उल्लेखित विषयवस्तु तथा विश्लेषणका आधारमा नेपालको सन्दर्भ र विश्व परिस्थितीको मुल्यांङकन गर्ने हो भने नेपालको शैक्षिक साँस्कृतिक पर्यावरणमा पनि यो विषयलाई समेटिएको पाइन्छ तर पनि कतिपय अवधारणाहरुमा भारतिय उपमहादिपको झलक भनेर व्याख्या र विश्लेषण गरेको पाइन्छ जुन केहि हदसम्म सत्य होला वा नहोला तर पनि बुझन् जरुरी यो हो कि ब्रिटिस उपनिवेशको पालाबाट नै नेपालको साँस्कृतिक र शैक्षिक अतिक्रमण भएको हो । जसको अर्थ यो होइन कि भारतमा नेपाली संस्कृतिको झलक नआउने तर पनि गुरुकुल शिक्षा प्रणाली, भाषिक, धार्मिक र साँस्कृतिक सामिप्यताका कारण पनि हाम्रो समाजमा शैक्षिक पर्यावरण वा वातावरणको निर्माणमा अनुकुलता नआउनु वा नहुनुमा विविध पक्षहरुको अहम् भुमिका रहेको छ । जसका कारण संरचनागत र प्रकार्यगत सुधारहरु गर्न जरुरी छ । वर्तमान विश्व भनेको आर्थिक, राजनैतिक, व्यापार, र हातहतियारको सामराज्य हो जसले कुनै एक तत्वलाई विकास गर्न सक्छ । निश्चित रुपमा आफ्नो अस्तित्वलाई बँचाई राख्न सक्छ तर अन्य अवस्थामा वा अन्य देशहरुको अवस्थामा शैक्षिक, सामाजिक र आर्थिक विचलनहरु हाबी हुन्छन् । जसको परिणाम हामीहरु माझ छर्लङ्ग छ । त्यसकारण शैक्षिक साँस्कृतिक पर्यावरण चरणगत रुपमा विकास गरि राष्ट्र र राष्ट्रियताको बचाउ गर्न जरुरी छ । जसलाई समाजशास्त्रको भाषामा साँस्कृतिक प्रचारवादको रुपमा औल्याइएको छ । माथी प्रस्तुत विश्लेषणलाई तथ्यगत रुपमा हेर्नका लागि सर्वप्रथम नेपालको साँस्कृतिक पक्षको उद्भवतिर लाग्न जरुरी छ । आदिम कालदेखि आधुनिक कालसम्म भएको साँस्कृतिक विकास क्रमको गहन अध्ययनबाट नै एक असल शैक्षिक साँस्कृतिक पर्यावरणमा अन्तरनिहित विषयवस्तुलाई प्रस्टाउन सकिन्छ । जसका लागि नेपाली संस्कृतिभित्र रहेका तथ्यहरुको अध्ययन र निर्माण प्रक्रियालाई पुर्नजागरण गरि तिनले पारेका प्रभावलाई समय सापेक्षताका आधारमा मुल्याङ्कनको पाटोबाट हेरौँ ।
जसका लागी विभिन्न स्रातहरु बाट निम्न सन्र्दभ सामाग्रीहरु प्रस्तुत गरिएको छ ।
‘नेपालमा शिक्षा र साँस्कृतिक विकास गहिरो रुपमा एकअर्कासँग जोडिएका छन् । देशको शिक्षा प्रपालीले परम्परागत, धर्ममा आधारित प्रणालीबाट उदाएर अधिक आधुनिक, विविध र विश्व प्रभावित संरचनामा महत्वपूर्ण विकास गरेको छ । यसको विकासले, समाजमा मूल्यमान्यतामा परिवर्तन, भाषाको प्रयोग र प्रविधिको एकीकरण जस्ता व्यापक साँस्कृतिक परिदृश्यलाई प्रभावित गरेको छ र आफैं पनि यसबाट प्रभावित बनेको छ ।’ जसका आधारमा निम्न तथ्यहरुले महत्वपूर्ण भुमिका खेलेका छन् ।
प्रारम्भिक शिक्षा र शैक्षिक साँस्कृतिक पर्यावरण र प्रभाव
