यस नाटकमा नेपालको गाउँले परिवेशको यथार्थ प्रस्तुती उद्घाटन गरिएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा ग्रामीण भेगमा उत्पन्न सामाजिक घटनालाई बाहिर ल्याउनु यस नाटकको मूल धेय हो । हाम्रा चाडपर्व रहनसहन र संस्कृतिहरुलाई मौलिक बनाउनु हाम्रो कर्तव्य हुन्छ । सामाजिक आडम्बरीपन, देखासिकीपन र उशृङ्खलताका अगाडि हाम्रा संस्कृति धमिला बन्दैछन् । तीजमा चेलीबेटीहरू माइतीमा पुगेर पारिवारिक जिम्मेवारी र दुःखका भावहरू बिर्सी हर्षोल्लासका साथ रमाउने प्रचलन परापूर्व कालदेखि चलिआएको हो । यो परम्परालाई यथास्थितिमा कायम राख्नु हाम्रो धर्म हो । हो यस्तै विषय र देशमा व्याप्त बेरोजगारी समस्यालाई नाटकमा प्रमुख विषय बनाइएको छ । सानै उमेरमा विवाह गर्दा देखिने समस्या, विदेश पलायनताबाट गाउँघर रित्तिएको विषय र सन्तानको अभावमा बाबुआमाका चाडपर्व निरसिला बनेको यथार्थता पनि नाटकमा उदृत छ ।
अब लागौं यस नाटकका पात्रहरूको परिचयतर्फ नाटककी प्रमुख पात्र हुन् सीमा । उनी भद्र, शालिन र नरम स्वभावकी छन् । बुढा भएका बाबाआमाले उनैलाई पर्खिएर बसेका छन् । सानै उमेरमा भागी विवाह गरेकी उनलाई श्रीमानले सुरुवाती चरणमा धेरै माया गरे पनि बिस्तारै उनीप्रति दया भाव देखाउँदा उनी विद्रोही बनेकी छन् । सासु ससुरासँग घरायसी व्यवहारमा सहयोग गर्दै आएकी सीमालाई ससुराले अवधि माया र सम्मान प्रकट गरेता पनि सासुको कठोर व्यवहारले दुःखी बनाएको बुझ्न सकिन्छ । त्यसैले उनी श्रीमानसँगको माया भन्दा पनि छोरीसँगको सामिप्यतामा रमाइरहेकी छिन् । आफूले जीवनमा जे भोगियो त्यस्तै जीवनचक्र बुहारीको पनि हुनुपर्छ भन्ने अस्वाभाविक चरित्रले सासुलाई निर्दयी बनाएको छ । ससुराको फराकिलो मनका अगाडि सीमाले आफ्नै बाबाआमाको प्रतिबिम्ब उनमा देख्छिन् । उता श्रीमानलाई दलालले पटकपटक ठगेको यथार्थ उनको मनमा बिझिरहेको छ । कलिलो उमेरमै परिवारको जिम्मेवारी उठाउन बाध्य सुमनले परिवारको खुसी खोज्न विदेशिएको छ । परन्तु व्यवहारिकताले परिपक्क हुन नसकेको उसले श्रीमतीप्रति कठोर व्यवहार गर्छ । यी यावत समस्याका बीचमा ससुराले नै सबैको मन बुझाउने बाटो अपनाएका छन् । र परिवारलाई चलाएका छन् । छोरीहरु विदेशीएदेखि ससुरा पनि एक्लो महशुस गरिरहेका थिए । एउटा भएको छोरो पनि विदेशिने तर्खरमा रहेकाले बुहारीलाई नै छोरी मानेर घर व्यवहार चलाउने सत पात्र ससुरा दिनानाथ हुन् । हो यही जीवन यथार्थको एक अध्याय यस नाटकमा समावेश छ ।
बुढा: (खेतबाट आएर कोदाली बिसाउँदै) ऐया ! ऐया! के साह्रो गर्मी हो भन्या । (टोपीले पसिना पुच्दै) कता गइछ बुढी, बुढी, ए बुढी कता गइस्? पानी ले तँ, यो भदौरे गर्मीले बुढेसकालमा नराम्रोसित खायो मलाई तँ,
