तिहार बडादशैं पछि लगत्तै सुरु हुने दोस्रो ठुलो नेपाली सांस्कृतिक महत्वको पर्व हो । यो पर्व विशेष रमाइलो र वर्षभरिको लगभग अन्तिम पर्व पनि हो । तिहार नेपाली संस्कृतिमा किन महत्वको छ भने यस पर्वमा जताततै मखमली, सयपत्री, गोदावरी लगायतका फूलहरूफुल्ने,फूलको सुगन्ध वातावरणमा छरिने, वातावरण मनमोहक हुने, न चिसो न गर्मी हुने, फरक खालको रमाइलोको अनुभूति हुने, पारिवारिक जमघट हुने, दिदीभाइ वा दाजुभाइबिच मिलन हुने र थप आत्मीयता बढ्ने, विभिन्न प्रकारका रोटी, मिठाई र अचार बनाइ खाइने, देउसी भैली खेल्ने, नाचगान गर्ने, रङ्गीचङ्गी टीका लगाइने र दियो बालेर जताततै झिलिमिलि हुने जस्ता आदि कारणले यो पर्वलाई विशेष मनोरञ्जनको पर्व पनि मानिन्छ । यस पर्वमा मखमली र सयपत्री जस्ताफूलहरूको प्रयोग समेत अत्यधिक हुनेगरेका कारण यो पर्वलाई रङ्गीविरङ्गीफूलैफूलको झिलिमिलि पर्व पनि भनिन्छ । यसका अलावा दियो बालेर चारैतर्फ उज्यालो बनाउने र रमाउने पर्व भएकोले तिहारलाई दिपावली पनि भनिन्छ तर हाल आधुनिक समयमा विद्युतीय आकर्षक बत्तीहरूको अत्यधिक प्रयोग हुनाले अहिलेका पुस्ता यसैमा रमाइरहेका देखिन्छन् र दियो बाल्ने परम्परा क्रमशः लोप हुँदै गइरहेको छ । साथै यस पर्वमा विभिन्न खालका रङ्गीविरङ्गी बत्तीहरूले सौन्दर्य समेत बढाएको हुन्छ । दिनमा भन्दा तिहार पर्व रातमा बढी राम्रो हुनुको कारण पनि यस्तै विद्युतीय विभिन्न रङ्गीविरङ्गी बत्तीहरूको कलात्मक सजावटले पनि हो ।
यस पर्वमा दिदिबहिनीले दाजुभाइलाई टीकावा राखी लगाएर, फूलमाला लगाएर, मीठा मीठा रोटी, सेलरोटी र अनेक मिठाइ लगायतका स्वादिष्ट परिकार खान दिएर हर्षोल्लासपूर्वक मनाइन्छ । दिदीबहिनीले तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइलाई टाउकोमा तेल लगाइदिने, कपाल कोरिदिने, चकटीमा बसालेर तेल, कलशको पानी र लावा छर्कदै प्रदक्षिणा गर्ने, पूजा गर्ने, यमराजको प्रतीक मानेर विमिरा (अमिलो फल) को पूजा गरेपछि दैलोमा ओखर फुटाइ दाजुभाइका शत्रु चकनाचुर बनाउने, निधारमा सप्तरङ्गीटीका लगाइदिने र मिष्ठान्न परिकार खुवाउने, नैवेद्य, मरमसला खुवाउने, मखमली, दुबो र सयपत्रीको माला तथा फूलले ढपक्कै ढाक्ने, कपडा वा अन्य उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार दक्षिणा, लत्ताकपडा र उपहारहरू दिने गर्छन् । वर्षभरिमा कम्तीमा पनि यमपञ्चकको पाँच दिन र सम्भव नभए कम्तीमा भाइटीकाको दिन नै भएपनि दिदीबहिनी र दाजुभाइको भेटघाट तथा मिलन भइ दुःखसुख साट्ने अत्यन्तै सौहार्द वातावरण यस पर्वमा हुनेहुँदा पनि यो पर्वलाई विशेष र रमाइलो पर्वका रूपमा निरन्तरता दिइएको छ ।