१. गुरुकुल तथा धार्मिक संस्थाहरु
ऐतिहासिक रुपले नेपालको शिक्षा पद्धती गुरुकुल र धार्मिक कर्मकाण्डहरुमा आधारित पाइन्छ, जसका अवशेषहरु आधुनिक कालमा पनि शैक्षिक, सामाजिक, र साँस्कृतिक पर्यावरणका रुपमा व्याप्त छन् । जसले समाजलाई नियन्त्रण गर्दछन् र मानव व्यवहारलाई दिशानिर्देश गरेका छन् । खासगरी ती शिक्षा र संस्कृतिहर मठमन्दिर, गुम्बा, हिन्दु तथा बुद्ध धर्म ग्रन्थहरुमा विषेश महत्व राख्दछन् ।
२. सिमित अवसर तथा प्रवेश
नेपालको शिक्षा पद्धती गुरुकुल र धार्मिक कर्मकाण्डहरुमा आधारित भएका कारण सिमित जातजाती वा जाती विषेशलाई मात्र प्रवेश वा एकाधिकार दियो जसका कारण सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक वैचारिक द्धन्द्ध, विभेद, भेदभाव र आधुनिक युगमा सामाजिक विभाजनका अवयवहरुको जन्म भयो । जसका अवशेषहरु आधुनिक कालमा पनि शैक्षिक, सामाजिक र साँस्कृतिक पर्यावरणका रुपमा व्याप्त छन्, जसलाई एक शैक्षिक साँस्कृतिक पर्यावरणको स्तम्भका रुपमा प्रस्तुत गर्न सकिन्छ ।
३. औपचारिक शिक्षा र विद्यालयको शुरुवात
नेपालको औपचारिक शैक्षिक पर्यावरण पनि समकालिन राजनैतिक परिवेशका आधारमा शुरु भएको इतिहास छ, जसले स्वतन्त्रता र समानतालाई परित्याग गरि अवसर र स्वार्थमा केन्दि«कृत भई उच्च वर्गमा निहित भयो । जसका कारण समाजमा आमूल परिवर्तनका मागहरुको भावानालाई स्थापित गरिदियो । यी मागहरुको स्थापना नै नेपालको शैक्षिक साँस्कृतिक पर्यावरणको एक मूल आधार बन्यो । जसका कारण परिवर्तन सम्भव भयो । जसलाई नेपालको इतिहासमा प्रजातन्त्रको स्थापना भनेर पनि चिनिन्छ ।
प्रजातन्त्रको स्थापना पछिको शैक्षिक साँस्कृतिक पर्यावरण
१. प्रजातन्त्रको स्थापना पछिको शैक्षिक साँस्कृतिक पर्यावरण खुल्ला, गुरुकुल र धार्मिक कर्मकाण्डहरुमा आधारित, भारतिय उपमहाद्धिपको छायाँ, उपनिवेशको झलक सहितको शैक्षिक साँस्कृतिक पर्यावरणको निर्माण भयो । जसले नेपालको अर्थ, समाज, राजनिति, धर्म, दर्शन, विचारलाई केहि खुकुलो पार्यो तर विकास, चेतना, जागरुकता, इच्छा शक्ति, विभेद र शोषणयुक्त सामाजिक परिवेशका कारण समयानुकुल परिवर्तन हुन सकेन र जसलाई आधुनिक परिवर्तनका साथा पुर्नभाषित गर्न जरुरी छ ।
२. प्रजातन्त्रको स्थापना पछिको शैक्षिक साँस्कृतिक पर्यावरण खुल्ला हुनुकै कारण नेपालले साक्षरता दर बढायो तर दक्ष मानव स्रोतको अभाव नै रह्यो । भुपरिवेष्ठिता, भौगोलिक विविधताका कारण समयानुकुल शैक्षिक पर्यावरणको प्रचार र स्रोत साधनको परिचालन हुन सकेन्, जसलाई विदेशीहरुको हातमा सुम्पनु पर्यो वा विभिन्न अन्तरराष्ट्रिय गेर सरकारी संस्थाहरुको हातमा पुग्यो । यहिं कालमा आयात गरिएको अंग्रेजी भाषा व्यापारको माध्यम बन्यो र अहिले समग्र देशको शिक्षा प्रणालीलाई वर्गीकरण गरि शिक्षाको स्तरलाई नकरात्मक बढि र सकरात्मक कम असर पार्याे वा पारिरहेको छ ।
