कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ६ धितालका दुग्धकिसानहरूले दूधको भुक्तानी पाएका छैनन् । दूधको भुक्तानी रोकिँदा उनीहरुको दैनिकी नै कष्टकर बनेको छ भने गाईभैंसीलाई दाना र चोकर किन्नसमेत हम्मे भएको छ । जसका कारण उनीहरु पेशाबाटै बिस्थापित बन्ने अवस्था आएको छ । त्यहाँका किसानहरुले श्री धिताल दुग्ध उत्पादक सहकारीलाई दूध दिँदै आएका थिए । सहकारीले पोखरामा रहेको एउटा निजी डेरी उद्योगलाई दूध दिन्थ्यो । तर, दूध लिने लवकुश डेरीले ४ महिनादेखिको भुक्तानी रोकेको छ । हिउँदको समयमा दूधको बिक्री नभएको र त्यही कारणले भुक्तानी दिन नसकेको कम्पनीको जिकिर छ ।
नेपालमा दुग्ध किसानले भुक्तानी नपाउने पुरानै रोग हो । पछिल्ला केही वर्षयता दुग्ध किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसक्नुका साथै समयमै भुक्तानी नपाउने प्रवृत्ति तीव्र बन्दै गएको छ । यो अवस्था किसानको जीवनस्तरमा गम्भीर असर पार्नुका साथै नेपालको दुग्ध उद्योगको दिगोपनामा पनि प्रश्न उठेको छ ।
दुग्ध संकलन केन्द्र, सहकारी संस्था वा निजी डेरीहरूले किसानबाट नियमित रूपमा दूध संकलन गर्ने गर्छन् तर त्यसको भुक्तानी महिनौंसम्म रोकिने गरेको पाइन्छ । कतिपय अवस्थामा त किसानहरूले वर्षौँसम्म भुक्तानी नपाएर आर्थिक संकट व्यहोर्नुपरेको छ । यो प्रवृत्ति व्यवसायिक अनुशासनको उल्लंघन मात्र नभइ कानूनी तथा नैतिक दृष्टिकोणले पनि आपत्तिजनक छ ।
दुग्ध उत्पादनको लागि किसानले चोकर, खनिज मिश्रण, घाँस, औषधोपचारजस्ता महँगा लागत खर्च गर्नुपर्छ । यस्ता लागतहरू तत्कालीन नगद आवश्यकतासँग जोडिएका हुन्छन् । तर, जब किसानले आफ्नो उत्पादनको मूल्य समयमै पाउँदैनन्, उनीहरू कर्जामा फस्ने, उत्पादन घटाउने वा पेशा नै परिवर्तन गर्ने अवस्थामा पुग्छन् । यसले दुग्ध आपूर्तिमा कमी आउनुका साथै समग्र दुग्ध उद्योगमा नकारात्मक प्रभाव पार्दछ । दूधमा आत्मनिर्भर बन्ने लक्ष्य पनि पर पुग्छ । यो समस्या निराकरणको लागि सरकारबाटै पहल हुनुपर्छ । खासमा समयमै किसानलाई भुक्तानी गर्नको लागि आवश्यक संयन्त्र निर्माण गरिनुपर्छ । भुक्तानी नगर्नेहरुलाई कारवाही हुनुपर्छ भने त्यस्तो अवस्थामा खरिदको जिम्मेवारी सरकारले नै लिनुपर्छ । त्यसो हुन नसके कृषिमा आधारित अर्थतन्त्रको दाबी व्यवहारमै खोक्रो सावित हुन्छ । किसानहरु पलायन हुन्छन् ।




