बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लुम्बिनी यात्रा भाग – १

लुम्बिनी यात्रा भाग – १


  • माधव चापागाईं
  • मंसिर ७ २०८२, आइतबार

शरदकालीन समयको उत्तरार्ध कार्तिकको अन्त्य र मङ्सिरको उदय संगसंगै हुँदै थियो । विद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण विशेष प्रतीक्षाको घडी समाप्त भएर होला उनीहरु निकै प्रभुल्लित देखिन्थ्ये । बिहान बेलुकाको चिसोले दिन निकै रापिला बन्दै थिए । बिहान ६ बजे समय निर्धारण गरिए पनि भ्रमण दलमा सहभागी सबै उपस्थित हुँदा करिब ६ः३० बजेको थियो । विद्यार्थीहरुको नामावली फोन नम्बर र विद्यालयको चिठी निर्माणमा प्रिन्सिपल सर र लेखापाल मिस खटिनु भएको थियो । उपस्थित शिक्षकशिक्षिका र अभिभावक ज्युहरु विद्यार्थी भाइबहिनीहरुलाई बिदाइका हात हल्लाउन आतुर हुनुहुन्थ्यो । त्यति नै बेला पञ्चासे सिद्धवराह लेखेको बस विद्यालय गेटमा अडियो । विद्यार्थीहरु चिच्याएर गाडीलाई स्वागत गरे । एकातर्फ अघिपछि झोलामा किताब, कपि र कलम बोकेर ९ः३० बजे विद्यालय आउने विद्यार्थीहरु त्यस दिन व्यक्तिगत कपडाले भरिभराउ गह्रौं झोला बोकेर आउँदा पनि खुशी देखिन्थ्ये । किनकी उनीहरु अध्ययनभन्दा पृथक कार्यमा जुटिरहेका थिए । अहिलेका केटाकेटीहरु प्रायः स्वतन्त्र हुन चाहान्छन् । मानौं उनीहरु कसैको दबाबमा बस्न रुचाउदैनन् । अर्कोतर्फ हामी बुद्धको जन्मस्थान जाँदै थियौ । जहाँ संसारका मानिसहरूले शान्तिको कामना बोकेर पुग्छन् । बुद्धप्रति श्रद्धाभाव व्यक्त गर्छन् । हिन्दु धर्ममा भगवान् विष्णुको नवौं अवतरण स्वरुप अवतरित सजिला देवतामा बुद्ध भगवान पर्नुहुन्छ । जसलाई श्रद्धा भाव र आत्मिक शान्तिको भावले पूजा गर्न मिल्छ । त्यसैले बुद्ध सजिला देवता हुन् । किनकी उनलाई अन्य देवतालाई झै षोडशोपचार लगायतका पुजा सामग्री चाहिदैनन् । मात्रै भक्ती भाव र स्वच्छ, शान्त मन भए पुग्छ । विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने एसियाका तारा, नेपालका पहिचान, शान्तिका अग्रदुत भगवान गौतम बुद्ध अर्थात् सिद्धार्थ गौतको जन्मस्थान पुग्ने हाम्रो रहर अन्ततः कार्तिक २७ गते बिहान ७ बजेबाट प्रारम्भ भयो ।