३. शैक्षिक साँस्कृतिक पर्यावरणमा सापेक्षिक रुपमा पाठ्यक्रम र पाठ्यपुस्तकहरुमा परिवर्तन आयो तर यसले अपेक्षित रुपमा समग्र परिवर्तन ल्याउन सकेन । किनभने हाम्रो सामाजिक संस्कार, मानसिकता, सामाजिक प्रबृतिहरु बास्तवमै परिवर्तन भएका थिएनन् जसका नीति नियमहरु गुरुकुल र धार्मिक कर्मकाण्डहरुमा आधारित थिए र आधुनिक समयमा पनि त्यो प्रवृत्ति हाबी छ, जसलाई शैक्षिक साँस्कृतिक पर्यावरणका रुपमा व्याख्या गर्न सकिन्छ ।
४. अंग्रेजी भाषाको आगमन वरदान र अभिषाप दुबै रह्यो उच्च वर्ग र धनाढ्यहरुका लागि अवसर, सिप विकासको आधार अन्तरराष्ट्रिय सञ्जालको माध्यम र वरदान बन्यो भने कमजोर आर्थीक अवस्था र कमजोर विद्यार्थीहरुका लागि अभिसाप बन्यो । जसले औपचारिक रुपमा नै नेपाललाई औपनिवेशिकतामा सामेल गर्यो र विभेदपूर्ण शिक्षा नीति कार्यान्यन गर्न बाध्य बनायो, जसको असर आजको नेपाली समाजमा प्रत्यक्ष देख्न र अनुभव गर्न सकिन्छ । यहि क्रम केहि दशक जारी रह्यो भने शिक्षामा वर्ग क्रान्ति हुने आधारको निर्माण हुन सक्छ ।
५. सांस्कृतिक प्रभावको आधारशिला र दृष्टिकोणका रुपमा पनि शैक्षिक साँस्कृतिक पर्यावरणलाई लिन सकिन्छ । बद्लिदो समाज, विचार, राननिति र मनोविज्ञानले शैक्षिक चेतनामा अभिबृद्धिका साथै महिला शिक्षा, बालशिक्षा, लगाएतका कार्यक्रमहरुले स्थान पाए तर साँस्कृतिक अतिक्रमण भने जारी नै रह्यो । भाषा र शैलीमा परिवर्तन ल्यायो । अन्तर महाद्धिपिय सञ्जालले कतिपय नेपाली लोक परम्पराको शोषण, अतिक्रमण र नाश भयो भने पश्चिमीकरण व्याप्त भयो । जसले जीवनशैलीलाई नै तात्वविक रुपमा परिवर्तन गरिदियो । यो प्रचारवादको एक नमुना वा अंशका रुपमा रहन्छ ।
६. शैक्षिक साँस्कृतिक पर्यावरणलाई भुमण्डलीकरणले पनि उत्प्रेरकका रुपमा काम गर्यो जसका कारण नेपाल भारत हुदैँ तेस्रो विश्वसंग पनि जोडियो र ग्लोवल अंशका रुपमा प्रवेश गर्यो जसले नेपालको समाजमा व्याप्त परम्परावादी सोचलाई परिवर्तन गरिदियो । भुमण्डलीकरणले सकरात्मक रुपमा नेपालीजनहरुमा अतिक्रमण हुँदै गएको साँस्कृतिक पहिचानलाई जोगाउन र संरक्षण गर्नका लागि पनि चेतनाको विकास गरिदियो । जसले आधुनिक नेपाली समाजमा मुख्य रुपमा जातीवाद र कम्तीमा राष्ट्रवादको भावनालाई प्रेरित गर्यो । किनभने नेपालभित्र आफ्नो जाती र वर्गका लागि काम गर्ने संघ संस्थाहरुको बाहुल्यता छ ।
