विगत १० वर्षअघिजस्तै यसवर्ष २०२५ मा पनि “एक पृथ्वी, एक स्वास्थ्यका लागि योगभन्ने नाराका साथ ११ औं अन्तर्राष्ट्रिय योग दिवस नेपाल लगायत संसारभर मनाउने कार्यक्रम रहेको छ । नेपालमा भने विश्व योग दिवस बाहेक प्रत्येक वर्ष माघ महिनाको १ गते राष्ट्रिय योग दिवस समेत मनाउने गरिन्छ जुन अहिले एउटा राष्ट्रिय पर्वको रुपमा स्थापित पनि भएको छ । विश्व योग दिवसको यसवर्षको नारा अनुसार योग एक समग्र विश्वव्यापी दृष्टिकोण हो र विश्वभरका नागरिकहरु स्वस्थ रहून् भन्ने उत्कट चाहना पनि हो । किनकि, पूर्वीय दर्शनमा विश्वबन्धुत्वको विषय प्रसंग पनि आउँछ । विश्वभरका सबै मानिस एकै हौं र सबैसँगै बाँचौं भन्ने सामाजिक एकतावद्ध प्रक्रियालाईपनि विश्वास गर्दछ । विश्व योग दिवस जुन२१ तारिखका दिन मनाउने गरिएको छ । यसको भिन्दै महत्व रहेको छ । विश्व योग दिवस मनाइरहँदा हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जसको नेतृत्वमा विश्व योग दिवस मनाउने वातावरण तयार भयो र नेपालका राष्ट्रयोगी मानसाग्नि जसको अभियानले विश्व योग दिवस सार्थक हुनपुग्यो । पूर्वीय दर्शनका यस्ता ऋषितुल्य व्यक्तित्वको सम्झना यस पवित्र दिनमा गर्नुपर्ने हुन्छ, अन्यथा योगका कुरा गर्नु निरर्थक हुनेछ । त्यसकारण यस आलेखमा विश्व योग दिवस कसरी सुरु भयो, मोदी तथा मानसाग्नि को हुन् रयोगसँग यी दुईको के सम्बन्ध छजस्ता विषयवस्तुमा चर्चा गरिनेछ ।
एघारौं अन्तर्राष्ट्रिय योग दिवस र योगको सन्दर्भ
सन् २०१४ को सेप्टेम्बर २७ तारिखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघको सभाले ११ डिसेम्बर २०१४ मा प्रस्ताव पारित गरी २०१५ जुन २१ तारिखका दिनदेखि उक्त दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि सन् २०१५ देखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको हो । पहिलो विश्व योग दिवस भारतको नयाँदिल्लीस्थित राजपथमा ३५,९८५ जना सहभागीका साथ गिनिज बुकमा नाम दर्ज गर्दै मनाइएको थियो । सदाझैं यसवर्ष पनि वर्षको सबैभन्दा लामो दिन जुन २१ तारिख वा यही असार ७ गतेशनिबारका दिन विश्व योग दिवस मनाउन लागिएको छ।विश्व योग दिवसको सन्दर्भ पारेर देशका विभिन्न ठाउँमा विभिन्न योग अभियन्ता, संघ–संस्था र व्यक्तिबाट समेत योग दिवस मनाउन आव्हान गरी सप्ताहव्यापी कार्यक्रमहरू पनि मनाउन सुरु गरिसकेको अवस्था छ ।
योग के हो र योग दिवस किन मनाउने भन्ने सम्बन्धमा कुरा गर्नु अघि योग भनेको के हो भन्ने बुझ्नु आवश्यक छ । वास्तवमा योग भनेको जोड हो । योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माको रुपमा रुपान्तरण गर्दछ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त हुनुका साथै शारीरिक र मांसपेशीय मजबुतिसमेत पैदा हुन्छ । फलस्वरुप व्यक्तिको आन्तरिक तथा बाह्य क्षमता बलियो हुनपुग्छ र स्वस्थकर जीवनशैलीमा जीवन परिणत हुन्छ । योगको सुरुवात हजारौं वर्ष