नेपालको राजनीतिले जेन् जेड पुस्ताको आन्दोलनबाट अचानक नाटकीय रूपमा नयाँ मोड लिएको छ। यस मोडले एकातिर जनतामा नयाँ आशा पलाएको छ भने अर्कोतिर नवयुवाको जीवन उत्सर्गले दशैंको मुखमा धेरैको छाती पोलिरहेको छ। आज देशका लागि ज्यान गुमाउनेहरू हामी सबैको साझा मुटुको ढुकढुकी बनेका छन्; शहीद भएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नु हामी सबैको कर्तव्य हो।
युवाको बलिदानले केवल सरकार परिवर्तन गराएको होइन, आन्दोलनको उपलब्धिलाई तार्किक निष्कर्षमा पुर्याउन जनविश्वासको पुनःसंरचनाको माग समेत गरेको छ। अहिलेको नयाँ सरकार संविधानअनुसार बनेको होइन, यो तत्कालीन परिस्थितिको उपज हो। संविधानभन्दा जनता ठूलो हुने अनेकौं उदाहरणहरू विश्व इतिहासमा पाइन्छन्। सरकार संविधानअनुसार बनेको हो भन्ने भ्रम फैलाउनु आवश्यक छैन, न त त्यस्तो भ्रममा विश्वास गर्ने कुनै ठोस आधार नै छ।
यस आन्दोलनबारे धेरै विद्वान तथा राजनीतिक व्यक्तित्वबाट अनेक विचारहरू विभिन्न माध्यमहरूमार्फत सार्वजनिक भइरहेका छन्। कतिपय दृष्टिकोणहरू आपसमा विरोधाभासी पनि देखिन्छन्। केही विश्लेषणहरूले नेपालमा गृहयुद्ध हुने सम्भावना र अन्तर्राष्ट्रिय रंगमञ्च बन्ने खतरा भएको उल्लेख गर्नसम्म गुगेका छन्। यस्तो आशंका विफल होस् भन्ने नै आम नेपाली जनताको कामना हो ।
नयाँ सरकारका एकजना मन्त्रीले पदभार ग्रहण गर्ने क्रममा भने- “अहिलेसम्म सरकारले केही पनि गरेन।” यो भनाइ आज आम जनमानसमा व्यापक रूपमा व्याप्त छ। “नेता र झोलेहरूले देश सखाप पारे” भन्ने वाक्य जनजनको मुखमा झुण्डिएको देखिन्छ। बहुदलीय शासन व्यवस्थामा नेता र कार्यकर्ताहरू तिरस्कृत हुनु शुभ संकेत मानिँदैन। यो लेखमा जेन् जेड आन्दोलनका धेरै कारणहरूमध्ये अतिवाद (Absolutism) र नातावाद (Nepotism) लाई विशेष रूपमा विश्लेषण गर्ने प्रयास गरिएको छ।
कुनै व्यक्ति राजनीतिक पार्टीमा लाग्नु वा समर्थन गर्नुका दुई प्रमुख कारणहरू हुन्छन्। पहिलो, उक्त पार्टीले तुलनात्मक रूपमा देश र जनताको भलाइ गर्छ भन्ने विश्वास। दोस्रो, देश र जनताको हित जे सुकै होस्, आफूले व्यक्तिगत लाभ लिन सकियोस् भन्ने चाहना।
पहिलो उद्देश्यले लाग्नेहरू ‘झोले’ हुँदैनन्। यस्ता व्यक्तिहरू पार्टीको सदस्यता लिनै पर्छ भन्ने ठान्दैनन्; कानुनी रूपमा पनि लिन मिल्दैन भन्ने मान्यता राख्छन्। उनीहरू आफ्नो पेशा वा जागिरलाई राजनीतिक आवरणमा ढाकेर कामचोर हुँदैनन्, बरु थप कष्ट सहेर भए पनि जनचेतना जगाउने कार्य गर्छन्।
