बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युवालाई अवसर देऊ, उत्साह भर

युवालाई अवसर देऊ, उत्साह भर

सरकारले युवा लक्षित विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । प्रमाणपत्र राखेर ऋण दिनेदेखि स्टार्टअप र नूतन विचारलाई बढावा दिन खोजेको छ । तर, प्रमाणपत्र राखेर ऋण लिन सजिलो छैन बरु विदेशिन चाहिँ सहज छ । युवा नीति, युवा स्वरोजगार कोषको स्थापना र संचालन, सशक्तिकरणका क्षेत्रमा अझै धेरै गर्न बाँकी छ ।


  • Dhorpatan News
  • साउन २८ २०८२, बुधबार

अंग्रेजी महिनाको अगस्ट १२ तारिखको छेको पारेर नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस मनायो । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरिएको ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ को नारालाई राजनेतादेखि अभियन्तासम्मले भट्याए । नेपालमा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिन्छ । २०७८ सालको जनगणना अनुसार देशमा ४६.५६ प्रतिशत युवा छन् । देशमा युवा धेरै हुनु भनेको अवसर र चुनौती दुवै हो । जनसांख्यिक लाभको सिद्धान्तलाई आधार मान्ने हो भने हेर्दा नेपाललाई अहिले यी युवालाई कज्याउने र आर्थिक समृद्धि हासिल गर्ने अवसर छ । तर, दुर्भाग्य ! युवामध्येको ठूलो जनसंख्या बेरोजगार छ र बेरोजगारीबाट पिल्सिएकाहरु वैदेशिक रोजगारी छन् । झण्डै ८० लाखभन्दा १८७ भन्दा बढी मुलुकमा श्रम बेचिरहेका छन् । उनीहरुले देशमा विप्रेषण पठाएका छन् । त्यही विप्रेषणबाट देशको अर्थतन्त्र धानिएको छ । उपभोक्ता संस्कृतिमा बढावा भएको छ । विदेशिएको जनशक्तिले पठाएको रेमिट्यान्सबाट कुनै देश माथि लागेको उदाहरण छैन । देश माथि लाग्न रोजगारी सिर्जना हुनुपर्छ, उत्पादकत्व बढ्नुपर्छ । औद्योगिकीकरणसँगै कृषिमा व्यावसायिकरणले मात्र रोजगारी सिर्जना हुन्छ र युवाहरु स्वदेशमै बस्ने वातावरण सिर्जना हुन्छ । देशले त्यो दिशामा केही गर्न खोजेजस्तो देखिएको छ तर त्यो परिणाममुखी हुन सकेको छैन । देशमा युवाहरुमा चरम निराशा व्याप्त छ । १२ कक्षा उत्तीर्ण गरेको कोही कसैलाई उसको इरादाबारे सोध्यो भने ‘विदेश’ उत्तर आउँछ । देशमा केही भएन भन्ने भाष्यले किचेका युवाहरु राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जाहेर गर्छन्, देशमा केही हुँदैन भन्ने भाव व्यक्त गर्छन् । यो चरम निराशा र मनोवृत्ति चिर्ने काम सरकारको हो । जे हुनुपर्ने भइरहेको छैन । पछिल्लो समय युवा जनशक्ति ओरालो लाग्ने क्रममा छ । गण्डकीकै कुरा गर्ने हो भने धेरै जिल्लामा जनसंख्या घट्ने क्रममा छ । केही वर्षपछि देश बुढाबुढीको मात्र हुने सम्भावना बढेर गएको छ । बुढाबुढीमात्रैको देशले आर्थिक उन्नतिको दिशा पक्डन सक्दैन । अतः गर्नुपर्ने यही बेला हो । तन्देरी पुस्ताको मनोभावना बुझ्दै उनीहरुलाई रचनात्मक कार्यमा लगाउने, स्वदेशमै अड्याउने तथा उत्पादकत्व बढाउनका लागि नयाँ कार्यक्रम ल्याउनु जरुरी देखिएको छ ।

केही नभएको पनि हैन । आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत् सरकारले युवा लक्षित विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । प्रमाणपत्र राखेर ऋण दिनेदेखि स्टार्टअप र नूतन विचारलाई बढावा दिन खोजेको छ । तर, प्रमाणपत्र राखेर ऋण लिन सजिलो छैन बरु विदेशिन चाहिँ सहज छ । युवा नीति, युवा स्वरोजगार कोषको स्थापना र संचालन, सशक्तिकरणका क्षेत्रमा अझै धेरै गर्न बाँकी छ । मुख्य कुरा, नीति बनाएरमात्र हुँदैन, कार्यान्वयन गरिनुपर्छ । नेपालको कार्यान्वनय पक्ष फितलो छ । जसले गर्दा अवसर सिर्जना हुन सकेको छैन । अवसर सिर्जना नहुँदा र देशमा केही हुँदैन भन्ने गलत भाष्य निर्माण हुँदा पलायन बढ्दो छ । अतः अहिलेको मुख्य कार्यभार युवा पलायन रोक्नु र उनीहरुमा उत्साह भर्नु नै रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->