२०८२ भदौ २३ तद्नुसार रोहबर ८–२०२४ का दिन भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध काठमाडौंको माइतीघर जम्मा भएर नयाँ वानेश्वरसम्म मार्च गर्नका निम्ति आह्वान गरिएको सूचना हामीले सामाजिक सञ्जालमा देखेका थियौँ । युवाहरुको सो आह्वान सामाजिक सञ्जालमा व्यापक बन्दै गएको पनि अनुभूति भएकै थियो । योे एकहप्ता भित्र विकसित भएको अवस्थालाई तत्कालीन सरकारी निकायहरुले खासै महत्व दिएको देखिएन । बरु, संचारमन्त्रीले सामाजिक संजाललाई संचार मन्त्रालयमा दर्ता गर्न भनिरहेको र अन्यथा नेपालमा संचालन बन्द गरिने सूचना बारम्बार दोहो¥याइ रहे ।
सरकारी सूचनाका बाबजुद कुनै पनि कम्पनीहरुले (पहिले गरेका ३ वटाबाहेक) नेपालमा दर्ता गर्न रुची देखाएनन् । उल्टो एक्स( ट्विटर) संचालन गर्ने एलन मस्कले नेपाल जस्तो भ्रष्टाचार भएको देशमा दर्ता गर्न सकिँदैन भन्ने घोषणा गरिदिए । यो नेपालको छविलाई गम्भीर आघात पुग्ने टिप्पणी थियो । त्यही समयमा प्रधानमन्त्री ओलीले जेन जेड भनिने पुस्ताहरूले गर्न खोजेको मार्च र आन्दोलनलाई कम आँकलन गरेर त्यो पुस्तालाई चुनौती दिए । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने अलोकप्रिय निर्णय गरिछाड्यो । यो भदौ २२ गतेसम्मको अवस्था थियो । भदौ २३ का दिन सरकारले लख काट्न नसकेको÷ अनुमान गर्न नसकेको, कम आँकलन गरेको आन्दोलनलाई रोक्न सुरक्षाको प्रबन्ध पनि गरेको देखिएन । फलस्वरूप आन्दोलनले उग्र रुप लिँदा जुन परिस्थितिको सृजना भयो त्यो कसैले अनुमान नै नगरेको अवस्थामा पुग्यो । जब आन्दोलनकारीको मृत्यु भएको संख्या १९ पुगेको खबर प्रवाहित भयो ,भदौ२४ का दिन अकल्पनीय परिस्थिति सृजना भयो । जुन हामीले देखिरहेका छौं । असह्य वेदनाका साथ महसुस गरिरहेका छौं । प्रधानमन्त्री ओलीको राजीनामा, गृहमन्त्रीको राजीनामा वा अन्य मन्त्रीहरुको राजीनामा फगत समाचारमात्र बन्न पुग्यो । सम्भवतः सबैभन्दा छोटो अवधिको आन्दोलनले सरकार परिवर्तन भएको नयाँ रेकर्ड कायम भयो । आन्दोलनको ३० घण्टाभित्र नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा बदलाव तथा यत्रो ठूलो दुर्घटना कसरी हुन पुग्यो ? यो कसैले पनि अनुमान नै गर्न नसकेको विषय बन्यो । भदौ २४ गते राति १० बजेबाट सेनाले सुरक्षाको जिम्मेवारी लिएर काठमाडांै उपत्यका मात्र हैन, देशका कैंयन सहरहरूमा निषेधाज्ञा, कफ्र्यू लगाइयो । अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरियो, सार्वजनिक यातयात ठप्प भयो, कुनै पनि व्यावसायिक र शिक्षण संस्थानहरू खुलेनन् । जो जहाँ थियो, त्यहीँ अड्किए । भदौ २३ साँझबाट भदौ २४ साँझसम्म यति धेरै तोडफोड भयो, यति धेरै भवन र सम्पदाहरु, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा निजी आवासगृह जले कि, अहिले सम्झँदा पनि हामी किंकर्तव्यविमुढ हुन्छौँ । कल्पना गर्न नसकिने क्षति भयो । आखिर नेपालजस्तो शान्त मुलुकमा यस्तो पनि हुने रहेछ भन्नुपर्ने स्थिति आयो ।
आन्दोलन आह्वान गर्ने जेनजी को हुन् ?