“सरकारले केही पनि गरेन” भन्ने भनाइमा निरपेक्षता देखिन्छ। परीक्षार्थीले परीक्षामा “केही पनि लेखेन”, बिरामीले “केही पनि खाएन” जस्ता वाक्यहरूले पूर्ण शून्यता जनाउँछन्। यस्ता नकारात्मक वाक्यांशहरूले सम्बन्धित व्यक्तिले एक अक्षर पनि नलेखेको वा एक चम्चा दूध पनि नखाएको अर्थ दिन्छ। यसरी “सरकारले केही पनि गरेन” भन्ने वाक्य सतही रूपमा सरकारप्रति असन्तुष्टि प्रकट गर्न प्रयोग भएजस्तो लाग्छ। तर राजनीति वा अन्य पक्षमा पूर्ण र अंश छुट्याउन नसक्दा, मनोवैज्ञानिक रूपमा नकारात्मकता बढ्दै जान सक्छ। सबै कुरा सोलोडोलो ढंगले मूल्याङ्कन गर्ने परिपाटी प्रतिउत्पादक मानिन्छ।
आज आम नेपाली जनमानसमा व्याप्त नकारात्मक भाष्यको गहिराइमा हेर्दा मनोवैज्ञानिक निराशा, सामाजिक विखण्डन र दार्शनिक द्वन्द्वको आभास हुन्छ। निरन्तरको असफलता, अपारदर्शिता, भ्रष्टाचार र जनअपेक्षा अनुसार सेवा प्रवाह नहुनुका कारणले गर्दा विशेषतः युवा पुस्ताले राज्यप्रतिको विश्वास गुमाउँदै गएको देखिन्छ। प्रसिद्ध मनोवैज्ञानिक अल्बर्ट बान्डुराले भनेका छन्- “मानिसले आफ्नो क्षमताबारे जे विश्वास राख्दछ, त्यसै अनुसार उसको क्षमता बढ्छ वा घट्छ।” जब जनताले राज्यलाई असफल देख्न थाल्छन्, त्यसले उनीहरूको क्रियाशीलता, सृजनशीलता र उत्तरदायित्वमा नकारात्मक असर पार्ने मानिन्छ। मानिस आफू के हो भन्ने कुरा उसैले बनाउने हो भनिन्छ। तर जब हामीले मात्रात्मक भिन्नता छुट्याउन सक्दैनौं, तब हामी आफैं आफ्ना कर्तव्यबाट पन्छिँदै जान्छौं। यस्तो मानसिकता आत्मपरिष्कार गर्नुभन्दा पनि आरोप प्रणालीमा रमाउने बानीतर्फ उन्मुख हुने सम्भावना बढी हुन्छ।

नेपालका राजनीतिज्ञहरूले केही पनि गरेनन् भन्ने भनाइ यथार्थपरक छैन। संविधानका केही अपरिवर्तनीय प्रावधानहरू साँच्चिकै सकारात्मक पक्ष हुन्। केही दशकयता नेपालले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, ऊर्जा, र प्रतिनिधित्वका क्षेत्रमा गरेको प्रगतिको तथ्यलाई स्वीकार गर्न सक्नुपर्छ। कसैको बाबुले गरेका कुकर्मको दोष हजुरबा वा जिजुबाजेलाई दिन मिल्दैन। त्यस्तै दोष न त छोराछोरीमा सार्न मिल्छ, न त नातिनातिनामा। अहिले मन्त्री बनेर “सरकारले केही पनि गरेन” भन्नेहरूले समेत नेपालकै संरचनाहरूको उपयोग गर्दै आफ्नो व्यक्तित्व निर्माण गरेका हुन्।