यतिमात्र नभइ तिहार पर्व पाँच दिनसम्म विशेष तरिकाले मनाइन्छ । पाँच दिनको समयलाई यमपञ्चक पनि भनिन्छ । यी पाँच दिनसम्म विभिन्न तरिकाले चराचर प्राणी तथा प्रकृतिको पूजा गरिन्छ र मानिस र प्रकृतिबिचको सम्बन्ध पनि बलियो बनाइन्छ । यमपञ्चकको पहिलो दिन यमराजको सूचना प्रवाहक कागलाई पूजा गरी मिष्ठान्न खुवाइने काग तिहार, दोस्रो दिन यमराजको दुतको प्रतीक तथा मानिसको प्रिय र सहयोगी जनावर कुकुरकोपूजा गर्ने, तेस्रो दिन लक्ष्मीको प्रतीक गाइको पूजा गर्ने, चौथो दिन गोरु, कृषि सामग्री र गाइवस्तुको गोबरबाट निर्मित गोवर्धन पर्वतको प्रतीककोपूजा गर्ने र अन्तिम पाँचौं दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने प्रचलन छ । नेवार समुदायले भने तिहारलाई विशेष महत्वका साथ मनाउँछन् । लक्ष्मीपूजा, म्ह पूजा र किजा पूजा भनी तीन दिन तिहार पर्व विशेष तरिकाले मनाउने प्रचलन नेवार समुदायमा छ । नेवार समुदायले तिहारलाई तीनदिनसम्म स्वन्ति नखः भनी मनाउने गर्छन् । नेवारी भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाडपर्व भन्ने अर्थ लाग्छ । नेवारहरूले तिहारदेखि नै नेपाल सम्बत् अन्तर्गत वर्ष नै परिवर्तन हुने दिन भनी छुट्टै क्यालेन्डर प्रयोग गरी नयाँवर्षको रूपमा समेत शुभकामना आदानप्रदान गरी मनाउने समेत गर्दछन् जुन नेवार समुदायमा मात्र मनाउने प्रचलन रहेको छ ।
यसका साथै तिहार पर्वकै अवसरमा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाःको समेत स्मरण गरिन्छ । उनले आफ्नो समयमा देशभरका जनताको ऋण तिरिदिएर सबैलाई ऋणमुक्त पारी उक्त दिनदेखि नेपालमा नयाँ सम्बत् प्रादुर्भाव भएको घोषणा गरेका हुनाले नेवार समुदायले यस पर्वको अवसरमा नयाँवर्ष मनाउँदै नेपाल सम्बत्लाई निरन्तरता दिएको हो । नेपाल सम्बत् अनुसार वर्षभरिमा जम्मा ३५४ दिन हुन्छन् र नेवार समुदायमा प्रचलित नेपाल सम्बत् भित्र पर्ने महिनाहरूको नाम पनि विभिन्न प्राकृतिक चराचरहरूको नेवारी नामबाट राखेको छ ।
यसैगरी नेवार समुदायले मात्र आफ्नै शरीरको पूजा गरी मनाउने पर्व तिहार विशेष महत्वको पर्व हो । नेवार समुदायले आफ्नै शरीरको पूजा गरी मनाउने म्ह पूजा एक विशेष पूजा हो र यसको आफ्नै महत्व रहेको छ । नेवारी भाषामा म्ह भनेको आफ्नो शरीर हो र शरीरको विशेष पूजा गर्नाले आगामी वर्षभरि राम्रो हुने, निरोगी र स्वस्थ रहन सकिने विश्वास गरिन्छ । हुनपनि अहिलेको मानिसले आफूले आफैंलाई चिन्न नसकिरहेको र आफ्नो आत्माको कदर हुन नसकिरहेको अहिलेको अवस्थामा वर्षमा एकदिन भएपनि आफ्नो आत्मालाई चिन्ने र प्रसन्न बनाउने काम आफैंले गर्नुपर्ने प्रचलन राम्रो मान्न सकिन्छ । वास्तवमा आफ्नो शरीरभित्रै रहेको आत्मतत्व वा आफ्नो परमात्मालाई चिनेर पूजा गरी शरीर शान्त बनाउने प्रचलन शरीरको पूजा गर्ने माध्यमबाट प्रस्फुटित भएको विश्वास गर्न सकिन्छ ।
