बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गणतन्त्र दिवस २०८२ को सन्दर्भ

गणतन्त्र दिवस २०८२ को सन्दर्भ


  • याम बहादुर थापा मगर
  • जेष्ठ १५ २०८२, बिहिबार

गणतन्त्र आयो – जुलुससहित, नारासहित,
भाषण र बेकारका बाचा बोकेर ।
राजाले राज छाडे, जनताले शासन समाले,
तर शासन फेरिए पनि, शासनशैली किन उस्तै रह्यो ?

विगतका आन्दोलन, रक्तस्नान, आशा र चित्कार
सब भुलिएको छ, केवल फोटोमा मुस्कान बाँकी ।
संविधान बनेको छ, तर संवेदनशीलता हराएको छ,
जनताको संविधान जनताकै पहुँच बाहिर ।

गाउँ अझै अँध्यारो छ, सहर चकचकिला
भोट माग्दा आउनेहरू पाँच वर्ष ओझेलमा,
शिक्षा, स्वास्थ्य, रोजगारी–शब्दहरू मात्रै बने
कागजमा नीति छ, मैदानमा निष्ठा छैन ।

कसले लियो त्यो गणतन्त्र ?
के भुइँमान्छेले त्यो अनुभूति गर्न पाएको छ ?
कसरी गणतन्त्र मानेर नाचूँ,
जब न्यायकै ढोका दलालीले थुनेका छन् ?

वर्तमानमा हामी छौं–उपेक्षा र उदासीनताको गल्लीमा,
शब्दको शृंगारले छोपिँदैछ बेदनाको यथार्थ ।
नारामा गणतन्त्र, व्यवहारमा परतन्त्र,
शक्तिको खेलमा सपना सहाराविहीन ।

तर अझै आशा मरेको छैन,
बालबालिकाको आँखामा उज्यालो छ,
युवाहरूको मस्तिष्कमा परिवर्तनको चिंगारी ।

अब दिशा चाहिन्छ–स्पष्ट, निर्भीक, निस्वार्थ ।
गणतन्त्र केवल रूपान्तरण होइन, चेतनाको क्रान्ति हो ।
साँचो गणतन्त्र त्यो हो, जहाँ जनताको आवाज शासन बन्छ
गणतन्त्र दिवस २०८२ मा संकल्प गरौँ
गणतन्त्रलाई दस्तावेज होइन, व्यवहार बनाउने ।

बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->