बुढी : (भकारोबाट फर्कदै) का जानु छ र ओ म मेरो जीन्दगी यही चुलो चौको र भकारो गर्दै बितेको त छ । आएँ आएँ ……
बुढा : भो भो भओ मेरो जीवन चै कौन्सा महलमा बित्यो छर ? पानीले १ गिलास परानै जाला अस्तो भओ,
बुढी : भो भो न घुर्क्याउनु, ऊ बेला तराईमा जाम भन्दा मान्नु भएन । भएको २/४ गठ्ठा पुर्ख्यौली जग्गा पनि भाइलाई जिम्मा लगाएर गाउँमै सुख छ भन्नुभओ, अब अहिले घर र महल, (रिसाउँदै पानी दिन्छिन् ।
बुढा : हेर हेर । यो बुढी बोलेको, बुद्धी जति सबै माइतै छोडिछ की क्या हो ? समय कस्तो आउँछ, छोरा छोरीको जिम्मेवारी उस्तै थियो । गाउँमा बसियो र पो २/४ पाथी अन्न उकेर्ने जग्गा जमिन थियो । हावा पानी राम्रो छ । तराईमा के नै हुन्थ्यो र ? गाउँको बसाइलाई त्यति सस्तो नबनाइका यहाँ आनन्द छ ।
बुढी: भओ, भओ, दर्शन नछाट्नुस् (रिसाउँदै) जिन्दगी कहिल्यै उभो लागेन क्यारे! (रोए जस्तो गर्दै) ऊ बेला पढ्न पाइएन बाबा आमाले टौवा हेरेर बिहे गर्दिए जिन्दगी यस्तै भओ,
बुढा : (डोरी समातेर दाम्लो बाटे झै गर्दै सुस्त) ऐय्या! ऐय्या! । उमेरले नेटो काटेर होला ज्यानले पनि निहुँ खोज्न थाल्यो, तैँले पनि निहुँ खोज्छेस् । छोरीहरु आ–आफ्नै घर गए । छोरोले केही भनेको मान्दैन, आखिर जिन्दगी अस्ताउँदो सूर्य कै हालत भयो । ओराली लागेको मृगलाई कसले पो काँध थाप्छ र ? भन्थे हो रहेछ ।
बुढी : (नजिकै आएर सान्त्वना दिदै ) होइन ए बुढा किन पिर मान्नु भएको यसरी, के भओ र ? मैँले त केहि भनेकी छैन । कुरामा कुरो चल्दा अलि अलि पहिलाका कुरा त सम्झिन्छ भो, छोरा छोरी जति भएनी बुढालाई बुढी बुढीलाई बुढो त रहेछ । आखिर कस्का घरा छोराछोरी बसेका छन् र सबैलाई हेरेर पनि त चित्त बुझाउनु पर्छ ।
बुढा : आखिर जीवनमा त्यति त रहेछ । (दाम्लो बाट्दै गरेका हात रोकेर) अघिको दुख सम्झदा मन त्यसै अमिलो हुन्छ । तैँले पनि धेरै दु:ख गरीस् थाहा छ । “बाह्र छोरा १३ नाती बुढाको घोक्रो काँधै माथी” भन्या झैँ सन्तान जन्मायो हुर्कायो, खुट्टा लागेपछि पखेटा लागेका चरा झै उडे । यस्तै छ जीन्दगी पिर नगर हामी नै पूर्ण छौं हामी नै एक अर्काका भरोसा छौं ।
छोरो : (सरासर आएर मुढोमा बस्छ र मोबाइल चलाउँछ )
बुढी : (छोरातिर हेरेर) ए बाबु! कहाँ गएको तँ दिनभरी बा आमा बुढा छन् यसो हात होतेरो गर्नु छैन । सधैँ यस्तै अरेर पुच तलाई ?
छोरो : (मोबाइलको ध्यान नछोडी ) के अर्नि हो मैँले? के अर्न परो ? अरेकै त छुनी,
बुढा : (छोरा तिर हेर्दै) तल माँझखण्डमा इत्लो खसेछ थुनेर आए । चार मुरेमा श्यामेको गरो खसेर रोपो पुरेछ । त्यति पन्छाइ तो,
छोरो : (बाबुतिर फर्किदै) काँ हिलोमा जान्छु म जान्न, तिज मान्न सबैका दिदि बहिनी आए हाम्री दिदि लिन जानी होइन?