गुरु जी (ड्राइभर)ले कालीगण्डकी करिडोरको बाटो भएर जाने स्याङ्जाको बाटोमा दुरी टाढा पर्छ भन्ने भाव अभिव्यक्त गर्नु भो, म आफू बागलुङदेखि करिडोरको बाटो भएर बरेङ गाउँपालिकासम्मको यात्रा पटकपटक गरेकाले त्यहाँसम्मको बाटो झर्लक्क सम्झिए । अझै मेरो गाउँ भनौं या जन्मक्षेत्र बलेवा र आफ्नै वडामा गाडी पुग्ने भएकाले मन रोमाञ्चित बन्यो । ड्राइभरलाई स्वीकारोक्तिमा मुन्टो हल्लाए । भ्रमण दलमा सहभागी एकतीस विद्यार्थीसहित ४ जना सर मिस भएर हामी सबै गाडीमा चढ्यौं । लगत्तै ह्रर्न बजाउँदै विद्यालयबाट अगाडि लागेको हाम्रो गाडीले बागलुङ कालिका मातालाई दाहिने छाडेर मालढुङ्गा हुँदै बलेवा एयरपोर्टमा पुग्यो । विमानस्थलले दशकौंदेखि विमान पर्खिरहेको थियो । पर्वत बागलुङ जोड्ने बञ्जी, यान्त्रिक र झोलुङ्गे पुलसंगै बलेवा कालभैरवको दर्शन अवलोकन गर्न मिल्ने यो रमणीय स्थान देखेर विद्यार्थीहरु निकै खुशी भए । मैले जानेसम्म त्यहाँको प्राकृतिक, साँस्कृतिक र धार्मिक विषयवस्तुका बारेमा जानकारी गराए । विद्यार्थीहरुलाई त्यहीँबाट बलेवा कालभैरवको दर्शन गर्न आग्रह संगै आजै हामी पाल्पामा रहेका कालभैरव परिसरमा पुग्ने जानकारी पनि गराएँ । मैले केही समय अगाडि कालभैरवको उत्पत्ति विषयक लेख लेखेको थिएँ । त्यतिबेला बुढापाका बुबाहरुसंगको भलाकुसारीमा नेपालमा ३ वटा भैरव मन्दिर रहेको, बलेवाका भैरव र पाल्पाका भैरव सहोदर दाजुभाइ रहेको कुरा अवगत भएको थियो । साथै, अर्का भैरव पुर्वतिर छन् रे ।

हाम्रो यात्राले बिस्तारै गति लिंदै थियो । यहिं ठाउँबाट पक्की सडक सुरु हुने भएकाले मैले सहज यात्राको महशुस गर्दै थिए । बसले एक टकसंग आफ्नो यात्रा अगाडि बढाइरहेको थियो । करिब ८ बजे जैमिनीघाटमा पुगियो । पुरानो नाम शङ्खे ढुङ्गा भए पनि प्राचीनकालमा वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको तपोभूमिका रुपमा यस ठाउँलाई लिइन्छ । गाडी रफ्तारमा दौडिरहेको थियो । हाम्रो उर्जाको प्रथम स्रोत सूर्यको प्रकाशले बेला बेलामा हामीलाई स्पर्श गथ्र्ये । सूर्यको प्रकाश तेज भएर होला विद्यार्थीहरु उर्जावान् बन्दै थिए । बाटोको दायाँबायाँ कृषकहरुले कार्तिके आत्तुरीलाई स्वीकारिरहेका थिए । कहिं फाँट, कहिं घुम्टी, कहिं पहाडका छेड अनि कहि सिधा बाटोमा ना २ ख ३६२७ नम्बरको डिलक्स बसले गति लिइरहेको थियो ।

विद्यार्थीहरु घरमा प्रायः मोबाइलबाट टाढा हुन्छन् । अभिभावकले भएसम्म मोबाइल चलाएर समय खर्चिन नदिने भएकाले होला । प्रायः विद्यार्थीहरु मोबाइलमा व्यस्त थिए । दुइचार जना भाइबहिनीहरुले दोहोरी गाउँदै थिए । केही समय गाडी लाग्यो भनेर टोलाएकी सगुन वाइवा बहिनीले निश्चल, सुसान, अनुशा र करुणाहरुको दोहोरीमा नृत्य गर्न थालिन् । स्वरमा स्वर मिलाउँदै बहिनीहरुले “दिन उज्यालो घाम लाग्ने सुनेर, दिम्ला टोपी कुरुसले