बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलवायु संकटको अग्रपंक्तिमा मुस्ताङ, अब क्षतिपूर्ति माग्नुपर्छ

जलवायु संकटको अग्रपंक्तिमा मुस्ताङ, अब क्षतिपूर्ति माग्नुपर्छ

मुस्ताङका हिमाल अदृश्य हुनु केवल एउटा जिल्लाको पीडा होइन, सम्पूर्ण नेपालको भविष्यको संकेत हो । त्यसैले जलवायु सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्दै एकताबद्ध स्वरमा भन्नैपर्छ, हामीले नगरेको गल्तीको सजाय अब एक्लै भोग्दैनौँ ।


  • Dhorpatan News
  • भाद्र १२ २०८२, बिहिबार

हिमाली जिल्ला मुस्ताङ आज जलवायु संकटको प्रत्यक्ष उदाहरण बनेको छ । केही वर्षअघिको अध्ययनले मुस्ताङलाई विश्वकै तीव्र तापक्रम वृद्धिभएको जिल्लाका रूपमा पहिचान गरेको थियो । अहिले त्यही तथ्याङ्क वास्तविकतामा बदलिएको छ । हिमाली जिल्ला भए पनि मुस्ताङमा चार वर्षदेखि गतिलोसंग हिउँ परेको छैन, हिउँकै आधारमा टिकेको खेतीपाती र जीविकोपार्जन संकटमा परेको छ, स्याउ उत्पादन घटेको छ, पानीका मुहान सुकिरहेका छन् । यो केवल स्थानीय समस्या मात्र होइन, विश्वव्यापी जलवायु असन्तुलनको स्पष्ट प्रमाण हो । मुस्ताङका हिमाल अदृश्य हुँदै जानु, अस्वाभाविक तापक्रम देखिनु, बाढी र खडेरीले गाउँ उजाडिनु, यी सबै मानव सिर्जित जलवायु परिवर्तनका प्रत्यक्ष परिणाम हुन् । विडम्बना के छ भने, मुस्ताङका बासिन्दाले प्रदूषण सिर्जना गरेका होइनन्, तर दण्डचाहिँ उनीहरूले भोगिरहेका छन् ।

सरकारले विगतमा जलवायु अनुकूलनका कार्यक्रमको घोषणा गरे पनि बजेटको कमीले ती कागजी घोषणामै सीमित छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा ५० करोड दिने घोषणा भएको थियो, तर रकम अहिलेसम्म पुगेको छैन । प्रदेश सभा र संघीय संसदमा पटक–पटक आवाज उठाइए पनि कुनै सुनुवाई भएको छैन् । यस्तो अवस्थामा मुस्ताङको घरपझोंङ गाउँपालिकाले देशभरका सबै ७५३ वटै पालिकालाई संलग्न गराएर यही भदौ ३१ गते राष्ट्रिय जलवायु सम्मेलनको आयोजना गर्दैछ । यो निकै स्वागतयोग्य कदम हो । जलवायु संकट अब कुनै एउटा वडा, पालिका, जिल्ला वा प्रदेशको मुद्दा मात्र रहेन, यो नेपालकै साझा पीडा हुन पुगेको छ । संयुक्त आवाजमार्फत मात्र नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्यायपूर्ण क्षतिपूर्ति माग्न सक्छ ।

यसबीच, स्थानीय सरकार स्वयंले पनि सराहनीय प्रयास गरिरहेका छन । इलेक्ट्रिक सवारी प्रोत्साहन, इन्डक्सन चुलो प्रयोग, फोहोर व्यवस्थापन र जनचेतना कार्यक्रमले स्थानीय स्तरमा देखिने समस्या समाधानतर्फ ध्यान दिएको छ । तर, यी प्रयासले विश्वस्तरीय जलवायु असन्तुलनलाई सुधार गर्न सक्दैनन् । प्रदूषण अन्यत्र भए पनि त्यसको मार हिमाली जिल्लाहरूमा परिरहेको छ भने क्षतिपूर्ति माग्ने अधिकार उनीहरूलाई अवश्य छ । अबको बाटो स्पष्ट छ, सबै पालिकाले साझा धारणा बनाइ सरकारमार्फत अन्तर्राष्ट्रिय जगत् सामु दबाब सिर्जना गर्नुपर्छ । जसरी विकसित मुलुकहरूले ऐतिहासिक रूपमा प्रदूषण गरेर जलवायु संकट निम्त्याए, त्यसको दुष्परिणाम भोगिरहेका हिमाली समुदायलाई राहत र अनुकूलन खर्च उपलब्ध गराउन उनीहरू बाध्य हुनुपर्छ ।

मुस्ताङ मात्र होइन, मनाङ, डोल्पा, हुम्ला, जाजरकोटदेखि तराईका बाढी–पीडितसम्म सबैको पीडा एउटै सूत्रमा गाँसिएको छ, जलवायु संकट । त्यसैले अब क्षणिक राहत वा अस्थायी कार्यक्रम होइन, न्यायोचित क्षतिपूर्ति र दीर्घकालीन अनुकूलन रणनीति चाहिन्छ । मुस्ताङका हिमाल अदृश्य हुनु केवल एउटा जिल्लाको पीडा होइन, सम्पूर्ण नेपालको भविष्यको संकेत हो । त्यसैले जलवायु सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्दै एकताबद्ध स्वरमा भन्नैपर्छ, हामीले नगरेको गल्तीको सजाय अब एक्लै भोग्दैनौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->