बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दानवीरको दान र स्वर्ग जाने टिकट !

दानवीरको दान र स्वर्ग जाने टिकट !


  • सज्जन कुमार सिंह
  • मंसिर ३ २०८२, बुधबार

मलाई मनमा लागेको, आजसम्म मैले बुझेको कुरा खुलस्त राख्दै आएको छु । मलाई यस्तो लागिरहेको छ । हाम्रो समाज एउटा मुर्दाहरुको समूह हो । जो सत्य बोल्न डराउँछ । ऊ कहिल्यै सत्य बोल्दैन ।

समाजको ज्ञानबहादुर आफ्ना दिमागमा लागेको कुरा खुलस्त राख्न र भन्न पनि सक्दैन । बुद्विबहादुर आफ्नै वालमा आफ्नै दिमागको कुरा लेख्न पनि सक्दैन । किनकि उसलाई चलिआएको परम्पराको डरले रोक्छ । उ एउटा खालको भयमा छ । समाजका शिक्षित, विद्वान भनिएकाहरु पनि खुलेर सत्य बोल्न डराउँछन् । अधिकांशलाई यही खालको परिस्थिति र अवस्था फलिफाप भएको छ । उनीहरु त आखिर किन बोलून् ?

सत्य बुझेकाहरु पनि धर्म,संस्कृति, परम्परा र अनेकौं सम्बन्धको जञ्जालमा छन् । जसको कारण उनीहरु सत्य बोल्न र लेख्न सक्दैनन् । पत्रकारहरु केवल अरुले बोलेका कुरामात्र पत्रकारको भाषामा उतार्न व्यस्त छन् ।

विज्ञान पढाउने शिक्षक अन्धविश्वास सुनेर ताली बजाउन र नाच्न व्यस्त छन् । उनीहरुलाई यति थाहा छैन कि, उनीहरुको ज्ञान र विज्ञानको धज्जी कसरी उडेको छ भन्ने ।

देश र समाजलाई विकास र उन्नतिमा लैजाने कसम खाएर, माक्र्स, लेनिनदेखि संसारका अनेकौं ज्ञान हासिल गरेका स्थानीय नेताहरु पनि समाजको लक्ष्मणरेखा काट्न र आलोचनात्मक चेतलाई प्रयोगमा ल्याउन डराइरहेका छन् । किनकि, उनीहरुलाई चुनाव र भोटको डर छ । उनीहरु केवल आफ्नो स्वार्थ बाहेक अरु केही देख्दैनन् । कलाकार,साहित्यकार पनि एआइको शोकमा छन् ।

मलाई सानैदेखि एउटा विद्रोही चेतले झक्झक्याइ रहेको छ । मनमा लागेको र दिमागले सोचेको अनि विज्ञानले प्रमाणित गरेका कुराहरु राख्न म सधैं तत्पर भइरहे र यो प्रक्रिया सधँै रहनेछ ।

म यो पनि भन्छु – तपाईलाई मेरो विचारमा विमति हुन छुट छ । किनकि, सबैको विचारमा सबैको सहमति हुनैपर्छ भन्ने छैन । संसार नयाँ विचार र रहस्यको खोजीमा छ ।

अस्तिमात्रै बागलुङमा बृहत धार्मिक महायज्ञ सम्पन्न भएको छ । सडक मानवको उत्थानमा यो एउटा इतिहास बन्ने छ । मानवसेवाका लागि आयोजना गरिएको यो पवित्र कार्यको म सधैं सम्मान गर्छु । यो अभियानमा म सधैं सहभागी छु । र, सधैभरि रहन्छु । कसैलाई देखाएर प्रचार गरेर होइन, मानवीय सेवाको लागि म सधैं आफ्नो तरिकाले समर्पित छु । आजसम्म सयौं मानवहरुको जीवनलाई बचाउन, अन्यायमा परेकालाई न्याय दिन म लागिरहेकै छु । लागिरहन्छु, त्यो अवगत गराउँदछु ।