तिहार पर्वको अवसरमा गरिने विशेष महत्वको पूजा लक्ष्मीपूजा पनि हो । राति अबेरसम्म धनधान्यकी देवी लक्ष्मी माताको पूजा आराधना गरी धनदौलतको कामना गर्दै यो दिन पूजाआजा गरिन्छ । चार रात्रिहरूलाई नेपाली समाजमा विशेष महत्व दिइ मनाउने गरिन्छ । श्रीकृष्ण जन्माष्टमीको रात्रि, दशैंको अवसरमा मनाइने महाष्टमीको दिन कालरात्रि, तिहारको बेलामा लक्ष्मीपूजाको दिन सुखरात्रि र फागुन महिनामा पर्ने शिवरात्रि विशेष महत्वका रात्रि हुन् । तिहारको बेलामा पर्ने लक्ष्मीपूजाको दिनमा लक्ष्मीको प्रतीक गाईलाई पूजा गरेर र रात्रिमा लक्ष्मी माताको पूजाआजा गरेर लक्ष्मीपूजा मनाइन्छ । यसै दिनदेखि औपचारिक रूपमा सुरु हुने देउसी भैलो खेल्दै रमाइलो गर्ने चलन छ । साथै यसैदिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि पर्ने भएकाले यो दिन लक्ष्मी जयन्ती भनेर पनि मनाइन्छ । नेपाली साहित्य र भाषाको क्षेत्रमा अत्यन्तै अतुलनीय योगदान दिएका लक्ष्मीप्रसाद देवकोटाको स्मरण गर्दा विभिन्न साहित्यिक संघ संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन् ।
तिहार पर्वलाई यमपञ्चक भन्नाको कारण परापूर्वकालमा यमराजले कामको दिक्दारीका कारण आराम गर्न बहिनीको घरमा बस्न पुगेको र बहिनीले दाजुलाई भरमग्दुर पूजाआजा र सेवा गरी मिष्ठान्न परिकार खुवाइ प्रसन्न बनाएपछि यमराजले बहिनीलाई दिएको वरदान स्वरुप बहिनीले प्रत्येक वर्ष पाँच दिन यसैगरी यमपञ्चक पर्व मनाउने रिती बसाल्ने र दाजुभाइ तथा दिदीबहिनीका हातको टीका लगाइ भाइपूजा गर्ने प्रचलन बसोस् र यी पाँच दिनसम्म कुनैपनि दाजुभाइलाई मर्न नपरोस् भनी वरदान पाएका कारण यो पर्व मनाउने प्रचलन रहेको कथन पाइन्छ ।
यसका साथै भाइटीकाको प्रसङ्ग अरु पनि छ । एकजना बहिनीले दाजुलाई टीका लगाइरहेको अवस्थामा यमदुत उनको दाजुलाई लैजान आउँदा ती बहिनीले अहिले टीका लगाएपछि मात्र लैजानु भनेको र दाजुलाई टीका लगाइरहेको स्थानमै बसालेर यमदुतको पनि पूजा गरी फूलमाला लगाएर मिष्ठान्न खुवाइ सकेपछि यमदुत प्रसन्न भई वरदान माग भन्दा दाजुलाई लैजान नपाउने वर मागेपछि यमदुतले दाजुलाई नलगेका कारण दिदीबहिनीको श्रद्धाका कारण मृत्यु समेत टरेको हुनाले उक्त दिन भाइटीका लगाउने प्रचलन बसेको किम्बदन्ती पाइन्छ ।
