…हामी सत्यवती गाउँपालिका शिला मन्दिर दर्शन गरी सत्यवती जाने मार्गलाई दायाँ छाडेर कालीगण्डकी र रुद्रमतीको सङ्गम रुद्रवेणी पुग्यौं । निशीभुजीको शिरमा रुद्राक्षको बोटनेरबाट मुल उत्पन्न भएको र रुद्राक्ष झर्दा मुलको पानीमा पर्ने भएकाले त्यो खोलालाई रुद्रमती भनिएको रहेछ । त्यहीँबाट पुल तरेपछि रुरु गाउँपालिका (रुरुक्षेत्र) प्रवेश गरियो । स्याङ्जा हुँदै बुटवल जाने नागबेली सडकको विकल्पमा परेको कालीगण्डकी करिडोर पनि उस्तै झल्को दिने रहेछ । म पहिलो पटक यात्रा गरिरहेको यो सडकखण्डमा क्याविनबाट अगाडिका दृश्यहरु नियालिरहेको थिएँ । त्यतिकैमा सडक छेउमा उभिएको मन्दिर देखेँ । नाम हेर्दा अचम्म लाग्यो । गाडी रोक्न लगाएर सबै विद्यार्थीलाई भगवानको दर्शन गर्न लगाए । मन्दिरको गेटमा अचम्मेश्वर मन्दिर लेखिएको थियो । गाडीले रिडीको बजार भेटाउने तरखर गर्दै थियो । बिहान करिब १०ः३५ बजे रिडी पुग्यौं । त्यहाँ रहेको निकै आकर्षक तीनमुखे पुल तालखोलो, कालीगण्डकी र रिडी खोलाको सङ्गममा बनेको रहेछ । विद्यार्थीहरुलाई पुलमा पु¥याएर हामीहरु खानाको प्रबन्धमा लाग्यौं । होटेल क्राउनबाट होचो कदमा पुट्ट भुँडी बाहिर निस्किएका एक जना दाजु निस्किनु भो, सधैं चिनेजानेका मान्छेलाई झै के छ ? हजुर आराम हुनुहुन्छ ? कहाँदेखि आउनु भो ? भन्दै साइनो लगाउनु भो ? गाडीको नजिकै उभिएको मैले ब्यानरतर्फ सङ्केत गरे । विद्यालयबाट निस्किने बेलामा दिपक दाइले गाडीको अगाडि न्यू एभरेष्ट एकेडेमी नामसङ्गै बागलुङदेखि लुम्बिनीसम्म लेखिएको ब्यानर टाग्नुभएको सम्झिएँ । मेरा नजरलाई पिछा गर्दै दाजुले व्यानर हेर्नू भो र पाल्पाको रानीमहल हेर्न नछुटाउनु होला भनेर सुझाउनु भो, हामीले मुन्टो हल्लायौं । निकै मिजासिलो स्वभावका उहाँले म फ्रेस खाना बनाउँछु । तपाईंहरु यहाँका प्रसिद्ध ऋषिकेश, गायत्री, मणिमुकुन्देश्वर, रुरुकन्या र हनुमान मन्दिर दर्शन गरेर आउनुहोस् भन्नू भो, उहाँका सम्पूर्ण कुरालाई स्वीकार गरी हामी पुलतर्फ लाग्यौं ।
नेपालको नमूना पुलको नामले परिचित तीनमुखे पुलले गुल्मीको रुरु गाउँपालिका, पाल्पाको ऋषिकेश मन्दिर र स्याङ्गजाको कारीकोट जोड्ने रहेछ । यहाँको रमणीय वस्तुस्थितीमा केही समय बिताएर होटेलमा खाना खायौं । त्यहीँबाट गुल्मी जिल्लालाई बिदाइ गरी पाल्पाको रानीमहल हेर्ने उच्च अभिलाषा बोकेर अर्तुङगलको जङ्गल हुँदै ओरालो लाग्यौं । जति अगाडि बढ्यो उति नै गाडीको चाप बढ्दो थियो । केटाकेटीहरुले भ्रमण आएका गाडी देख्दा बित्तिकै सुसेलेर बोलाउँथे । प्रायः भ्रमण हिंड्ने विद्यार्थीहरुको स्वभाव मिल्दो भएर होला दुबै गाडीमा सवार विद्यार्थीहरु खुशी हुन्थे । रानीमहलबाट बतासेडाँडा (कैलाशटार) हुँदै पाल्पा कालभैरवको दर्शन गर्न पुग्यौं । दिन तन्नेरी भएर होला सूर्यको प्रकाशबाट डराउनु पर्ने अवस्था थियो । बाटोको वरिपरि स–साना पसलबाट रोट लैजानुहोस् हजुर । भगवानको प्रसाद जीवनमा एक पटक आइन्छ हजुर ! लिनोस् नरिवल चढाउनु होस् भन्दै व्यापारीहरु स्वागत गरिरहेका थिए । यो सुन्दा बागलुङ कालिका मन्दिरको गेटमा रहेका पसलको सम्झना आयो । यहाँ पनि त्यस्तै शैलीमा बोलाउँदा रहेछन् । आउनुस् हजुर ! मेरोबाट सामान लैदिनुहोस् । सस्तोमा हजुर । भगवानको प्रसाद हजुर ! पूजा सामग्री सबै छ हजुर आउनुस् भनेर बोलाएको याद आयो । एउटा पसलमा पुगेर नरिवल किने, पसलेले त्रिशुल र रोट किन्न औधी कर गर्दै थिए । एक जना काठमाण्डौंबाट आउनुभएको दिदीले रोट किनीदिनु भयो उनी केही खुशी भए । त्यहाँ फलामको त्रिशुल चढाउने प्रचलन रहेछ । सम्झेँ बागलुङमा देवीलाई रुद्राक्षको माला चढाउनु भनेर बिक्री गर्छन्, यहाँ त्रिशुल । आखिर धार्मिक विकृति पनि कति कति रोट भनेर रोटी बेच्या छ । शिवलाई त्रिशुल त ठिकै होला दुर्गालाई रुद्राक्ष के गर्ने ? पाप धर्म उनैलाई मन बुझाएँ । मैले खाना खाएर गएकाले नरिवल मात्रै चढाउने विचार गरेको होइन । रोट बनाउँदा चोखोनिष्ठ हुनुपर्छ । शारीरिक शुद्धतामा रहेर निश्चित चामलको पिठोलाई एक ढेउवा गाइको घ्यूमा नरिवल, ल्वाङ, सुकमेल, मह, सख्खर र रचना मिसाएर तयार गरिनु पर्छ । अन्यथा तेलमा पकाएको रोटीलाई मैले कसरी भोग लगाउनु ? यस्तै प्रश्नहरू मनमा खेलाउँदै मन्दिर पुगेँ । नरिवल फोडेर विद्यार्थीहरुलाई प्रसाद स्वरुप वितरण गरेँ । दिउँसोको गर्मीले आत्तिएका उनीहरु चिसो नरिवल पाएर रमाए । मनमनै मेरा भगवान खुशी भएको परिकल्पना गर्दै त्यहाँबाट फर्किएँ ।

हाम्रो गाडी तानसेनतर्फ हुईंकिदै थियो । मेरो मनमा झलकमान गन्धर्वको ‘तानसेन घमाइलो जता निरमाया उतै रमाइलो’ बोलको गीतले स्थान पायो । दिन छिप्पिएर धर्ती मलिन बन्दै थियो । हामी ढिलागरी पाल्पाको टुडिखेल पुगेकाले यो गीतलाई मौसमले त्यति साथ दिएन । करिब ४ः३० बजे तानसेन बजारका ससाना गल्लीबाट पाल्पा दरबार पुग्यौं । दरबारको स्थूल द्वारबाट प्रवेश पाएका हामीहरु केही समय संग्रहालय अवलोकन गरेर साँझ ६ बजे वर्तुन हुँदै बुटवलको लागि अगाडि बढ्यौं । सिद्धबाबाको मन्दिर र सुरुङलाई गाडीबाटै दर्शन अवलोकन गरेर तिनाउ खोला तरी बुटवल उपमहानगरपालिका प्रवेश ग¥यौं । बुटवलको झिलीमिली बजारमा दौडिरहेको बसबाट विद्यार्थीहरुको आवाज गुञ्जियो । बजारमा ओहोरदोहोर गर्ने मानिसहरुले एक नजर दिए । सडक सौन्दर्यका साथमा देखिने सुन्दरताले हामी नेपाली पनि सम्पन्नताको मार्गमा अगाडि बढेको भान मात्रै भएन । हामी सवार गाडी त्यहाँ दौडिदा विकसित नेपालको छुट्टै संसारमा हिंडे जस्तो लाग्थ्यो । दुईतर्फी ६ लेनको बाटोमा गाडीहरू रातासेता बत्तीहरु अघिपछि बालेर एकले अर्कालाई पछ्याइरहेका थिए । केही समयको अन्तरालमा भैरहवाको सहारा होटेल अगाडि पुगेर गाडी रोकियो । बिहान बागलुङदेखि नागबेली सडकको सामना गरेर थकित भएका हामीहरुले खाना खाएर त्यस दिनको यात्रालाई टुङ्यायौं ।