दृष्टिविहीन समाजलाई अघि बढाउन दीप बनेर अघि बढ्ने जिम्मेवारी हामीसँगै छ भन्ने पनि महसुस गर्ने समय आएको छ ।

मानवसेवा सबैभन्दा उत्कृष्ट कार्य हो । जुन देशमा सरकार कमजोर हुन्छ नि त्यो देशमा सचेत नागरिकले सरकारको जस्तै भूमिका निर्वाह गर्नुपर्छ । र, ती व्यक्ति समाज र साहराविहिनको नजरमा नायक बन्ने अवसर पनि पाउँछन् । उनीहरुमध्ये कोही गरिब नागरिकको उपचारमा लाग्छन् । कोही बस्ती र स्टेडियम बनाउन लाग्छन् । यस्ता धेरै पात्रहरु हाम्रो सामु उदाहरणका रुपमा छन् । जसमध्ये एक मानवसेवा आश्रमका अभियान्ता पनि हुनुहुन्छ । जसको सकरात्मक पहलमा बेसहाराले नयाँ जीवन पाएका छन् ।

तर, यो पवित्र कार्यमा पनि मेरो मनमा उब्जिएका केही प्रश्न मैले यहाँ राख्दै छु । यो कुनै कुण्ठा, आवेग र विरोध होइन । केवल बहसको लागि लेख्दै छु । आलोचनात्मक चेत आवश्यक छ । सकरात्मक बहस आजको अनिवार्य सर्त हो । किनकि, यत्ति लेख्ने आँट भएको विद्वान समाजले अझै जन्माउन सकेनछ । यो चाहिँ दुखको कुरा हो ।

पृथ्वीको उत्पत्ती ३.८–४.१ करोड वर्ष हुँदै २ मानव (होमो स्यापियन्स)को ३ लाख वर्ष अनि मानवीय दर्शन विकासको ३ हजार वर्षको अवधिमा धेरै विद्वान र दार्शनिकले धेरै दर्शन, विचार दिइसक्नुभएको छ ।

५ हजार वर्ष पुराना कथा, कथ्य र हावा कुरा आजको एआई युगमा पाच्य र सान्र्दभिक कति छ ? हामी यहाँसम्म आउँदा त्यही थोत्रा र (तत्कालिन) विकसित भएको मानव मस्तिष्कको एकोहोरो ज्ञान र कथा कति सान्दर्भिक छ ? उनीहरुको भ्रममा समाज अझै कहिलेसम्म ताली बजाइरहनु पर्ने हो ? यो प्रश्न मनमा खेलिरह्यो ।

के ती ज्ञान र कथा सुधार गरेर पढ्ने, फलाक्ने बेला अझै भएन र ? यस्ता मिथ्या वर्णन पढ्न, फलाक्न लाज मान्ने बेला अझै भएन र ? यो पनि मनले सोच्यो ।

एउटा भनाइ पढेको थिएँ– जब जुन समाजले विज्ञानलाई स्वीकार्दैन, त्यो समाज सबैभन्दा पछि पर्छ । कतै हाम्रो समाज र देश पछि पर्नुको प्रमुख कारणमा यो प्रश्न त मुख्य होइन ? किन हामी यस्तो गरिब छौं ? किन यस्तो दयनिय अवस्थामा छौ ? किन हामी संसारमा एक निरीह भएर उपस्थित छौँ ?

यसको उत्तरमा हाम्रो दिमागमा चलेको गलत सोच र गाडिएको गलत शिक्षा त हैन ? त्यो शिक्षा र विचारको मूल यही अन्धविश्वास र आडम्बरी ज्ञान त होईन ?

किन आज पनि हाम्रो समाजको सोच गतिशील छैन ? किन आलोचनात्मक चेतको विकास गर्न समाज पछि परेको छ ? किन बाउले बिरालो बाँधेर श्राद्ध गरेको कथाको कारण नबुझी निरन्तर त्यही कथा अघि बढ्दै छ निरन्तर निरन्तर ? किन समाज यथास्थितिमा रहन चाहन्छ ? किन यो समाज भ्रममा बाँच्न चाहन्छ ?

