पोखरा/गण्डकी प्रदेशलाई खेलकुदको उर्वरभूमि मात्र होइन खेल पर्यटनको राजधानीसमेत भनिन्छ । यो कुरा केन्द्रीय खेलकुददेखि स्थानीय तहसम्म नेतृत्व गर्नेहरुले कुनै प्रतियोगिता, समारोह वा खेलसम्बद्ध गतिविधिमा प्रयोग गर्ने भाष्य हो । देश संघीयतामा गएपश्चात पालिकास्तरबाटै खेलकुद समिति गठन भएका छन् । त्यतिमात्र होइन, गण्डकीमा सबैभन्दा बढी भलिबल र फुटसलका गतिविधिहरु हुने गरेका छन् । विधिसम्मत होस् वा अवैधानिक, नाफामुखी होस् वा गैरनाफामुखी ! क्लबदेखि व्यक्तिसम्मले प्रतियोगिता आयोजना गरेकै छन् । अझ पालिकास्तरमा हेर्ने हो भने विभिन्न खेल प्रतियोगितामा सहयोग गर्ने होडबाजी नै चल्छ । प्रतियोगिता आयोजना गर्ने क्लब वा संस्था कस्तो हो भन्ने कुरा ख्याल नगरि हचुवाको भरमा सरकारी बजेट विनियोजन गरिन्छ ।
खेलकुदका लागि लिग मेरुदण्ड हो । त्यही मेरुदण्डको लागि आवश्यक छ– ग्रास रुट । ग्रास रुट अर्थात् खेलाडीमा पाइला राख्ने पहिलो खुट्किलो । गएको जेठमा १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भयो । जेठ २१ गते कास्कीमा जिल्लास्तरीय छनोट सम्पन्न भयो । भलिबल, कबड्डी, मार्सल आर्ट र एथलेटिक्स गरी ४ विधाका खेल भए । मार्सल आर्टमा कराते, उसु र तेक्वान्दो रहेको थियो भने एथलेटिक्समा विभिन्न ११ विधामा प्रतिस्पर्धा भएको थियो ।
स्थानीय पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगिताका लागि हुने छनोट खेलले गण्डकीको टिम बन्यो । २०८२ जेठ २१ गते देखि केन्द्रीयस्तरको प्रतियोगिता सम्पन्न भयो । तीन दिनसम्म चलेको प्रतियोगितामा बागमती प्रदेश ३६ स्वर्ण, ७ रजत र ११ कांस्य साथ च्याम्पियन बन्दा गण्डकी चौथो स्थानमा रह्यो । सुदूरपश्चिम १४ स्वर्ण, २० रजत र १८ कास्यका साथ दोस्रो स्थानमा रह्यो । ११, १२ र १३औँ संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो । लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।
गण्डकी प्रदेशले ४ स्वर्ण, ११ रजत र १७ कांस्य साथ चौथो, कर्णाली प्रदेश चरा स्वर्ण, ६ रजत र १९ कास्य साथ पाँचौँ तथा मधेश प्रदेश तीन स्वर्ण, दुई रजत र १० कांस्य साथ छैटौँ स्थानमा रहे । सातौँ स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कास्य जित्यो । पालिकास्तरमा नै कमजोर हुँदा गण्डकीको अवस्था कमजोर रह्यो । ग्रासरुट नै राम्रो नहुँदा यस्तो अवस्था आएको हो । यो कमजोरी पहिलो मात्र होइन १४ औं, १३ औं लगायतका संस्करणमा समेत दोहोरिएका हो ।
प्रदेशस्तरीय राष्ट्रपतिमा कास्की जिल्लाले प्रथम स्थान हासिल गर्न सफल हुँदा कास्की जिल्लास्तरीय छनोटमा भने पोखरा महानगरपालिकाले प्रथम स्थान हासिल ग¥यो । ५ पालिका रहेको कास्कीमा चार विधाका विभिन्न प्रतिस्पर्धा हुँदा भलिबल, कबड्डी र एथलेटिक्समा मात्र सवै पालिका सहभागी भए । मार्सल आर्टमा भने पोखरा महानगरपालिका बाहेक अन्यको सहभागिता नै रहेन । स्थानीय तहले झ्वाट्ट हेर्दा खेलकुदमा लगानी गरेको देखिन्छ । तर, ती सबै अनावश्यक र अनुत्पादक प्रतियोगिताका खर्च हुन् ।