बुनेर’’ गोर्खा मनकामना …भन्ने टुक्का निकाले । मेलिना थापा मिस र सङ्गिता मिसले पनि बहिनीहरुलाई साथ दिन थालेपछि प्रदिप सरलाई नाच्न आग्रह गर्दै भाइहरुका तर्फबाट म आफैंले “भयो भयो भो भयो चाइदैन, जोवन साट्न टोपीले पाइदैन’’ भनेर गीत फर्काएँ । “हेर हेर हेरेर टर्दैन, बोल्दिन भो फकाउन पर्दैन’’ जस्ता गीतहरुले गाडीमा रमाइलो गर्दै बेलबगर, धुस, गुल्मीको मुल्क, अर्बेनी हुँदै हाम्रो पहिलो अवलोकन स्थल मिर्मी पुग्यौं । त्यहाँ पुग्दा गायक पुरुषोत्तम न्यौपाने र शर्मिला गुरुङले गाएको “मिर्मी मुनि काली थुनेको अन्तै माया लाइछौ रे मायाले साँच्चै हो कि हल्ला सुनेको’’ बोलको गीत याद आयो । कालीगण्डकी गाउँपालिका १ हर्मिचौरको भ्युपोइन्टमा पुगेर मिर्मी आसपासका क्षेत्रको अवलोकन ग¥यौं । नेपालको नक्सामुनि भगवान शिव र गौतम बुद्धको चित्र निर्माण गरिएको रहेछ । त्यहीँ बसेर एउटा सामुहिक तस्बिर लियौं । सामुहिक यात्रामा एक्लो फोटो खिच्दा अन्य साथीहरूले नराम्रो मान्लान् भन्ने डर मलाई पहिल्यैबाट लाग्थ्यो । त्यसमाथि एउटै पोशाक, स्थान र स्थितीमा दोहो¥याएर फोटा खिच्ने आदत म मा कहिल्यै पलाएन । हामी फोटो खिचिरहेकै स्थान भनौं या प्रतीक्षालयमा एउटा मर्म स्पर्शी श्लोक रहेछ । धेरै पटक आवृत्ती गरे, अन्ततः मोबाइलमा कैद गर्न बाध्य भएँ । सुकिला अक्षरमा लेखिएको “म मूर्ख हुँ त्यसैले बस्ने स्थानमा बस्दैछु’’ भन्ने वाक्यले मलाई निकै सजग गरायो । मन छोयो । सबै जनालाई श्लोक पढ्न आग्रह गरेँ । भ्रमण टोलीले अधिक रुचाउने ठाउँ रहेछ क्यार त्यो स्थान अन्य गाडीका मानिसहरूको बाक्लो उपस्थिति भएपछि त्यहाँबाट अगाडि लाग्यौं । नदिको तट नजिकै पुर्तिघाटको बजार रहेछ । हाम्रो गाडी केही माथिबाट हिंड्दै थियो । गुरु जिलाई बागलुङबाट हिंड्दै गर्दा यो बजारको बारेमा जिज्ञासा राखेको थिए । पुरानो समयमा हाम्रो क्षेत्रका अधिकांश मानिसहरूले यहीं बाटो भएर सामल खरिद गथ्र्ये रे ! बटौली, सेतीदोभान, रिडि र पुर्तिघाट त्यस बेलाका मुख्य बजार थिए अरे, हामी सानो छँदा बाबा लत्ताकपडा र घरायसी सामान लिन पुर्तिघाट र बटौली जानू हुन्थ्यो रे । घरमा वृद्ध बाबाहरु जम्मा हुँदा यहीँ ठाउँको कुरा गर्नु हुन्थ्यो । त्यति बेलादेखि नै यो बजारको बारेमा जान्न चाहेको थिए । गुरु जिले आज माथीबाटै बजार देखाइ दिनु भो । बजारलाई देउरे छोडेर हामी हर्मिचौरका स–साना पसलनेर पुग्यौं । पसल देखेर होला विद्यार्थीहरुले भोक लागेको जानकारी गराए । गुरु जीलाई होटेलको व्यवस्थापनका