विश्वमा नयाँ नयाँ प्रविधि विकास भएसँगै हरेक क्षेत्रमा प्रविधिलाई जोडेर पहिचान दिने प्रचलन देखिन्छ । त्यस्तै पुस्ता हस्तान्तरण गर्नपर्छ भन्ने मान्यता राखेर उमेर समूह अनुसार युवाहरुलाई भिन्नभिन्नै नामाकरण गरिएको छ ।
सन १९६५ देखि सन १९८० सम्म जन्मेका पुस्तालाई जेन एक्स नाम दिइएको छ । यो अवधिमा जन्मेकाहरूले भर्खरै सुरु भएको प्रविधिउन्मुख खासगरी कम्प्युटरका कुरा जान्ने, चलाउने, उपयोग गर्ने अनि टेलिभिजनको सुरु भएदेखि त्योसँगै समय बिताउने वर्गको रूपमा जेन एक्सलाई लिने गरिन्थ्यो । यो पुस्ता झन्डै बाउ पुस्ता र सोभन्दा अगाडिको भइसक्यो ।
सन १९८० पछि तर १९९७ भन्दा अगाडी जन्मेकाहरू जसले प्रविधिमा भएको ठूलो क्रान्तिलाई आत्मसात गर्ने मौका पाएसँगै स्मार्ट फोनको उपलब्धतालाई जीवनचक्र नै परिवर्तन गर्न भ्याए । सन् १९९७ पछि जन्मेका तर सन २०१२ भन्दा अगाडी जन्मेका जन्मेका वर्गलाई जेन जी भन्न थालियो । योबीचमा युटुब, फेसबुक, च्याट, ट्विटरजस्ता महत्वपूर्ण एप्सहरु सँगसँगै हुर्के, सँगसँगै जोडिए धेरै सूचनाहरु आत्मसात गरे विश्व परिस्थिति बुझ्ने वर्गमा परे । सन् २०१३ पछि सन् २०२४ भित्र जन्मेका पुस्तालाई जेन अल्फा भनिएको छ । यो पुस्ताले प्रविधिमार्फत् शिक्षा प्रारम्भिकदेखि उपल्लो स्तरसम्म ग्रहण गर्दछ ।
ट्याब, एआई, नेटसँगै खेल्ने, हुर्कने जमातको रुपमा यसलाई लिन सकिन्छ । सन् २०२५ देखि २०३५ बीचमा जन्मने जमातलाई जेन विटा नामाकरण गरिनेछ । यो समूहले एआई, रोबर्टसँग सहकार्य गर्दै आफ्नो जीवन अगाडी बढाउने छन् । च्याट जिपिटीजस्ता डिजिटल संसारका सामग्रीसँग घुलमिल गर्दै पारिवारिक र सामाजिक परिवेशलाई एकदमै वेवास्ता गर्ने वर्गको रुपमा उनीहरुको उदय हुने छ ।
यसरी व्याख्या गरिरहँदा नेपालको पछिल्लो आन्दोलनको सूत्रधार कुनै एउटा संगठित समूह र शक्ति नभइकन सामाजिक संजालको भरपुर उपयोग गर्ने, त्यहीमार्फत् सूचना र संवाद आदान प्रदान गर्ने, विश्वसमुदायसँग जोडिने÷नजिकिने, सामाजिक न्याय, पर्यावरणजस्ता विषयमा बहस चलाउने, खुला सोच राख्ने, नेट, स्मार्टफोन, प्रविधिसँग तत्कालै जोडिने वर्ग नै जेनजी हो । यही समूले नै आन्दोलनको आह्वान गरेको हो । ‘भ्रष्टाचार रोक कुशासन हटाऊ’, आफन्तलाई नपोस् आफ्नो बच्चालाई विलासिताको जीवन बिताउन केले संभव गरायो ? जस्ता उनीहरुका नारा थिए । यही पृष्ठभूमिमा आन्दोलन आह्वान गरिरहँदा नयाँ नारा थपियो ‘सामाजिक संजाल बन्द नगर ।’