पहिलादेखि नै भएको मानिन्छ । संसारको सबैभन्दा पुरानो ग्रन्थ वेदका अनुसार संसारमा पहिलोपटक योग गर्ने व्यक्ति भगवान शिवलाई मानिएको छ । शिवले पाएको उक्त ज्ञान सप्तऋषिहरुलाई हस्तान्तरण गरेका र ती ऋषिहरुले योगको ज्ञानलाई संसारभर फैलाएको भनाइ पाइन्छ । हाल संसारका सबैजसो राष्ट्रमा योगसम्बन्धी पठनपाठन र अभ्यास हुनेगर्छ । किनकि योग प्राचिनकालदेखि अस्तित्वमा आएता पनि हाल यसले एउटा विज्ञानको रुप लिएको छ । योग केवल अभ्यासमात्र होइन कि व्यक्तिको सर्वाङ्गीण विकास गराउने माध्यम पनि हो । विश्वभर अहिले योगभनेको शरीर मात्र होइन कि मन मस्तिष्क सफा गर्ने माध्यम, आध्यात्मिक चिन्तन गर्ने माध्यम, शान्तिका लागि अघि बढ्ने माध्यम र पूर्ण स्वस्थ भइ जीवनयापन गर्न सकिने महत्वपूर्ण माध्यम सावित भैसकेको छ । योगलाई धेरैले शारीरिक अभ्याससँग मात्र जोडेर हेर्ने गर्छन् जुन गलत सोचको परिणाम हो । योग भनेको शारीरिक अभ्यास वा व्यायाम पनि हो तर यो सँगै योगका अन्य सातवटा मार्ग ओझेलमा पर्ने गरेका छन् । ऋषि पतञ्जलिले योगसूत्रमा योगका लागि अष्टाङ्ग योग मार्ग भनेर आठवटा बुँदामा उल्लेख गरेर प्रष्ट बाटो देखाइदिएका छन् । ती मध्ये यम पहिलो मार्ग हो भने त्यसपछि क्रमशः नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्दछन् । यो बाटो अनुसार चल्ने हो भने आसन वा व्यायाम त तेस्रो नम्बरमा मात्र आउँछ र त्यसपछि पनि पाँचवटा मार्ग रहेका छन्, जुन सबैको अनुसरण गर्ने व्यक्तिलाई मात्र योगी भनिन्छ । तर आजकाल योग भन्नाले दौडने, उफ्रने, स्याँस्याँ गर्ने, पसिना निकाल्ने, आसनहरु गर्ने र शरीरलाई निचोर्ने पद्धति भनेर मात्र मानिएको छ जुन सरासर अल्पज्ञानका कारण र योगलाई हल्का देख्ने व्यक्तिका नजरबाट मात्र देखिएको साँघुरो दृष्टिकोण हो । संक्षेपमा भन्नुपर्दा योग भनेको लक्ष्य हो भने व्यायाम त एउटा उद्देश्य मात्र हो भनेर बुझ्दा राम्रो होला ।
योग अभ्यास गर्दा बिहान अमृत समय वा ब्रह्म मुहूर्तमा उठी (बिहान ४–५ बजे) दिसा पिसाबबाट निवृत्त भएपछि, पानी पिएर,खाली पेटमा, हल्का वस्त्र धारण गरेर, राम्रो योगम्याटमा र खुला ठाउँमा बसेर मात्र गर्नुपर्छ । योग अभ्यास गर्दा जानेको व्यक्ति (गुरु) बाट सिकेर आफ्नो शरीरको अवस्थालाई हेरेर शरीर तताउने हल्का अभ्यास गरेपछि मात्र सकेको मात्रामा आसन, प्राणायाम र ध्यानका साथ गर्नुपर्छ । योग गर्दा प्रतिस्पर्धा नगरी आफ्नो शरीरको क्षमता अनुसार गर्नुपर्छ किनकि योग प्रतिस्पर्धा होइन। एक साधना हो । यसरी नियमित रुपमा योग अभ्यास गर्नाले अनगिन्ति स्वास्थ्य लाभहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । यसका साथै आफ्ना परिवारका साथमा वा समूहमा बसेर योग अभ्यास गर्दा थप सन्तुष्टि मिल्नसक्ने हुँदा सकभर परिवारका सदस्यहरु वा समूह सहित योग गर्न सकिन्छ भन्ने मान्यता रहेको छ । योगबाट हुने लाभका सम्बन्धमा के भन्न सकिन्छ भने–
