आज आदिकवि भानुभक्त आचार्यको जन्मदिन । गण्डकी प्रदेश सरकारले भानुजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । तनहुँको भानुमा जन्मेका भानुभक्तको नेपाली साहित्यको उन्नयनमा ठूलो योगदान रहेको छ । उनले नै संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली साहित्य लेखनमा नयाँ परम्पराको थालनी गरेका थिए ।
नेपाल बहुजातीय र बहुधार्मिक मुलुक हो । यहाँ विवभिन्न भाषाहरु बोलिन्छन् । ती भाषाभाषीहरुको साझा सम्पर्क भाषा चाहिँ नेपाली हो । नेपालीलाई राष्ट्रिय भाषाको रुपमा स्थापित गर्ने काम भानुभक्तको रामायणले नै गरेको हो भन्दा अत्युक्ति हुँदैन । पृथ्वीनारायण शाहले भौगोलिक रुपले नेपालको एकीकरण गरेका थिए भने भाषिक रुपले देशलाई एउटै मालामा उन्ने काम भानुभक्तबाटै भएको थियो । भानुभक्तका अन्य कृतिहरु पनि छन् । कतिपयले बधुशिक्षाजस्ता कृतिका कारण उनलाई स्त्रीद्वेषीको आरोप पनि लगाउँछन् तर उनको त्यो कृतिलाई तत्कालीन समयको सोचको उपजको रुपमा मात्र सीमित गर्नु उपर्युक्त हुन्छ । नेपाली भाषालाई सरल, साहित्यिक र सजीव बनाएर देशभरको जनमानसमा यसको उपयोग र मूल्य बढाएकाले नै उनी आदिकवि भएका हुन् । भानुसँग जोडिने अर्को नाम मोतीराम भट्ट हुन् । भानुका कृतिहरुलाई प्रचारमा ल्याउन मोतीको अमूल्य योगदान छ । भानुजन्यतीको दिनमा उनको पनि स्मरण गर्नु वाञ्छनीय हुन्छ । भानुले नै नेपाली साहित्य लेखनको जग बसालेका हुन् । उनले जनसाधारणले बोल्ने भाषालाई नै आफ्ना सिर्जनामा प्रयोग गरे । जसले गर्दा त्यो सर्वस्वीकार्य र प्रिय रह्यो । सबै वर्ग, जात, समुदायबीच स्वीकार्य बन्यो । यसका अवाला उनका रचनाहरूमा धार्मिकता, सामाजिकता, र नैतिकता झल्किन्छ, जुन सबै जातजाति र समुदायका साझा मूल्य हुन् । उनले भाषालाई केवल सञ्चारको माध्यम मात्र नभइसंस्कार, विचार र पहिचानको रूपमा प्रस्तुत गरे । जसका कारण बहुभाषिक समाजमा नेपाली भाषालाई एकताबद्ध गर्ने माध्यम बनायो । नेपाली भाषाको रूपलाई साहित्यिक, सांस्कृतिक र भावनात्मक रूपमा जनमानसमा गहिरो रूपमा स्थापित गर्ने काम उनीबाटै भएको हो । उनको प्रेरणाबाट पछि आएका कविहरू र लेखकहरूले नेपाली भाषामा लेखनलाई अगाडि बढाए, जसले साझा भाषा बन्ने प्रक्रियालाई थप गतिशील बनाउने श्रेय पनि उनलाई नै दिनुपर्छ ।




