बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साउने संक्रान्ति र धार्मिक महत्व

साउने संक्रान्ति र धार्मिक महत्व

नेपालीहरूले साउने संक्रान्ति पर्व आ–आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर–तरिकाहरू पनि केही भिन्न छन् ।


  • Dhorpatan News
  • साउन १ २०८२, बिहिबार

ज्योतिष शास्त्र अनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण (साउने) संक्रान्ति भनिन्छ । यसलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गते अर्थात् मकर (माघे) संक्रान्तिका दिन पृथ्वीको उत्तरी गोलार्ध अर्थात् उत्तर तर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिण गोलार्धमा अर्थात् दक्षिणतर्फ यात्रा गर्ने भएकोले दक्षिणायन पनि आजकै दिनदेखि सुरु हुन्छ । ग्रीष्म ऋतुको समय अवधि समाप्त हुन्छ ।

साउन सङक्रान्तिले धान रोपाइँको समाप्तिलाई जनाउँछ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको धार्मिक महत्व रहेको छ । स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिनदेखि गरिन्छ । हिन्दु धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । यसैगरी याकथुङ लिम्बू समुदायमा सिसेक्पा तङ्नामको नामले यो संक्रान्ति मनाइन्छ । कतिपयले आफ्नो ईष्टदेवको सम्मानमा साउने संक्रन्तिको दिन नयाँं पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ठाउँ र जाति विशेषले आआफ्नै परम्परा अनुसार साउने संक्रान्ति मनाउने चलन छ ।

साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फालिन्छ । निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायत वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझमा अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । आजका दिन कन्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । साउने संक्रान्तिदेखि चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । साउन लागे लगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमंग छाउने गर्छ । रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षहरुमा साना बालिका र किशोरीहरु समेत मेहन्दी र रातो र हरियो वस्त्र लगाएर साउने व्रत बस्ने गरेका छन् । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ ।

यो पर्व प्रायजसोः सबै नेपालीको चाडको रुपमा रहेको छ । नेपालीहरूले साउने संक्रान्ति पर्व आ–आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर–तरिकाहरू पनि केही भिन्न छन् । ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरू दिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->