बुढी: हो हो बाबु । लिन जानी हो । कहिले जान्छस्? बा जानुहुन्छ कि तँ जान्छस् । सल्लाह गरेर जाओ लिन,
बुढा : (काम गर्दै) सम्पन्न शाली छन, छोरीले सुख पाउँछन । भनेर जेठी र माइलीलाई बजारमा दिइयो । ठुला मान्छेका सोचाइ ठुलै हुने, ज्वाईहरु विदेशीए छोरीहरुलाई पनि उतै बोलाए । अहिले काखका छोरीसँग बोल्न समेत नपाइने भयो ।
बुढी : आsss इ बुढा पनि फेरी रोइलो गर्छन् । विदेश भका आउदैनन् तनी, स्वदेशा भएकी छोरी त लिन जान परो क्यारे, जा बाबु जा आजै जा भोलि बिहान सबेरै लिएर आउनु दिदिलाई।
छोरो : (जुरुक्क उठेर जुत्ता लगाउने तयारीमा लाग्छ) आमा के लग्दिने कोसेली ठिक्क पार्दिनु म हिडे ।
बुढी : केही फलफुल लिएर जानु, बा लाई भन्तो पैसा दिनु होला नी,
बुढा : (अस्कोटको गोजीबाट पैसा झिक्दै) भाञ्जीलाई विस्कुट र फलफुल लैजानु, छाता लिएर जा पानी पर्ला ।
छोरो : (छाता समाउदै) ल ! बा आमा म गए ।
आमा : ल ल राम्ररी जा,
(सबैको उपस्थिति समाप्त हुन्छ । आमा र बाबा पनि मञ्चबाट बाहिरिन्छन् )
पर्दा परिवर्तन हुन्छ
सीमा: (कपडाहरु पट्याउँदै बुढालाई फोन गरेर) बुढा ! ए बुढा! हजुरलाई एउटा कुरा भनुम ? (मलिन स्वरमा)
सुमन : (विदेशबाट) के कुरा भन ।
सीमा: (आफ्नै सुरमा) तिज आइसक्यो । मैले भनेको एउटा कुरा मान्नु हुन्छ?
सुमन : (अल्लि झर्किएर) मान्छु के मान्छु भन, त्यही माइत जान्छु् भन्न त होला नि, भन छिटो मेरो काम छ ।
सीमा: (सालिन स्वरमा) सबै साथीहरुले नयाँ नयाँ साडी किने छन् । आफ्नो भने सधैँ उस्तै, एउटा साडी किन्नु छ, १५००० पैसा पठाइ दिनुन है ?
सुमन : क्यार्नी पैसा हो त्यति धेरै, घडेरी नै किन्न थालिस कि क्या हो ? (रिसाएर)
सीमा : (आफ्नो काम गर्दै) बिहे अर्नि बेला आकाशका तारा झार्छु भन्ने अहिले तिजमा एउटा साडी किन्छु भन्दा नि पैसा नदिने, हुतिहारा कहिका …… (पुट्पुटाउदै मोबाइल भुइमा राख्छे)
सुमन: (झोक्किदै) भए पो दिने तँलाई पैसा, तैले कमाएर राख्न दिएकी छेस् र ? हजारको काम पाएको छैन १५ हजारको साडी लाउने ? खुब जान्नी भकी,
सीमा : (कपडा झ्याक्दै) मलाई त पैसा चाहियो चाहियो, वर्षको १ जोर कपडा किन्दिन नसक्नेले किन बिहे अर्नु ? छोरीलाई पनि किन्नु छ एक जोर कपडा र चप्पल जसरी नी पैसा पठाइदिनु,
सुमन : पर्दैन छोरीलाई तिनै पुराना लाउँछे, कहिल्यै दुई चार पैसो कमाउन सके किन्दिउला । दिदिले तिजमा आउँदा भाञ्जीका कपडा ल्याइदिन्छु भनेकी छिन् । २/३ हजार दिन भन्दिउला बालाई, तैले किन् । छोरीलाई र तलाई किने पछि आमालाई पनि किनिदिन परेन ?
