वीरगञ्जमा हैजा फैलिएको छ । हैजा पुष्टि भएसँगै सरकारले त्यहाँ चिकित्सकसहितको टोली पठाएको छ । सो क्षेत्रमा चाटलगायतका खानेकुरा बेच्न निषेध गरिएको छ । गर्मीमा हैजा फैलने सम्भावना ज्यादा हुन्छ । खानपानमा परेज राख्ने तथा सरसफाइमा ध्यान दिँदा हैजाबाट बच्न सकिन्छ । यता, बर्खायामसँगै गण्डकीसहित देशका अन्य जिल्लामा डेंगी फैलिएको पुष्टि भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट २ संक्रमित हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एडिस जातको पोथी लामखुट्टको टोकाइबाट डेंगी लाग्छ । असोजको अन्त्यसम्म पनि डेंगी फैलने सम्भावना भएकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइ कायम गर्न विज्ञहरुले सुझाएका छन् । डेंगी सरुवा रोग हैन । यो एक प्रकारको भाइरल ज्वरो नै हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगीका सुरुवाती लक्षणहरु हुन् ।डेंगीबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो तर संक्रमण भइहालेमा चिकित्सकको निगरानीमा बस्नुपर्छ । मनलाग्दी औषधि सेवन झन खतरनाक हुन्छ । एण्टिबायोटिकको प्रयोग पनि घातक हुनसक्छ ।
डेंगुको औषधि बनेको छैन । डेंगी विश्वकै लागि चुनौती बनेर खडा भइरहँदा सचेततालाई नै विशेष जोड दिइनुपर्छ । डेंगीको संक्रमणबाट जोगिन नागरिक आफैं सचेत रहनु पर्छ । वरपर पानी जम्न दिनु हुँदैन । सफा पानीमा डेंगी सार्ने लामखुट्टे बस्छ र यो साँझ बिहान सक्रिय रहन्छ भन्ने कुरा मनन गर्नुपर्छ । डेंगी लागिहाले अस्पताल जानुपछृ । सामान्य ज्वरो र डेंगीबीचको फरकबारे आम नागरिकलाई जानकार बनाउने काम चाहिँ सरकारको हो ।
डेंगीको परीक्षण गराउने र डाक्टरको निगरानीमा बस्न पाउने व्यवस्थाको दायित्व पनि राज्यकै हो ।सीमान्तकृत वर्गहरुको बासस्थान वरपर पानी जम्ने ठाउँहरु धेरै हुन्छन् । उनीहरुले डेंगीबाट बच्ने उपाय थाहा नपाउने र कतिपय अवस्थामा झुलजस्ता अत्यावश्यक सामग्रीको अभाव पनि हुनसक्छ । यी यावत् समस्याबारे सरकारको ध्यान जानुपर्छ । संक्रमण बढ्दै जाँदा हुनसक्ने सम्भावित क्षतिको आँकलन गर्दै नियन्त्रणको प्रभावकारी कदम चालिनुपर्छ ।




