राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक सम्पदाको अत्यधिक र अनुचित दोहनले मनसुनजन्य विपत्ति बढावा भएको जनाएको छ । प्राधिकरणले यो वर्ष यस्ता विपत्तिहरु अझ बढ्ने प्रक्षेपण पनि गरेको छ । डोजरे विकास, पानीढलो बिगार्दै निर्माण गरिएका भौतिक संरचना, वातावरणीय मूल्याङ्कन बिनाका सडक निर्माण रोख्दा विपद्का घटनामा कमी आउने प्राधिकरणको भनाइ छ ।
पछिल्लो समय वातावरणीय मूल्याङ्कनको ख्यालबिनै भौतिक निर्माणको लहर चलेको छ । र, यो अभियानमा सडक निर्माणको भूमिकाम महत्वपूर्ण रहेको छ । विकास भनेको बाटो हो भन्ने मान्यतासँगै लामो समयपछि आएका जनप्रतिनिधिहरु अहिले धमाधम गाउँगाउँमा बाटो बनाउने अभियानमा चलाए । यो उपक्रम रोकिएको छैन । बाटो के बनाउनु ? काल भित्र्याउने ट्रयाक खोलियो । डोजर अघि लगाएर गाउँ छिर्ने जनप्रतिनिधिहरुले भौगोलिक अवस्था, सम्भावित वातावरणीय क्षतिलगायतका विषय हेर्ने कुरै भएन । आफूलाई मन लागेको ठाउँबाट ट्रयाक खोल्नुलाई सफलता मानियो । जथाभावी खोलिएका बाटाहरु विनासका कारण बन्छन् भन्ने हेक्का नराख्दा त्यसले देशैभर विपत्ति निम्तिएको छ तर बाटो खोल्ने उपक्रम रोकिएको छैन । राष्ट्रिय योजना आयोगले योजना बनाउँछ । योजनाहरुहरुको वातावरणीय मूल्याङ्कन हुनुपर्छ । वातावरण प्रभाव मूल्याङ्कन ईआईएको विपरीत निर्माण गरिए वा ईआईएको प्रतिवेदन स्वीकृत नहुँदैमा कुनै पूर्वाधार निर्माण भए ५० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । विकासको नाममा जथाभावी काम हुन थालेपछि यो नियम अघि सारिएको हो । वातावरण संरक्षण ऐन २०५३ मा भएका प्रावधानहरुभन्दा अझ कडा प्रावधानहरु राखी नयाँ ऐन बनाएको हो । यसैगरि भू–उपयोग ऐन–२०६६ ले पनि वातावरणीय पक्षलाई महत्व दिएकै छ ।
तर, विद्यमान कानूनहरु जे–जस्ता भए पनि वातावरणीय मूल्याङ्कन बिनै ठूला निर्माण कार्य हुँदै आएको धरातलीय यथार्थ हो । दीगो विकासको नारा दिने तर विकासले नै विनास निम्त्याउँछ भन्ने चेत नहुने अहिलेको विकासे मोडलले अझ ठूला दुर्घटना निम्त्याउने निश्चित छ । नेपालका नीति निर्माता र विकास अभियन्ताहरुले दूरदृष्टि लगाउँदैनन् । उनीहरु क्षणिक लाभमा रमाउँछन् । प्रकृतिको चक्रलाई चलाउँदा उत्पन्न हुने जोखिमबारे बेखबर रहन्छन् । यसले गर्दा न विकासे परियोजनाहरु टिकाउ हुन्छन् न जनताले सुख पाउँछन् । विकास भनेको दीगो हुनुपर्छ । दीगो विकासको लागि पर्यावरणीय संरचनाहरु बिगार्नु हुँदैन । पर्यावरण बिग्रिएपछि पुरानो अवस्थामा ल्याउन गाह्रो पर्छ । विकास भनेको मान्छेको लागि हो । मान्छेलाई नै हानी पु¥याउने, प्राकृतिक चक्र बिगार्ने विकासे मोडल अविलम्ब परिवर्तन गर्नैपर्छ । मानवीय र भौतिक क्षति कम गर्ने विकासको मोडल निर्माण गरिनुपर्छ ।




