बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लोकप्रियताको राजनीति र संस्कारको संकट

लोकप्रियताको राजनीति र संस्कारको संकट


  • विकल्प मगर
  • कार्तिक ११ २०८२, मंगलबार

नेपालको राजनीतिक इतिहास निरन्तर उतारचढाव रूपान्तरणको यात्रा हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले राणा शासनको अन्त्य गर्दै जनताको आवाज सुन्ने युगको सुरुवात ग¥यो । तर, त्यो सुरुवातको उत्साह लामो समय टिक्न सकेन । २०४६ सालमा पुनः जनआन्दोलन भयो, जसले बहुदलीय लोकतन्त्र पुनःस्थापित ग¥यो । २०६२÷६३ को दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको बाटो खुलायो।यी सबै आन्दोलनहरूले राजनीतिक प्रणाली त परिवर्तन गरे, तर देशको शासन संस्कार, जिम्मेवारी र पारदर्शितामा उल्लेखनीय सुधार ल्याउन सकेनन्।फलस्वरूप जनतामा निराशा, असन्तुष्टि र उदासीनता बढ्दै गएको छ । पुराना दलहरूप्रति विश्वास घट्दै गएको छ, र यही असन्तुष्टिलाई आधार बनाएर नयाँ दलहरूको उदय तीव्र गतिमा भइरहेको छ ।

लोकप्रियताको उभार : लोकतन्त्रको नयाँ चुनौती
लोकतन्त्रमा लोकप्रियता आवश्यक हुन्छ । जनताको समर्थन बिना कुनै दल वा नेताले नीतिहरू कार्यान्वयन गर्न सक्दैन । तर, पछिल्ला वर्षहरूमा नेपालको राजनीतिमा लोकप्रियता स्वयम् नै मुख्य राजनीतिक पूँजी बन्दै गएको छ । राजनीतिक सिद्धान्त, विचार र नीति निर्माणभन्दा पनि सामाजिक सञ्जालमा भाइरल हुने क्षमता, हृदय छुने भाषण, भावनात्मक नारा र भीड तान्ने शैली नेतृत्वको प्रमुख मापदण्ड बनेका छन् । लोकप्रियता आफैंमा नकारात्मक होइन । तर जब यो यथार्थ, जिम्मेवारी र नीतिभन्दा माथि पुग्छ, त्यहीँबाट समस्या सुरु हुन्छ । आज नेताहरू दीर्घकालीन योजनाको भन्दा बढी क्षणिक प्रभावको राजनीति गर्न खोज्छन् । सामाजिक सञ्जालमा ट्रेन्ड हुने अभिव्यक्ति र जनतालाई तत्काल रमाइला लाग्ने कुरा बोल्ने चलन बढेको छ । तर यस्ता शब्दहरूले देशको दिशा सुधार्दैनन्, केवल ध्यान तान्छन् । यही कारणले राजनीति अहिले प्रदर्शनको प्रतिस्पर्धा जस्तो बनेको छ जहाँ नीति होइन, प्रस्तुति जित्छ ।

नयाँ दल र पुराना प्रवृत्ति
नेपालमा हरेक राजनीतिक संक्रमणपछि नयाँ दलहरूको उदय भएको छ । २०४६ पछि नयाँ दलहरू आए, २०६२÷६३ पछि फेरि नयाँ शक्ति उदाए, र अहिले पुनः नयाँ पुस्ताका दलहरू देखा परेका छन् । यी सबै दलहरूको उदय पुराना दलहरूप्रतिको असन्तुष्टि र जनगुनासोबाट प्रेरित हुन्छ । तर समस्या के छ भने—यी नयाँ दलहरूले पनि “हामी फरक छौं” भन्ने नारा त ल्याउँछन्, तर व्यवहार र दृष्टिकोणमा खासै भिन्नता देखिँदैन । पुरानाको विरोध मात्र गरेर लोकप्रियता कमाउने राजनीतिले लामो समय जनताको विश्वास जित्न सक्दैन । जनता अब केवल गुनासो सुन्न होइन, समाधान देख्न चाहन्छन् । तर आजका धेरै दलहरू समस्या समाधान भन्दा बढी भावनात्मक समर्थन बटुल्न व्यस्त छन् । राजनीतिमा विरोध आवश्यक हुन्छ, तर विरोधको अन्त्यमा वैकल्पिक दृष्टि र नीति प्रस्तुत गर्न नसक्ने दल दीर्घकालीन रूपमा असफल हुन्छ ।

राजनीतिक संस्कारको संकट मूल समस्या
नेपालको राजनीतिक अस्थिरताको जरो कुनै एक दल वा नेतामा मात्रै छैन; यो राजनीतिक संस्कारको संकट हो । राजनीतिक संस्कार भन्नाले विचार, मूल्य, निष्ठा र चरित्रमा आधारित आचरण बुझिन्छ । तर आज धेरै नेता र कार्यकर्ता पद, शक्ति र लाभका लागि प्रतिस्पर्धा गर्छन्—सिद्धान्त र जनसेवाका लागि होइन । दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर छ, नेतृत्व उत्तरदायी छैन, र पारदर्शिता न्यून स्तरमा छ । निर्णय प्रक्रियामा व्यक्तिगत स्वार्थ हावी हुन्छ, सामूहिक सोच र जनहित पछाडि पर्छ।यही कारणले पुराना दलहरूले सुधार गर्न सकेनन् र नयाँ दलहरूले पनि पुरानै गल्ती दोहोर्याइरहेका छन् । नयाँ अनुहार आउँछ, तर नयाँ सोच आउँदैन । राजनीतिमा साँचो सुधार नेतृत्वको अदलवदलबाट होइन, संस्कार र चरित्रको रूपान्तरणबाट हुन्छ ।

