बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महालक्ष्मी व्रत : श्रीवृद्धि र वैभवमा पूर्णता

महालक्ष्मी व्रत : श्रीवृद्धि र वैभवमा पूर्णता


  • माधव चापागाईं
  • भाद्र २९ २०८२, आइतबार

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले भाद्रशुक्ल अष्टमीका दिनदेखि आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक गरिने व्रत महालक्ष्मी व्रत हो । यो व्रत धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराई सुख, शान्ति र वैभव प्राप्त गर्ने उद्देश्यले लिइन्छ । भदौ १४ गते शनिबारका दिन स्थापना गरिएको यो व्रत आज भाद्र २९ गते उद्यापन गर्न लागिएको हो । कुनै पनि व्रत लिएपछि साङ्गता नगरिउञ्जेल पूर्ण फल नपाइने भएकाले व्रत पूर्णताको लागि यो कर्म गरिदै आइएको छ ।

वैदिक परम्पराअनुसार आश्विन शुक्ल पूर्णिमा, दुर्गा पक्ष अर्थात् नवरात्र र कार्तिक कृष्णआमावस्य (दीपावली) मा पनि महाकाली, महासरस्वतीसँगै महालक्ष्मीको पूजा आराधना गरिन्छ । वैदिक मान्यताअनुसार संसारका सम्पूर्ण प्राणीहरू परमात्माका अंश हुन् । यद्यपि सनातन वैदिक परम्परामा मानिसहरूले आ–आफ्नो आवश्यकता र इच्छानुसार विभिन्न देवीदेवताको उपासना गर्दै आएका छन् । जसरी विद्या आर्जन गर्न सरस्वती, युद्धकलाका लागि काली, राज्य व्यवस्थापनमा नारायण, सिद्धिका लागि गणेश, सृष्टिका लागि ब्रह्माको उपासना गरिन्छ भने धन सम्पत्ति आर्जन र श्रीवृद्धिका लागि महालक्ष्मीको उपासना गर्नु पर्छ । हिन्दू समाजमा प्रकृतिलाई प्रमुख शक्ति भनिन्छ । शक्तिका तीन मुख्य पात्रका रूपमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई लिइन्छ । शक्ति शब्दले दूर्गालाई जनाउँछ र दूर्गा महाकाली, महालक्ष्मी र महासरस्वतीको समष्टिगत रूप हो । त्यसो त प्रकृति, शक्ति वा दूर्गाका अनगिन्ती रूप छन् । यिनै रुपमध्ये एक शक्तिशाली रुप महालक्ष्मीको रुप हो । लक्ष्मी शब्दको अर्थ सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरता हुन्छ । जसको आराधना गर्दा शक्ति, सामथ्र्य, धनवैभव, विद्या, बुद्धि, कला, साहित्य सबैमा अनुकूलता प्राप्त गर्न सकिन्छ । एउटै आराध्यको उपासना गरेर जीवनका आवश्यक सबै पक्षलाई सन्तुलित रूपमा प्राप्त गर्न सकिने रुप नै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरुपा दुर्गा भवानीलाई लिन सकिन्छ । हाम्रा देवीदेवताहरुले साधकको भावना र व्यवहारको ख्याल गरेर सहयोग वा संरक्षण गर्नुलाई धर्म ठान्छन् । उनीहरू घुस लिने र दिने दुवै प्रवृत्तिलाई दुषित ठान्छन् । भगवानले मागेर भन्दा पनि आफैं अनुभव गरेर भक्तको अभाव परिपुर्ती गर्नुहुन्छ । जसले लोभ, मोह, घमण्ड र स्वार्थीपन परित्याग गरि इष्टदेवप्रति पूर्ण समर्पण भाव पैदा गर्छन् । त्यस्ता भक्तको इच्छा पूरा गर्नुलाई भगवानले कर्तव्य ठान्नु हुन्छ । यसर्थ जसले माता महालक्ष्मीको निरन्तर साधना गरिरहन्छ उसको आर्थिक, भौतिक र आध्यात्मिक प्रगति हुन्छ । माताको साधनामा सत्व, रज र तम गरी तीनै गुणहरुको उपासना हुन्छ । अर्थात् यसमा ज्ञान, कर्म र भक्ति तीनै पक्षको समन्वय रहेको छ । साथै माताको साधनाले लौकिक र अलौकिक दुवै मार्ग सन्तुलित तरिकाले अघि बढाउँछ ।

महालक्ष्मी व्रतमा भक्तजनहरूले कठोर नियमहरू पालना गर्नुपर्ने हुन्छ । ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने, प्रत्येक दिन एक छाक फलाहार (हविष्य भोजन) मात्र ग्रहण गर्ने र दिनमा एक पटक मात्र नुन खाने नियम रहेको छ । सोह्र दिनभरि निष्ठामा रहि चन्द्रमालाई अघ्र्य दिएर पुजन सहित महालक्ष्मी माताको नाममा सोह्र सुते बत्तीद्वारा आरती गर्ने परम्परा छ । धनधान्यकी देवी महालक्ष्मीको व्रत गर्नाले घरमा महालक्ष्मीको बास हुने, दुःख दारिद्रय नाश भएर जाने, धन, सम्पत्ति, सुख, शान्ति, ऐश्वर्य प्राप्ती, श्रीवृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । यो व्रत विशेष गरी नारीहरूले गर्ने गरेका छन् ।

