प्रायःसाहित्यिक समारोहरु, विशेष गरी काव्यात्मक समारोहहरुमा मलाई चार हरफको मुक्तकीय कविता स्मरण गर्न मन लाग्छ–
जिन्दगीका बाटाहरु धेरै छन् कुबाटो कुनै नभेटियोस्
मनका निर्मल पानाहरुमा जथाभावी केही नलेखियोस्
ए वाग्देवी ! मलाई वर हैन आफैप्रति भर देऊ
कि, म समयको यस्तो कविता लेखुँ कि, जो कहिल्यै पनि नेमेटियोस् !
सामयिकीका इरेजरहरुले मेट्न चाहेर पनि कहिल्यै पनि नमेटिने एउटा कविता लेखूँ भन्ने अभिष्सामा बाल्यकालीन अभ्यासहरुलाई छाडेर हेर्ने हो भने पनि करिव ५० वर्ष पुगेछ–कविता कर्ममा लागेको । तर, त्यो नमेटिने कविता ब्रम्हाण्ड र अन्तरिक्षको कुन अज्ञात कुनामा लुकेर बसेको छ,मलाई थाहा छैन । बुद्धत्वको खोजीजस्तै एउटा काव्यात्मक तृष्णाको खोजी गर्नु रचनाकार बन्नु हो । त्यसैलै मलाई तृष्णाविहीन उपदेशहरुभन्दा तृष्णापूर्ण रचनाकारहरु बढी प्रिय लाग्छन् । विराट श्रृष्टिलाई रचना मान्ने हो भने,यसका रचनाकार कति तृष्णायुक्त होलान् !श्रृष्टिमा, सम्पूर्ण ब्रह्माण्डमा अनवरत सिर्जन प्रक्रिया चलिरहेको छ । अरबौं वर्षपछि पृथ्वीको मृत्यु,सूर्यको मृत्यु, आकासगंगा, महासूर्यको, समस्त मन्दाकिनी र ग्यालेक्सीहरुको मृत्यु र अन्ततः ब्रम्हाण्डको मृत्यु उपक्रममा हामी जुन श्रृष्टि विनाश वा विध्वंशका अवधारणाहरु जन्माउँछौँ–विज्ञानमा, धर्ममा, दर्शनमा ती श्रृष्टिका अनवरत सिर्जन प्रक्रियाका सामयिक संरचनामात्र हुन् । मेरो सर्जकीय अह्मले नमेटिने कविता जन्माउन चाहेझैँ श्रृष्टिका अज्ञात सर्जकहरुले पनि नमेटिने ब्रह्माण्ड वा ब्रह्माण्डहरु जन्माउन चाहेकै त होलान् !
इफ यु मिट अ बुद्ध अन दी रोड,किल हिम ! यदि बुद्धलाई तिमीले बाटोमा भेट्यौ भने त्यसको हत्या गरिदिनू । लिन्जी स्कूलका मौन बौद्धहरुले यस कुरामा विश्वास राख्थे । यसमा म पनि विश्वास राख्छु । रुपकीय भाषामा हत्या गर्नु भनेको भौतिक रुपको नाश गर्नु होइन,चेतन रुपलाई अस्वीकार गर्नु हो । बुद्ध एक चेतना हो । कसैलाई बुद्ध बन्नु छ भने,पूर्ववर्ति बुद्धका चेतनाले होइन, स्वयं आर्जित चेतनाले बन्नुपर्छ ।
रुपकीय भाषामा भन्दा साहित्यकार पनि, साहित्यइतरका रचनाकार पनि एक खुंखार हत्यारा हो । जब म लेख्न बस्छु– एउटा रचना जन्माउन कयौं शब्दहरुको हत्या गर्छु । कयौं वाक्यहरुको हत्या गर्छु । यी अनवरत रचनाहरुको समाधिमा,स्तूपमा बल्ल एउटा कविता जन्मन्छ,नाटक र कथा जन्मछन् । तर, सर्जकीय संस्कार सन्तुष्ट हुँदैन । प्रश्न गर्छ–खोइ त नमेटिने कविता ? खोइ त नमेटिने गीत ?
श्रृष्टिकर्ताको अहंकार नमेटिने भएरै होला,सानो मान्छेको सर्जकीय अहंकार पनि, क्रियटिभ इगो पनि नमेटिने स्वभावको हुँदोरहेछ !
