बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अल्जाइमर्स (बिर्सने) रोग के हो, किन लाग्छ र कसरी व्यवस्थापन गर्ने ?

अल्जाइमर्स (बिर्सने) रोग के हो, किन लाग्छ र कसरी व्यवस्थापन गर्ने ?


  • डा. नरनाथ पाण्डे
  • असोज ५ २०८२, आइतबार

पृष्ठभूमि
सम्झनु र बिर्सनु मानसिक क्रियाकलाप हुन् वा मानिसका व्यवहार हुन्, जुन नियमित रुपमा भइरहेका हुन्छन् । कहिलेकाहीँ हामीले ढोका बन्द गरेर गएका हुन्छौं तर एकछिनपछि ढोका बन्द गरे नगरेको सम्झन सकिँदैन र पुनः फर्केर आएर हेर्दा ढोका बन्द गरिएको हुन्छ । अनि हामीले ‘थुक्क आज कस्तो बिर्सिएछ म त हुस्सु हुनथालेँ’ भन्नेजस्ता कुरा गर्न थालिन्छ । त्यस्तै, कसैले भरखरै हिँडेर आएको बाटो बिर्सने गर्छन् र कताकता हराउँछन् । कसैले भरखरै परिचय भएको व्यक्तिको नाम थर ठेगाना सबै बिर्सिएर हैरान हुन्छन् । यी सबै स्वाभाविक कुरा हुन् तर यस्तो स्वभाव दिनप्रतिदिन बढ्दै गयो र उमेर पनि बढ्दै गएको छ भने समयमै सचेत हुनुचाहिँ जरुरी छ ।

स्वाभाविक रुपमा बाल्यावस्थादेखि वयस्क अवस्थासम्म व्यक्तिको स्मरण शक्ति तीक्ष्ण हुन्छ र बिस्तारै प्रौढावस्थामा प्रवेश गरिसक्दा स्मरणशक्तिमा कमी आउन थाल्छ, जुन मानिसले आफ्नो जीवनकालमा प्रत्यक्ष अनुभव गर्ने कुरा हुन् । तर स्मरणशक्ति वृद्धावस्था वा जीवनका उत्तरार्धमा लागेपछि क्रमशः कम हुँदै जान्छ र अन्तिम अवस्थासम्म पुग्दा व्यक्ति लगभग सुन्यको अवस्थामा पुग्छ, जुन प्राकृतिक नियम हो र यसलाई कसैले टार्न सकिँदैन । जीवनका अन्तिम समयतिर व्यक्ति लगभग केटाकेटी जस्तो हुनपुग्छ र असहाय भई अर्को व्यक्तिले स्याहार गर्नुपर्ने हुन्छ । यो समयमा उसको मस्तिष्कका कोषहरु लगभग निस्क्रिय हुनपुग्छन् र व्यक्तिले आफ्नो काम समेत राम्रोसँग सम्पादन गर्न सक्दैन । तर कहिलेकाहीँ यस्तो अवस्था आउँछ जुन वृद्धावस्थाको अन्तिम अवस्थामा नभई सुरुवातकै अवस्थाबाट देखापर्छ र यसले एउटा रोगको रुप धारण गर्छ । यो अवस्थामा व्यक्तिले सामान्य मानिसको तुलनामा फरक खालका व्यवहार देखाउन थाल्छ, भरखरै खाना खाएको भए पनि बिर्सिन्छ र ‘खाना खाने बेला भयो’ भन्न थाल्छ । त्यस्तै, आफ्नो लत्ताकपडाको समेत स्याहार गर्न सक्दैन, आफ्ना नजिकका मान्छे र परिवारका सदस्यलाई पनि चिन्न सक्दैन र व्यक्ति अति चिन्तित भई आफूलाई धिक्कार्न थाल्छ । हुँदाहुँदा आफ्नो नाम समेत बिर्सन्छ र रोगले बढी च्याप्दै गएमा मस्तिष्कमा सुन्यता आई व्यक्ति नाम मात्रको हुनपुग्छ वा जिउँदो तर बेहोसी बन्न पुग्छ । यो अवस्था नै अल्जाइमर्स रोगको सिकिस्तताको अवस्था हो । यो रोग जो कोहीलाई पनि हुनसक्छ तर प्रायः बुढेसकालमा देखिन्छ । त्यसकारण यो रोगलाई बुढेसकालको बिर्सने रोग पनि भनिन्छ ।