सीमा : (अस्वभाविक रिसाउदै) पर्दैन कसैका कपडा लगाईदिन । एउटी छोरीको ओरपरी मै गरिदिन्छु भो, अनि तिम्री आमाका कपडा जति नि छन् त के मैले किन्दिन परो ?
सुमन : ओहो ! अर्काका कपडा नलगाइदिने रे ! होइन यो आइमाईको कति घमण्ड हो । भान्जीका कपडा लगाइदिन नहुने ? तँलाई पोहोर कपडाले नचल्ने अनि आमालाई चाहिँ चल्ने? पर्दैन माइत साइता जान बस त्यहि टन्टै सखाप, लुओ न सुओ,
(फोन काट्छ)
सीमा : (कोठामा रुन थाल्छे ) हु हु हु
सासु : (खेतबाट आउँछिन् र नेपथ्यमा बोल्दै) होइन यिनेरू घर छैनन् कि क्या हो । गोठा त हेर्ने चलनै छैन यिनेरको, हेर त बाख्रा पाठा कराएर बिचरा ! (घाँस राख्दिदै) सीमा ! ए सीमा ! के अर्दै छेस् भन्छु ।
सिम्रन: (हजुरआमातिर जाँदै) आमा ! आमा ! बाबाले मम्मीलाई गाली गर्नु भको नि।
सीमा: (आमातिर हेर्दै आँसु पुस्दै ) हजुर ! आमा ! म आएँ ।
सासु : (बुहारीतिर हेर्दै) के भओ? किन आँखा फुलाकी ? झगडा अरेउ कि क्या हो तिमरु ? फोन गरेओ थियो बाबुले ?
सीमा : (भुइतिर हेर्दै) अ गर्नुभाको थियो ।
सुरेश : (सरासर आएर ) आमा नमस्कार ! दिदी नमस्कार ! सन्चै हुनुहुन्छ ?
सिम्रन: नमस्कार मामा ! (मामाको काखमा बस्छिन् ।)
सुरेश: नमस्कार भान्जी, मेरो भान्जीलाई मैले के ल्याइदिएको छु ? भन त ?
सिम्रन: (हात निदारमा लाउँदै) उमँ चाउचाउ, उमँ हैन हैन फ्रुटी ……… ए ए बिस्कुट (बिस्कुट बिस्कुट लिएर मम्मीसँग पुग्छिन् । )
सीमा: (छोरीको कपाल सुमसुम्याउँदै) ल ! ल ! खाउ अनि होमवर्क गर ल । (भाइतिर फर्किएर ) बाबु ! के छ खबर बाबा मम्मीलाई सन्चै छ ?
सुरेश: (यता उता हेर्दै ) अनि बुवा खै त देख्दिन नि दिदी,
सीमा : खै बाबा कता जानुभएको छ कुन्नी बिहानै निस्किनु भएको हो । बस्दै गर म खाजा बनाउँछु ।
सुरेश: नाइ नाई दिदी मैले खाना खाएर आएको पर्दैन बनाउन । बस्नसु कुरा गरौं।
ससुरा : (खोक्दै पछि हात लगाएर आउँछन् ) अहँ अहँ ओहो ! बाबु आउनुभएछ । नमस्कार है नमस्कार बाबु । कतिखेर आउनुभयो ? घरा सम्धी सम्धीनालाई सन्चै छ ?
सुरेश: (ससुरातिर फर्किँदै) उम ठिक हुनुहुन्छ बुवा सबै जना ।
ससुरा : अनि अरु खबर के के छ त बाबु ? उता विदेश जाने कुरा के के हुँदैछ? सानै उमेरमा विदेशिने सोच बनाउनुभएछ सिमाले कुरा गर्दै थिइन् ।
सुरेश: (निराश बन्दै) खै बुबा पोहोरको दलालले पनि पैसा मात्र खायो। अहिले फेरि अर्को देशलाई भनेर पासपोर्ट बुझाएको छु । के हुन्छ हेरौं ।
ससुरा : (सुरेशतिर एकोहोरो हेर्दै) के गर्नु त बाबु यो गरिब देशा जन्मेपछि विदेशीन नै पर्दो रहेछ । आखिर देश छोड्नै परे पनि सरासर जान पाए त हुन्थ्यो । के गर्नु आफ्नै देशा नेपालीले नै नेपालीहरुलाइ ठग्छन् । विदेशमा के हालत हुन्छ होला नेपालीहरूको? ठिकै छ अब नगइ नभएसी आउलानि एकदिन भिसा नआत्तिनु,
सुरेश: (मौन रूपमै स्वीकारोक्ति जनाउँछन् ।) हस् बुवा । अनि भिनाजुको के के हुँदै छ त विदेशको बसाई ? काम कस्तो रहेछ बुवा?
