सारांश
नेपालमा हाल उदाएको र अहिलेलाइ सफल देखिएको जेनजी आन्दोलन केवल राजनीतिक विद्रोह होइन, यो युवापुस्ताद्वारा उठाइएका सामाजिक, आर्थिक, न्यायिक र संस्थागत प्रश्नहरूको विमर्श पनि हो। आन्दोलनले पुराना राजनीतिक दलहरूको औचित्य, नेताहरूको दम्भ, कर्मचारीतन्त्रको जवाफदेहिता, भ्रष्टाचार र संविधानको संरक्षण जस्ता महत्वपूर्ण विषयहरूलाई चुनौती दिएको छ।
यो अध्ययनले नेपालका घटनाक्रमलाई श्रीलन्का, बङ्गलादेश र इन्डोनेसियासँग तुलनात्मक रूपमा विश्लेषण गर्दछ। श्रीलङ्कामा आन्दोलनले शासन परिवर्तन त ल्यायो, तर आर्थिक र सामाजिक संरचनात्मक सुधारमा ढिलाइ भयो। इन्डोनेसियामा आन्दोलनहरू रणनीतिक र डिजिटल माध्यमबाट सम्पन्न भए, जसले दीर्घकालीन सुधारको आधार तयार पारे। बङ्गलादेशमा आंशिक सुधार त भयो तर अझै प्रणालीगत चुनौती कायम रहेको देखिन्छ । नेपालमा जेनजी आन्दोलनले दलहरूको दम्भलाई चुनौती दिएर युवापुस्ताको बलिदान र राजनीतिक चेतना प्रस्तुत गरेको जस्तो देखिदैछ।
लेखमा आन्दोलनसँग सम्बन्धित ४० वटा आलोचनात्मक प्रश्नहरू प्रस्तुत गरिएको छ, जसले सुशासन, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, कृषि, अर्थतन्त्र र विकासका संरचनात्मक समस्याहरूको गहिरो मूल्याङ्कन गर्दछ।
विशेष ध्यान दिनु पर्ने कुराः यदि भविष्यमा कुनै व्यक्तिको अत्याधिक देवत्वकरण भयो भने, देशको सिस्टममा अवरोध सिर्जना हुनसक्छ, जसले राष्ट्रलाई अझै बर्बाद बनाउन सक्छ ।
परिचय
इतिहासमा सामाजिक राजनीतिक आन्दोलनहरू प्रायः प्रश्नहरूकै जन्मस्थल बनेका छन्। नेपालमा हाल उठेको जेनजी आन्दोलन पनि प्रश्नहरूको आँधी नै हो, जसले सत्तालाई चुनौती दिएको छ।
– यसले कांग्रेसले राणा शासन ढालेको समयलाई सम्झायो ।
– यसले माओवादीको उदयसङ्गै राजतन्त्र समाप्त गरेको आन्दोलनलाई सम्झायो ।
– यसले जनताद्वारा अत्यधिक रुचाइएको र बलियो सङ्गठन भएको भनिएको एमाले ओलिद्वारा संसद विघटन गरेर सत्ता खेल खेलेको विगतलाई पनि देखायो ।
– यसले रवी लामिछानेलाइ अति देवत्वकरण गरेको रास्वपा तुहुदै गरेको पनि देखायो ।
तर फरक के छ भने जेनजीले संविधान भंग नगरी गणतन्त्रलाई जोगाउने प्रतिज्ञा गर्यो। यसले नैतिक उच्चता देखायो । यसबाट पतन उन्मूख भएका दलहरूले पनि सकरात्मक पक्ष सिक्न सकेमा राम्रो हुनेछ ।
तुलनात्मक विश्लेषणः श्रीलङ्का, इन्डोनेसिया, बङ्गलादेश र नेपाल
श्रीलङ्काः
– कारणः विदेशी ऋण संकट, इन्धन अभाव, महँगो जीवन ।
– परिणामः शासन परिवर्तन भए पनि संरचनात्मक सुधार तत्काल भएन ।
– क्षतिः ठूलो मानवीय, आर्थिक र सामाजिक संकट ।
इन्डोनेसियाः
कारणः सत्ता केन्द्रीकरण, नीति असमानता ।
रणनीतिः सामाजिक सञ्जालमा संगठित विरोध ।
परिणामः कम क्षति तर दीर्घकालीन सुधार सम्भव ।
