बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेन–जी विद्रोह दिशाहीन होइन, मूल्य परिवर्तनको उद्घोष

जेन–जी विद्रोह दिशाहीन होइन, मूल्य परिवर्तनको उद्घोष


  • मुक्ति पौडेल
  • भाद्र ३१ २०८२, मंगलबार

पृष्ठभूमि
नेपालको राजनीतिक इतिहास असमानता, विभेद र बञ्चितिकरणविरुद्धको संघर्षले भरिएको छ । यही संघर्षको अनुभवबाट सिकेर शिक्षित भएको पुस्ता अहिले बदलिँदो विश्वव्यापी राजनीतिक र सामाजिक परिवेशमा सक्रिय भएको छ । विगतमा सामाजिक सञ्जालमै सीमित भई असन्तोष पोख्ने पुस्ता भनेर चिनिने जेन–जी अहिले प्रत्यक्ष राजनीतिक–सामाजिक परिवर्तनको मैदानमा प्रवेश गरिरहेको छ । सूचना प्रविधिको तीव्र विकास, आर्थिक असमानताको खाडल, वातावरणीय संकट, भ्रष्टाचार र साँस्कृतिक रुपान्तरणले गर्दा यो पुस्ताले परम्परागत सत्ता संरचनाप्रति प्रश्न उठाउन थालेको छ । नेपालमा बेरोजगारी, अवसरको कमी, पारदर्शीताको अभाव र राजनीतिक स्थिरताको संकटले युवापुस्तालाई विद्रोहात्मक सोच र आन्दोलनतर्फ धकेलेको छ । परम्परागत राजनीतिक संरचनालाई मात्र आलोचना गर्ने होइन, चुनौती दिने मोडमा प्रवेश गरिसकेको छ । उनीहरू केवल दर्शक होइनन्, परिवर्तनका सक्रिय अभियन्ता बनेका छन् ।

विषय प्रवेश
राजनीतिक दलहरूमा पुस्तान्तरणको अभाव, सत्तालिप्सा, पारदर्शीताको कमी र अवसरको असमान वितरणले युवाहरूलाई निराश बनाएको छ । जेन–जी अब केवल सामाजिक सञ्जालमा हैन, सडकमा पनि आफ्नो आवाज बुलन्द गरिरहेका छन् । उनीहरूको विद्रोहलाई केवल क्षणिक असन्तोषको रूपमा हेर्नु गम्भीर भूल हुनेछ । यो विद्रोह मूल्य, अवसर र भविष्यप्रतिको गहिरो माग हो ।

जेन–जी आन्दोलनका प्रमुख विषयहरु
–भ्रष्टाचार विरुद्धको संघर्षः उच्त पदस्थहरुको विलासी जीवनशैली र तिनका सन्तति ‘नेपो किड्स’को जीवनशैलीको पर्दाफास गर्दै पारिवारिक राजनीतिक वर्चस्वको विरोध । भ्रष्टाचारले थिलोथिलो पारेको संरचनाको पुनर्संरचना गर्ने उद्घोष ।
–राजनीतिमा पुस्तान्तरणको बहसः विभिन्न परिवर्तनपश्चात पनि एउटै अनुहार दशकौंसम्म राज्यसत्तामा पालैपालो रहने र पुस्तान्तरणको आवाज सुन्नै नचाहने नेतृत्व ।
–निर्वाचन पद्धति र व्यर्थका संरचनाः अस्थिरताको केन्द्र र अंक गणितको हिसाब गर्ने संसदीय निर्वाचन पद्धति आर्थिक दायित्व पुष्टि गर्न नसक्ने प्रदेश संरचना एवं अन्य राजनीतिक एवं प्रशासनिक संरचना ।
–अभिव्यक्ति स्वतन्त्रताको मागः सरकारले यो वा त्यो बहानामा वैयक्तिक स्वतन्त्रता हनन् गरेको विषय । सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्दै स्वतन्त्र विचारको संरक्षण ।
–आर्थिक असमानता र बेरोजगारीः अवसरको अभावले युवालाई विदेश पलायन गर्न बाध्य बनाएको तीतो यथार्थ ।
–पारदर्शीता र जवाफदेहीता, सत्ता संरचनामा खुलापन र जवाफदेही नेतृत्वको माग ।

