बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आधुनिकिकरण र विकासको अवधारणा

आधुनिकिकरण र विकासको अवधारणा


  • लाल बहादुर नेपाली
  • कार्तिक २३ २०८२, आइतबार

शाब्दिक उत्पत्तिका आधारमा आधुनिकीकरण भन्ने शब्द ल्याटिन भाषाको अग्रंजी संस्करणबाट उत्पत्ति भएको हो । यसको अर्थ हालैको समयको वा अहिले भर्खरको भन्ने अर्थ लाग्दछ र हो । जसले चलिरहेको समयको लागी स्थान बनाउँछ र परिभाषित गर्दछ । प्राकृतिक नियम अनुसार हरेक वस्तुहरु परिवर्तनशिल छन्, प्रतिएक सेकेन्ड समयमा कुनै पनि वस्तुमा भौतिक वा रासायनिक परिवर्तन भएको हुन्छ । कुनै पनि भाषा, धर्म, दर्शन, सिद्धान्त, संस्कृति वा राजनैतिक आस्था राख्ने प्रत्येक व्यक्ति वा समाज र संघसंस्थाहरु एक सामान्य अवस्थाबाट जटिल अवस्थामा रुपान्त्रण हुने प्रक्रियालाई स्वभाविक मान्न सकिन्छ र यो सर्वमान्य विश्वव्यापी प्रक्रिया हो, जसलाई नकार्न सकिदैन् । यो प्रक्रिया समाज विकासको क्रममा हिजो चलेको थियो आज पनि चलिरहेको छ र भोलि पनि चलिरहने छ ।

उत्पत्तिको सिद्धान्त जसको प्रतिपादकका रुपमा चाल्र्स डर्विन (१८०९– १८८२) लाई लिइन्छ र भौतिक द्धन्द्धको सिद्धान्त जसको प्रतिपादको रुपमा कार्ल माक्र्स (१८१८–१८८३) लाई लिइन्छ । उनीहरुका सिद्धान्त पनि परिवर्तनको नियममा नै आधारित छन् भने समयको अन्तरालसंगै देखा पर्ने परिवर्तनका स्वरुपहरु की त जैविक वा भौतिक विकास भनेर परिभाषित गर्न सकिन्छ कि त आधुनिकीकरण वा केही विषयवस्तुहरु समाजशास्त्र, मानवशास्त्र र राजनीति शास्त्रमा यो पश्चिमीकरण, युरोपीकरण, अमेरिकीकरण वा चिनियाँकरणका नामले पनि चिनिन्छ । अन्नतः यो आधुनिकिकरण नै हो । सायद चिनियाँकरणको प्रयोग विश्व व्यवस्थामा प्रयोग कम भएको होला वा प्रयोग गरिएको छैन होला तर अबको केही वर्ष वा दशकमा हामी यो शब्द व्यापक प्रयोग भएको पाउने छौ वा गरेका हुनेछौ । किनकी चीनको बढ्दो आर्थिक शक्ति, राजनैतिक स्थिरता र प्रविधि तथा प्राविधिक भूमण्डलीकरणका कारण यो प्रक्रिया अगाडी बढेको देखिन्छ भने विश्व विभाजनका सामाजिक, आर्थिक, राजनैतिक अवधारणाका आधारमा हामी आर्थिक पाटोलाई हेर्यौ भने अति कम विकसित देशबाट विकासशिल देश वा विकसित देशमा जाने प्रक्रिया पनि आधुनिकीकरण र विकासको पाटो हो । यसलाई सहरीकरण, औद्योगिकरण, भूमण्डलीकरण, साम्राज्यवाद, पुँजिवाद जस्ता तत्वहरुले प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । सामाजिक परिवर्तन एक सर्वमान्य अवधारणा र विषयबस्तु हो । सामाजिक परिवर्तनका विविध विषयमध्ये आधुनिकीकरण एक महत्वपूर्ण प्रक्रिया हो । आधुनिक समाज बन्नका लागी केही सामान्य तर सर्वमान्य मान्यताहरुमा रहि तार्किक र ठोस विषय तथा मान्यताहरुमा अध्ययन गर्न जरुरी छ त्यसकारण पनि यो विषय एक विकासको दृष्टिकोणका रुपमा र मानविय जीवनशैलीमा ल्याउने परिवर्तनका रुपमा स्थापित रहन्छ । विकास र आधुनिकीकरण फरक विषयहरु भएपनि केही हदसम्म र केही तर्कहरुमा समान पनि हुन् जसलाई परिभाषित गर्नका लागी केही शब्दहरुको उत्पत्ति र प्रयोगमा ध्यान दिनु जरुरी छ । बद्लिंदो विश्व परिवेशमा प्रयोगमा आउने शब्दहरुमा पनि आधुनिकीकरण र विकासको प्रभाव परेको देखिन्छ । विश्व जति अगाडि बढिरहेको छ त्यति नै जटिलता तिर धकेलिएको छ । प्रत्येक परिवर्तनका पछाडि इतिहस, ज्ञान, अध्ययन, अवलोकन, आवश्यकता र समयको माग रहेको हुन्छ । मानव जीवनमा जीवन बाच्ने शैली, जीवनप्रति मानिसको आस्था र अवधारणा, परम्परागत सोच र विचारमा आएको गतिशिलता, अनुशासन र नैतिकता, व्यवाहारिक पक्ष र प्रक्रिया, सामाजिक रहनसहन, सामाजिक सञ्जालको प्रयोग, पुँजीको दासत्व, भौतिक सुखको खोज, प्रविधिमैत्री शिक्षा र समाज, मनोविज्ञानमा आएको मनोक्रान्ति, मानविय चेतनाको विकास र नयाँ शैलीहरुको खोज तथा अनुसन्धान आदीहरुमा पनि प्रत्यक्ष रुपमा परिवर्तन देख्न सकिन्छ र यी तत्वहरुले नीतिगत र मनोगत प्रभावहरु पारेका छन् जसलाई भौतिक संसारमा मात्र देख्न सकिन्छ भने अभौतिक संसारमा महसुस गर्न सकिन्छ ।