७. साँस्कृतिक प्रचारवादको प्रभावकै कारण लिङ्ग, भाषा, धर्म, जाती, सम्प्रदाय बीचको सतही विभेद र भेदभाव अन्त्यको आरम्भ भयो तर वास्तवमा शोषित वर्ग स्वतन्त्रता छ भन्ने भ्रममा परे भने शोषण गर्ने वर्गहरु शोषण गर्न नपाउनुका कारण वकालत खुल्ला रुपमा गर्न नपाउने कुण्ठामा परे । यो तालमेल मिल्न र मिलाउन अझै दशकौँको प्रयास जारी रहनु पर्ने अवस्था छ ।
८. सेतु निर्माणको आधारका रुपमा शैक्षिक साँस्कृतिक पर्यावरणलाई लिन सकिन्छ जसका कारण परम्परागत र आधुनिक शैक्षिक प्रणालीमा भुमण्डलीकरण र प्रविधिकरण जस्ता उन्नतीहरु देखापरेका कारण पनि विगतको संस्कार र संस्कृतिले शैक्षिक स्वरुपमा परिवर्तन ल्याउने बाटो खोलेको छ ।
९. डिजिटल परिवर्तन आम नागरिक तथा सबै वर्गका मानिसहरुमा रुचेको विषय हो । तिब्र प्रविधिको विकासका कारण डिजिटल संस्कार र प्रयोग व्याप्त भएको छ । जसका लागि आधुनिक शैक्षिक प्रणालीमा भुमण्डलीकरण र प्रविधिकरण जरुरी देखिन्छ र निम्न उपायहरु अपनाई व्यवस्थापन गर्न सकिन्छ । आधुनिक नेपाल निर्माणको मूल आधार पनि यहि नै हो । जसले धेरै समस्याहरुको निराकरणमा सहयोग पुराउन सक्दछ ।
डिजिटल परिवर्तनका लागि अपनाइनु पर्ने केहि मापदण्डहरु
१. पाठ्यक्रम, पाठ्यपुस्तक र कक्षालाई पूर्ण रुपमा डिजिटल गराइनु पर्ने वा आंशिक रुपमा डिजिटल थालनी गरि पूर्णता दिनुपर्ने वा त्यो वातावरणका लागि लगानी गर्न सरकारी वा निजी क्षेत्रबाट प्रयत्न गर्नुपर्ने र समय अनुसारको पुर्वाधारमा जोड दिनुपर्ने ।
२. विार्थीहरुलाई सानैबाट डिजिटल सामाग्रीसंग प्रशिक्षित गराउनु पर्ने र सो अनुसारको वातावरण विद्यालयमा तयार गरिनु पर्ने अनि नियमित रुपमा अभिभावकसँग डिजिटल अन्तरक्रियात्मक कार्यकलापहरु गरिनु पर्ने जसलाई उपलब्धिमुलक बनाउनका लागि शिक्षक र विद्यालय अहोरात्र खटिनु जरुरी छ । र, धेरैभन्दा धेरै लगानी र जनशक्ति परिचालन गर्न जरुरी छ । अनि शिक्षकहरुमा धेरै अनुसन्धान र कम कक्षा शिक्षणको भारको योजना अगाडी हुनुपर्दछ वा सो अनुसारको थालनीको सुरुवात गर्ने ।
३. विद्यार्थीहरुलाई साइबर एथिक्स्संग जोडिएका सबै आचार संहिताहरु कक्षाकोठामा वा अन्य स्थानहरुमा पालना अनिवार्य गर्ने गराउने र विषयवस्तुलाई शिक्षा, धर्म, दर्शन, आध्यमिकता, योग, मानसिक सम्र्पकको शिक्षा, नैतिकता लगायतका विषयसँग जोड्ने र चक्रिय अवलोकन शिक्षा प्रणाली र डिजिटल नियन्त्रण राख्ने ।
४. अभिभावकहरुलाई साधारण तर विषेश विषयवस्तु माथी डिजिटल तालिम उपलब्ध गराउनु पर्ने र सामाजिक तहमा प्रारम्भिक एकाईहरुको गठन गर्नु जरुरी छ । जसले सामाजिक समन्वय गरि निरन्तर मुल्याङकन र निरीक्षण गर्ने गर्दछ । जस्तैः चीनमा लगाइने सेन्सरसिप र हरेक तहबाट गरिने मुल्याङकन जसको निचोड र निर्णय अनन्त एउटै प्रकारको हुन्छ ।
