बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हरितालिका तीज : स्वतन्त्रताको पर्व

हरितालिका तीज : स्वतन्त्रताको पर्व

तीज पूर्णतयाः वैश्यिक पर्वमा रुपान्तरित हुँदै गएकोमा कुनै द्धिविधा छैन । बजारले नाफाबाहेक अन्यत्र हेर्दैन् । बजारको लहलहैमा लाग्दा मौलिकता नासिन्छ । महिलाहरु यो विषयप्रति गम्भीर बनून् ।


  • Dhorpatan News
  • भाद्र १० २०८२, मंगलबार

बजारतिर रक्तवस्त्रधारी महिलाहरु हतारमा देखिन्छन् । लाग्छ, भ्याइनभ्याइ छ । आसन्न हरितालिका तीजले व्यस्तता निम्त्याएको अनुमान लगाउन कठिन छैन । हरेक चाडपर्वजस्तै हरितालिका तीजको पनि आफ्नै विशिष्ठता, धार्मिक र सांस्कृतिक महत्व रहेको छ । धार्मिक कोणबाट हेर्ने हो भने,भाद्र शुक्ल प्रतिपदादेखि सुरु भइ पञ्चमीमा साङ्गे हुने तीजसँग आस्था, निष्ठा र समर्पण जोडिएको देखिन्छ । सामाजिक र व्यवहारिक चक्षुबाट भने स्वतन्त्रता र स्वास्थ्य सचेतता पनि गोचर हुन्छ । भाद्र शुक्ल तृतीया नै तीजको मुख्य दिन हो । पार्वतीले शिवजीप्रति कृतसंकल्पित भइ भक्तिभाव प्रकट गर्दा मनोरथ पूर्ण भएको कथालाई आधार मानेर महिलाहरुबाट गरिने निष्ठा र पूजापाठ तीजको विशेषता हो । उप्रान्तका गणेश चतुर्थी र पञ्चमीसँग वेदनारहित सन्तान प्राप्ति तथा अरुधन्तीसहितका सप्तऋषिको पूजा–अर्चना जोडिएको हुन्छ । पञ्चमीको हकमा स्वास्थ्यलाई बढी ख्याल दिएको पाइन्छ । मन र तन दुवै शुद्ध होस् भन्ने कामना गरिन्छ ।

यी यावत् विषयलाई पृथक राख्ने हो भने तीजसँग नारी मनको सुशुप्त चाहना र स्वतन्ता जोडिएको हुन्छ । अन्तर्मुखी नारीहरुलाई स्वनिर्णयबाट विमुख पार्न सकिन्छ, अन्तष्करणको चाहनालाई रोक्न सकिँदैन । मनले चाहेको कुरा प्राप्त होस् भन्ने कामना गर्ने कृत्यबाट रोक्न सकिँदैन । त्यसको लागि वैवाहिक बन्धनमा रहेका महिलाहरुलाई सामाजिक मान्यताको जन्जिरबाट मुक्त गराइनुपर्छ । तीजको लागि माइत आएका महिलाहरुले त्यो स्वतन्त्रता प्राप्त गर्छन् । मनको खुसी र बह पोख्छन् । धर्मकै नाममा सही, नारीलाई स्वतन्ताको अनुभूति गराउने सायद अर्को कुनै चाड छैन । तीजको सबैभन्दा सुन्दर पक्ष नै यही हो ।

अपितु, पछिल्लो समय तीजका यी सुन्दर पक्षहरु छायाँमा परेका छन् । ‘दर खाने’ दिनले अरु पक्षमाथि धावा बोलेको छ । नारीलाई अलङ्कार सुहाउँछ । तीजको छेकोमा अलङ्कार र रक्तवस्त्रमा सजिनु अन्यथा हैन । दर भनेको त खाना न हो । शरीरको चाहना र आवश्यकता अनुरुप ग्रहण गर्दा बिग्रने पनि हैन । निराहार ब्रत बस्नुअघि शरीरलाई आवश्यक पर्ने पोषण तत्व प्राप्तिको लागि खाइने ‘दर’ स्वतन्त्रताको हुनै सक्दैन । दरका नाममा महिनौं अघिदेखि गरिने रामरमिता अहिले सम्पन्न महिलाहरुले अमत्याइँ प्रकट गर्ने माध्यम बनेको छ । स्वतन्त्रता कतै स्वच्छन्दता त हैन भन्ने भान भएको छ । पुरुषहरुले महिलाहरुबाट प्रदर्शित स्वच्छन्दताका कारण स्वतन्त्रतामाथि तगारो हाल्ने परिस्थिति निर्माण होला कि भन्ने त्रास बढाइदिएको छ । अवज्ञ बन्दा अस्वीकार्य हुने सम्भावना रहन्छ । अतः तीजको नाममा हुने यस्ता असौम्य प्रदर्शनमा नियन्त्रण जरुरी छ । समानता र स्वतन्त्रताको विषय उठान गरिरहँदा चाडवाडलाई वर्ग विभाजनको रेखा कोर्ने खालको बनाइनुहुँदैन । हुनेखानेहरुले हुँदाखानेहरुको अवस्थातर्फ पनि दृष्टि पु¥याउनुपर्छ । तीज आफैमा सौहार्दताको पर्व हो । हिन्दु नारीले प्रयोग गर्ने सौभाग्यका सामग्रीका सबैभन्दा ठूला बिक्रेता मुस्लिम महिला हुन्थे । यो चाडले मुस्लिम मात्र नभएर बजारलाई फाइदै पु¥याउँथ्यो । आजकल हुने किनमेल र खानपानले पनि बजारलाई नै फाइदा पु¥याएको छ । तर, तीज पूर्णतयाः वैश्यिक पर्वमा रुपान्तरित हुँदै गएकोमा कुनै द्धिविधा छैन । बजारले नाफाबाहेक अन्यत्र हेर्दैन् । बजारको लहलहैमा लाग्दा मौलिकता नासिन्छ । महिलाहरु यो विषयप्रति गम्भीर बनून् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->