लोकप्रियता र जवाफदेहिताको सन्तुलन
लोकतन्त्रमा जनताको समर्थन अत्यावश्यक छ, तर समर्थन सधैं सचेत हुनुपर्छ । आजका नेताहरू जनतालाई मन पर्ने कुरा बोल्छन्, तर जनतालाई आवश्यक कुरा बोल्दैनन् । चुनावमा असंख्य आश्वासन बाँडिन्छ रोजगार, शिक्षा, अस्पताल, विकासका सुन्दर सपना—तर चुनावपछि परिणाम शून्य रहन्छ । लोकप्रिय भाषणले ताली त पाउँछ, तर देशको दीर्घकालीन हितमा योगदान दिन सक्दैन । राजनीतिमा लोकप्रियता भन्दा पनि जवाफदेहिता, सत्य र इमानदारी ठूलो मूल्य हो । तर अहिले नेताहरू तिनै कुरा छोडेर प्रचारमुखी बन्न पुगेका छन् । लोकतन्त्र केवल मतपत्रमा होइन, उत्तरदायित्वमा बाँच्ने प्रणाली हो । यसैले लोकप्रियता र जवाफदेहिताको सन्तुलन पुनःस्थापना नगरी नेपालमा स्थायी सुधार सम्भव छैन ।

परिवर्तन अनुहारमा होइन, संस्कारमा हुनुपर्छ
नयाँ भनिएकाहरूले पुरानै गल्ती दोहोर्याउँछन् भने त्यो नयाँ होइन, पुरानैको पुनरावृत्ति हो । परिवर्तनको अर्थ केवल सत्ताको अदलबदल होइन; परिवर्तन भनेको सोच, प्रवृत्ति र कार्यशैलीमा सुधार हो । यदि त्यही अवसरवाद, भ्रष्टाचार र आत्मकेन्द्रित राजनीति दोहोरिन्छ भने जनताले फेरि निराश हुनुपर्नेछ । नेता र दलहरूले जनताको भावना मात्र होइन, जिम्मेवारी र नीतिगत स्पष्टतालाई पनि समान रूपमा महत्व दिनुपर्छ । देशको स्थायित्वका लागि बोल्ने होइन, काम गर्ने नेतृत्व चाहिन्छ । देखिने होइन, सोच्ने राजनीति चाहिन्छ । नारा होइन, परिणाम चाहिन्छ ।

लोकतन्त्रमा जिम्मेवार नेतृत्वको आवश्यकता
नेपाल आज पनि राजनीतिक संक्रमणको यात्रामा छ । संविधान बनेको आठ वर्ष नबित्दै अस्थिरता, विभाजन र अविश्वासको वातावरण बढेको छ । जनताले हरेकपटक नयाँ विकल्प खोज्छन्, तर अन्ततः निराश हुन्छन् । त्यसैले अहिलेको युगले खोजेको नेतृत्व त्यस्तो हुनुपर्छ जसले लोकप्रियताको होइन, विश्वासको राजनीति गर्छ । विश्वास प्रचारबाट होइन, आचरणबाट आउँछ । जनताले विश्वास गर्छन् जब नेताले बोकेको जिम्मेवारी पूरा गर्छ, जनतासँग जवाफ दिन्छ र सच्चा नीति लागू गर्छ । विश्वास केवल एकपटकको मत होइन; त्यो लामो समयको व्यवहारिक प्रमाण हो ।

नयाँ सोच र संस्कारको राजनीति
नेपालका जनताले परिवर्तन धेरै पटक देखेका छन्। तर परिवर्तनले अझै देशको दिशा बदल्न सकेको छैन । कारण एउटै हो—परिवर्तन बाहिर भयो, भित्र भएन । अब नेपाललाई चाहिएको छ, संस्कारमा आधारित राजनीति, जहाँ नारा होइन, नीति प्रधान हो, जहाँ नेतृत्व पदका लागि होइन, जिम्मेवारीका लागि प्रतिस्पर्धा गर्छ । राजनीति लोकप्रियताबाट होइन, संस्कार र आचरणबाट महान् हुन्छ । आजको समयले नेताहरू र दलहरू दुवैलाई एउटा सन्देश दिइरहेको छ – लोकप्रियता क्षणिक हुन्छ, तर विश्वास स्थायी हुन्छ । विश्वास आचरणबाट आउँछ, प्रचारबाट होइन । त्यसैले अब समय आएको छ नयाँ अनुहार होइन, नयाँ सोच र संस्कारको राजनीति रोज्ने । जब राजनीतिले पुनः मूल्य, सिद्धान्त र निष्ठालाई प्राथमिकता दिन थाल्छ, त्यसै दिनदेखि नेपालको लोकतन्त्र साँचो अर्थमा सबल र स्थायी बन्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->