बलेवाको आकाशमा जहाज उडेको हेर्ने बलेवावासीको चाहना दशकौं अगाडिको हो । आफ्ना इष्टदेव कालभैरवको समसाथमा बसेर आफू मुनिको आकाशमा जहाजले परिक्रमा गरेको नियाल्न बलेवाली जनता आतुर थिए त्यतिबेला, जुन भावनाले अहिलेसम्म मूर्तरुप पाएको छैन । समथर भूभागको पूर्वतर्फ सल्लाघारी वर्षौंदेखि विमान अवतरणका लागि स्वागतापेक्षी भाव बोकेर ठिङ्ग उभिएका छन् । उत्तर–दक्षिण लमतन्न सुतेको धावन मार्ग छेउमा टांगिएका झण्डा र विमान निर्देशित बत्तीले विमानकै आवाज पर्खिएका छन् । पश्चिम दिशामा बनेका भौतिक पूर्वाधार र गेटले पनि विमानकै पर्खाइमा गुम्दो अस्तित्वलाई धुर्मुरो जीवन दिर्दै छन् । यात्रु प्रतीक्षालय त आफैंमा यात्रुले प्रतीक्षा गर्ने घर हो । जहाँ यात्रुले प्रतीक्षा गर्ने रत्तिभर आश्वासन पाएका छैनन् । उल्टै वर्षौंसम्म यात्रु पर्खिरहेको आलय मात्रै बाँकी छ । त्यसैले त विमानस्थल अनि प्रतीक्षालय खाली खाली छन् । कालेपत्रे भएर चिटिच्याट्ट परेको यो विमानस्थल कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल भन्दा कम छैन । परन्तु विमानस्थलले कालोपत्रेको सुन्दरता पाएको करिब ४ वर्ष पुग्दा पनि विमानको स्पर्श पाएको छैन ।
कच्चि धावनमार्गमा संचालन भएको जहाज पक्की हुँदा आउँदैन । भौगोलिक रुपमा सुविधा सम्पन्न बनिसकेको यो विमानस्थललाई कालीगण्डकी करिडोर, एडिबी सडक, पर्वत बागलुङमा निर्मित बन्जी, यान्त्रिक र झोलुङ्गे पुलले चौतर्फी सहयोग पु¥याएका छन् । विमानस्थल सञ्चालनमा आए गुल्मी, पाल्पा, मुस्ताङ, म्याग्दी र पर्वत आसपासका जिल्लाबाट सहज रूपमा यात्रुहरुको आवागमन निश्चित बनेको छ । कालीगण्डकी करिडोर बागलुङ बलेवा खण्ड कालोपत्रे भएमा पनि सदरमुकामदेखि १५ मिनेटमा विमानस्थल पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटक बलेवा आएर जाँदा दुरी छोटो पर्छ । अर्कोतर्फ बलेवा विमानस्थल संचालन गर्न सके मुक्तिनाथ जाने धार्मिक पर्यटक यही विमानस्थल भएर कालीगण्डकी कारिडोरहुँदै मुक्तिनाथ र कोरला नाका जान सक्छन् भने यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्ने छ । यद्यपि निर्माण सम्पन्न बनिसकेको विमानस्थल सञ्चालनमा स्थानीय सरोकारवालाहरुको ध्यान नपुग्दा जनता निराश छन् ।
२०२२ सालमा स्थानीयको जनश्रमदानबाट निर्माण सम्पन्न विमानस्थलले वि.सं. २०४८ सालमा केही समय सञ्चालनमा आएको थियो । बलेवाबासी जनताले आफ्नो पसिना सिञ्चेको मैदानमा चौतर्फी धूलो उडाउँदै जहाज बसेको देख्दा निकै प्रफुल्लित थिए । परन्तु उनीहरुको खुसीले दीर्घकालीन स्वरूप पाएन । बुढापाकाको भनाइ अनुसार एउटा विकासले अर्को विकासलाई टेवा पुग्नुपथ्र्यो । यद्यपि बलेवाबासी जनता यहिं विकासको चक्करमा अभागी बन्न पुगे । बलेवा विमानस्थल बागलुङ–पोखरा