बङ्गलादेशः
कारणः शासनमा दीर्घकालीन एकाधिकार, श्रमिक अधिकारको दमन, लोकतान्त्रिक आवाज दवाउने प्रयास ।
रणनीतिः विद्यार्थी र युवा वर्गको नेतृत्वमा सडक विरोध, श्रमिक आन्दोलन र अन्तर्राष्ट्रिय दबाब प्रयोग ।
परिणामः आंशिक सुधार, अन्तर्राष्ट्रिय दबाबले केही परिवर्तन सम्भव तर अझै प्रणालीगत चुनौती कायम ।
विशेषताः आर्थिक वृद्धिदर देखिए पनि असमानता, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनले आन्दोलनलाई निरन्तर उर्जा दियो ।
नेपालः
विशेषताः संविधानलाई जोगाउँदै सत्ता र दलहरूलाई चुनौती ।
शक्तिः युवापुस्ताको सामूहिक चेत ।
खतराः बितृष्णामा जन्मिएको योजनाबिनाको आन्दोलनले श्रीलङ्काजस्तै पतनमा जान सक्छ ।
जेनजी आन्दोलन सम्बन्धी आलोचनात्मक प्रश्नहरू:
शासन व्यवस्था र भ्रष्टाचार
१, के नेताहरूले मात्रै भ्रष्टाचार गरेका हुन त ?
२, के कर्मचारीतन्त्र जनउत्तरदायी छन् त ?
३, नेताहरूको मात्रै होला कि कर्मचारीहरूको पनि छानविन होला त ?
युवा र नेतृत्व
४, के युवा सधैं बलिदानी हुनुपर्ने अनि राज्य उही वृद्धबृद्धाले नै चलाउने हो त ?
५, भ्रष्टाचार अन्त्य र सुशासनका निम्ति हालसम्म ७२ जनाको बलि सफल होला त ?
६, जितीसकेको युद्धलाई सुरक्षित अवतरण गर्न नसक्दा भएको क्षति छिटै भरणपोषण होला त ?
संस्थागत सुशासन
७, के न्युन विजकिकरण हट्ला त ?
८, के क्यासलेस भुक्तानी प्रणाली होला त ?
९, के युवाहरूको विदेश मोह हट्ला त ?
१०, के सांसदहरूको जिम्मा केवल व्यवस्थापिका मात्रै होला त ?
११, के कुनै मन्त्री वा कर्मचारीतन्त्रले निष्पक्ष कार्य सम्पादन गर्ला त ?
१२, के न्यायाधीश र वकिल निष्पक्ष हुन सक्लान त ?
१३, के मुद्दाहरू छिट्टै फैसला होलान त ?
शिक्षा र सामाजिक न्याय
१४, के पार्टीगत भर्ति केन्द्रहरू खारेज होलान त ?
१५, के व्यापारी घरानाहरू नेपालमै मुख्य कार्यालय राखेर बस्लान त ?
१६, के बालबालिकाले निस् शुल्क वा न्युन शुल्कमा शिक्षा प्राप्त गर्लान त ?
१७, बोर्डिङ स्कूलहरूले शुल्क नियन्त्रणमा राखेर २०-२५ प्रतिशत विद्यार्थीलाई निशुल्क पढाउने होलान त ?
अर्थव्यवस्था र कृषि
१८, के पार्टीका भातृ संगठनहरूले अनावश्यक आन्दोलन नगर्लान त ?
१९, के कृषकहरूको उत्पादनले उचित मूल्य पाउला त ?
२०, के नेताहरू र उच्च पदस्थ कर्मचारीलाई दिइने अत्यधिक सुविधा कटौती होला त ?
सामाजिक सुरक्षा र लैङ्गिक समानता
२१, के महिला २४ घण्टा सुरक्षित रूपमा हिँडडुल गर्न सक्लिन त ?
२२, के औषधोपचार निशुल्क होला त ?
२३, के यातायात सहज र सुलभ होला त ?
२४, के समविकासका लागि समभाव होला त ?
२५, के जातीयता उन्मूलन होला त ?
२६, के संविधान संशोधनमार्फत पिछडिएका जाति(धर्मलाई समान अधिकार दिलाइएला त ?