हामी सबैले सुनेको तर धेरै बुझ्न नपाएको अल्जाइमर्स रोग मस्तिष्कमा लाग्ने एक किसिमको रोग हो । यो एकप्रकारको मानसिक रोग डिमेन्सियाको सामान्य प्रकार अन्तर्गत पर्दछ । यो रोगको मुख्य विशेषता भनेको स्मृति, सोच्ने क्षमता र दैनिक व्यवहारमा फरकपन आउनु हो । प्रायः वृद्धावस्थामा मात्र देखिने यो रोगको व्यापकता केही वर्ष यता निकै बढेको छ र त्यसबाट नेपाल समेत अछुतो रहेको छैन । नेपालमा औसत आयु बढेको, ६० वर्ष माथिका वृद्धहरुको सङ्ख्या समेत बढ्दै गइरहेको र विभिन्न वातावरणीय प्रभावका कारण अल्जाइमर्स जस्तो नसर्ने र निको नहुने दीर्घ रोगको जोखिम समेत दिनप्रतिदिन बढ्दै गइरहेको छ । वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको आधिकारिक तथ्याङ्क अनुसार नेपालमा कुल जनसङ्ख्याको १०.२१ प्रतिशत जनसङ्ख्या ६० वर्ष माथिका वृद्धहरुको सङ्ख्याले ओगटेको छ । जसले गर्दा अल्जाइमर्स जस्ता रोग पनि स्वतः बढ्दै गइरहेको अनुमान गर्न सकिन्छ । अल्जाइमर्स रोगीको सङ्ख्या किटान गरेर भन्न नसकिएता पनि डिमेन्सिया रोगीको सङ्ख्या १ लाख ३५ हजार भएको र त्यसको ६०–७० प्रतिशत रोगी अल्जाइमर्सका छन् भन्न सकिन्छ (WHO and Alzheimer’s disease international) । अल्जाइमर्स रोग मृत्युको कारण नभएता पनि यसबाट मर्ने सङ्ख्या कुल मृत्युको १.२६ प्रतिशत मात्र रहेको छ । नेपालमा २०२५ मा RUDAS नामक अन्तर्राष्ट्रिय संस्थाले गरेको एक अध्ययन अनुसार तराइमा भन्दा पहाडी क्षेत्रमा यो रोग बढी देखिएको, ८५ वर्षभन्दा माथिका वृद्धमा बढी समस्या देखिएको, पुरुषको तुलनामा महिलामा केही बढी देखिएको, जीवनशैली र भोजन व्यवस्थापन राम्रो नहुनेमा बढी देखिएको तथ्याङ्क छ । विश्वको अवस्था हेर्ने हो भने ५५ मिलियन जनसङ्ख्यामा डिमेन्सिया भएकोमा ६०–७० प्रतिशतमा अल्जाइमर्स रोग रहेको छ भने अमेरिकामा ७.२ मिलियन जनसङ्ख्या यो रोगबाट प्रभावित छन् । कम शिक्षित समुदाय जहाँ धूम्रपान सेवनकर्ता, उच्चरक्तचाप, मधुमेह भएका, सामाजिक अलगावहरु र जाँडरक्सी खानेहरु यो रोगबाट बढी प्रभावित छन् । त्यस्ता प्रकारका व्यक्तिमा यो समस्या बढी देखिएबाट जीवनशैली व्यवस्थापनले यो रोगको जोखिम दर घटाउन सक्छ भन्न सकिन्छ । यो रोगको खासै उपचार केही छैन तर रोगीको व्यवस्थापन र केही उपचारले देखापरेका लक्षण घटाउन मात्र सकिन्छ र रोग बढ्दै जाने क्रमलाई ढिलो पार्न सकिन्छ । यसका अलावा यो औषधी उपचारले पूर्णरुपमा निको हुने रोग होइन ।