आंशिक उपलब्धिलाई पूर्ण रूपमा अस्वीकार गर्ने मानसिकतालाई मनोविज्ञानमा अतिवादी सोच (absolutism thinking) भनिन्छ। त्यस्तो सोचबाट उत्पन्न व्यवहारलाई अतिवाद (absolutism) भनिन्छ। यस्तो मानसिकता भएका व्यक्तिहरू सफल/ असफललाई शून्य वा सयको रूपमा मात्रै बुझ्छन्। यसले मानिसलाई निराशावादी, अत्यधिक आलोचनात्मक र तर्कविहीन बनाउँछ। झोले कार्यकर्ताहरू प्रायः यस्तै अतिवादी प्रवृत्तिबाट ग्रसित हुन्छन्।
जेन् जेडको आन्दोलन अचानक उत्पन्न भएको होइन। यो आन्दोलन त विस्फोटको अवस्था मात्र हो। यसको जग भनेको युवाहरूभित्र लामो समयदेखि उम्लिरहेको आक्रोश हो। सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध र अन्य विभिन्न वर्गबाट प्राप्त समर्थनले त्यो उम्लिरहेको भाँडाको ढकनी मात्र हटाएको हो।
नेता वा उच्चपदस्थ व्यक्तिहरूका सन्तान र आम नेपाली युवाहरूबीचको जीवनस्तरको असमानता सामाजिक सञ्जालमार्फत छर्लंग भयो। केही वर्षयता नेपालमा पश्चिमी समाजबाट आयातित ‘Nepokids’ भन्ने शब्द पनि चलनमा आयो। जसले नेपाली सन्दर्भमा झनै यथार्थ अर्थ बोक्यो। Nepokids भन्ने शब्द दुई शब्द मिलेर बनेको हो- Nepotism बाट Nepo र Kids। यसको अर्थ: परिवारिक वा सत्तासमीप पहुँचको कारण विशेष सुविधा, पद वा अवसर पाउने सन्तानहरू भन्ने बुझिन्छ। नेपालमा नेताहरुलाई ‘बा’, ‘दाइ’, ‘भाउजू’ भनेर सम्बोधन गर्नुको पछाडि त्यही नातावाद मनोविज्ञान लुकेको देखिन्छ। यसलाई ‘सशुल्क कृपावाद’ भन्नु उचित होला।
नेपालमा राजनीतिक नियुक्ति, भन्सारजस्ता लाभदायी स्थानमा सरुवा वा बढुवा पाउन न त विशेष योग्यता चाहिन्छ, न त देवीदेवताका लागि पञ्चबलिको भाकल। यहाँ त जिउँदो देवीदेवताजस्ता नेताहरूलाई ‘भेटी’ चढाउनु पर्छ। नेताको घरमा फेला परेका थुप्रै पैसा त्यसैगरी ‘भक्तालु’हरूले फूलसँग मिसाएर चढाएको भेटीझैँ लाग्दछ।
अब Nepokids र तिनका बाबुआमामा देखिने मनोविज्ञानलाई हेरौँ। नेताहरूले सामाजिक सञ्जालमा देखाउने विलासी जीवनशैलीभित्र एउटा कुण्ठाग्रस्त मनोविज्ञान लुकेको हुन्छ। प्रायः गरिबी, अभाव र तिरस्कारको वातावरणमा हुर्केका नेताहरूले सत्ता प्राप्त गरेपछि आफूले लगाएको कपडा, खाएको परिकार, चढेको गाडी, बसोबास गर्ने महँगो घर जस्ता कुराहरू अत्यधिक देखाउने प्रवृत्ति राख्दछन्।
प्रसिद्ध मनोविश्लेषक अल्फ्रेड एडलरले भनेका छन्- “अभावले होइन, त्यसप्रतिको प्रतिक्रियाले मानिसको चरित्र निर्माण गर्छ।” बाल्यकालमा दरबार छेउ पनि जान नपाएका नेताहरू सत्ताको छेउ पुग्नेबित्तिकै दरबारमा बस्ने शैली प्रदर्शन गरेर आफू सफल भएको प्रमाणित गर्न खोज्दछन्। उनीहरूले न त यस्तो व्यवहारले आफैंलाई दीर्घकालीन रूपमा क्षति पुर्याउनेछ भन्ने सोच्दछन्, न त यसले सामाजिक नैतिकता भङ्ग गर्छ भन्ने बुझेका हुन्छन्। दु:ख पाएकी बुहारी छुट्टिएको भोलिपल्ट सबैले देख्ने गरी कसौंडी मस्काएर माझी बाहिरै सुकाउछिन् रे।