सुशासन र विकास
२७, के अनावश्यक टावर ९धार्मिक टावर सहित० मा राज्यको पैसा लगानी गर्न रोकिएला त ?
२८, के गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी उन्नत होला त ?
२९, के पत्रिका र पत्रकार साँचै आवाजविहीनको आवाज बन्ने होलान ?
३०, के स्वास्थ्यकर्मीहरुको पलायन रोकिएर देशमै सेवा पुर्याउने वातावरण बन्छ ?
३१, के लघु उद्योग बृद्धि भएर औद्योगिकीकरण सम्भव हुन्छ ?
३२, के नेपालमै बसेर विश्वसँग प्रतिस्पर्धा गर्ने उत्पादनशीलता आउला ?
३३, के जलस्रोत, खानी, प्रकृति पर्यटनका लागि उपयोगी भएर उत्पादकत्व बढ्ला ?
सामाजिक ऐक्यबद्धता
३४, के बाल-युवा-वृद्ध मैत्री समाज बन्छ ?
३५, के व्यवस्था परिवर्तनका लागि बलिदान आवश्यक नपर्ला ?
३६, के जेलहरू खाली हुँदै असल नागरिक बृद्धि होलान त ?
आर्थिक अनुशासन
३७, के हामीले कर तिर्दा आनन्द आउला ?
३८, के नेता र जनताको जीवनशैली एउटै होला ?
३९, के धनी व्यक्ति देश छोडेर भाग्न नपर्ने अवस्था आउला ?
४०, के अपराध गर्नेले मात्र सजाय पाउने, उसका सन्तान निर्दोष रहने अवस्था आउला ?
बिमर्श
यी प्रतिनिधी प्रश्नहरूले नेपालको संवैधानिक लोकतन्त्र, अर्थतन्त्र, सामाजिक संरचना र नैतिक चेतना सबैलाई चुनौती दिएका छन्।
श्रीलङ्काले देखायोः योजनाबिनाको विद्रोहले ठूलो संकट ल्याउँछ।
इन्डोनेसियाले देखायोः रणनीतिक आन्दोलनले संरचनात्मक सुधार सम्भव छ।
बङ्गलादेशले देखायोः प्रणाली सुधार नभएसम्म समस्याको पूर्ण समाधान हुदैन ।
नेपालले निर्णय गर्नुपर्नेछः जेनजी को बलिदान इतिहासमा मात्र सीमित हुन्छ कि दीर्घकालीन संस्थागत सुधारतर्फ लैजान्छ ?
विशेष ध्यान-यदि बिगतका शिर्ष पार्टीहरुले गरेझै भविष्यमा कुनै व्यक्तिको अत्याधिक देवत्वकरण भयो भने, देशको सिस्टममा अवरोध सिर्जना हुनसक्छ, जसले राष्ट्रलाई अझै बर्बाद बनाउँछ।
निष्कर्ष
जेनजी आन्दोलनले नेपाललाई कठोर प्रश्नहरूको अगाडि उभ्याएको छ। यी प्रश्नहरूको जवाफ केवल नेताहरू, कर्मचारी वा व्यापारीले दिने होइन, सम्पूर्ण समाजले सामूहिक रूपमा दिनुपर्नेछ ।
यदि श्रीलङ्काबाट सचेत भएर, इन्डोनेसियाबाट रणनीति सिकेर, बङ्गलादेशले नसकेको कुरा प्रणाली सुधारेर अघि बढ्न सकियो भने युवाको बलिदान व्यर्थ हुने छैन । तर यदि प्रश्नहरू बेवास्ता भए भने, भविष्यले पुनः अर्को विद्रोह जन्माउनेछ र अर्को इतिहास लेखिन सक्छ । किनकि हालसम्म जुन जुन दलहरुले शहिदको रगतको अवहेलना गरे तिनीहरुको नेताहरूको न सत्ता रह्यो, न सम्मान रह्यो, न शक्ति रह्यो, न सम्पत्ति नै रहला । त्यहि भएर त्यस्तै समस्या दोहोरिइरहने आशंका जिबित छ । त्यसलाइ चिर्नु अवको भावी शासन सत्ता सञ्चालन गर्ने शासकहरूको हातमा छ ।
‘देश शिर्षस्थानमा रहोस, देवत्वकरण कसैको नहोस’ यही प्रार्थना कामना छ ।





