बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपद् पछि पुननिर्माण र पुनर्स्थापनाको चिन्ता

विपद् पछि पुननिर्माण र पुनर्स्थापनाको चिन्ता


  • झलक शर्मा
  • असोज ३१ २०८२, शुक्रबार

प्राकृतिक विपद् ढोल बजाएर आउदैन अर्थात् पूर्वसूचना विना नै विपद्जन्य घटनाहरु घट्ने गर्छन् । प्राकृतिक विपद् कठोर हुन सक्छ । जनधनको क्षतिले समाजलाई विक्षिप्त बनाउँछ । यसले मुलुकको विकासलाई अझ पछाडी धकेल्दा आर्थिक सामाजिक रुपमा राज्यलाई कमजोर बनाउन सक्छ । प्राकृतिक नियम पनि एउटा बेग्लै किसिमको हुन्छ । प्रकृतिकै आधारलाई मानेर सिंगो समाज र विकास अगाडी बढ्यो भने विपद्बाट हुने क्षतिलाई न्यून गर्न सकिन्छ । तथापी प्रकृतिलाई बेवास्ता गरी प्राकृतिक नियम मिच्दा बढि क्षतिको सामना गर्नुपर्छ । यो कानूनको अज्ञानतामा क्षम्य हुदैन भन्ने कानूनको सर्वमान्य सिद्धान्त जस्तै प्राकृतिक नियम पनि मान्नै पर्दछ । नत्र प्राकृतिक विपद्ले दिने सजाय कठोर हुनसक्छ । यतिबेला नेपालीहरुको महान चाड वडादशैं समापन भैसको छ । चाडपर्वको समयमा नै नेपालको मौसम प्रतिकुल बन्यो । मान्यजनको हातबाट टिका ग्रहणका लागि यो पालि निकै सकस बन्यो । अत्याधिक वर्षा, बाढी पहिरोका कारण आवातजावतमा कठिनाई भयो । अझ नारायणगढ–मुग्लिन सडकखण्ड बिचको तुइनखोला नजिकै खसेको सुख्खा पहिरोलाई समयमा व्यवस्थापन गर्न नसक्दा केही दिन अघिदेखी नै चाडपर्व मनाउन राजधानीबाट घर फर्कन लागेका तथा अत्यावश्यक यात्रामा हिंड्न बाध्य हुने याात्रुहरु अलपत्र परिरहेका थिए । झन् मनसुन सक्रिय पश्चात त्यस क्षेत्रमा अन्य पहिरो र अन्य राजमार्गमा पहिरोले क्षति पु¥याउँदा यात्रुहरुले निकै कठिन यात्राको सामाना गर्नुप¥यो ।

हालसम्म सबैभन्दा ठूलो मानवीय क्षति इलाममा भएको छ । इलाम जिल्लालाई सरकारले ३ महिना विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको छ । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार यसपटक सबैभन्दा बढी रौतहट र त्यसपछि इलाममा भारी वर्षा भएको छ । यही असोज १८ देखी १९ गतेसम्म रौतहटमा ३३८.६ मिलिलिटर वर्षाको मापन भएको थियो भने इलाममा सोही अवधिमा ३३४.२ मिलिलिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले केही दिन अगावै यो पटक अत्याधिक वर्षा हुने र उक्त वर्षाको नाम आरीघोप्टे वर्षा नाम दिइएको थियो । पोहोर यसै महिनाको ११ र १२ गतेको भिषण वर्षाका कारण मुलुकले निकै ठूलो जनधनको क्षति व्यहोर्न परेको थियो भने यो पालि सरकार केही चनाखो हुँदा पोहोरको तुलनामा केही कम जनधनको क्षति व्यहोर्न परेको छ । यही अविरल वर्षाबाट भएको बाढी पहिरोबाट भौतिक पूर्वाधारमा करिब सात अर्वको क्षति भएको र त्यसको पूननिर्माणमा करिब १२ अर्व ३८ करोढ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यो राज्यको लागि समृद्धिको बाधक हो । तसर्थ विपद् नै नहुने गरी दिगो विकासमा जोड दिनु पर्दछ ।

विपत्तिको समयमा सरकार र सरोकारवाला निकायबाट क्षति न्यून गर्नु र नागरिकको जिउधनको सुरक्षा गर्नु प्रमुख दायित्व रहन्छ । विपद्को सामना गर्न वा विपद् जोखिम न्यूनिकरणका लागि सरकारले विपद् पूर्वतयारी र त्यसको कुशल व्यवस्थापन गर्नु पर्दछ । यसपालि सरकारले मनसुन सक्रियता सम्बन्धि पूर्वसूचना प्रवाह गरी नागरिकलाई सुरक्षित रहन सचेत गराएको थियो । जोखिमयुक्त राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अपिल गरेसंगै राजधानी भित्रिन र बाहिरिन रोक लगाएर संभावित क्षतिलाई न्यून गर्नमा जोड दियो । जसले गर्दा अनुमानितभन्दा कम क्षति भएको आँकलन गरिएको छ । देशव्यापी भारी वर्षा र नागरिकलाई आवतजावत गर्दा हुने समस्यालाई मध्येनजर गरी दुई दिन सार्वजनिक विदा समेत दियो । वर्षा सन्तुलनमा आएपछि उक्त विदा फिर्ता समेत गर्यो ।

