको होला
भन्ने कौतुहलता जाग्छ
र सुनिन्छ आवाजमा लुकेको कथा ।

लेखक

कतै त्यो आवाज,
वन विनाशको विरुद्ध उर्लिएको आक्रोश हो कि ?
हिउँ पग्लँदै गरेको छाना जस्तै
वन बग्दैछ, चरा रुदैछन्
तर त्यो रुवाइमा पनि आशा मिसिएको छ
कि मान्छेले सुन्छन् ।
र फेरि हरियाली फर्काउने छन् ।

साँझपखको त्यो चिरबिर ध्वनि,
जसले आकाशमा हराएका बादल पनि तान्छ
धरतीमा हराउँदै गरेका मुना–टुनालाई सम्झाउँछ
हामीले सुनिदिनु पर्छ ।
भोलिका पुस्ताको लागि बाँकी राख्नु पर्छ
यो ध्वनि, यो हरियाली, यो जीवन ।

चराको गीतमा केवल ध्वनि छैन
त्यहाँ इतिहास छ, भूगोल छ,
वातावरण विनाशको चेतावनी छ
र, भविष्यको सम्भावना पनि ।
संसार फेरिंदैछ
जहाँ प्रविधि छ तर प्रकृति पनि बाँकी रहोस्,
जहाँ विकास छ तर जीवन चिरबिर गुञ्जिरहोस् ।

यी चिरबिर स्वरहरूलाई
दर्ता गरौं स्मृतिको कापीमा
नछुटोस् तिनीहरू भविष्यका कानहरुबाट
पर्यावरणको अमुल्य मोल बुझ्न
हामीले आजै लेख्नुपर्छ कविताहरू
सुनौलो पृथ्वीको नयाँ पृष्ठ बचाउन
जहाँ वनपाखा रमाउँछ
र साँझपख फेरि चरा गुनगुनाउँछन् ।

बागलुङ नगरपालिका १०, भकुण्डे धौलेचउर, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->