लागि सुझाएको रिडी बजार पुग्नुपर्ने कुरा गर्नु भो, अघिल्लो दिन प्रिन्सिपल सरले बाटोमा हिंड्दा खाजा खाने मेसो के कस्तो हुन्छ, मेसो पर्ला नपर्ला भनेर दुई चार काटुन चाउचाउ र पानी राख्नु होला भन्नुभएको थियो । मनमनै अहिलेको जमानामा पनि के चाउचाउ पानी बोकेर हिंड्नु जस्तो लाग्याथ्यो । तै पनि स्विकारोक्तिमा मुन्टो हल्लाएर सामान लिन गएको थिएँ । आज तिनै सामानले निकै राहत दिए । सम्झिए आफूभन्दा ठुलाले भनेको मान्नु पनि ठूलो समस्याबाट उम्किनु रहेछ । सरलाई पुनः धन्यवाद दिँदै चाउचाउ र बिस्कुट बाँड्यौं । विद्यार्थीहरु खुशी भएको देख्दा निकै आनन्द लाग्यो । घरमा छोरोले भात खाएको देख्दा खुब रसिक लागेर हेर्थे । उस्ले कचौरा रित्याउँदा मन अघाउथ्यो । आज विद्यार्थीले पानीसंग चाउचाउमा खुशी साटेको देख्दा मन प्रफुल्लित भयो । उनीहरुले खाएको देखेर नै मेरो भोक मेटियो । सन्तानको खुशी एउटी आमा भोकै बस्न सक्छिन भन्ने सुनेको थिए । आज आफै आमाको रूपमा उपस्थित भएको अनुभव भयो । हुन पनि ती बालबालिकाको को पो थियो र हामी बाहेक, विद्यालय र आमाबाबुले हामीलाई नै जिम्मा लगाएर पठाउनु भएको थियो । अझै त्यसमाथि पृन्सिपल सरले यो वर्षको भ्रमणमा पुरापुर जिम्मेवारी मलाई नै दिएर बिदाई गर्नुभएको थियो । अघिल्ला वर्षहरूमा आफू भन्दा उपल्लो तह, जिम्मेवारी र उमेरका सर म्याडमसंग भ्रमणमा सहभागी हुने गरेकोले सजिलो हुन्थ्यो । परन्तु यस पटक शिक्षक विद्यार्थीमा उत्पन्न हुन सक्ने सम्भावित समस्याको जिम्मेवारी महशुस भएको थियो । यस्तै समस्या र असहजताका लागि भनेर अघिल्लो दिन नै सरसंग भनेको थिए । मिसहरु को–को जाने, पठाउने हजुरले तय गर्नुहोस् । परन्तु सर चाहिँ मेरो रोजाईको हुनुपर्छ । सरले मेरो प्रस्तावलाई सहर्ष स्वीकार गर्दै प्रदिप सरलाई जाने अनुमति दिनुभएको थियो । जुन निर्णयबाट म अधिक खुशी भएको थिए । मैले करिब ९ वर्ष उहाँसंग भनौ या उहाँको अन्डरमा काम गरे÷गरिरहेको छु । शिक्षक, विद्यार्थी र प्रशासनका बिच कुनै प्रकारको बाधा अड्चन उत्पन्न भएको सम्झना छैन । बाह्य समाजमा कुशल शैक्षिक एवं सामाजिक व्यक्तित्वको परिचय कमाउनु भएको उहाँ उमेरले पाँच दशक पुगे पनि जोस जाँगर र नेतृत्व गर्ने क्षमतामा पटक्कै कमि छैन । म आफू संस्कृत पृष्ठभूमि भनौं या नीतिशास्त्र अध्ययन गरेको भएर होला । उहाँमा छुट्टै गुण देख्छु । जुन गुण र प्रेरणाले समाजमा छुट्टै अस्तित्व जमाउन सक्नेमा विश्वस्त छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->