परिवर्तन आवश्यक हुनुका कारणहरू
–बेरोजगारी दरः २०% भन्दा बढी युवा बेरोजगार छन्
–भ्रष्टाचार सूचकांकः नेपाल १८० देशमध्ये १०८ औं स्थानमा
–राजनीतिक अस्थिरताः १५ वर्षमा १४ सरकार परिवर्तन
–अभिव्यक्ति स्वतन्त्रताको कुण्ठनः सामाजिक सञ्जालमा प्रतिबन्धले युवाको आवाज दबाइएको
–राजनीतिक दलभित्र पुस्तान्तरण रोकिएको अवस्था
–बेरोजगारी दर उच्च र युवाको निराशा
–शिक्षित युवामा अवसरको अभाव
–बढ्दो भ्रष्टाचार र असमानता
–विश्वव्यापी प्रवृत्तिको दबाब (क्लाइमेट चेंज, डिजिटलाइजेशन) ।

आन्दोलनको परिदृश्य र विश्लेषण
–जेन–जी समूह एउटा विशिष्ट उमेर समूह (१३ देखि २८ वर्ष) रहेको र स्वतःस्फुर्त आन्दोलनमा सहभागिता जनाएको समूह भएकाले नेतृत्वविहीनता देखियो । यसले युवा असन्तोषको शक्ति त देखायो तर दीर्घकालीन संगठनात्मक निरन्तरता कमजोर पार्दछ ।
–डिजिटल प्लाटफर्ममार्फत् यो पुस्ताले सामाजिक सञ्जालमा उब्जिएको असन्तोषलाई सडकसम्म ल्याउन सफल भयो । टिकटक, इन्स्टाग्राम, रेडिट, ट्वीटर जस्ता समाजिक सञ्जालमा चलाएको अभियान सार्थक सिद्ध रह्यो ।
–प्रतिकात्मक विद्रोहले सार्थकता पायो । जस्तैः No More Nepo Kids, Enough is Enough, System Change Not System Repair जस्ता नारा ।
–स्वतन्त्र समर्थन गर्ने राजनीतिक पार्टी वा परम्परागत नेतृत्वभन्दा बाहिरका व्यक्तित्वप्रति सम्मानजनक दृष्टि रह्यो ।
–सामाजिक सञ्जाललाई अभियानको मुख्य प्लेटफर्मको रुपमा प्रयोग गरि सत्ता सञ्चालनको परम्परागत माध्यमलाई चुनौती दिएको छ । तर, डिजिटल आन्दोलनलाई सजिलै दमन वा भ्रामक प्रचारमार्फत् कमजोर पार्न सकिने र आन्दोलनको पथान्तरण र अपहरणको खतरा विद्यमान रह्यो ।
–आन्दोलनको दमनका लागि पहिलो दिन अत्याधिक बल प्रयोग रह्यो र निहत्था प्रदर्शनकारीमाथि बर्बरतापूर्ण दमन भयो भने दोस्रो दिन सार्वजनिक सम्पदाको अत्याधिक क्षति रह्यो ।
–स्पष्ट नेतृत्व र मार्गदर्शनविहिन रहेकाले व्यापक घुसपैठ भइ पूर्वाग्रह उतार्ने अवसरका रुपमा फरकफरक तवरले आन्दोलन प्रयोग रह्यो । यसैको प्रभावस्वरुप सरकारी संरचना तथा कार्यालयमा ठूलो परिमाणमा क्षति पुग्यो । निजी सम्पत्तिमा समेत व्यापक आगजनी र तोडफोडले कानूनविहिनता एवं मनोमानीतन्त्र हावी रह्यो ।
–विद्रोहले स्थापित दलहरूको पुस्तान्तरणविहीन चरित्र उजागर ग¥यो । तर ठोस वैकल्पिक राजनीतिक संरचना नउत्पन्न हुँदा आन्दोलन दिशाहीन मार्गमा अघि बढ्यो ।
–नेपाली सेनाको अस्वाभाविक सक्रियता र कदम पनि आन्दोलनको विचारणीय विषय रह्यो । जङ्गी अड्डासँगै रहेका सिंहदरबार, सर्वोच्च अदालत लगायतका संरचना संरक्षणमा मुकदर्शक बनेको सेना राष्ट्रपतिलाई राजीनामाका लागि दबाव दिनु स्वाभाविक कदम देखिएन । वार्ताका क्रममा पनि आन्दोलनरत पक्षभन्दा बाह्य पक्षलाईसमेत भूमिका दिँदा यदाकदा प्रश्नचिन्ह समेत खडा भयो ।
–आन्दोलनको कुशलतम् अवतरणमा राष्ट्रपति र प्रधानसेनापतिको भूमिका भने तारिफयोग्य रह्यो ।

