धानखेत धेरै हुनु,परालको टौवा ठूलो हुनु र वर्षभर नै धानको भात खानुलाई समृद्धिको द्योतक मान्ने परम्परा अझसम्म पनि कायमै छ । यसरी हेर्दा धान नेपालको प्रमुख खाद्यान्न बाली हो । गण्डकीमा दुईवटा जिल्ला मनाङ र मुस्ताङमा धान फल्दैन । तर, यी हिमाली जिल्लामा पनि धानप्रतिको मोह उत्तिकै छ । कतिसम्म भने,मुस्ताङका थकालीले त यही धानको भातमा सीप खन्याएर त्यसलाई ‘थकाली खाना’को रुपमा ब्राण्डिङ नै गरेका छन् । नेपालको अधिकांश भागमा धान फल्छ । हरेक वर्ष करोडौं रुपैयाँको चामल विदेशबाट आयात हुँदै आएको तथ्याङ्कले नेपाल धानमा आत्मनिर्भर नभएको पुष्टि गर्छ ।
पोखराकै कुरा गर्ने हो भने, २०७८ सालको कृषि गणना अनुसार पोखरा महानगरपालिकामा ३७ हजार १ सय ५६ कृषक परिवार र खेतीयोग्य जमिन ८ हजार ९ सय ७४ हेक्टर रहेको छ । पोखरा महानगरपालिकाको कृषि महाशाखाका अनुसार त्योमध्ये ८ हजार ३ सय ९५ हेक्टरमा धानसहित मौषमी बाली लगाइन्छ ।
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार पोखराको जनसंख्या ५ लाख १३ हजार ५ सय ४ रहेको छ । यहाँ वर्षिक आउने पर्यटकको संख्या १५ लाख हाराहारी छ । एकजनालाई वार्षिक रुपले १८३ किलोग्राम खाद्यान्न चाहिन्छ । पोखरा महानगरको आर्थिक विकास महाशाखाले गरेको एक अध्ययन अनुसार धानसहित अन्य खाद्यान्नको हकमा पोखराको उत्पादन चाहिँ जम्मा ६ करोड ५७ लाख किलोग्रामको हाराहारीमामात्र हुन आउँछ । पोखराबाट बाहिर गएको जनसंख्या र यहाँ आउने पर्यटकको हिसाब मिलाउँदा वार्षिक १५ लाख व्यक्तिलाई खाद्यान्न चाहिन्छ भन्ने मान्ने हो भने यहाँ वार्षिक १ सय ५९ किलोग्राम खाद्यान्न पुग्दैन ।
पछिल्लो समय सरकारले धानको उत्पादकत्व बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । अनुदान पनि छ्यालब्याल बनाएको छ । तर, उत्पादकत्व बढेको छैन । परनिर्भरता घटेको छैन ।गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा ‘व्यावसायिक कृषि तथा आत्मनिर्भरता’लाई प्रदेश विकास तथा रुपान्तरणका १४ वटा प्रमुख क्षेत्रमध्ये एक मानेको छ ।
प्रदेश नीति तथा योजना आयोगले नै कृषिको व्यावसायिकरण हुन नहुँदा,कृषि सम्मानित पेशा बन्न नसक्दा र सिंचाइको सुविधा नपुग्दा उत्पादकत्व नबढेको औंल्याएको छ । बढ्दो बाँझो जमिन,कृषि श्रम र युवा जनशक्तिको अभाव,जग्गाको खण्डीकरण,नयाँ प्रविधिको अभाव, जलवायु परिवर्तन,समयमा मल र बीउको अभावले पनि उत्पादकत्व नबढेको हो । यी र यस्ता तथ्यहरुलाई बेलैमा संबोधन नगर्ने हो भने धान नेपालको प्रमुख खाद्यान्न बाली नै रहने तर सधैँ बेसाहाको भर पर्ने अवस्था आउँछ । अतः कृषिलाई सम्मानित पेशामा रुपान्तरण गर्दै किसानलाई सहुलियत दिने खालका नीतिहरु तर्जुमा गरिनुपर्छ । नत्र एकदिन धान दिवस मनाएरमात्र धानको उत्पादन वृद्धि हुँदैन ।




