नेपाली समाजमा तीज पर्वले अत्यन्तै विशिष्ट स्थान ओगटेको छ । विशेष गरी हिन्दु महिलाहरूले धूमधामका साथ मनाउने यस पर्वको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि निकै महत्वपूर्ण छ । तीजको सुरुवात पौराणिक कथनहरूसँग जोडिएको पाइन्छ । मान्यता अनुसार, भगवान शिव र पार्वतीको मिलनको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । पार्वतीले भगवान शिवलाई पति पाउने उद्देश्यले कठोर व्रत गरेकी थिइन् । अन्ततः उनको तपस्याले प्रसन्न भएर शिवले उनलाई पत्नीको रूपमा स्वीकार गरे । त्यसैको सम्झनामा तीज पर्वको परम्परा सुरु भएको जनविश्वास छ ।
तीजको आरम्भ भाद्र महिनाको शुक्ल पक्षको तृतीयादेखि हुने गर्दछ । तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन ‘दर खाने’ चलन छ । जहाँ महिलाहरू मिठा परिकारहरू खाएर भोलिपल्टको निर्जल व्रतका लागि तयारी गर्छन् । यसपटक दर खाने दिन भदौ ९ गते परेको छ । दोस्रो दिन मुख्य तीज व्रत हो, जसमा महिलाहरूले भगवान शिवको पूजा गर्दै निराहार तथा निर्जल व्रत बस्ने परम्परा छ । तेस्रो दिन ‘ऋषि पञ्चमी’ मानिन्छ, जुन दिन महिलाहरूले शुद्धीकरणको रूपमा स्नान, पूजा आदि गर्छन् ।
तीजको धार्मिक पक्ष जति महत्वपूर्ण छ, यसको सामाजिक र सांस्कृतिक पक्ष पनि त्यत्तिकै गहन छ । यो पर्व महिला एकता, सामूहिकता, तथा आत्म–अभिव्यक्ति र महिला स्वतन्त्रताको एक माध्ययम मान्न सकिन्छ । गाउँघरदेखि शहरसम्म महिलाहरू रातो पहिरनमा सजिएर गीत–संगीत, नाचगान मार्फत आफ्ना भावना अभिव्यक्त गर्छन् । तीजका गीतहरूले सामाजिक चेतना, लैंगिक असमानता, महिला अधिकार लगायत विषयहरूलाई उजागर गर्ने गर्छन्, जसले यो पर्वलाई केवल धार्मिक नभएर सामाजिक विमर्शको थलो पनि बनाएको छ ।
समकालीन परिवेशमा तीजको स्वरूपमा ठूलै परिवर्तन हुँदै आएको देखिन्छ । एकातर्फ यसले महिलाहरूलाई आत्मबल र अभिव्यक्तिको अवसर दिएको छ भने अर्कोतर्फ उपभोक्तावाद, देखावटीपन र मौलिक परम्पराबाट विचलन हुने चिन्ता पनि बढेको छ । दर खाने नाममा महिनौं दिन अघिदेखि ‘पार्टी’ खाने चलनले सांस्कृतिक बिचलन निम्त्याउने होकी भन्ने खतरा पनि बढेको छ । त्यसैले, तीजको मौलिकता जोगाउँदै यसको सांस्कृतिक र सामाजिक सन्देशलाई सशक्त बनाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको छ ।
अन्त्यमा, तीज केवल एक व्रत बस्ने पर्वमात्र नभएर नेपाली महिलाको आत्म–सम्मान, आस्थाको प्रतीक र सामाजिक रूपान्तरणको स्वरूप हो । यसलाई यथार्थपरक रूपमा बुझेर मनाउनु आजको आवश्यकता हो ।