अल्जाइमर्स रोगका कारणहरु
यो रोग के कारणले हुन्छ भनेर ठ्याक्कै पत्ता लाग्न सकेको छैन । तैपनि आनुवंशिक कारण, वातावरणीय प्रभाव र जीवनशैलीगत तत्वहरुले यो रोग लगाउनमा भूमिका खेल्ने गरेको पाइन्छ । यो रोगमा मस्तिष्कका कोषहरुमा अस्वाभाविक प्रोटिन बन्दा त्यसले स्नायुकोषमा प्रभाव पार्छ र स्नायुकोष नष्ट गर्दै जान्छ, फलस्वरुप मस्तिष्कका कार्यमा परिवर्तन आउने र बौद्धिकता हराउँदै गइ बिर्सने समस्या देखापर्न थाल्छ । यी बाहेक अल्जाइमर्स रोगका प्रमुख कारणहरु र जोखिम तत्वहरु यसप्रकार छन्–
–मस्तिष्कका कोषमा अस्वाभाविक प्रोटिन बन्नु, जसले स्नायुकोषलाई असर गरी कोषहरुलाई मारिदिनु,
–मस्तिष्कमा परिवर्तन देखिनु, रोगका लक्षण देखिनु अघि स्मृति केन्द्रमा सुजन हुनु, स्नायु कोष मर्नु र मस्तिष्क सुक्दै जानु,
–उमेरको प्रभावले मस्तिष्कका स्नायुकोषहरुले काम गर्न नसकि निस्क्रिय रहनु,
–जीवनशैली र शारीरिक स्वास्थ्य, जस्तै ः उच्चरक्तचाप, कोलेस्टेरोल बढी हुनु, मधुमेह हुनु, धूम्रपान र मद्यपान सेवन गर्नु, निद्रा नपर्नु, प्रदुषित वातावरणमा बस्नु, टाउकोमा चोट लाग्नु,
–अन्य तत्वमा महिलाहरुको औसत आयु बढी हुनु र बढी जोखिममा रहनु । आदि

यो रोग पत्ता लगाउन चिकित्सकहरुले पूर्व इतिहास, औषधी उपचारका कुराहरु सोधेर, लक्षण भए नभएको पत्ता लगाएर, स्मृति परीक्षण गरेर, विभिन्न प्रयोगशाला परीक्षण गरेर, मस्तिष्कको एमआरआई, सिटी स्क्यानर अन्य टेस्टहरु गरेर रोग पत्ता लगाउन सक्छन् । यदि सुरुकै अवस्थामा यो रोग पत्ता लाग्न सकेमा जटिलतामा रोग नपुग्दै उपचार र व्यवस्थापन गर्न सकिन्छ ।

अल्जाइमर्स रोगको उपचार र व्यवस्थापन
अल्जाइमर्स रोग एउटा दीर्घकालीन असर गर्ने रोग हो । यसको विशिष्ट उपचार छैन तर देखिएका लक्षणहरुका आधारमा केही औषधी उपचार गर्न सकिन्छ भने उपचारले रोग बढ्दै जाने क्रमलाई मात्र कम गरी जीवनस्तर राम्रो बनाउन सहयोग गर्न सकिन्छ । यो रोगलाई व्यवस्थापन गर्ने तरिकाहरु यसप्रकार छन्–
–चिकित्सकको सल्लाह अनुसार केही औषधीहरुको प्रयोग गर्ने,
–जीवनशैली व्यवस्थापन गर्ने । यसमा दैनिक शारीरिक व्यायाम, प्राणायाम, ध्यानका साथै स्वस्थकर सन्तुलित भोजन गर्ने, सामाजिक कार्यहरुमा अग्रसर हुने र केही मानसिक तथा संवेगात्मक तालिम प्रदान गरी बिरामीलाई अपनाउन लगाउने,
–अन्य सहयोगी क्रियाकलाप जस्तै : बिरामीको हेरचाह गर्ने व्यक्तिलाई तालिम दिने, रोगीलाई मनोरञ्जन गराउने, गफगाफ गर्ने, घुमाउने, समस्या परे तुरुन्तै उपचार गर्ने आदि ।