५. समयसापेक्ष डिजिटल शिक्षक तालिम उपलब्ध गराउनु पर्ने जसमा श्रेणी, तह, उमेर, विषय जस्ता विषयहरुलाई प्राथमिकताका आधार हरुमा वर्गिकरण गरि तालिम दिने र परिवर्तनलाई परिणाममुखी बनाई निरन्तर मुल्याङकन् गर्ने र शिक्षकको सेवा अवधिलाई कम गर्ने ताकि दक्ष र नयाँ जनशक्तिले स्थान परिपुर्ति गर्न सकोस् । समयसापेक्ष जनशक्ति उत्पादनमा जोड दिने । शिक्षण पेशालाई सम्मानजनक पेशाका रुपमा विकसित गर्ने ।
६. कक्षा ९ देखी माथीका सबै कक्षा तथा संकायहरुमा डिजिटल साक्षरता मात्र नभई व्यवाहारिक डिजिटल शिक्षा जस्तैः नेटवर्क, फायरवाल, स्कायानिङ, नेटवर्क स्कुरेटी ब्यासिक, साइवर प्रोटोकल, इनक्रिप्सन, र इनट्रजन डिटेक्सन् कनेक्टिभिटी जस्ता विषयहरुलाई अनिवार्य गर्ने ।
७. कम्प्युटर र डिजिटल शिक्षालाई अनिवार्य र अन्तरराष्ट्रिय मापदण्ड अनुसार अध्ययन अध्यापन गर्ने गराउने । डिजिटल साधन र संशाधनहरुलाई समय अनुरुप परिर्माजन गर्ने । जसका लागि डिजिटल आचार संहिताको विकास गर्ने ।
८. विकसित देशहरुको शिक्षा प्रणालीभन्दा पनि विकसित देशहरुले हाम्रो जस्तै विकासशिल अवस्थामा लिएका शिक्षा नीतिहरुलाई अवलम्वन गरि पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिनु पर्ने । सिकाईलाई प्रभावकारी बनाउन विभिन्न सरल र सहज सफ्टवेरहरु देशभित्र भाषागत, सामाजिक, विविधताका रुपमा विकास गरिनुपर्ने ।
९. कक्षा शिक्षणमा शिक्षकहरुले विद्यार्थीको परिर्वतनमुखी मनोवैज्ञानिक अवधारणालाई मनन गरि आधुनिक तरिकाबाट अध्यापन र डिजिटल साधनको भरपुर उपयोग गरि नयाँ विधिबाट सिकाई क्रियाकलाप सञ्चालन गर्ने र क्रियाकलापलाई अनुसन्धानमुखी र दिर्घकालीन सोचका साथ सञ्चालन गर्ने गराउने ।
१०. गृहकार्यलाई डिजिटल गरिनु पर्ने, अहिले पनि कतिपय विद्यालयहरुले गरेको पाइन्छ, जुन एक म्यासेजमा आधारित छ । त्यो विल्कुल गलत छ, जसले होमवर्कभन्दा पनि गलत प्रयोगलाई प्रोत्साहन गरेको देखिन्छ । गृहकार्य खोजमा आधारित गरिनु पर्ने र स्थानीय विषयहरु र सकेसम्म अन्य विषयहरुलाई पनि विभिन्न वेव पेजमा विभिन्न फरम्याटहरुमा उपलब्ध गराउनु पर्ने, जसलाई राष्ट्रिय पाठ्यक्रम विकास केन्द«बाट मात्रै सञ्चालन गरिनुपर्ने ।
११. प्रत्येक विद्यालयमा आधुनिक शिक्षण प्रविधिहरु प्रयोग गर्नुपर्ने र प्रत्येक विद्यालयमा एक कम्प्युटर शिक्षक नियुक्ति गर्नु पर्ने, आई. टि. विधि बाट सञ्चालनमा आएका विद्यालयको वरपर रहेका समाजको निरीक्षण र प्रयोगको जिम्मेवारी सहितको नियुक्ति दिनुपर्ने अनि त्यसको कार्यशैली निरिक्षणका लागि स्वतन्त्र समिति गठन ।