– शरीर एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्दछ जुन योगबाट प्राप्त हुन्छ ।
– टाउको र शरीर चलाइ अभ्यास गर्नु मात्र योग होइन कि मनलाई समेत आनन्दित राख्नसक्नु नै योग हो ।
– शरीरको अँध्यारो कुनामा रहेका अपवित्र सोंच र वस्तुलाई चेतनारुपी उज्यालो छर्कन सक्नु नै योगको विशेषता हो ।
– योग अभ्याससँगै गरिने प्राणायामबिना योगको उद्देश्य पूरा हुनै सक्दैन ।
– चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त र चातुर्य बाटो नै योग हो ।
– योगले जति बढी फाइदा आत्मालाई पु¥याउँछ, त्यति फाइदा शरीरलाई दिनै सक्दैन । त्यसकारण आत्माको खुराक नै योग हो ।
– सामाजिक एकता, आध्यात्मिक विकास, मानसिक कल्याण र शारीरिक स्वास्थ्यको परिपूरक नाम नै योग हो ।
नरेन्द्र मोदी र मानसाग्निको योगदान
योगका सन्दर्भमा चर्चा गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम जोडिने गर्छ ।साधुतुल्य, पूर्वीय दर्शनका चिन्तक र अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्व नरेन्द्र मोदी एक योगी हुन् । योगप्रति उनको अनुरागले विश्वभर योगको प्रचारप्रसार गरी विश्वलाई नै योगमय बनाउन उनले खेलेको भूमिका असाध्यै सह्राहनीय छ । उनले सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्नुपर्ने प्रस्ताव गरे । जसलाई संयुक्त राष्ट्रसंघले स्वीकृत ग¥यो र ९० दिनभित्र ऐतिहासिक रुपमा प्रस्ताव सर्वसम्मत पारित भएपछि विश्व योग दिवस मनाउने वातावरण बन्यो । जसले गर्दा मोदीलाई संसारभर योगको सन्दर्भमा चिन्ने गरिन्छ । त्यस्तै, मोदीले पूर्वीय दर्शन र आध्यात्मिक सम्पदाको समेत प्रचारप्रसार गर्ने गरेका छन् भने भारतमा आयुष मन्त्रालय (आयुर्वेद, योग, युनानी, सिद्ध र होमियोप्याथी जस्ता परम्परागत चिकित्सा पद्धति) स्थापना गरी योग र आयुर्वेदलाई संस्थागत विकासमा जोड दिएका छन् । योगबाट शारीरिक र मानसिक स्वस्थता प्राप्त भई दीर्घ रोगको रोकथाम र निराकरण गर्न सकिने कुरालाई विश्व स्वास्थ्य संगठनमा समेत विश्वास दिलाई थप अनुसन्धानका लागि बाटो खोलिदिएबाट मोदीको चर्चा चुलिएको छ । कोभिड १९ विश्वव्यापी फैलँदा योग नै प्रभावकारी रोकथामको माध्यम बनाइएको जगजाहेर छ । त्यतिमात्र नभइ मोदीले दैनिक योग गर्छन् र योगको प्रचारप्रसार गरी जनसाधारणमा योग लोकप्रिय बनाउन पहल गरेका छन् भने नेपालमा समेत योगको प्रचारप्रसार र योगका कार्यक्रमलाई उजागर गर्न सहयोग गरेका छन् । यसबाट योगको सन्दर्भमा मोदी विश्वका गर्व गर्न लायकका नेता बनेका छन् ।