जति धेरै प्रविधिमा परिवर्तन भएको छ त्यति नै आधुनिक साधन तथा स्रोतहरुको प्रयोग, शिक्षा तथा सोचमा परिवर्तनका कारण पनि आधुनिक विश्वमा बहुलवादी अवधारणाहरुको विकास, उदय र अनुकुलनता परिवर्तन भएको छ । त्यो विषयवस्तुलाई आर्थिक, सामाजिक, धार्मिक, राजनैतिक, र साँस्कृतिक रुपमा प्रत्यक्ष अनुभव र अध्ययन गर्न सकिन्छ । रुढिबादी समाजहरु पनि आधुनिक शैलीका कारण परिवर्तनमा प्रवेश गरि सकेका छन् । अति नै कम विकसित मानिने समाज तथा देशहरु पनि आधुनिकता तिर मोडिएको देखिन्छ जस्तै हाम्रो देश, अफ्रिकी देशहरु । तर पनि हामीले वास्तविक रुपमा आधुनिक शैलीलाई अगाल्न सकेका छैनौ किनभने जति धेरै परिवर्तन भएको छ त्यो मात्रामा हाम्रो चेतना र शैलीमा परिवर्तन भएको छैन । र, त्यो अनुसारको सामाजिक, राजनैतिक परिवेश र मान्यताहरुको विकास भएको छैन् । त्यसकारण बद्लिदो सामाजिक आधारमा हाम्रो आधुनिकीकरणलाई भ्रष्ट पार्ने तत्वहरु पनि हामी माँझ व्याप्त छन् जसले आधुनिकीकरण र विकासमा नकरात्मक भूमिका खेलिरहेका छन् । जस्तैः सामाजिक विभेद, अस्थिरता, अनैतिक क्रियाकलापहरु, अन्धविश्वास आदि । सभ्यताको विकास क्रममा विभिन्न तत्वहरुले परिवर्तनका आधारशिलाहरुमा रहेर काम गरिरहेका हुन्छन् भने ति तत्वहरुको विकास र आधुनिकीकरण विना नयाँ, सभ्य, एकताबद्ध समाजको परिकल्पना हुन सक्दैन भने परिवर्तनलाई पनि वैज्ञानिक रुपमा परिभाषित गर्न सकिदैन त्यसकारण आधुनिकीकरण र विकासका केही प्रकारमा चर्चा गरौं ।