साहित्यका करिव ५० वर्षको यात्रा–धेरै कि थोरै ? कसैकसैलाई लाग्ला । तिनलाई आत्मिय सहयोगको लागि भन्छु–महाकवि लक्ष्मीप्रसाद देवकोटाले बाँचेको सम्पूर्ण जीवन, तीर्थ (श्रेष्ठ) र मैले समकालीन साहित्यिक मित्रहरुसहित लेखेरैमात्र बाँचिरहेका रहेछौँ । तर, उपलब्धि–हामीले कति गर्न सकेका छौँ ? एउटा जब्बर प्रश्नले सधैँ दिमागका न्यूरोनहरुलाई तताइरहेको हुन्छ । तृष्णाको संसारमा बाँचेपछि एउटा चिसो सन्त्रासको अन्डरकरेण्ट–अन्तप्रवाह पनि विद्युत बेगले न्यूरोनहरुका कुँदिरहन्छ । जुलियस सिजर नाटकमा शेक्सपियरले उहिल्यै भनेका थिए–तजभ भखष् ितजबत mभल मय ष्खिभक बातभच तजझस तजभ नययम ष्क यात ष्लतभचचभम धष्तज तजभष्च दयलभक। दी इभिल द्याट मेन टु लिभ्स आफ्टर देम,दी गुड इज अफ्ट इन्टीरिड विद दियर बोन्स ।
कहिलेकाहिँ मलाई लाग्छ– हामी चामत्कारिक ब्रह्माण्डका प्रतिनिधि हौँ । श्रृष्टिमा सर्वत्र चमत्कार छ । श्रृष्टि किन छ ? यसैमा चमत्कार छ । श्रृष्टिकर्ता छन् कि छैनन् ? छन् भने कहाँ छन् ? छैनन् भने किन छैनन् ? यी प्रश्नहरुमै चमत्कार छ । कविलाई कविताको परिभाषा के हो भनेर सोधियो भने ठ्याक्क थाहा हुँदैन । गाईभैंसीलाई गाईभैंसी भनेको थाहा हुँदैन । कारण एउटै छ– चमत्कार । कवि बासु शशीले कविता रचेका थिए–पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ । हामी सभ्य मानव प्रजातिहरु पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ भन्ने जान्दाजान्दै परिभाषाका पर्खाल लगाउन अभ्यस्त छौँ । हाम्रा सम्बन्धका आधारशिलाहरुमा पखालै पर्खाल छन् । महादेशका पर्खाल,देशका पर्खाल,घरका पर्खाल,विभिन्न समाज, धर्म, संस्कृति, विचारधारा, आग्रह–पूर्वाग्रहका अनगिन्ती पर्खालहरु ! कुनै समय जनगणतन्त्र चीन भ्रमणको क्रममा म ऐतिहासिक र प्रसिद्ध महान पर्खाल दी ग्रेट वाल अफ चाइना माथि चढेको थिएँ । पर्खाल अत्यन्त लामो थियो,विशाल थियो,चन्द्रमाबाट देखिने एकमात्र मानवनिर्मित स्थापन्य भन्न लायककै थियो । यद्यपि, यो सत्य होइन । त्यस महापर्खालबाट नजिक र टाढा–जहाँसम्म दृष्टि पुग्न सक्थ्यो–हेर्दा मैले पर्खाल बाहिर धेरै भूमि आकास देखेको थिएँ । मैले बासु दाइको कविता सम्झेँ र महसुस गरेँ– पर्खांल जति महान र विशाल भए पनि त्यसभन्दा महान र विशाल त्यो सत्य हुँदोरहेछ जुन पर्खालभित्र अटाउन सक्दैन । मलाई साहित्य र विशेषगरी कवितामा पभिाषाको पर्खाल ठड्याउँदा यस्तै भाववोध हुन्छ ।
सर्वहारा धरतीभरी यज्ञका काला घोडाहरु–यस अविता कृतिमा मेरो ५० वर्षे कविता यात्राका केही प्रतिनिधिमूलक कविताहरु संग्रहित गरिएका छन् । कृतिको पुछारमा मैले कविताको परिभाषासम्बन्धी पर्खाललाई महान दार्शनिक शंकराचार्यको मिथ्या जगतबारे सत्य मानेर यसरी अथ्र्याएको छु ।
कविता के हो ? सोच्दा एक प्रतिप्रश्न जन्मन्छ । कवित के हैन ?नेतीनेतीको माध्यमले विचार गर्दै जाँदा अन्तत्वगत्वा अनुभूति हुन्छ–कविता सम्पूर्णता हो । कविता भाव र विचारको सम्पूर्णता हो । कविता जीव र जगतको सम्पूर्णता हो । कविता विश्व र ब्रह्माण्डीय यावत् संरचनाहरुको सम्पूर्णता हो ।
कवितको शूक्ष्म र विशाल स्वरुपलाई शब्द र मौन भावहरुले स्पर्श गर्ने कुनै एक आयाममात्र सत्य हो भन्नु असत्य संकथन हो । कविता बहुआयामिक कला हो ।कविताको बहुआयामिकता विविध आकार र अभिव्यञ्जनामा प्रकट हुन्छन् । कविता एक विराट महासागर हो । विराट महासागरको एक किनारमा उभिएको व्यक्तिले जस्तो र जति महासागर देख्छ, महासागर त्यस्तो र त्यतिमात्र हुँदैन । अन्य किनारहरुबाट, कोणहरुबाट महासागर भिन्न देखिन्छ । सगरबाट देखिने महासागर र गहिराइमा भेटिने महासागर पनि भिन्न हुन्छ । परिभाषा पनि हामी सत्यलाई भन्दा हाम्रा आग्रह र विश्वासहरुलाई दिइरहेका हुन्छौँ । मानव इतिहासमा कविताका परिभाषा पनि आग्रह र विश्वासहरु कैद गर्न अभिषप्त छ । कविताले कैदबाट मुक्त हुने अधिकार राख्छ ।