त्यस्तै, नेपालमा योगको इतिहासकोचर्चा गर्दा मानसाग्नि वा डा. हरिप्रसाद पोखरेलको भूमिकामुख्यरुपमा आउने गर्दछ । योगको सुरुवात नै नेपालबाट भएको हो भन्ने कुरामा मानसाग्नि दृढ छन् र यसका लागि उनले गरेको अनुसन्धान, साधना र इतिहासले समेत यो कुराको पुष्टि गर्दछ । मानसाग्निका अनुसार शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रुप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा भएका शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् भन्ने कुरामा प्रमाण सहित मानसाग्निबहस गर्छन्। यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्वर प्रकृतिप्रेमी महान दार्शनिक विद्वान मानसाग्नि हुन् । साधनाको नामबाट मानसाग्नि नामाकरण गरेका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेल नै मानसाग्नि हुन् ।
आबाल ब्रह्माचारीका रुपमा रहेका पाल्पाको मदनपोखरामा वि.सं. २०२० सालमा जन्मेका मानसाग्नि सोह्र वर्षको उमेरमै हरिप्रसाद पोखरेलबाट मानसाग्नि बनेका हुन् । मानसाग्निले नै वि.सं. २०३६ साल माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गरेका हुन् । योगमा शारीरिक शुद्धता भन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सासँग जोडेर मानसाग्निले नेपालमा अतुलनिय योगदानदिइरहेका छन् । २०३६ सालदेखि हालसम्मको निरन्तर उनको अभियानको फलस्वरुप नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको छ । यसैगरी उनकै पहल र संघर्षबाट प्रत्येक वर्ष असार २० गते नेपालमा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस समेत मनाउने गरिन्छ ।
यसका साथैआयुर्वेद, योग र प्राकृतिक चिकित्साको क्षेत्रमा मानसाग्निको अथक प्रयासबाट शिक्षा क्षेत्रमा समेत पाठ्यक्रममा यी विषय समेट्ने काम भएकाछन् । हाल त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा योग र प्राकृतिक चिकित्सा प्राध्यापन गर्ने पहिलो व्यक्तिको रुपमा समेत मानसाग्नि स्थापित भएका छन् । आफूबाटै स्थापना गरेको काठमाडौंको भिमसेनगोलामा अवस्थित प्राकृतिक चिकित्सालयमा योग र प्राकृतिक चिकित्साको प्रयोगात्मक कक्षा समेत निःशुल्क सञ्चालन गर्दै आएका छन् । यसरी गुरुकुल पद्धतिमा मात्र चलिरहेको योग र प्राकृतिक चिकित्सा शिक्षालाई विद्यालय र विश्वविद्यालयको ढाँचामा लगि औपचारिक शिक्षाका रुपमा नेपालमा पठनपाठन गराउने पद्धतिको शुरुवात गर्नु मानसाग्निको निकै ऐतिहासिक कदम हो, जसले गर्दा इतिहासमा उनलाई निरन्तर स्मरण गराइरहने सुनिश्चित छ । योग, आयुर्वेद र प्राकृतिक चिकित्सा सम्बन्धी दर्जनौं पुस्तक र ग्रन्थहरू प्रकाशित गरिसकेका र “राष्ट्रयोगी” लगायत दर्जनौं सम्मानबाट सम्मानित मानसाग्निको बहुप्रतिभाशाली व्यक्तित्वको जतिसुकै वर्णन गरे पनि सकिंदै नसकिने सामाजिक योगदानहरू छन् । मानसाग्निबाटै प्रतिपादन भएको “स्वधर्म”र निर्मल ध्यान विधि लगायतका दार्शनिक विचारको प्रचार प्रसारमा जुट्नसके आम नेपाली मात्र होइन विश्वभरका मानव समुदायलाई प्रेरणा मिल्न जाने देखिन्छ । यसरी नेपालमा योगमा महत्वपूर्ण योगदान पु¥याउने मानसाग्नि र विश्वभर योगको माहोल बनाउने नरेन्द्र मोदी दुवैलाई अन्तर्राष्ट्रिय योग दिवसका दिन सम्झनु न्यायपूर्ण नै हुनेछ । अस्तु ।