आधुनिकीकरण र विकासका प्रकारहरु
भाषागत आधुनिकीकरण र विकासः भाषा सञ्चारको माध्यम हो आधुनिक समाजमा भाषाकै कारण कतिपय देशहरुले विश्वमा आफ्नो व्यवस्थालाई प्रचार गर्न र विश्वमा प्रभुत्व जमाउन सकेका छन् । जस्तैः ब्रिटिस औपनिवेशबाद, अमेरिकी साम्राज्यबाद, र चिनियाँ आर्थिक समाजबाद, समयको क्रमचक्रसंगै भाषामा सरलता आउनु एक आधुनिकीकरणको माध्यम वा स्रोत हो भने मानविय सोच, विचार र सञ्चार सिपमा पनि विकास हुनु हो । कुनै एक भाषामा अर्को भाषाबाट तत्सम् व तत्भव भएर आउने शब्दहरु पनि भाषिक विकास र आधुनिक परिवर्तनका भाषिक संकरणहरु हुन् । सांस्कृतिक प्रभाव, भुमण्डलीकरण, प्रविधिको विकास, प्रर्यटन यसका कारक तत्वहरु हुन् ।

शैक्षिक आधुनिकीकरण र विकासः समयको चक्र संगसंगै विकास भएका सापेक्षिक मूल्य, मान्यता, वैज्ञानिक तथ्य, खोज र अनुसन्धानले प्रमाणित गरेका विषयवस्तुहरुको अध्ययन, सभ्यतामा आएका परिवर्तनका अवयवहरु शिक्षाका अंश हुन् भने शिक्षाले चेतना, सोच, विचार दर्शन, आदिमा ल्याउने परिवर्तन पनि आधुनिकिकरण र विकासको प्रकार हो ।

सामाजिक साँस्कृतिक आधुनिकीकरण र विकासः समाजमा रहने, वस्ने, व्यवहार गर्ने तरिका, निति नियम, कानुन, मूल्य, मान्यता, संस्कार, धर्म र धार्मिक प्रचलन, रहनसहन, आदिले मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ । कतिपय मानिसहरु परम्परागत जीवनशैलीमा बाच्दछन् । जसलाई रुढिबादी समाज वा संस्कृति भनिन्छ भने अरुले अन्य देशका भाषा, संस्कृति, जीवनशैली, रहनरहन, सामाजिक प्रथाको अवलम्वन गरेका हुन्छन् जसलाई सामाजिक सांस्कृतिक आधुनिकिकरण र विकास भनिन्छ ।

आर्थिक सम्पन्नता आधुनिकिकरण र विकासः कुनै पनि अल्प विकसित, विकासशिल वा विकसित देश वा समाजको सुरुवात जंगल युगबाट शुरु भएको हो र क्रमशः त्यसमा परिवर्तनहरु आएका हुन् । आधुनिक समाजमा मानिस आदिम साम्यवाद (कार्ल माक्र्सको भाषामा) जसरी बाँच्न सक्दैन र अहिले पनि कतिपय आस्था, विश्वास, मूल्य, मान्यता, दैनिक मानविय व्यवहारहरुमा जंगली युगमा व्याप्त रहेका सामाजिक सांस्कृतिक अवयवहरु भेट्न सकिन्छ । विस्तारै समाजको विकास संगसंगै आएको परिवर्तनका कारण आएको आर्थिक सोच र पुँजीवादको उदय आथिक आधुनिकिकरण र विकासको प्रकार हो ।