ससुरा : के हुनु बाबु यता पनि उस्तै छ दुवै पठाइदिन्छु । भनेर एउटा दलालले पठायो । भिजिट भिसा रहेछ । ४ लाख खर्च भो । ३ महिनादेखि एक दिन बस्न नपाइने रहेछ । अब अर्को देश जानी हो भन्छ । के हुन्छ हेरौँ ।
सुरेश: (उत्सुक हुँदै सबैतिर हेर्दै ) ए! साँची हामी त कुरै कुरोमा भुलिएछ । तीज आयो दिदी र भान्जीलाई लिएर आउनु भनेर बाआमाले पठाउनुभएको भोलि बिहानै फर्किनु छ बुवा,
ससुरा : ए! ए ! बाबु ठिकै छ नि । चाडवाडा चेलीबेटि लिन आउनु हाम्रो संस्कार हो । परापूर्वकालदेखि चलिआएको रीतिराज र परम्पराको अनुशरण गर्नुपर्छ । हुन्छ, भोलि बिहानै जानुहोला ।
सासु : (रिसाउँदै आफू बसेको ठाउँबाट उठेर) पर्दैन माइत साइत जान छोरीहरू सबै विदेश छन् । भएकी एउटी नातिनीलाई नि मावली कहाँ पठाएर हामी क्यारेर बस्नि होर ? अनि घाँस कसले काट्छ ?
ससुरा: (श्रीमतीतिर फर्किएर) हेर! हेर! यसका बुद्धि हाम्रो छोरीहरू विदेशिए भन्दैमा बुहारीलाई तीजमा माइत नपठाउने ? यस्तो पनि हुन्छ ? सबै युवा युवती विदेशिनु नेपालीहरूको बाध्यता हो । यसमा कोही कसैको गल्ती छैन। (रिसाउँदै झर्किँदै)
सासु : भओ भओ पठाउँ तिम्री प्यारी बुहारीलाई अनि गरौला नि घरको काम, जे सुकै गरओ,
ससुरा : (श्रीमतीतर्फ फर्किएर) यसरी “तातै खाउ जल्दी मरौं” नगर्न ए ! बुढी, ती वस्तु भाउलाई दुईटा दिन डाँठ भुत्ला राखि दिए नि हुन्छ । त्यसैमाथि तँ र म छौं त घरा किन पिर अर्नु?
सासु: भो भो न घुर्काउनु, मैले माइत जान्छु भन्दा न पोइले कहिल्यै जा भने, न सासु ससुराले आफ्नो त कर्मै यस्तो,
ससुरा : ऊ बेलाको परिवेश त्यस्तै थियो । सामाजिक परम्पराभन्दा माथि घरायसी कामधन्दा हुन्थ्यो । जति बाआमाले काम गराए पनि आखिर हाम्रै लागि त थियो । मरिसकेका बाआमालाई किन सराप्छेस ए !