विचारणीय विषयहरु
–संसदीय अङ्कगणित र फजुलका राजनीतिक एवं प्रशासनिक संरचना विरुद्धको असन्तोष पोखिएको हो । यसको समाधान संसद विघटन र पुनः प्रतिनिधि सभाको निर्वाचन हो या होइन । प्रत्यक्ष निर्वाचित कार्यकारीको परिकल्पना साकार नहुने अवस्था देखिँदा पुनः यस्तै विद्रोहको अवशेष र आशङ्का बाँकी नै रहेको छ ।
–सुशासनको धज्जी उडाउने भ्रष्टाचार र असमानता यो विद्रोहको इन्धन हो तसर्थ आर्थिक सुशासन कायम गर्ने र कसुरजन्य विगतलाई दण्डित गर्ने विषय प्रमुख एजेण्डा हो ।
–पुनः सक्रियता देखाइरहेका पुराना राजनीतिक दलहरुले संसद विघटन असंवैधानिक कदम भन्ने आवाज गुञ्जायस गरेको पाइन्छ । प्रायः विद्रोहपश्चात नयाँ संविधानको जन्म हुने हो तर यस आन्दोलनले मौजुदा संविधानलाई जिवित राख्न देखाएको हार्दिकतालाई दलहरुले कमजोरीको रुपमा आँकलन गर्नु हुँदैन । अदालतमार्फत नियन्त्रणको स्वप्न देखेमा पुनः बंगलादेशमा अदालतको आदेश पश्चातको हविगत सहनका लागि तयार रहनुपर्ने अवस्था देखिन सक्छ ।
–आवश्यकताको सिद्धान्त र संविधानको रक्षाको दफामा आधारित रही आत्मसाथ गरिएको परिवर्तनले थप विषय पनि निर्णय गरिहाल्नु पर्दछ । निर्वाचन पद्धति प्रादेशिक संरचना र स्थानीय तहको अधिकार एवं संरचनासमेत छिटो यकिन हुनुपर्ने विषय हुन् ।
–कर्मचारीतन्त्रको कार्यशैलीका कारण पनि जनतामा थप नैराश्यता फैलिएको पक्षलाई अंगिकार गर्दै चुस्त र छरितो प्रशासनिक संरचनाको निर्माण सूचना प्रविधिको उपयोग र अनावश्यक पद्धतिमुखी संस्कार सुधारको विषय पनि विचारणीय विषय हुन् ।

आन्तरिकीकरण गरिएका विषयहरू
–लोकतन्त्रभित्र पनि बढी सहभागिता र प्रत्यक्ष निर्णयको चाहना ।
–नीतिगत प्रश्नमा प्रत्यक्ष सहभागिताको चाहना–‘हामी मात्र मतदाता होइनौं, निर्णयकर्तासमेत हौँ’भन्ने चेतना ।
–केवल नेतृत्व बदल्ने वा सुधार गर्ने होइन, सम्पूर्ण प्रणाली पुनःसंरचना गर्नुपर्ने भन्ने धारणा । दलको पालैपालो शासन होइन, पारदर्शी र जवाफदेही संरचना खोज्ने सोच ।
–आन्दोलनमार्फत युवाले बुझ्न थालेका छन् कि परिवर्तन केवल नेताबाट होइन, नागरिकबाट पनि सम्भव हुन्छ ।
–जनसहभागिता र निरन्तर दबाब नै लोकतन्त्रलाई जीवित राख्ने शक्ति हो भन्ने बोध ।

जोखिम एवं चुनौतीहरु
–असंगठित र बिखण्डन हुने सम्भावना ।
–राजनीतिक दलहरूले युवालाई सहकार्य नभइ केवल उपयोग गर्ने प्रवृत्ति ।
–विद्रोहलाई दमन गर्ने राज्य संरचना ।
–आर्थिक अवसर नभएकाले निरन्तरता दिन कठिनाइ ।
–विदेश पलायनले आन्तरिक आन्दोलन कमजोर पार्ने खतरा ।
–हिंसात्मक झडपः आन्दोलनमा ७० बढीको मृत्यु, १३ सय बढी घाइते ।
–दिशाहीनताः स्पष्ट नेतृत्वको अभावले आन्दोलनको दीर्घकालीन प्रभावमा प्रश्न उठाएको ।
–पुनः विद्रोहको सम्भावना

दीर्घकालीन समाधानका विषयहरू
संवैधानिक सुधार
–प्रत्यक्ष निर्वाचित कार्यकारी
–पुर्णतया समानूपातिक छरितो आकारको संसद
–प्रदेश र प्रादेशिक संरचनाको खारेजी
–स्थानीय तहको पुनर्संरचना

