स्वास्थ्य मन्त्रालयले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम तय गरेको छ । यो वर्ष कात्तिकको पहिलो साता तिहार परेकाले २ र ३ गतेको कार्यक्रम २० र २१ गते सारिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार यो अभियानमा उत्साहजनक सहभागिता रह्यो । यद्यपि, अझै पनि कतिपय नानीबाबुहरु छुटेको मन्त्रालयले जनाएको छ । त्यसो त, कतिपय बालबालिकाहरु विभिन्न खोप कार्यक्रममा पनि छुट्ने गरेका छन् ।
सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको हो । भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक तर थोरैमात्रामा चाहिने तत्व हो । भिटामिनले बच्चालाई कमजोरी हुनबाट बचाउँछ। लुलो लङ्गडो हुन रोक्छ । अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्छ । जुकाको औषधिले चाहिँ बालबालिकालाई परजीबिहरुबाट जोगाउँछ । यस्तै, बालबालिकामा देखिने आन्द्रासम्बन्धी संक्रमण, रक्तअल्पता र कुपोषण घटाउन पनि यो औषधिले मद्धत गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बाल मृत्युदर घटाउन भिटामिन ‘ए’ र जुकाको औषधिको योगदान महत्वपूर्ण छ ।
यस्तै, बच्चाहरुको लागि नेपाल सरकारले विभिन्न ११ प्रकारका खोपको व्यवस्था गरेको छ । ती खोपहरु छुटाउन हुँदैन । दुई वर्षमुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुवेलालगायत ११ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ ।देशका कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नपरुन् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम संचालन गरिरहेको छ । तर, अझै २० प्रतिशत बालबालिकाले पूर्ण खोप नपाएको सरकारी तथ्याङ्क रहेको छ । बालबालिकाहरु सबैखाले खोपबाट बञ्चित हुनुमा अभिभावकमा रहेको चेतनाको कमी कारक देखिएको छ । एउटा खोप लगाउने र अर्को कहिले लगाउनुपर्छ भन्नेबारे ज्ञान नहुने,हेलचेक्रयाइँ गर्ने तथा खोपप्रतिको नकारात्मक धारणाका कारण पनि बालबालिकाहरु खोपबाट बञ्चित रहेका छन् ।
पूर्ण खोप नलगाउँदा उमेर पुगेपछि विभिन्न रोग देखिने जोखिममात्र हुँदैन,बालककालमै ज्यान जाने खतरा पनि रहन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडीएचएस) को प्रतिवेदनलाई आधार मान्ने हो भने नेपालमा प्रति एक हजार जीवित जन्ममा ३३ बालबालिकाको मृत्यु हुने देखिएको छ । यसअघि सन् २०१६ मा नेपालमा प्रति एक हजार जीवित जन्ममा ३९ बालबालिकाको मृत्यु हुन्थ्यो । बाल मृत्युदर घटाउनका निम्ति पोषणको प्रबन्ध,स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामा बढोत्तरी, मातृशिशु पोषण र खोप कार्यक्रमले सघाएको छ । यद्यपि,नवजात शिशुको मृत्युदर अझै घट्न नसकेको प्रतिवेदनले औंल्याएको छ । नियमित चेकजाँच, तोकिएका खोपको मात्रा तोकिएको समयमा लगाउने गर्नैपर्छ । बालबालिकालाई पूर्ण स्वस्थ राख्ने र भविष्यम पनि रोगसँग लड्ने प्रतिरोधी क्षमता विकासका लागि अभिभावक नै सचेत बन्नुपर्छ ।