सासु : (रिसाउँदै बाल्टी लिएर गोठतिर लाग्छिन् । )
सीमा : (छोरीलाई गृहकार्य गराउँदै शिर उठाएर) भो हजुरहरु झगडा नगर्नुहोस् म जान्न माइत,
ससुरा : हैन बुहारी जानुपर्छ । वर्ष दिनको तीजमा पनि छोरी नपठाउँदा सम्धी सम्धिनाले के भन्नुहुन्छ ? हामीलाई जसरी चाडपर्वमा छोरीको अभाव छ, उहाँहरूलाई पनि त त्यस्तै हो । “नजिककी श्रीमती प्यारी टाढाको सन्तान प्यारो” भन्छन् । तीजमा माइतीकै आँगनमा टेकेको राम्रो हुन्छ । बुँढा बाआमाले तिम्रै बाटो हेरेर बस्नुभएको होला ।
सीमा : (छोरीलाई खेलाउँदै) यो वर्षको तीजमा नयाँ लुगा पनि छैनन् अगाडि सारी किन्छु भन्दा सिम्रनको बाबासङ्ग महाभारत भयो । भो भो बुवा म जाँदिन ।
सिम्रन: (ममीसँग झगडा गर्दै) नाइँ नाइँ, जानी हो मामासँगै जाने हो ।
ससुरा: (उत्सुक हुँदै) किन झगडा गर्यौ तनि के भन्थ्यो र बाबुले ?
सीमा : (ससुरा तिर फर्केर) उहाँले त केही भन्नू भएको होइन । मैले तिजमा नयाँ कपडा किन्न १५ हजार मागेकी छैन पैसासैसा भन्दै रिसाउनु भो, माइत पनि नजानी भन्दै फोन काट्नु भो,
सासु: (आमा आउँछिन्) ए एए! कुरो त्यस्तो पो “मुखा लाउनि माड छैन नाइटा लाउनि नुहाउनि घिउ” यहाँ घर चलाउन कति धौ छ, उस्लाई भने १५ हजारको साडी ? होइन गाउँभरिका मान्छेहरुले के के लाउँछन् के के खान्छन् भनेर मात्रै हिँड्छे कि क्या हो यो?
ससुरा : ओहो ! यी सासुबुहारी किन यस्ता कुकुर बिराला जस्ता हुन् ? चाडवाड आउँदा रमाउन खोज्नु यो उमेरमा स्वभाविकै हो त किन रिसाउनु ? भने जस्तो नभएर पो छोरो बेरोजगार भएको कुनै दिन ठाउँमा पुग्ला । जागिर पाउला दुई चार हजार कमाउला त्यसपछि त सहज भइहाल्छ नि, केटाकेटी उमेरमा होस् गुमाएर पढ्दा पढ्दै बिहे गरे जस्तोसुकै भएनी घर गरेर बसेकी छन् । किन मन दुखाउँछेस् ए बुहारीको, ५/७ हजार खोज्दिउला चाडबाडको बेलामा रुवाउनु हुँदैन घरकि लक्ष्मीलाई,
(सम्झाउँछन्)
सुरेश: हो बुवा हजुर, घरमा बुवा आमाले पनि यस्तै कुरा गर्नुहुन्छ । आफूले दिएका छोरी सम्पन्न बने विदेशीए औँसीपूर्णिमामा समेत मुख देख्नु छैन, ऊ बेला बुद्धि बिगारेर आफै बिहे गरे पनि कान्छी छोरी साथैमा छ जस्तो लाग्छ भनेर चित्त बुझाउनुहुन्छ । यहाँ पनि उस्तै समस्या रहेछ । मैले त के नै भनौँ र घरायसी कुरा नमिले मैले दिदीलाई लिएरै जान्छु भन्न मिलेन क्यारे !