शास्त्रमा साक्षात् भगवान् देवादिदेव महादेवले महाकाली, महालक्ष्मी, महासरस्वती स्वरुपा माता पार्वतीलाई यो व्रत विधिको बारेमा बताउनुभएको उल्लेख छ । यस व्रतको प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने र दुःख, दरिद्रता नाश हुने विश्वास गरिन्छ । महालक्ष्मी व्रत विधिमा देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधनाका प्रभावबाट ‘महालक्ष्मी अष्टकम्’ नामक स्तोत्र रचना गर्न सफल भएको किम्बदन्ती पाइन्छ । सर्वप्रथम यो व्रत देवताहरु र दानवहरु मिलेर देवासुरसंग्राम अर्थात् समुन्द्रमन्थनको प्रयोजनमा प्रारम्भ भएको मानिन्छ । तत्कालीन समयमा समुन्द्रमन्थनद्वारा अनेक वस्तु एवं पदार्थहरुको उत्पत्ति हुँदा देवताहरुले आफूले ग्रहण गरेको बुझिन्छ । मन्थन कै क्रममा अप्सराहरुका साथमा शोभाकी मूर्ति स्वयं लोककी अधिश्वरी कल्याणमयी भगवती लक्ष्मीदेवी प्रकट हुनुहुन्छ । वहाँ स्वयं पालनकर्ता भगवान श्रीनारायणको नित्यशक्ति हुनुहुन्छ र वहाँको बिजुलीको समान चम्किलो मुहार देखेर दसै दिशाहरू जगमगाएको कुरा उक्तिसम्मत छ । यसरी समुन्द्र मन्थनको मैदानमा साक्षात जगदिश्वरी लोककल्याणकारी धनधान्य वैभवकि अधिष्ठात्री माता महालक्ष्मीको सौन्दर्य, रुपरंग र महिमा प्रकट हुदा स्वयं इन्द्रद्वारा आसन, नदी र ऋषिहरुले अभिषेकसहित सुनको कलशमा जल, पृथ्वीले औषधि, गाइले पञ्चगव्य, ऋतुले फल फुल उपहार दिए, । त्यस्तै बादलले डमरु, वेणु, शङ्ख बजाए । समुन्द्रले पहेंलो रेशमी वस्त्र, वरुणले वैजयन्ति माला, विश्वकर्माले गहना, सरस्वतीले मोतीको हार, ब्रह्माजीले कमल र नागले दुईवटा कुण्डल बनाएर माता महालक्ष्मीलाई प्रदान गर्दछन् । त्यसपछि ब्राह्मणहरुले वेदपाठगर्दै माता महालक्ष्मीको पुजा आराधना गरेको दृष्टान्त पुराणहरुमा उल्लेख छ ।

यस महाव्रतको लागि निष्ठापूर्वक शुद्धतामा रहनुपर्छ । मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् भनेर कुलपितृको स्मरण पश्चात् दिप, कलश, गणेशको पूजनगर्दै १६ कलाले पूर्ण महालक्ष्मीको स्थापना र पुजन गर्नुपर्छ । लक्ष्मीको बिग्रह, फोटो, प्रतिमा आदिलाई भक्तिपुर्वक षोडषोपचारले पूजागरि श्रीखण्ड, तिल, तुलसी, माला, १६ वटा पवित्र ग्रन्थीले उक्त रक्षासुत्र आदिको अर्चना पश्चात् साक्षात जगदिश्वरी महालक्ष्मीका लागि १६ प्रकारका फूल, फल, पक्वान्न आदि अर्पण गरि महालक्ष्मीको मन्त्र नाम पढ्दै तिल, तुलसीले ॐ श्रियै नम ः ॐ अमृतोभवायै नम ः ॐ कमलायै नम ः ॐ चन्द्रसोदर्यै नम ः ॐ विष्णुपत्न्यै नम ःॐ वैष्णव्यै नम ःॐ वरारोहायै नम ःॐ हरिवल्लभायै नम ःॐ शारङ्गीण्यै नम ःॐ देवदेवीकायै नम ःॐ लोकसुन्दर्यै नम ःॐ महालक्ष्म्यै नम ःभनि यी बाह्र नामले अर्चना गर्नुपर्छ । त्यसपछि अष्टसुगन्ध, कपुर बत्ति र ज्योति प्रज्ज्वतित गरि आरती गर्नुपर्दछ । तत्पश्चात वैदिक विधिद्वारा पकवान्न, फलफूल, पान मसला, नरिवल र मिष्ठान्नमा तुलसी चढाउदै सुगन्धिद्रव्य र पूर्ण शृङ्गारका सामग्री अर्पण गर्नु अनिवार्य मानिन्छ । त्यसपछि “महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धिमही तन्नो लक्ष्मीः प्रचोदयात्” भनि लक्ष्मीमाताको स्मरण गर्नु, चमरद्वारा हम्किनुलाई महत्व दिइन्छ । त्यसपछि क्रमशः पूजा विसर्जन गरि प्रसाद ग्रहण गर्नु आवश्यक हुन्छ । त्यसैगरी व्रत उद्यापनका दिन पनि वैदिक विधान एवं शास्त्रोक्त नियम अनुरुप तन, मन, धन र श्रद्धाभक्ति द्वारा महालक्ष्मीको व्रत पूजा र आराधना गर्न सके धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थ प्राप्त हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->