नेपालमा जेन जी पुस्ताले गरेको प्रदर्शनले मुलुकको राजनीतिक–सामाजिक धड्कनलाई एक पटक गम्भिर मोडमा पु¥याइदिएको छ । स्वरूपमा युवापुस्ताको आक्रोश, विषयवस्तुमा असन्तोष र परिणाममा जनधनको क्षति—यी सबै पक्षले हाम्रो राज्य संयन्त्र र नेतृत्वलाई गम्भीर प्रश्न गरेका छन् ।
जेन जी पुस्ता कुनै एउटा पार्टी वा संगठनको पिछलग्गु होइन् । यो पुस्ता रोजगार, सुशासन, अवसर र पारदर्शिताको खोजीमा अवस्य थियो । उनीहरूको असन्तोष शिक्षा लगायत सबै क्षेत्रमा बढ्दो असमानता, भ्रष्टाचार, बेरोजगारी र राजनीतिक नेतृत्वप्रतिको विश्वासघातसँग गाँसिएको छ । सडकमा निस्किएको उनीहरुको आवाज भविष्यमा हुने अझै ठूलो विस्फोटको चेतावनीका रुपमा पनि लिन सकिन्छ । उनीहरूको असन्तोषलाई केवल अव्यवस्थित भीडको रूपमा खारेज गर्नु अन्याय हुनेछ ।
आन्दोलन मूलतः युवापुस्ताको असन्तोषको प्रतिफल भनिए पनि यसमा असम्बन्धित शक्तिहरूको घुसपैठ पनि भएको संकेत मिलिरहेका छन् । परिणामस्वरूप जनधनको क्षति भयो, सार्वजनिक सम्पदा र सम्पत्ती खरानी बने । जसले आन्दोलनको स्वरूपलाई अझै जटिल बनाइदियो । प्रदर्शनका क्रममा भएको जनधनको क्षति दुःखद छ । सार्वजनिक सम्पत्ति ध्वस्त हुनु र मानव जीवन जोखिममा पर्नु कुनै पनि आन्दोलनको आदर्श होइन् । तर यसलाई केवल “अराजकता” भनेर खारेज गर्नु पनि गम्भीर भूल हुनेछ । आज मुलुकले तत्कालै तीनवटा ठूला कदम चाल्न आवश्यक छ । पहिलो, युवापुस्तासँग प्रत्यक्ष र संस्थागत संवाद । दोस्रो, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र सीपमूलक शिक्षामा ठोस कार्यक्रम । तेस्रो, सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जवाफदेहितामा ठूलो सुधारको कदम । यसले मात्रै विश्वास पुनःस्थापित गर्न सक्छ । जुन अव बन्ने सरकारले गर्नुपर्छ ।
जेन जी आन्दोलन केवल सडकमा देखिएको आक्रोश होइन; यो भविष्यप्रतिको असुरक्षा, अन्यायप्रतिको असन्तोष, र नेतृत्वप्रतिको अविश्वासको अभिव्यक्ति हो। यसलाई समयमै सम्बोधन गर्न नसके देशलाई अझ गहिरो संकटतर्फ धकेल्न सक्छ। तर यदि राज्य, नेतृत्व र समाजले संयुक्त रूपमा समाधानको बाटो रोजे भने, यही आक्रोश परिवर्तनको ऐतिहासिक शक्ति बन्न सक्छ ।
यो आन्दोलनले देखाएको सत्य स्पष्ट छ—युवापुस्ताको धड्कनलाई बेवास्ता गरेर मुलुक अघि बढ्न सक्दैन् । नयाँ सरकार गठन केवल औपचारिक परिवर्तन होइन; यो आक्रोशित पुस्तासँग गरिएको वाचा पूरा गर्ने अवसर हो । युवापुस्ताको माग सम्बोधन गर्दै सुशासन, रोजगारी र स्थिरताको आधार खडा गर्नेगरी नयाँ सरकार निर्माणमा ढिलाई नगरौ । राज्य र नेतृत्वले अब ढिलाइ नगरी युवाको आक्रोशलाई अवसरमा रूपान्तरण गर्न सकेमा थप अराजकता नभई स्थिरतातर्फ मुलुक जाने थियो ।
नयाँ सरकार गठनको पहल सुरु हुनु सकारात्मक संकेत हो। तर नयाँ सरकार केवल सत्ता हस्तान्तरणको अभ्यास बन्न पुगेमा फेरि निराशा थपिनेछ। अव बन्ने सरकार साँच्चिकै नयाँ आशाको प्रतीक बन्नुर्छ ।