यसैगरी तिहार पर्वमा देउसी भैलो समेत खेल्ने र मनोरञ्जन गर्ने प्रचलन रहेको छ । दानी राजा बलिराजाले देउसी खेल्न पठाएको भनी भट्याउँदै समूहमा साङ्गितिक माहोलमा देउसी भैलो खेली नाचगान गर्ने समेत परम्परा रहेको छ । तिहारमा गाइने विशेष प्रकारको देउसी गीत र साङ्गितिक नाचगानले बालबालिका, युवायुवती र प्रौढ सबै समूह प्रफुल्लित हुनेगर्छन् । देउसी खेलेर जम्मा भएको रकम तथा जिन्सी समूहमा बाँड्ने वा वनभोज जस्ता कार्यक्रम आयोजना गरी खाने र मनोरञ्जन गर्ने पनि प्रचलन छ । यही देउसी भैलोको अवसर पारेर विभिन्न सामाजिक संघ संस्थाहरूले आजकाल चन्दा रकम उठाइ सामाजिक क्षेत्रमा खर्च गर्ने समेत प्रचलन बसाएका छन् । यसलाई समेत एक अर्थमा राम्रो मान्न सकिन्छ । यसैपनि कार्तिक महिनालाई दान दिने महिनाको रूपमा नेपाली समाजमा हेर्ने गरिन्छ । नेपाली संस्कृति अनुसार यसरी कार्तिके दान दिँदा जो कोही पनि प्रसन्न नै हुन्छन् र आफूले दिएको दान दातव्य सही ठाउँमा लगानी होस् भन्ने समेत कामना गर्दछन् ।
अन्तमा, तिहार पर्व नेपाली पर्वहरूमध्ये रमाइलो र रौनकपूर्ण पर्व हो यसमा द्विविधा छैन तर कतिपय नेपाली पर्वहरू मनाउने क्रममा विकृतिहरू पनि देखिएका छन् । खासगरी उत्तरआधुनिक समयमा विभिन्न संस्कृतिहरूको मिश्रित प्रभाव हाम्रा चाडपर्वमा पनि देखिनुले हाम्रा मौलिक पहिचानहरू गुमनाम हुन थालेका छन् । तिहारको समयमा गाइने देउसी भैलोको गीतमा समेत मिश्रित भाषा शैली र सङ्गीतको प्रयोग हुन थालेको छ । मारुनी र पुर्सुङ्गे नाच, मादल र झ्याली सहितको देउसी नाच, भैलो खेल्दा दिइने आशीर्वादमा निकै परिवर्तन आएको छ । यसका ठाउँमा चर्का स्वरका रेकर्डेड हिन्दी तथा अङ्ग्रेजी गीत र डिस्को नाचले स्थान लिइरहेका छन् र अहिलेका पुस्ता त्यसमै झुम्मिएका छन् । लागुपदार्थ, धूम्रपान र मद्यपानको सेवन गरी जथाभावी हिँड्ने, विकृति फैलाउने, कानै फुट्ने गरी पटकाहरू पट्काउने, पटका पट्काउँदा आगलागी र दुर्घटना घटाउने, अवैध सामग्रीहरू ओसारपसार गर्ने, फूलमालाका ठाउँमा प्लाष्टिक र विद्युतीय फूल प्रयोग गर्ने, मौलिक सेलरोटी, फिनी रोटी, अर्सा र झिलिङ्गा रोटीहरू बनाउने र खाने गर्नुका सट्टा माछा मासु तथा तडकभडकका खानाहरू खाने, बनिबनाउ मिठाइलाई बढी प्राथमिकता दिने, चिउरीका पातबाट बनाइएका टपरीको सट्टा अन्य थालहरूको प्रयोग गर्ने, नियमानुसार गरिने पूजाआजा नगर्ने तर मनोरञ्जनमा मात्र ध्यान दिने जस्ता विकृतिहरूले तिहार पर्वको अस्तित्व पनि सङ्कटमा पर्दै गइरहेको छ । तिहार पर्वलाई आफ्नै नेपाली मौलिक परम्पराअनुसार नै मनाउन पहल गरिनुपर्छ र मनाउनुपर्छ भन्नेमा सबै सचेत हुनु जरुरी छ । सभ्य र अनुशासित तवरले तिहार पर्व मनाऔं, हाम्रो मौलिक संस्कृतिको रक्षा गरौं, तिहारको अवसरमा सम्पूर्णमा शुभकामना ।