ससुरा : बाबुले कस्तो मनासिब कुरो अर्नु भओ, हाम्रा छोरीहरू पनि विभिन्न बहानामा देश बाहिर छन् । नातिनातिना जन्मे अरे देख्नु भेट्नु छैन । देशैभरि यस्तो अवस्थामा आँसु बगाउने आमा बाउ धेरै छन् । विदेश मोह आकर्षण हो कि बाध्यता हो बुझ्नै सकिएन । आफ्नो जग्गा बाँझो राखेर पराइको गोठालो बन्नु राम्रो त हुँदै होइन । जे हुन्छ समयले हुन्छ होला हेरौं बाबु आतिएर भएन कुनै दिन हामी गरिबका दिन फर्किए भने राम्रै लाउला मिठै खाउला यसरी परिवारमा मनमुटाव गरेर केही फाइदा छैन उत्तानदेखिबाट बाबु आउनुभएको छ । भाइलाई रित्तै फर्काउनुहुन्न बुहारी जानै पर्छ ।
सासु : (बुढातिर हेर्दै) होइन, यी बुढालाई के भएको हँ । उसले जान्न भनेसी के को रोइलो हो भन्या । जानुस् गाईवस्तुलाई घाँस राखेर आउनुस् ।
ससुरा : त्यस्तो होइन हेर सबैले बुझ्नुपर्छ । समय र परिस्थिति अनुसार चल्न सिक्नुपर्छ । तीज भनेको महिलाहरूको महान पर्व हो । यो पर्वमा जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने दुःख, पिर, व्यथा र वेदनालाई माइतीमा गएर नाचगान र हर्ष उल्लासपूर्ण समय व्यतीत गर्दै बिर्सिने र रमाउने समय हो । बुहारी तिमीले पनि घरको आर्थिक अवस्था बुझ्नुपर्छ । अर्काको देखासिखी गरेर परिवारमा अशान्ति भित्र्याउनु हुँदैन । “घाँटी हेरेर हाड निल्नु” भनेझैं आफ्नो गच्छे अनुसार खर्च गर्नुपर्छ । भोलि दर खाने दिन माइती पुग्नु नारीको कर्तव्य हुन्छ । भाद्र शुक्ल पक्षको द्वितीयादेखि सुरु हुने तीजमा तृतीयामा आफ्ना श्रीमानको आयु, आरोग्यता र सुस्वास्थ्यको कामना गरी व्रत बस्नुपर्छ । चौथीका दिन सिद्धिविनायक गणेश भगवानको पूजा आराधना गर्नुपर्छ भने पञ्चमीका दिन आफूले जानअन्जानमा गरेका गल्ती वा दोषको क्षमा याचना र दोष निवारणका लागि पतिव्रता अरुन्धतीले सहित भएका सप्तर्षिको पूजा आराधना गरे पश्चात् तीजका सबै कर्म पूर्ण हुन्छन् । त्यसैले त पञ्चमीको भोलिपल्ट चेलीबेटी घर फर्किने प्रचलन छ । जाउ बुहारी भोलि बिहानै जाऊ । पञ्चमीको भोलिपल्ट फर्किनु, अरु कुरामा मन नदुखाउ ।
सीमा: ( खुशी हुँदै) हुन्छ बुवा हस् । (भन्दै स्विकारोक्ती जनाउँछिन ।)
सिम्रन: (ममि खुशी भएको देखेर रमाउँदै) भोलि त मामाघर जानी हो । (नाच्दै मामाको काखमा पुग्छे)
सासु : (बुहारीको हात समाएर) बुहारी मन नदुखाएस् है ! आफूले जस्तो भोगियो त्यस्तै सिको गरिदो रहेछ । म समय अनुसार परिवर्तन हुन नजानेकि रहिछु । म माइत नजाँदा मेरो बाबाआमा र दाजुभाईलाई जति दुःख लाग्थ्यो । त्यस्तै दुःख अहिले तेरो बाबाआमा र भाइलाई पनि लाग्छ । हो बुहारी जा, म आफै भ्रममा रहेछु । मैले गल्ती बुझेकी रहेछु । मेरो कुरामा मन नदुखाएस् । बाले भनेको सबै कुरा बुझ्नु र पञ्चमीको भोलिपल्ट आउनु । (अङ्गालोमा बेरेर रुँदै) छोराले पैसा दिएन भनेर चित्त नदुखाएस् । मसँग भएको १/२ हजार पनि दिन्छु । तेरो इच्छा जे छ त्यही किनेर लगाउनु, अब आइन्दा मेरो कुराले कहिल्यै मन नदुखाउनु । एउटी महिलालाई अर्की महिलाले दुःख दिनु हुँदैन भन्ने कुरा बल्ल आज बुझे । अबदेखि हामी आमा छोरी भएर घर चलाउनेछौँ। ढुक्क हुनु । (भन्दै आँसु पुच्छिन)
ससुरा: अबेर भइ सक्यो । बाबू त्यत्रो बाटो हिडेर आउनु भएको थकाइ लाग्या होला । खाना खाएर सुतौं अब,
(सबैजना खुसी भएर खाना खान जान्छन् । भोलिपल्ट बिहान भाइले दिदीलाई अघि लगाइ भान्जीको हात समाएर बिदा हुन्छन्।)