विपद्लाई समयमा नै व्यवस्थापन गर्न नसकेको खण्डमा राष्ट्रिय एकता, देशप्रेममा आँच आउन सक्छ । पीडितहरुमा झन् पीडा बल्झन सक्छ । विपद्बाट परिवारका सदस्य गुमाएका मानिसलाई वितृष्णा, एक्लोपना र मानसिक समस्या उत्पन्न हुन सक्छ । घरबारबिहिन पीडितहरुलाई मनोपरामर्श आवश्यक देखिन्छ । विपद्को पूर्वतयारी मनसुन सक्रिय वा वर्षायाममा मात्र गर्नु हुदैन । त्यसका लागि निरन्तर रुपमा जुनसुकै बेला विपद् आई पर्छ भनी तैनाथ जुट्नु आवश्यक रहन्छ । विपद् प्रतिकार्यका लागि खोज तथा उद्धार क्षमताको विकास गरी उद्धार टोली र सुरक्षा निकायको परिचालन गर्नु पर्दछ । मनसुन सक्रियता सम्बन्धि सूचनालाई सर्वसाधरण नागरिकसम्म पहुँच पु¥याउनु पर्दछ । विपद् प्रतिकार्यका लागि गृहमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको थप सक्रियता आवश्यक देखिन्छ । विपत्ति पछि पुर्नस्थापना र पुननिर्माणमा ध्यान दिन नसक्दा बलात्कारजन्य घटनाहरु घट्न सक्ने, चोरी डकैती हुने, लागुऔषध दुव्र्यसनजस्ता गतिविधिहरु बढ्न सक्छन् । बेरोजगारी समस्या चुलिदै जाँदा युवाहरु आतंकवादी संगठनमा आवद्ध हुन सक्छन् । चेलिबेटी बेचबिखन, यौनव्यापार जस्ता गैरकानूनी कार्यले स्थान ओगट्न सक्छन् । त्यसैगरी सामाजिक स्वास्थ्यमा असर पर्न सक्छ । डेंगी, झाडापखला, टाइफाइड, भाइरल ज्वरो, आँखा पाक्ने रोग, कोभिड १९, सास जस्ता रोगहरुले समाजलाई प्रभावित बनाउन सक्छ ।

विपद्बाट प्रभावित नागरिकको समयमा नै उद्धार, राहत, पुनस्र्थापना र पुननिर्माणमा सरकार कटिवद्ध हुनु आवश्यक छ । पीडितलाई तत्काल आवश्यक पर्ने गास, बास, कपास, स्वास्थ्य र शान्ति सुरक्षाको प्रवन्ध मिलाउनु आवश्यक छ । संघिय सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय सरकारको समन्वयमा राहत, पुनस्र्थापना र पुननिर्माणलाई वैज्ञानिक तवरबाट व्यवस्थापन गर्नुपर्दछ । विपत्ति निम्तिन नदिन दिर्घकालिन उपाय खोजिनु आवश्यक छ । डोजरे विकासलाई निरुत्साहित गरी सडक, पुलपुलेसा, ठूला भौतिक संरचना निर्माण गर्दा दिगो विकासलाई ध्यान दिनु बढि बुद्धिमता हुन्छ । खोला खोल्साको छेउछाउमा घर बनाउने, प्राविधिक र वैज्ञानिक अनुसन्धानविना नै जग्गाको घडेरीकरण तथा खण्डीकरण गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्दछ । वातावरणमैत्री विकासलाई बढवा दिंदै समाजमा वातावरणप्रति प्रेम जगाउन चेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्दछ । बैकल्पिक सडकको व्यवस्था गरी विपद्को समयमा यात्रुलाई सहज यात्राको व्यवस्था मिलाउनु जरुरी हुन्छ । नेपालका अधिकांश राजमार्गहरु नदी खोलाखोल्साकै छेउछाउमा निर्माण भएकोले यसको दिगो व्यवस्थापनमा सरकारको ध्यान जानु आवश्यक छ । अहिले मुलुक जेजजी पूस्ताको आन्दोलनबाट गुज्रिरहेको र विपत्तिले छियाछिया पारेको हुँदा सिंगो मुलुक शोकमा डुबेको छ । यो समयमा सबै नागरिकको सहकार्य र एकताबाट विपत्तिको सामना गरी पुननिर्माणमा लाग्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।sharmajhalakpkr@gmail.com

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->