राजनैतिक आधुनिकिकरण र विकासः राज्य, राज्यको स्थापना, शासक, शासकीय शैली, शासनको आधुनिक प्रणाली, नीति नियम, कानुन, विधान, संविधान, राजनैतिक सिद्धान्त, विचार, दर्शन आदिमा आउने समय सापेक्षिक परिवर्तनहरु राजनैतिक आधुनिकीकरण र विकासको प्रकार हो ।

प्रविधि र प्राविधिक आधुनिकिकरण र विकासः ढुगें युगमा प्रयोग हुने भाला र ढुंगाका हतियारहरु कृषि युगमा प्रयोग हुने कुटो, कोदालो, हलो आदी, सञ्चारका लागाी प्रयोग हुने परेवा, हाँक, यातयातका लागी प्रयोग हुने गधा, खच्चड, धोडा आदीको ठाँउमा प्रयोग हुने मोटर, रेल, मोबाइल, कम्प्युटर र मेसिनहरु जस्ता प्रविधिका साधनहरु र उत्पादनका साधनहरु पनि आधुनिकिकरण र विकासको प्रकार हो ।

वैज्ञानिक आधुनिकीकरण र विकासः हरेक विकासका पछाडी रहेको तथ्यबाट तर्क, ज्ञान, विज्ञान, विबेक, आदीको प्रभाव र प्रचारबाट सोच, विचार र मानविय व्यवहारमा आउने परिवर्तन वैज्ञानिक परिवर्तनको आधुनिकीकरण र विकासको प्रकार हो ।