यही प्रतियोगितालाई आधार मान्ने हो भने पनि स्थानीय तहले खेलकुदमा होइन, अनावश्यक ठाउँमा लगानी गरिहेको छ । त्यही कारणले खेलकुदमा विकृति फैलिइरहेको छ । अझ पछिल्लो समय त फुटसलमा यति विकृति मौलाएको छ कि व्यक्तिव्यक्तिले प्रतियोगिता आयोजना गर्छन र त्यसमा वडादेखि पालिकासम्मले बजेट दिन्छन् ।
मुआथाइका प्रशिक्षक तथा खेलाडी खगेन्द्र क्षेत्री यो प्रवृत्तिका कारण ग्रास रुटबाबट खेलाडी उत्पादन असम्भव भएको बताउँछन् । ‘अहिले पालिकाहरुले पनि राष्ट्रियस्तरका प्रतियोगिता गराउने होडबाजी चलेको छ । यसले खेलकुद चलायमान देखिए पनि खेलाडी उत्पादन हुन सक्दैन । आखिर उत्पादित खेलाडीले नै खेल्ने हो,’ उनले भने, ‘पालिकाहरुले विद्यालयस्तरीय प्रतियोगिता गर्नेदेखि प्रशिक्षण क्याम्पजस्ता गतिविधि गराउन आवश्यक छ । हामी पुरानो शैलीको प्रशिक्षणमा छौं । स्पोट्र्स साइन्सको समय आइसक्यो ।’
पूर्वखेलाडी राजन पौडेलले पालिकाहरुले आफ्नो पूर्वाधार विकासमा ध्यान दिन जरुरी रहेको औंल्याए । पूर्वाधारमा लगानी गरेपछि, तल्लोस्तरबाटै जे सम्भव छ त्यसैको प्रशिक्षक राखेर खेलाडी उत्पादन गर्नुपर्ने उनी जोड दिन्छन् । पालिकाहरुको टिम बनाउनका लागि पालिकामा खेलाडी उत्पादन हुनुपर्छ ।बाहिरबाट खेलाडी ल्याएर गरिने प्रतियोगिताले मनोरञ्जन दिन्छ तर दीर्घकालीन फाइदा दिँदैन । अहिले पालिकाहरुको बजेट रमाइलो र मनोरञ्जनका निम्ति खर्च भएको पौडेलको ठम्याइ छ ।
‘अहिले खेलकुद जसरी चल्नुपर्ने हो त्यसरी चलेको छैन र जसरी नचल्नुपर्ने हो त्यसरी चलिरहेको छ । हामी ग्रास रुटबाट खेलाडी विकासमा अघि बढ्नै सकेनौं । पालिकाहरुले त्यता ध्यान नै दिएनन्,’ उनले भने ‘जहाँ जे सम्भव हुन्छ त्यो वडामा त्यही त्पूर्वाधार बनाऔं, प्रशिक्षण बढाउँदै जाउँ, विस्तारै प्रशिक्षकहरूको पनि व्यवस्था गर्दै जाआँै भन्ने कुरा हो ।’ ग्रासरुटस्तरको सबैभन्दा ठूलो र खेलाडी निस्कने थलोको रुपमा स्थापित राष्ट्रपति रनिङ्ग शिल्ड काम चलाउमात्रै हुँदै आइरहेको उनले बताए । ‘२ दिन आएर रंगशालामा दौडेर नतिजा आउँदैन । यतिमात्र होइन राष्ट्रपति रनिङ शिल्ड झारा टार्नेबाहेक अरु केही हुन सकिरहेको छैन्,’ उनी थप्छन् ‘केही वर्षदेखि गण्डकीको सम्भावना बोकेको खेल मार्सल आर्टमै कमजोर हुँदै जानुले पनि गण्डकीको खेलकुद खस्किएको देखिन्छ । जहाँ क्वान्टीटी भए पनि क्वालिटी भने छैन् । दक्ष जनशक्तिको अभाव । नेतृत्व तहमा आउने व्यक्तिसमेत खेलकुदभन्दा बाहिरको हुँदा समस्या देखिँदै आइरहेको छ ।’
पूर्वअन्तर्राष्टिय« भलिबल खेलाडी हरि पराजुलीले सबै उमेर समूहलाई सक्रिय बनाउने उद्देश्यले खेलकुद गतिविधिमा स्थानीय तहको योगदान बढाउनुपर्ने धारणा राखे । ‘ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्नका लागि चरणबद्ध खेलकुद कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आवश्यक हुन्छ । खेल पर्यटनको विकास, स्वस्थ नागरिक उत्पादन र आर्थिक समृद्धिमा योगदान पु¥याउने यस अभियानमा स्थानीय तहको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ,’ उनले भने ‘स्थानीय तहले खेल संरचना निर्माण, प्रतियोगिता आयोजना र प्रतिभा पहिचानमा केन्द्रित योजनाहरू ल्याउँदै दीर्घकालीन रूपमा खेलकुदको विकासमा समर्पित रहनुपर्छ । यसले राष्ट्रलाई स्वस्थ, प्रतिभाशाली र आत्मनिर्भर खेल समाज निर्माणमा टेवा पु¥याउनेछ ।’