राजमार्ग निर्माणको कामले बन्द हुन पुग्यो । जुन कुरा बलेबाबासीका लागि अभिशाप बन्यो । बलेवाली जनताले देश–विदेशमा पुग्ने जहाजलाई बिदाइका हात हल्लाउने सपना यसै समयबाट अधुरो रह्यो । आजभन्दा करिब ६ दशक अगाडि निर्माण सम्पन्न विमानस्थलले चार दशक पूर्वको समयमा विमान पाए पनि वर्तमान सुविधा सम्पन्न विमानस्थलले विमानको आवाज समेत पाएन । कच्ची धावन मार्गमा पोखरा, काठमाडौँ, भैरहवा र जोमसोम पुग्ने विमानले खुट्टा रगडे पनि पक्की धावन मार्गमा विमानले अडिने मौका पाएनन् । यसको जसापवाद कसलाई दिने ? बागलुङको बलेवा क्षेत्रले सदियौंदेखि विकासको गति पर्खिरहेको छ । अहिले देश संघीय संरचनामा छ, स्थानीय प्रदेश र संघीय सरकारले उचित पहल कदमी अगाडि बढाए बलेवाली जनताले पूर्खाले न्याय पाउथ्ये । विमानस्थल निर्माणमा महिनौं पसिना सिञ्चित गर्ने पू्र्खाको म प्रफुल्लित हुन्थ्यो । सम्झौँ, विक्रम सम्वत् २०२२ सालमा साविक बागलुङ जिल्लाका नारायणस्थान, पैँयुपाट, अमलाचौर, भकुण्डे लगायत कुश्मिसेराहुँदै रायडाँडा, रामतलासम्मका मानिसले श्रमदानका लागि गैची, बेल्चा र कोदाली उठाएका थिए । आज तिनै मानिसको जीवनलीला समाप्त हुने समयसम्म विमानस्थलले जीवन नपाउँदा स्थानीय दुःखी छन् । स्थानीय सरकारको आन्तरिक सहयोगमा करिब अढाई दशक उडान नपाएको विमानस्थलले वि. सं. २०७४ सालमा नियमित उडान भ¥यो । महिनौंसम्म आफ्ना घरायसी कामलाई थाती राखेर समाज सेवा र जन्मभूमिको विकासका लागि दसनङ्ग्रा खियाएका जनता यो समाचार सुन्दा पुनः खुसी भए । हप्ताको दुई दिनका दरले तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने भए । सिट क्षमता अनुरुपका यात्रुको उपस्थितिलाई मध्यनजर गरेर बागलुङ नगरपालिकाले क्षतिपूर्ति दिने गरी विमान सञ्चालनमा ल्याएको थियो । तथापि नगरपालिकाले विमान कम्पनीलाई उपलब्ध गराउँदै आएको रकम ४ महिनाको अन्तरालमै बुझाउन असमर्थ हुँदा पुनः विमानस्थल बन्द हुन पुग्यो । पालिकाले विमानस्थल सञ्चालन र स्थायित्वका लागि गरेका प्रारम्भिक प्रयास सह्रानिय थिए । यद्यपि पालिकाले आर्थिक नीतिमा परिवर्तन ल्याउँदा बलेवाली जनताको खुशी खोसियो । पसिना बगाएका जनताले आँसु पुछिदिने अभिभावक पाएनन्, यसमा विस्मय छदैछ ।
लामो समयदेखि गौचरणमा सीमित जग्गाले विमानस्थलको स्वरूप पाउने आशा र निराशाका बीच बलेवाली जनता पर्ख–हेरको अवस्थामा थिए । वि.