आधुनिकीकरण र विकासका विशेषताहरु
–आधुनिकीकरण र विकासले विगतको जीवन प्रणालीमा परिवर्तन ल्याउदछ भने नयाँ प्रकारको प्रणालीलाई प्रतिस्थापित गर्दछ ।
–आधुनिकीकरण र विकासले भौतिकवादी भावनाको विकास गर्दछ र मानिसमा धन, सम्पति, घरजग्जा, गाडी, सुन तथा महँगा वस्तु तथा सेवाप्रति लालच, मोहको विकास गर्दछ ।
–आधुनिकीकरण र विकासले मानिसको दैनिका जीवनशैलीमा परम्परागत बानी व्यवहारलाई परिवर्तन गरि वैज्ञानिक बानी, व्यवहारका मान्यताहरु स्थापित गर्दछ ।
–आधुनिकीकरण र विकासले तर्क तथा बृद्धिबादमा परिवर्तन गरि नयाँ सोच विचारहरुको प्रतिस्थापना गर्दछ र मानिसमा साच्ने चेतनाको विकास गर्दछ ।
–आधुनिकिकरण र विकासले अल्प विकसित वा कम विकसित मुलुकहस्को अर्थव्यवस्थालाई विकासोन्मुख अर्थव्यवस्थामा परिणत गर्दछ भने विकासोन्मुख अर्थव्यवस्थालाई विकसित अर्थव्यवस्थामा परिवर्तन गर्दछ भने गरिबि निवारणमा विशेष जोड दिन्छ ।
–आधुनिकिकरण र विकासले धर्म निरपेक्षतामा जोड दिन्छ र एकल धार्मिक समाजलाई बहुलादी धार्मिक समाजमा परिवर्तन गर्दछ ।
–आधुनिकिकरण र विकासले समाजमा विभिन्न प्रकारका प्रकार्यात्मक संगठनहरुको गठन र उदयलाई प्राथमिकता दिन्छ र नयाँ प्रकारका मान्यताहरुको विकास गर्दछ ।
–आधुनिकीकरण र विकासले राष्ट्रवाद र राष्ट्र निर्माणको अवधारणालाई केन्द्रिकरण गर्दछ समाजमा रहने कुनै पनि व्यक्तिले आत्मा केन्द्रित मूल्य र मान्यताबाट टाढा रहि समाज र देशको विकास, परिवर्तनका लागि मार्ग निर्देशन गर्दछ ।
–आधुनिकीकरण र विकासले समाजको आधारभूत मनोवृति, मान्यता र मूल्यमा परिवर्तन ल्याउँदछ । जसका कारण समाज विकासको तिब्र गतिमा अगाडि बढेको हुन्छ ।
–आधुनिकिकरण र विकासले मानव संसाधनको गुणात्मक परिवर्तन गर्दछ र दक्ष जनशक्तिको उत्पादन गरि समाज र देशको विकासमा सकरात्मक भुमिका निर्वाह गर्दछ । सिप मुलक मानव संसाधनको उत्पादनले नै आर्थिक विकास र औद्योगिकरण सम्भब हुन्छ ।
–आधुनिकीकरण र विकासले पूर्वाधार निर्माणमा तिव्रता ल्याउँदछ र शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत, खानेपानी जस्ता पूर्वाधारहरुको निर्माण सञ्चालन, बिक्री तथा वितरणलाई सहज, सुलभ बनाउँदछ ।
–आधुनिकीकरण र विकासले समाजमा जाती, धर्म, लि, भाषा, क्षेत्र, उमेर, आदिका आधारमा विद्यमान विभेद, भेदभाव, असमानताको अन्त्य गर्दछ ।
–आधुनिकीकरण र विकासले सबै नागरिकहरुलाई आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, समानता, स्वतन्त्राता र हक प्रदान गर्दछ ।
–आधुनिकीकरण र विकासले राज्यका नागरिकहरु बिच सामाजिक सद्भाव, भौगोलिक एकता र राष्ट्रिय अखण्डताको भावना जागरुक गराउँदछ ।
–आधुनिकीकरण र विकासले समाजमा रहने मानिसहरुमा मानव अधिकारको सुनिश्चितता गरि सबैलाई समान अधिकार प्रदान गरि कर्तव्यको पालनामा जोड दिन्छ ।
–आधुनिकिकरण र विकासले खोज तथा अनुसन्धानमा जोड दिन्छ र नयाँ ज्ञान, तर्क विवेक तथा वैज्ञानिक मान्यताहरुको स्थापना गर्दछ ।
–आधुनिकीकरण र विकासले प्राकृतिक संसाधनको समुचित प्रयोगमा ध्यान दिन्छ भने वातावरण संरक्षणमा ध्यान दिन्छ ।
–आधुनिकीकरण र विकासले दिगो विकासको अवधारणालाई प्राथमिकतामा राखी भौतिक पुवाधारहरुको निर्माण तथा उपयोगमा ध्यान केन्दि«त गर्दछ ।
–आधुनिकीकरण र विकासले उच्चतम् मानव विकास सुचाङकको अपेक्षा राख्दछ । आयस्रोत, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दछ ।
–आधुनिकीकरण र विकासले सामाजिक सुरक्षा, नागरिक शान्ति, अमनचयन र लैङ्गिक सन्तुलनमा ध्यान केन्दि«त गर्दछ ।
–आधुनिकीकरण र विकासले परम्परागत मूल्य र मान्यतालाई प्रतिस्थापित गर्दछ र नयाँ मूल्य र मान्यताहरुको स्रोतका रुपमा काम गर्दछ ।

आधुनिकीकरण र विकासले मानविय जीवनशैलीलाई खुल्ला तर नियम र तर्कमा आधारित अर्थपूर्ण जीवनशैलीमा परिवर्तन गरेको हुन्छ । एकतर्फ यसले मानिसलाई गुणस्तरिय जीवनको वृद्धिमा जोड दिन्छ भने अर्काेतर्फ वातावरणको नाश पनि गरिरहेको हुन्छ । जसले मानव जिवनमा प्रत्यक्ष सरोकार राख्दछ । समाज आधुनिक भयो वा कुनै पनि देशले आर्थिक फड्को मार्यो तर जीवनमा परिवर्तन आउन सकेन भने त्यो आधुनिकीकरण र विकासले सापक्षेता लिन सक्दैन् र त्यो मानिसको जिवनको मूल्यसंग जोडिन सक्दैन् । आधुनिकीकरण र विकासले सदैव मानव विकास सुचाङकलाई परिभाषित गरेको हुनु पर्दछ । जसले गुणस्तरिय जीवनलाई समेटेको हुन्छ । त्यसैले आधुनिकिकरण र विकास एक अर्काका पर्यायवाची हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->