बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपदवाट जोगिन विकासे मोडल पनि फेरौ

विपदवाट जोगिन विकासे मोडल पनि फेरौ

दीगो विकासको नारा दिने तर विकासले नै विनास निम्त्याउँछ भन्ने चेत नहुने अहिलेको विकासे मोडलले अझ ठूला दुर्घटना निम्त्याउने निश्चित छ ।


  • Dhorpatan News
  • साउन ६ २०८२, मंगलबार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक सम्पदाको अत्यधिक र अनुचित दोहनले मनसुनजन्य विपत्ति बढावा भएको जनाएको छ । प्राधिकरणले यो वर्ष यस्ता विपत्तिहरु अझ बढ्ने प्रक्षेपण पनि गरेको छ । डोजरे विकास, पानीढलो बिगार्दै निर्माण गरिएका भौतिक संरचना, वातावरणीय मूल्याङ्कन बिनाका सडक निर्माण रोख्दा विपद्का घटनामा कमी आउने प्राधिकरणको भनाइ छ ।

पछिल्लो समय वातावरणीय मूल्याङ्कनको ख्यालबिनै भौतिक निर्माणको लहर चलेको छ । र, यो अभियानमा सडक निर्माणको भूमिकाम महत्वपूर्ण रहेको छ । विकास भनेको बाटो हो भन्ने मान्यतासँगै लामो समयपछि आएका जनप्रतिनिधिहरु अहिले धमाधम गाउँगाउँमा बाटो बनाउने अभियानमा चलाए । यो उपक्रम रोकिएको छैन । बाटो के बनाउनु ? काल भित्र्याउने ट्रयाक खोलियो । डोजर अघि लगाएर गाउँ छिर्ने जनप्रतिनिधिहरुले भौगोलिक अवस्था, सम्भावित वातावरणीय क्षतिलगायतका विषय हेर्ने कुरै भएन । आफूलाई मन लागेको ठाउँबाट ट्रयाक खोल्नुलाई सफलता मानियो । जथाभावी खोलिएका बाटाहरु विनासका कारण बन्छन् भन्ने हेक्का नराख्दा त्यसले देशैभर विपत्ति निम्तिएको छ तर बाटो खोल्ने उपक्रम रोकिएको छैन । राष्ट्रिय योजना आयोगले योजना बनाउँछ । योजनाहरुहरुको वातावरणीय मूल्याङ्कन हुनुपर्छ । वातावरण प्रभाव मूल्याङ्कन ईआईएको विपरीत निर्माण गरिए वा ईआईएको प्रतिवेदन स्वीकृत नहुँदैमा कुनै पूर्वाधार निर्माण भए ५० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । विकासको नाममा जथाभावी काम हुन थालेपछि यो नियम अघि सारिएको हो । वातावरण संरक्षण ऐन २०५३ मा भएका प्रावधानहरुभन्दा अझ कडा प्रावधानहरु राखी नयाँ ऐन बनाएको हो । यसैगरि भू–उपयोग ऐन–२०६६ ले पनि वातावरणीय पक्षलाई महत्व दिएकै छ ।

तर, विद्यमान कानूनहरु जे–जस्ता भए पनि वातावरणीय मूल्याङ्कन बिनै ठूला निर्माण कार्य हुँदै आएको धरातलीय यथार्थ हो । दीगो विकासको नारा दिने तर विकासले नै विनास निम्त्याउँछ भन्ने चेत नहुने अहिलेको विकासे मोडलले अझ ठूला दुर्घटना निम्त्याउने निश्चित छ । नेपालका नीति निर्माता र विकास अभियन्ताहरुले दूरदृष्टि लगाउँदैनन् । उनीहरु क्षणिक लाभमा रमाउँछन् । प्रकृतिको चक्रलाई चलाउँदा उत्पन्न हुने जोखिमबारे बेखबर रहन्छन् । यसले गर्दा न विकासे परियोजनाहरु टिकाउ हुन्छन् न जनताले सुख पाउँछन् । विकास भनेको दीगो हुनुपर्छ । दीगो विकासको लागि पर्यावरणीय संरचनाहरु बिगार्नु हुँदैन । पर्यावरण बिग्रिएपछि पुरानो अवस्थामा ल्याउन गाह्रो पर्छ । विकास भनेको मान्छेको लागि हो । मान्छेलाई नै हानी पु¥याउने, प्राकृतिक चक्र बिगार्ने विकासे मोडल अविलम्ब परिवर्तन गर्नैपर्छ । मानवीय र भौतिक क्षति कम गर्ने विकासको मोडल निर्माण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->