बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विषादीको अन्धाधुन्ध प्रयोगले बढेको रोग–कीराको संकट

विषादीको अन्धाधुन्ध प्रयोगले बढेको रोग–कीराको संकट

खेती केवल बोट उमार्ने मात्र नभई जीवन उमार्ने काम पनि हो । माटो हाम्रो भविष्य हो, र भविष्यमा विष होइन, जीवन चाहिन्छ । यदि हामी आजै बाट यस विषयमा नबदलिए भोलि हाम्रा खेतमा बोट होइन, रोग र विष मात्र उम्रनेछन् ।


  • Dhorpatan News
  • साउन २९ २०८२, बिहिबार

पोखरा–१३ कि सकुन्तला चौधरीले ४/५ वर्ष अघिसम्म तरकारीमा प्रशस्त रासायनिक मल, विषादी प्रयोग गरिन् । यसले उत्पादन बढायो, उत्पादनसंगै आम्दानी पनि बढ्यो । तर दीर्घकालीन रुपमा भने हानी पु¥याएको पछिमात्रै थाहा पाइन् । रासायनिक मल र विषादीको प्रयोग वर्षैंपिच्छे दोब्बर गर्नुपर्ने भयो, जसले उनको स्वास्थ्यलाई त हानी ग¥यो नै उपभोक्ता र माटोलाई पनि असर पु¥यायो । यो एउटा उदाहरण मात्र हो ।

हामीले केही दशकअघि खेतीमा ‘क्रान्ति’ ल्याउने भनेर रासायनिक मल र विषादीलाई राम्रैसंग खेतबारीमा भित्रायौ । सुरुमा फसल बढ्यो, कीरा घटे, किसानको अनुहारमा खुशी छायो । तर आज त्यही खुशी ओझेलमा गइसकेको छ । विषादीले कीरा मार्दा कीराका प्राकृतिक शत्रु पनि मरे । माटोमा बाँच्ने जीवाणु र कीटाणु हराए । बोटबिरुवाको रोगसँग लड्ने शक्ति घट्यो । परिणाम तरकारी र फलफुलमा नयाँनयाँ रोग र कीरा लाग्न थाले । यसले किसान आक्रान्त बनेका छन् । किसानहरु यसबाट छुट्कारा पाउन आतुर छन् ।

अहिले हामीले ‘उपचार’ भनेर प्रयोग गरिरहेको उपाय नै रोग–कीराको मूल कारण बनेकोमा दुईमत छैन । रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोगले खेतबारीको प्राकृतिक सन्तुलन भत्किएको छ । माटो, पानी, वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । यस्तो अवस्था निम्त्याउन कसको के जिम्मेवारी रह्यो त भन्ने गहन प्रश्न उठेको छ । यो केवल किसानको मात्र नभई, नीति बनाउने सरकार, विषादी बेच्ने व्यापारी र सस्तोमा बढी फल्ने खेतीको लोभ गर्ने उपभोक्ता—सबै जिम्मेवार छन् यो समस्या निम्त्याउनमा ।

यस्तो समस्या समाधानका लागि सरकारले आँखा चिम्लेर रासायनिक खेतीलाई उत्पादन वृद्धि गर्ने एक मात्र बाटो ठान्ने गल्ती छोड्नुपर्छ । एकीकृत कीरा व्यवस्थापनलाई नीति र व्यवहारमा उतार्नुपर्छ । किसानलाई जैविक मल, जैविक विषादी, बाली फेरबदल र रोग–प्रतिरोधी जातबारे पर्याप्त तालिम दिनुपर्छ । प्रदेश र स्थानीय तहहरूले गाउँमै कम्पोस्ट र नीम–आधारित विषादी उत्पादन केन्द्र स्थापना गरेर किसानलाई सजिलो पहुँच दिनुपर्छ । विषादीको बिक्री र प्रयोगमा कडाइ गर्नुपर्छ, र सुरक्षित विकल्प दिनुपर्छ । उच्च जोखिमका रासायनिक विषादी तुरुन्तै प्रतिबन्ध गर्नुपर्छ, र सुरक्षित सूचीभित्रका विषादी मात्र सीमित मात्रामा प्रयोग गर्न दिनुपर्छ । किसानलाई सुरुवाती क्षतिपूर्ति दिने बाली बीमा प्रणाली पनि आवश्यक छ, ताकि उनीहरू विषादीमा निर्भर भएर तत्काल नाफा खोज्न बाध्य नहुन् ।

खेती केवल बोट उमार्ने मात्र नभई जीवन उमार्ने काम पनि हो । माटो हाम्रो भविष्य हो, र भविष्यमा विष होइन, जीवन चाहिन्छ । यदि हामी आजै बाट यस विषयमा नबदलिए भोलि हाम्रा खेतमा बोट होइन, रोग र विष मात्र उम्रनेछन् । उपभोक्ताले विषरहित तरकारी र फलफुलको माग बढाए, किसानले विषरहित उत्पादनमा रुचि देखाए, र सरकारले दिगो कृषि प्रणालीको आधार तयार ग¥यो भने मात्र यो संकट टर्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->