अल्जाइमर्स रोगको रोकथामका उपायहरु
अल्जाइमर्स रोग लाग्नै नदिनका लागि स्वस्थकर जीवनशैली जीवनका हरेक चरणहरुमा अपनाउनु जरुरी छ । भविष्यमा मानसिक तथा अल्जाइमर्स जस्ता रोग लाग्नसक्छन् भनेर सकारात्मक सोचको विकास गर्दै, सामाजिक क्रियाकलापमा भाग लिँदै र तनावबाट मुक्त हुँदै जिउने अभ्यास गर्नुपर्छ । यसका साथै आफ्नो स्वास्थ्य स्वस्थ राख्न वृद्धावस्थामा प्रवेश नगर्दै निम्न क्रियाकलाप गर्नु आवश्यक छ–
–मुटु स्वस्थ राख्ने, यसका लागि रक्तचाप नियन्त्रण गर्ने, कोलेस्टेरोल लेभल सन्तुलित कायम गर्ने र मधुमेह जस्ता रोगको उपचार गर्ने ।
–नियमित योग अभ्यास र प्राणायाम गर्ने ।
–शारीरिक तथा मानसिक तवरले सधैं सक्रिय रहने ।
–धूम्रपान तथा मद्यपानको सेवन गर्दै नगर्ने ।
–सन्तुलित भोजन सेवन गर्ने ।
–टाउकोमा चोटपटक लाग्न नदिने र लागेमा विशिष्ट स्वास्थ्य परीक्षण गरी समयमै उपचार गर्ने ।
–समयमै राम्रो निद्रा लिने र रातिमा अन्य गतिविधि नगर्ने ।
–तनाव भएमा तुरुन्तै तनाव हटाउने, उपचार गर्ने र समस्या बढ्न नदिने ।
–पारिवारिक र सामाजिक सम्बन्ध स्वस्थकर बनाउने ।
–खराब बानी व्यवहार, नकारात्मक धारणा र चिन्ता हटाउने ।
–समय समयमा स्वास्थ्य परीक्षण गराइ कुनै समस्या भए तुरुन्तै उपचार गरी आनन्दित जीवन जिउने ।

अन्तमा, अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस २१ सेप्टेम्बर २०२५ तदनुसार यही असौज ५ गतेका दिन संसारभर मनाईंदैछ । यो दिवसका दिन सबैजनालाई स्वास्थ्य सचेतना दिन विभिन्न कार्यक्रमहरु पनि तय भएका छन् । बैजनी रङ्गको कपडा वा रिवन लगाएर दिवस मनाउने कार्यक्रम छ र यसवर्षको नारा ‘डिमेन्सिया प्रभावित व्यक्तिहरुको पुनःस्थापना गरौं’ भन्ने रहेको छ । डिमेन्सिया रोगबाटै अल्जाइमर्स रोग विकसित हुनेहुँदा डिमेन्सिया रोगलाई उच्च प्राथमिकता दिएर मात्र अल्जाइमर्स रोग रोकथाम गर्न सकिने भएकोले डिमेन्सिया रोग सम्बन्धी जनचेतना दिन खोजिएको हो । नेपालमा पनि ज्येष्ठ नागरिकहरुलाई डिमेन्सिया र अल्जाइमर्स रोग सम्बन्धी चेतनामूलक कार्यक्रम तथा स्वास्थ्य परीक्षण सेवा दिएर विश्व अल्जाइमर्स दिवस भव्यतापूर्वक मनाउन पहल गरौं । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->