सं. २०७८ सालको अन्त्यमा धावन मार्ग कालोपत्रेको सूचना आयो विमानस्थल सञ्चालनार्थ आवश्यक धावन मार्ग निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरण र नगरपालिकाको प्रमुख अगुवाइमा धावन मार्ग कालोपत्रेको कार्य सम्पन्न भयो । वर्षौंदेखि झाङ्गिएको रुख जङ्गल सफा भए विमान अवतरणका लागि यान्त्रिक उपकरण भवन, टावर, टिकट काउन्टर, यात्रु प्रतिक्षालय लगायतका संरचना बने खिया लागेका तारजाली फेरिए, टर्मिनल भवन मर्मत भयो । पार्किङ स्थल, यात्रु प्रवेशद्वार र बहिर्गमनद्वार समेतले परिचय पाए । परन्तु भौतिक सम्पत्तिले विमान नै पाएन । जडान भएका यन्त्र उपकरणले पुनः क्षयीकरणको गति लिन थाले, ग्राभेल मैदान र कालोपत्रे गरेर चिरिच्याट्ट पारिएको धावन मार्गले झारपातलाई आमन्त्रण गरिसके ।
तथापि विमान सञ्चालनको कुनै कार्य अगाडि बढेन । स्थानीयले विमानस्थल सञ्चालनका लागि राज्यका उच्च तहसम्म निरन्तर गिड्गिडाए पनि कुनै किसिमको सुनवाई भएन । विमानस्थलमुखी चुनावी नारा लिएर धेरै नेताहरूले भोट कमाए । सञ्चालनकै नाममा उच्चपदस्थ मन्त्री, सांसद र नेताहरूले पटकपटक आश्वासन बाँडे । सुविधा सम्पन्न विमानस्थल सञ्चालनार्थ राज्यले उचित निकास नदिँदा निर्माण सम्पन्न पूर्वाधार ध्वस्त हुने आशंका बढ्दो छ । विगतका समयमा सवारी आवागमनको कठिनाइ भएपनि पछिल्लो समय बागलुङको दक्षिण भेगले सडक सञ्जालको माध्यम कालीगण्डकी करिडोर र एडीबी सडक पाए पश्चात विमानस्थल चल्ने वातावरण नबनेको होइन । पर्वत जिल्ला र बागलुङ नगरपालिका वडा नम्बर १४ जोड्ने यान्त्रिक पुल, बन्जी पुल झोलुङ्गे पुलको निर्माण सञ्चालनले विमानस्थल चल्नेमा स्थानीय ढुक्क थिए । विदेशीका सन्तानलाई लिन र विदेशीने आफन्तलाई आफ्नै घर छेउको विमानस्थलबाट स्वागत र विदाईका हात हल्लाउने स्थानीयको आशा कहिले पूरा होला हेर्नै बाँकी छ ।
विविध कारण र परिस्थितिले बन्द भएको विमानस्थललाई सञ्चालन र दीर्घकालीन स्वरुप दिन उपयुुक्त अभियान चलाउनु पर्ने दायित्व यस क्षेत्रका सामाजिक अभियान्ता, सरोकारवाला, उच्च पदस्थ नेता, समाजसेवी र सम्बद्ध नागरिकको पनि हो । तत्कालीन समयमा आर्थिक सहयोग रोकेको पालिकाले पनि पुनर्विचार गर्नुपर्छ ।
बागलुङ र पर्वत जिल्ला सदरमुकामबाट केही मिनेटको दुरीमा रहेको विमानस्थलले यात्रु नपाउनु त्यति जायज होइन नै, उचित मापदण्ड अनुरुपको भाडादर, नियमितता र पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सके विमानस्थलले अवश्य जीवन पाउथ्यो । यद्यपि यस क्षेत्रको प्रतिनिधित्व गर्ने मानिसहरु नै विमानस्थल सञ्चालनको वैपरित्यमा त होइनन् भन्ने शङ्का पनि उत्पन्न हुन्छ । यस क्षेत्रमा कालीगण्डकीमा बन्जी गर्ने स्काइ साइकलिङ गर्ने, कालीगण्डकीमै ¥याफ्टिङ गर्ने र मुक्तिनाथ दर्शन गर्ने हेतुले धेरै किसिमका पर्यटकहरु आउँछन् । यिनै पर्यटकहरूको आवागमनलाई बढावा दिने नीति कार्यक्रम सञ्चालन गर्न सके विमानस्थल सञ्चालन गर्न कुनै सकस पर्दैन भने, स्थानीय स्तरमा व्यापार व्यवसाय प्रवर्धन हुनेमा ढुक्क हुन सकिन्छ । तसर्थ जति सक्दो छिटो विमानस्थल सञ्चालनमा जोड दिनु आवश्यक छ ।