मानवता प्रवद्र्धनको अभियानमा कुनै एक धर्म प्रचारको हतियार किन जरुरी भयो होला ? के तपाईको मानवसेवा आश्रममा बुद्व धर्म मान्ने, मुस्लिम, क्रिश्चियन मान्ने या त नास्तिक मान्छे छैनन् ? यो प्रश्नले फेरि अभियान्तालाई कतै धार्मिक पक्षधरताको प्रश्नमा जबरजस्त फालिम त गराएको छैन ? यसको भित्री पाटो के हो ? बाध्यता वा अरु केही ?

आजको समाजलाई यथास्थितीमा राख्ने काम कतै यी र यस्तै कामले भएका त छैनन् ? प्रश्न यो पनि मनमा आयो ।

उद्देश्य धेरै राम्रो देखाएर खराब नियतको नाटक धेरै हुन्छन् । कतै यस्तै–यस्तै त भएको छैन, भित्रभित्रै मनले यी र यस्तै कुरा पनि सोचिरह्यो । तर, त्यस्तो नहोस् ।

विज्ञानले विकास गरेको भौतिक सुविधा सबैभन्दा बढी प्रयोग गरेर समाजलाई अन्धकारमा लैजाने मिथ्या ज्ञान बाँड्न खोज्नेहरु नै यो युगका सबैभन्दा ठूला अपराधी त हैनन् ? कि हामीले त्यस्ता अपराधी चिन्न ढिला त गरेनौं ? कतै हामीले उनीहरुलाई नै नायक त मानेका छैनौ ? यो पाटो तपाईंले कहिल्यै सोच्नु भएको छ ?

आज लाख–लाख पैसा हाल्नेको चर्चा छ । उनीहरु त अब सिधै स्वर्गमा जाने भए नै । पैसा हालेकाहरुको स्वर्गको टिकट लगभग कन्फर्म भएको घोषणा भयो । जसले दान हाल्न सकेनन् विचरा ! उनीहरु अब नर्कमा जाने नै भए । यो पनि त निश्चित भयो नै हगि ! विद्वानको भनाइ अनुसार गलत कर्मको कारण पुर्वजन्मको फल पाएकाहरु अझै दुखमा पर्नु नै पर्ने भयो । विचरा पुर्व जन्मका पापीहरु । ११ सय वर्ष एकादशीको ब्रत बसेर झिंगाको जीवन पाएकाहरु ।

मेरो धेरै सम्मान छ ती दानवीर जसले मानवसेवामा लाखौं लाख सहयोग गरेका छन् । बडो उच्च शिर पारेर आफ्नो सहयोग देखाएका छन् । तर, तपार्इंको दिमागले कतै यो प्रश्न त गरेको छैन ? ती लाखौं रकम दान गर्नेको आर्थिक उन्नतीको रहस्य के थियो ? उनीहरुको दुई पुस्ता अघि जाँदासम्म पनि पत्ता लाग्छ कि, कतै ती व्यक्ति (दानवीर) भ्रष्टचारी पो थिए कि ? भ्रष्टाचारको कालोधन पो यहाँ वैध हुँदै छ कि ? जातीय र धार्मिक अर्थ राजनीतिको संरक्षणमा हुर्किएका, बढेका पो छन् कि ? तत्कालीन राजा महाराजाको जग्गा, सुन–धन बक्सिस पाएका र काट्टो खाएकामध्येका पो कि छन् कि ? कालोधन बटुलेका सरकारी कर्मचारी र राष्ट्रसेवक पो हुन् कि ? कृतिम अभाव सिर्जना गरेर कुम्ल्याएका व्यापारी र जग्गा दलाली पो थिए की ? सुनको कालो कारोबारी पो थिए कि ? मठमन्दिरको पवित्र धनमा लामो हात गर्ने धर्मबिरुहरु पो थिए कि ? नक्कली पिच र काम गर्ने ठेकेदारहरु पो थिए कि ? कालिगण्डकी दोहन गर्ने, गण्डकीलाई डम्पिङ साइड बनाएर पवित्र गण्डकीको पानीमा दिसा फाल्ने पो थिए कि ? बोर्डिङ स्कूल चलाएर गरीबको धन लुटेका लुटेराहरु पो थिए कि ? सहकारीलाई परिवार र आसेपासेको पेवा बनाएका र जनता लुटेका लुटरा थिए कि ? कतै जिम्बाल, बाहुसायब खलक कै पो थिए कि ? समाजलाई कुनै न कुनै रुपमा लुटेको वर्ग पो हो कि ? आखिर को थिए ? हाम्रो खोजीको विषय होईन ?