आर्थिक एवं सामाजिक सुधार
–शक्तिशाली सुशासन आयोग बनाइ त्यसको प्रतिवेदनका आधारमा कार्यान्वन र सुधार,
–भ्रष्टाचार विरुद्धको शक्तिशाली आयोग र सम्पत्तिको छानविन एवं कारवाही र राष्ट्रियकरण,
–देशमा नै रोजगारी र अवसर सिजनाका लागि पर्याप्त लगानी,
–राजनीतिक दलहरुमा पुष्तान्तरण र युवा नेतृत्वको सशक्तिकरण ।

प्रशासनिक सुधार
–डिजिटल गभर्नेन्स पद्धतिको अनुसरण
–पारदर्शीता प्रवद्र्धन र खुला बजेट प्रणालीको अवलम्बन
–कर्मचारीतन्त्रको एकीकरण र छरितो एवं चुस्त दरबन्दी संरचना कायम गरि सेवा प्रवाह

अबको बाटो
केबल विरोध होइन विकल्पसमेत प्रस्तुत गर्दै वैकल्पिक नीतिगत खाका तयार गर्नुपर्दछ । आन्दोलनको जनादेशभन्दा बाहिर जाँदा भविष्यमा पुनः देखिनसक्ने यस्ता विरोधाभाष र विद्रोहलाई समयमै निराकरण गर्नुपर्छ । यसका लागि राजनीतिक दलभित्र पुस्तान्तरण सुनिश्चित गर्ने सुशासन र पारदर्शिताको स्पष्ट मार्गचित्रसहित अंगिकार गर्ने गर्नुपर्दछ । शान्तिपुर्ण मार्गबाट संविधानभित्रै सुधारको माग गर्नुपर्छ र विश्व परिवेश अनुकुल नबिन शासकीय मान्यता अंगिकार गर्दै शहादत प्राप्त गर्ने कम उमेरका शहीदको परिवर्तनको आकांक्षा र स्वप्नलाई साकार पार्नुपर्छ । सामाजिक सञ्जालको सदुपयोग गर्दै जनमत निर्माण र सचेतना फैलाउने काम निरन्तर गर्नुपर्छ । समग्रमा अबको बाटो हिंसात्मक प्रतिकारबाट टाढा, संगठनात्मक रूपान्तरणमार्फत संरचनागत सुधार, वैकल्पिक नीति र शान्तिपूर्ण दवाबमार्फत नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्नु हो ।

निश्कर्ष
गत २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी विद्रोह कुनै क्षणिक असन्तोष होइन, नेपालको भविष्यप्रति युवापुस्ताको गहिरो मूल्य र आकांक्षाको प्रतिबिम्ब हो । यसले भ्रष्टाचार, बेरोजगारी, पारदर्शीताको कमी र पुस्तान्तरण रोकिएको अवस्थाप्रति उनीहरूले दिएको चुनौतीले परम्परागत राजनीतिक संरचनाको कमजोरी उजागर गरेको छ ।

तर, आन्दोलनले हिंसात्मक रूप लिँदा कतिपय सन्दर्भमा दिशाहीनता देखापर्न सक्छ, जसले उद्देश्यभन्दा बढी नोक्सान पु¥याउँछ । त्यसैले, परिवर्तनको बाटो संविधानसम्मत, शान्तिपूर्ण र वैकल्पिक नीतिगत प्रस्तावमार्फत अघि बढाउनुपर्ने आवश्यकता छ । यदि राजनीतिक नेतृत्वले बुलन्दित रुपमा उजागर भएका युवाको आवाजलाई समयमै सुनेर संरचनात्मक सुधारतर्फ गम्भीर पहल गर्यो भने यही पुस्ता राष्ट्रको पुनःनिर्माण र सुशासनको मेरुदण्ड बन्न सक्छ । तर, बेवास्ता गरिएमा अझ ठूलो असन्तोष र विद्रोह अपरिहार्य बन्नेछ ।

तसर्थ, जेन–जीको विद्रोहलाई सत्ता परिवर्तनको मानकको रुपमा मात्र नबुझी सम्भावनाको अवसरको रूपमा लिंदै शासकीय सुधार, प्रत्यक्ष सहभागिता र सुशासन एवं पारदर्शीता प्रवद्र्धनमार्फत् नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्नु नै जेन–जी आन्दोलनको सम्बोधन र कुशलतापूर्वक अवतरण हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->