युवाहरु त्यही नारासहित सडकमा उत्रिए । अघिल्लो दिन स्थिति सामान्य थियो । प्रदर्शनको क्रममा सुरक्षाकर्मीको गोलीबाट युवाहरु मारिएपछि चाहिँ भोलिपल्टको आन्दोलन अकल्पनीय बन्यो । उनीहरुले सार्वजनिक र व्यक्तिको सम्पत्तिमा आगो झोसे । गर्न हुनेभन्दा गर्न नहुने काम धेरै भयो । अब प्रश्न उठ्न थालेको छ–कसरी यो पुस्ता १३–२८ वर्ष सम्मका युवाहरु यति धेरै असहिष्णु, आक्रमक र हिंसा प्रेरित कसरी हुन पुग्यो ? यो आन्दोलनलाई उपयोग गरेर धमिलो पानीमा माछा मार्ने जमात पो हावि हुन पुग्यो कि ? आन्दोलनलाई निहित स्वार्थ प्रेरित समूहले आ–आफ्नो रिसिइवी साँध्ने माध्यमको रुपमा दुरुपयोग पो गरे कि ? कुनै राजनीतिक समूह आगोमा घ्यू थप्न उद्यत रह्यो कि ? असामाजिक, गुण्डागर्दी,लुटपाट गर्ने तत्वहरु हावी भएर आगजनी, लुटपाटमा संलग्न भए कि ? यी सबै विषय छानविनपश्चात आउने दिनमा स्पष्ट हुने नै छ । आगजनी र ध्वंसात्मक गतिविधिमा संलग्न लुटेराहरू एवं स्वार्थले प्रेरित नकरात्मक तत्वहरुलाई सजायको दायरामा ल्याइने छ ।
हुन त जेनजी पुस्ता संगठित थिएन । स–साना समूह आपसमा सम्पर्कमा चाहिँ थियो । जाने–बुझेको यो पुस्ताले मुलुककै भविष्यलाई अत्यन्तै ठूलो जोखिममा पारेर आन्दोलनमा होमिन्छ भन्ने कल्पनासम्म गर्न सकिँदैन । किनभने यो शिक्षित जमात थियो । विश्व परिस्थिति,मुलुकको आर्थिक र राजनीतिक अवस्था बुझ्न सक्ने थिए । हो, उनीहरुमा असन्तुष्टि थियो, निराशा अभिव्यक्त गर्दथे । मुलुकमा व्याप्त बेथिति, भेदभाव, कृपावाद, नातावाद, बढ्दो भ्रष्टाचार र कुशासनप्रति अत्यन्तै आक्रमक थिए । आन्दोलनमा अनेक प्रकारका घुसपैठ हुनसक्छन् । मुल एजेन्डालाई दिशाविहीन बनाउने प्रयास हुन सक्छ भन्ने पूर्वानुमान त्यो पुस्ताले गर्न नसकेको देखिन्छ । तर, उनीहरुको लागि एउटा उपलब्धि बन्यो– सरकार परिवर्तन । यो अन्तरिम सरकारको नेतृत्व चयन गर्न उनीहरु सफल भएका छन् ।
यी सबै उपलब्धि भइसकेपछि मुलुकलाई सहजतापूर्वक अग्रगामी बाटोतर्फ उन्मुख गराउन यो पुस्ताले योगदान दिनुपर्छ । सघाउनु पर्छ । लोकतान्त्रिक व्यवस्थालाई आँच आउने कुनै पनि कार्यकाविरुद्ध संघर्ष गर्न तयार रहनुपर्छ ।
