बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भूमिहीनको नाममा स्वार्थको रोटी सेक्न छाड

भूमिहीनको नाममा स्वार्थको रोटी सेक्न छाड

राजनीतिक दलहरुले भूमिसम्बन्धी गम्भीर विषयलाई राजनीतिकरण गर्ने अनि भूमिहीनलाई भोट बैंकको रुपमा प्रयोग गर्ने प्रवृत्तिका कारण यो समस्या जटिल बनेकोमा कुनै द्धिविधा छैन । तर, सत्य के हो भने, वास्तविक भूमिहीनलाई व्यवस्थापन गर्नबाट राज्य चुक्नु हुँदैन ।


  • Dhorpatan News
  • असोज २७ २०८२, सोमबार

भूमिसम्बन्धी समस्या समाधान आयोग २०७६ को प्रारम्भिक प्रतिवेदनदले देशभर ८ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेको सार्वजनिक गरेको थियो । गण्डकीमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या २७ हजार ८५३ एवं अव्यवस्थित बसोबासीको संख्या ५३ हजार १८ जना रहेका थिए । आयोगले यी सबै वास्तविक भूमिहीन र सुकुम्बासी चाहिँ नभएको औंल्याएको थियो ।

नेपालमा भूमिहीनको समस्या समाधानको प्रयास थालनी भएको ६ दशकभन्दा बढी भएको छ तर समस्या ज्यूँकात्यूँ छ । काठमाडौंको थापाथलीमा रहेका अवैधानिक संरचना हटाउन खोज्दा भएको झडपछि यो समस्या पुनः सतहमा आएको छ । सो क्षेत्रमा बसेकाहरु वास्तविक भूमिहीन हुन् कि हैनन्, महानगरले यसरी नागरिकलाई बेघरबार बनाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्नहरु चोक र गल्लीहरुतिर सुनिन थालेका छन् । महानगरको कदम संविधान विपरीत भएको जिकिर पनि हुन थालेको छ । कतिसम्म भने यो विषयलाई राजनीतिकरण गरिएको छ । सुकुम्बासी बस्तीमा दन्केको आगोमा आ–आफ्नो रोटी सेक्ने कार्य हुन थालेको छ । नेपालको संविधान–२०७२ को भाग ३ को मौलिक हकको धारा ३७ मा आवासको हकमा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भनिएको छ भने सोही धाराको उपधारा २ मा कानुन बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिनेछैन अनि धारा ४० मा दलितको हकमा भूमिहीन दलितलाई एकपटक घर र जग्गा उपलब्ध गराइने भनिएको छ । त्यस्तै, भूमि ऐन–२०२१ का सातौं र आठौं संशोधनमा मोही किसानको अधिकारको सुरक्षा, मोही बाँडफाँट, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने व्यवस्था छ ।

यी यावत् व्यवस्था अनुसार प्रत्येक नागरिकसँग भूमिसम्बन्धी हक रहेको प्रष्ट छ । भूमिहीनलाई राज्यले न्याय दिनुपर्छ । उनीहरुलाई उठीबास लगाउन मिल्दैन÷पाइँदैन । भूमिहीनसँग राज्यस्तरबाट पटक– पटक सम्झौता गरिएको छ । कतिलाई अस्थायी पूर्जा बितरण गरिएको छ । २०१३ सालबाट सुरु गरिएको जग्गा वितरण कार्य अहिले पनि रोकिएको छैन । विभिन्न सरकारका पालामा सुकुम्बासीको नाममा जग्गा वितरण भए पनि समस्या समाधान नहुनुले यो समस्या कृतिम हो भएको प्रमाणित भएको छ । राजनीतिक दलहरुले भूमिसम्बन्धी गम्भीर विषयलाई राजनीतिकरण गर्ने अनि भूमिहीनलाई भोट बैंकको रुपमा प्रयोग गर्ने प्रवृत्तिका कारण यो समस्या जटिल बनेकोमा कुनै द्धिविधा छैन । तर, सत्य के हो भने, वास्तविक भूमिहीनलाई व्यवस्थापन गर्नबाट राज्य चुक्नु हुँदैन । अर्कोतर्फ सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नेहरुको रवैयालाई प्रोत्साहित गरिनुहुँदैन । भूमिहीनको समस्या साँच्चिकै समाधान गर्ने हो भने वास्तविक सुकुम्बासी को हुन् भन्ने निकर्योल गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->