ती दानबिरमा मजदुर थिए कि ? गिटी, बालुवा कुट्दा हात पनि कुटिएका १÷१ रुपैयाँ जम्मा गरेका दानवीर पो थिए कि ? पुराण, भागवत सुन्ने फलाम तताएर कानमा हाल्नुपर्ने जातका मान्छे पनि पो थिए कि ? या त दुखसुख गरेर, छलछाम बिना संघर्ष गरि खुल्ला मनले सहयोग गर्ने थिए ? तपाईं हाम्रो मनले यो पनि सोचिरहेको होला नि । लगभग अधिकांस मान्छे त्यस्तै त्यस्तै थिए ।

चोखो मनले सहयोग गर्ने आम मान्छे कति थिए ? मोक्ष पाउने आशमा पाप पखाल्ने र नर्क जाने डरमा दान दिने कति थिए ? वडाले जबरजस्त १ हजार अनिवार्य गरेका नागरिक कति थिए होला ? मलाई जस्तै कसैको मनमा यी कुरा आयो कि आएन होला ?

ती दानवीरहरु जो हजारौं मान्छेको भिडमा मानवताको सबैभन्दा पवित्र कर्ममा आफ्नो आडम्बरको प्रदर्शन गरेर लुटको कर्मलाई चोख्याउँदै पो थिए की सामाजिक प्रतिष्ठाको नयाँ सम्मान पो थाप्दै थिए कि ? प्रश्न धर्मको मात्र होइन ‘काम गर फलको आश नगर’ भनेर हप्ता दिनमा २० लाख बढी कुम्ल्याएर जानेहरुका लागि पनि हो । प्रश्न उनीहरुको लागि पनि हो जसले गलत विचार सुन्न कलिला बालबालिकालाई जबरजस्त बाध्य बनाएका छन् ।

नेपालमा धर्म केवल एक व्यापार हो । यो सबैभन्दा ठूलो राजनीति हो अनि जनतालाई सधैं अन्योल र अस्तव्यस्त बनाउने सबैभन्दा ठूलो हतियार हो ।

धर्म एक भ्रमको व्यापार मात्र होइन,यो त समाजलाई यथास्थितीमा राख्ने, कपोलकल्पित कथा र ईश्वरको मिथ्या वर्णन दिएर मानिसमा भ्रम र भाग्यवादको बीउ रोप्ने दरिलो माध्यम हो । पुनर्जन्मको पापको कारण आजको दिन भोग्नुपरेको विश्वासमा खप्प्पर भित्तामा ठोकेर बस्ने दयनीय अवस्था हो ।

निश्चित धर्मका व्यापारी पूज्य हुने, कुनै उद्देश्य राखेर मज्जासँग कुम्ल्याउने र स्वार्थ पूरा गर्ने ‘महाभारतमा वर्णन गरिए जस्तै सकुनी पासा वा एउटा कुटिल चाल पनि हो कि ?

हाम्रा ऋषिमुनीले आर्जन गरेका रैथाने ज्ञान, संस्कृति, धार्मिक ग्रन्थमा भएका वैज्ञानिक र समय सुहाउँदो ज्ञान सबैतिरको धारण गर्रौं । मन आनन्द गर्ने ध्यान गरौं, योग गरौं । तर, हरेक भ्रमपूर्ण ज्ञानमाथि विचार राखौं, दृष्टिकोण बनाऊँ । तपाई हाम्रो ज्ञान र सिकाई अझै यस्तो नहोस् – श्राद्धमा बाउले बाँधेको बिरालो जस्तो । जदौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->