१२. विद्यालय सुचना पाटी, सामुदायिक सञ्चार, विषेश वर्ग लक्षित योजना र सम्र्पकहरुलाई डिजिटल गराउनु पर्ने । अहिले जसरी पूर्ण रुपमा सामाजिक सञ्जालहरुमा आउने गरी होइन् कि एक विशेष एप्सको व्यवस्थाको माध्यमबाट जुन प्रयोगकर्ताहरुलाई सहज हुने प्रकारको भाषा र संरचनामा बनाइएको होस् ।
१३. अतिरिक्त क्रियाकलाप, हाजिरीजवाफ, शब्द निर्माण, चित्रलेखन लगायतका कार्यक्रमलाई डिजिटल प्रविधीमैत्री बनाउनु पर्ने ।
१४. प्रतिएक वडाभित्र एक विशिष्ट तर स्वतन्त्र शैक्षिक निरिक्षकको व्यवस्था गरिनु पर्ने जसलाई प्रदेश वा केन्दि«य निकायबाट सञ्चालन र निर्देशन गर्ने ।
१५. सबै निजी विद्यालयहरुलाई आंशिक वा पूर्ण हदसम्म सरकारी मातहतमा ल्याउने र सरकारी शिक्षा नीतिलाई पालना गर्न लगाउने ।
१६. शिक्षालाई राजनैतिक हस्तक्षेपबाट टाढा राख्ने । विद्यालय व्यवस्थापन समितिमा राजनैतिक व्यक्तिको नियुक्ति हटाइनु पर्ने । विद्यालय व्यवस्थापन समितिमा कम्तीमा स्नातक गरेको व्यतिm अध्यक्ष र १२ पास गरेकाहरुलाई सदस्यमा नियुक्ति दिने ।
१७. शिक्षाको गुणस्तर कायमा गर्नका लागि शिक्षक तलब, सेवा, सुविधामा सापेक्षिक वृद्धि गर्ने र राजनीति, आनाकानी गर्ने, पदिय दुरुपयोग गर्ने शिक्षकलाई बर्खास्त गर्ने । जसका लागि अलग्गै स्वतन्त्र निकायको व्यवस्था गर्ने ।
१८. शिक्षाको गुणस्तर कायम गर्न, समस्याको समाधान गर्न, तीनै प्रकारका सरकारबीच काम कर्तव्य र अधिकार क्षेत्रहरुको मापदण्ड स्पष्ट पारिनु पर्ने र समन्वयका लागि एक स्वतन्त्र आयोग वा शाखालाई परिचालन गर्ने वा गराउने ।
१९. पाठ्यक्रम आधुनीकिकरणमा भाषागत विषय लगायत अन्य विषयहरुलाई पनि प्रविधिमैत्री बनाई अध्ययन अध्यापन गराइनु पर्ने, सो विषयमा आधारित सामाग्रीहरुलाई विकसित गर्ने विषेश तालिमको व्यवस्था गरिनु पर्ने ।
२०. विशेष शैक्षिक अवधारणमार्फत विशेष ऐन, मस्यौदा, अध्यादेश वा अन्य कुनै प्रणालीबाट सुधारत्मक कार्य तत्काल लागु गरिनु पर्ने ।
निष्कर्ष
नेपालको शिक्षा व्यवस्थाले धर्म र परम्परामा केन्द्रित प्रणालीबाट विश्वव्यापी प्रवृत्तिमा प्रभावित अधिक आधुनिक र विविध संरचनामा महत्वपूर्ण परिर्वतन गरेको छ । यो विकास शैक्षिक साँस्कृतिक परिवर्तनसंग नजिकबाट जोडिएको छ । जसले नेपाली समाजमा सकरात्मक र नकरात्मक दुवै प्रभावहरु पारेको देखिन्छ । यस विकासले प्रस्तुत गरेको चुनौतीहरु मर्गनिर्देशन गर्ने र अवसरहरुको सदुपयोग गर्ने कार्य नेपालको भविष्यको प्रगतिको लागि महत्वपूर्ण हुनेछ ।