भोलिका दिनका लागि संविधानमा के–कस्ता सुधार र संशोधन गर्नुपर्छ भन्ने छलफल गर्दै अगाडी जानुपर्छ । भ्रष्टाचारविरुद्धका गतिविधिलाई गति दिँदै भ्रष्टाचार हुन नदिने प्रणाली विकसित गर्दै जानुपर्छ । विभिन्न छानविन आयोग गठन अनि निश्पक्ष ढंगले काम सम्पन्न गर्दै दोषीहरुलाई कारवाही सजाय गर्दै जाने अवस्थालाई सघाउनु पर्दछ । व्यवसाय गर्ने वातावरणसहित आर्थिक वृद्धि कसरी तीव्र पार्न सकिन्छ भन्नेतर्फ स्पष्ट हुनुपर्छ । सामाजिक न्याय प्रणाली र आर्थिक प्रणालीलाई जनताको हितमा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित हुन जरुरी हुन्छ । राजनीतिक दलहरु आफैमा आन्तरिक सुधारसहित प्रतिस्पर्धा र स्वच्छ निर्वाचित प्रणालीमार्फत् निर्वाचन कार्यमा सरिक हुने गरी बहसको सिर्जना अनि दवाब दिनुपर्छ ।
एउटा परिवर्तन भएको छ । आमनागरिक र मुलुकले पीडाबोध गरेको छ । तापनि तीव्र सुधारको आशा जगाएको छ । एउटा पुस्ताले गरेको आन्दोलनलाई आत्मसात गर्दै अनुशासित लगनशीलता,मिहिनेतका साथ अवसर (विना भेदभाव) लाई सदुपयोग गर्ने बेला आएको छ । जेनेजी पुस्ताले जेन अल्फा पुस्तामात्र हैन, जेन विटा पुस्तालाईसमेत एउटा अनुकरणीय उदाहरण स्थापित गरोस् । देशको छविलाई कसरी माथि पु¥याउने, हाम्रो सार्वभौमलाई रक्षा गर्दै एउटा विकसित मुलुक कसरी बनाउने, आमजनताको जीवनस्तरलाई कसरी गुणस्तरीय बनाउने,सुशासन र विधिको पालना गर्दै भ्रष्टाचार र बेथिथिको अन्त्य कसरी गर्ने भन्नेतर्फ ध्यान केन्द्रीत गर्नु परेको छ ।
सबै युवाहरुमा यही मुलुकमा हाम्रो भविष्य छ र यही मुलुकलाई बनाउनु छ भन्ने भावनाले ओतपोत गराउनु परेको छ । अहिलेको विश्व प्रणालीलाई नियाल्ने र गम्भीरतापूर्वक लिने हो भने पनि अन्य देशमा हेपिएर बस्नुपर्ने स्थिति, जतिसुकै सम्पत्ति आर्जन र जोगाड गरे पनि, दोस्रो दर्जाको भएर बस्नुभन्दा देशकै भलो चिताउनु सर्वोत्तम विषय हुनेछ । मुलुकमा रहेको सरकार पारदर्शी, सुशासनयुक्त, विन भेदभाव, विना भ्रष्टाचार सामाजिक न्यायको लागि समर्पित रह्यो भने यो कुरा यहीँ सम्भव छ ।
सबैमा चेतना होस्–यसपटकको आन्दोलनले परिवर्तनको सन्देश दिएको छ । समयानुसार हामी सबै सुधारोन्मुख हुनुपर्छ भन्ने सन्देश दिएको छ । आमनागरिकले उठाउने गरेको विषयलाई शासन संचालन गर्नेले विना दम्भ, विना अहंकार सम्बोधन गर्नुपर्ने सन्देश दिएको छ । अंकको भरमा म नै सरकार हूँ,म नै पार्टी हूँ र म नै सबैथोक हूँ भन्ने भाष्यलाई अन्त्य गरेको छ ।