अब कुरा गरौं नेताका सन्तानहरूको मानसिकता बारे। यसको अनुभव करीब दुई दशकअघिको एउटा परिघटनाले सम्झाउछ। त्यति बेला नेपालमा कुनै पार्टी भूमिगत अवस्थाबाट बाहिर आएको थियो। सोही पार्टीका एक दोस्रो तहका नेताका १७-१८ वर्षका छोरा काठमाडौँको एक होटलमा आउँदै थिए। संयोगले म पनि त्यही होटलमा पुगेको थिएँ। होटल अगाडि करिब १५-१७ जना मानिसहरू फूलको गुच्छा लिएर ‘नव युवराज’लाई स्वागत गर्न उभिएका थिए। तीमध्ये धेरैलाई म चिन्दथेँ। त्यसमध्ये दुई जना पछि संसदका सदस्य पनि बने।
सामन्तवादविरुद्ध लडेका नै आज सामन्त उन्मुख बन्दै गएका छन्। जब गरिबीविरुद्धको लडाइँले नैतिकताको सीमाना नाघ्छ, तब त्यही संघर्ष नै नयाँ अनैतिकताको जरा बन्न सक्छ। आफू जस्तै दुःख भोगेका युवाहरू आज पनि संघर्षरत छन् भन्ने कुरा थाहा हुँदाहुँदै नेताहरूको सस्तो प्रदर्शन जारी छ। उनीहरूको यस्तो उत्ताउलो देखासिकीले बेरोजगारी र अभावमा थिचिएका, तातो रगत भएका युवाहरूको आत्मसम्मानमा चोट पुर्याएको छ। राज्य सबैका लागि हो भन्ने विश्वास हराउँदै गएको छ। भित्रभित्रै बढ्दै गएको आक्रोशका बीचमा डिजिटल सामाजिक सञ्जालका लोकप्रिय द्वारहरू बन्द गरिनु आगोमा घिउ थप्ने जस्तै भयो।
छरप्रष्ट देखिएका भ्रष्टाचारका पोका पन्तुरा थन्काएर यदि चुनाव भयो भनेपनि यसको औचित्य रहदैन। इतिहासको पासा अर्कै पल्टने सम्भावना रहन्छ। भ्रष्टचारी र अपराधीलाई कारवाही गरिनै पर्छ। यसको लागि छानबिन समिति गठन गरिएको समाचार बाहिर आएको छ।
नेपालमा राजा बीरेन्द्रको परिवार नाश हुदा पनि यस्तै उच्च स्तरीय छानबिन समिति गठन भएकै थियो। छानबिनपछि प्रतिबेदन रोचक शैलीमा सार्वजनिक भएको थियो। प्रतिवेदन अनुसार युवराज दीपेन्द्रको आधुनिक गन गोली छोड्दै आफै फनफनी घुम्न थाल्यो। त्यो गनले राज परिवारका सबैलाई छानिछानि गोलीले छेडेर मार्यो। अन्तमा दीपेन्द्रलाई दाग्यो। दीपेन्द्र वंशनास गर्ने अपराधिको बिल्ला भिरी परमधाम पुगे। हामी नेपाली पत्याउनकै लागि जन्मेका हौ, पत्यायौं। अबको छानबिन पनि त्यस्तै हुन्छ भन्नु फेरि अर्को अतिवाद होला !अन्तमा, हिजो सरकारले मात्र गुमाएको देश थियो भने भोलि जनताले पनि सहाल्न नसक्ने स्थितिमा देश पुग्न सक्छ। सबै किसिमका अतिवाद छोडि नागरिक समाज एकजुट हुन इतिहासले मागी सकेको छ।




