बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाली पर्यटनको मियो हैन धार्मिक पर्यटन

नेपाली पर्यटनको मियो हैन धार्मिक पर्यटन

मान्छेको आस्थालाई बजेटमार्फत् सम्बोधन गरिँदा सरकारको आलोचना पनि कम होला तर यसरी धार्मिक क्षेत्रमा ठूलो रकम खर्चनुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन ।


  • Dhorpatan News
  • असार ९ २०८२, सोमबार

नेपाल आफैमा पर्यटकीय गन्तव्य हो । राणाकालीन समयमा नेपाल विदेशीको लागि खुल्ला थिएन । बेलायती उपनिवेशका केही उच्च पदस्थ व्यक्तिहरुलाई रिझाउनका निम्ति सिकारको लागि निम्त्याउनेबाहेक अन्य पर्यटकलाई नेपाल निषेधित नै थियो । कुटनीतिक नियोगका प्रमुख र अन्य केही फिरङ्गीहरुले गरेको यात्रा र उनीहरुबाट व्यक्त वृत्तान्तले नै नेपालबारे विदेशीले धेरथोर थाहा पाए । छिमेकी भारतका निम्ति चाहिँ नेपाल पशुपतिनाथको दर्शन गर्ने थलो थियो । २००७ सालको परिवर्तनपछि नेपाल विदेशीको लागि खुला भयो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले गण्डकी प्रदेशमै रहेको अन्नपूर्णको सफल आरोहण गरेपश्चात नेपाल साहसिक पर्यटकका निम्ति आकर्षणको केन्द्र बन्यो । त्यसको ३ वर्षपछि तेन्जिङ र एडमण्डले सगरमाथा चुमे । कालान्तरमा चाहिँ नेपाल साहसिकसँगै पदयात्रा पर्यटनका लागि प्रख्यात बन्यो । युद्धबाट वाक्क भएका हिप्पीहरुले मुक्तिको खोजी गर्ने थलो पनि नेपाललाई मानियो । नेपाल मुलतः पदयात्रा र साहसिक पर्यटनको गन्तव्य हो । तर,पछिल्लो समय पदयात्रा मार्गहरु सडकका कारण नासिएका छन् । प्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग नै ३० दिनबाट खुम्चिएर ७ दिनको वरपर झरेको छ । वैकल्पिक पदयात्रा मार्ग निर्माण, पर्यावरण संरक्षणतर्फ सरकारले नीतिगत घोषणा गरे पनि व्यवहारमा काम भएको छैन । पर्यटनलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मान्ने सरकार कसरी पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ भन्नेबारे भने ठोस कार्यक्रम अगाडि सार्न असमर्थ छ ।

पछिल्लो समयचाहिँ नेपालमा पर्यटन प्रवद्र्धनको नाममा मठ,मन्दिर,गुम्बालगायतका संरचना बनाउने र त्यसका निम्ति बजेट विनियोजन गर्ने लहर चलेको छ । पोखराकै कुरा गर्ने हो भने, वरपरका सवैजसो डाँडाहरुमा यो वा त्यो नाममा मन्दिरलगायतका संरचना बनाइएका छन् । संरचना बनाउनु र पर्यटक भित्र्याउनु गलत हैन तर मठ–मन्दिर,गुम्बा,चैत्य, मदरसा,चर्च,गुरुद्वार बनाउनका निम्ति अत्यधिक खर्च गरिनु सही हैन । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि विनियोजित बजेटमै उद्योगलाई ५६ लाख र मन्दिरलाई २१ करोड बजेट विनियोजन गरिएको छ । बजेट मुलतः उत्पादनमूलक क्षेत्रमा खर्चनुपर्छ । सामाजिक,शैक्षिक, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रलाई पनि संवोधन गरिनैपर्छ । तर, गण्डकीको बजेटमा पर्यटन प्रवद्र्धनको नाममा ठूलो रकम खर्च गरिँदै छ । धार्मिक भावना बोक्ने व्यक्तिहरुलाई मन्दिर ठडिँदा खुसी लाग्ला । मान्छेको आस्थालाई बजेटमार्फत् सम्बोधन गरिँदा सरकारको आलोचना पनि कम होला तर यसरी धार्मिक क्षेत्रमा ठूलो रकम खर्चनुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । हो, धार्मिक स्थलहले पर्यटक आकर्षित गर्छन् । त्यसबाट आन्तरिक र बाह्य पर्यटन क्षेत्र चलायमान बनाउन योगदान पनि पुग्छ । घुम्न निस्केकाले खर्च पनि गर्छन् नै तर धार्मिक पर्यटन नेपाली पर्यटनको मुलबाटो हैन भन्ने सरकारले मनन गर्नैपर्छ । धार्मिक संघ÷संस्थाहरु बलियो हुनु भनेको धार्मिक अतिवाद मौलाउने कारक पनि बन्नसक्छ भन्नेतर्फ पनि राज्यले ध्यान दिनुपर्छ । सरकार साँच्चिकै उत्पादकत्व र रोजगारी बृद्धि चाहने हो भने उत्पादनमूलक क्षेत्रमा नै बजेट विनियोजन गरिनुपर्छ । गण्डकी सरकारले धार्मिक संघ÷संस्थालाई महत्व दिएर मान्छेको आस्थासँग खेल्न खोजेको देखिएको छ । जुन सरासर गलत छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->