गण्डकी प्रदेशसभाले सर्वसम्मत रूपमा पारित गरेको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण ऐन, २०८२’ प्रदेशको मात्र नभई समग्र मुलुककै सामाजिक रूपान्तरणको दिशामा उठाइएको ऐतिहासिक कदम हो । संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्ने कानुनी आधार अब गण्डकीमा स्पष्ट बनेको छ ।
यस ऐनले दलित समुदायको स्वास्थ्य, शिक्षा, रोजगारी, सशक्तीकरण, सामाजिक सुरक्षा, परम्परागत सीप संरक्षणदेखि जातीय विभेद र छुवाछूत अन्त्यसम्मका विषयलाई समेटेको छ । छात्रवृत्ति, छात्रावास, बालविवाह नियन्त्रण र महिला–बालबालिकामाथि हुने हिंसाविरुद्धका प्रावधानको व्यवस्था यस ऐनमा छन् । कार्यकारी उपाध्यक्षमा दलित समुदायकै व्यक्तिलाई नियुक्ती गरी नेतृत्वमा ल्याउने व्यवस्था समावेश हुनु पनि ऐनको सबल पक्ष हो, जसले समानता र प्रतिनिधित्व दुवैलाई सुनिश्चित गर्छ ।
तर, ऐन पारित गर्नु मात्र पर्याप्त हुँदैन । देशमा धेरै कानुन बने तर कार्यान्वयन कमजोर हुँदा तिनको प्रभाव नगण्य मात्रामा छ । दलित समुदाय शताब्दीयौँदेखि भोग्दै आएको विभेद, गरिबी र लाञ्छानाबाट मुक्त गर्न सरकारले कडाइका साथ ऐनको कार्यान्वयन गर्नु पर्छ । यसका लागि राजनीतिक इच्छाशक्ति, आवश्यक बजेट, प्रभावकारी संयन्त्र र नियमित अनुगमन अनिवार्य शर्त हुन् ।
ऐन पारित गर्ने दिन प्रदेश सांसदहरुले प्रस्तुत गरेको धारणा स्पष्ट छ—यो ऐन केवल कानुनी प्रावधान होइन, सामाजिक न्याय र समानताको यात्रामा महाअभियान हो । गण्डकीमा मात्र १८ प्रतिशतभन्दा बढी जनसंख्या दलित समुदायको छ । उनीहरूको जीवनस्तर उकास्न कानुनी संरचना अब तयार भएको छ । यस अवसरलाई दलित अधिकारकर्मीले उत्सवका रूपमा मनाउनु स्वाभाविक हो । तर उत्सवभन्दा ठूलो चुनौती भनेको कानुनलाई व्यवहारमा उतार्नु हो । यदि यो ऐन केवल कागजी दस्तावेजमा सीमित रह्यो भने अपेक्षा निराशामा बदलिन सक्छ ।
गण्डकी प्रदेशले उठाएको यो ऐतिहासिक अन्य प्रदेशका लागि पनि प्रेरणा बन्नुपर्छ । मधेश, कर्णाली र सुदूरपश्चिमले अघि ल्याइसकेको ऐनलाई प्रभावकारी बनाउन सकिने हो भने नेपालको सामाजिक रूपान्तरणको आधार थप सबल हुनेछ । दलित अधिकार ऐन, वास्तवमै, समान अवसर सिर्जनातर्फको कोसेढुंगा हो । अब यसको सार्थकता कार्यान्वयनमा देखिनु जरुरी छ । त्यसपछि मात्र दलित समुदायले शताब्दीयौँदेखि खोज्दै आएको सम्मान र समानताको अनुभूति गर्न सक्नेछन् ।