कार्तिक २८ गते अर्थात् हाम्रो भ्रमणको दोस्रो दिन बिहान बाटोमा गाडीहरू हिंडेको आवाज सुनिइरहेको थियो । कोठाभित्रको धुर्मुरो उज्यालोमा म करिब ५ः३० बजे उठेर नित्यकर्ममा लागेँ । अर्को बेडमा मस्त निद्रामा सुतिरहनु भएको सरलाई जगाउन मन लागेन । विद्यार्थीहरु जागिसकेको भान भयो । उनीहरु त यात्राको तयारीमा जुटिसकेका रहेछन् । अहिलेका केटाकेटीहरु घुम्न पाएपछि २ दिन नसुतौं भनेनी मान्छन् । मैले सानैदेखि गर्दै आएको सन्ध्याबन्धनादी कार्य छोडेको थिइन । झोलाबाट पञ्चपात्रो र माला झिकेर गायत्री मन्त्र जप गरेँ । हरेक बिहान हनुमान चालिसा पाठ गर्ने मेरो आदतले निरन्तरता पाइरहेको थियो । मेरो आवाजले होला प्रदिप सर पनि उठ्नु भो । करिब ७ बजे होटेलका सम्पूर्ण काम सकेर गाडीमा चढ्यौं । गाडीले पुनः आफ्नो गति लियो । मानौं सबै चोकको नाम नै गौतम बुद्ध चोक हो भनेझैं गरेर हरेक चोकमा बुद्धका प्रतिमाहरु स्थापना गरिएको रहेछ । पुष्प बाटिकाले साँध लगाएर सुन्दर बनाइएको बाटोमा गाडी दौडिरहँदा हामी सबै शान्त थियौं । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मठाउँ भएर होला त्यहाँका बजार, बाटो, घर र मानिसहरू सबै सबै शान्त देखिन्थे । त्यतिकैमा हाम्रो गाडी नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक भएको चोकमा पुगेर देब्रे मोडियो । देवकोटाको प्रतिमा देख्दा उनको दुई श्लोकी कविताको स्मरण भयो । ‘घनघोर दुख सागर जान भाइ, नगरे घमण्ड कहिले मर्नु छ हामीलाई’ सङ्गै छेउमा बसेका भाइहरुले काठमाण्डौंको डिल्ली बजारमा जन्मिएका देवकोटा यहाँ आएर बसेका रहेछन् भन्दै हाँसो गरे । सम्झेँ देवकोटाबाट अपरिचित हो पो होला र नेपालमा, अर्कोतिर यी विद्यार्थीहरुलाई केही समय पहिले देवकोटाको जिवनी पढाएको थिएँ । उनीहरुलाई पढाइको पुर्नताजगीकरण भयो ।
लुम्बिनी क्षेत्रमा प्रवेश गरेपछि खाजा र खानालाई विलम्ब हुने ठानेर पर्सा चोकमै खाजा खाई खानाको समेत व्यवस्थापन पश्चात् हामी अगाडि बढेका थियौं । लुम्बिनी मन्दिर क्षेत्रमा पुगेपछि अटोको सहायताबाट विभिन्न देशका मन्दिरको दर्शन अवलोकन गरी मायादेवीको मन्दिरमा पुग्यौं । विश्वका सबै मानिसहरू शान्तिको खोजीमा आए जस्तो लुम्बिनी दर्शनार्थी र पर्यटकले भरिभराउ रहेछ । नजिकै मायाको चिनो पसल गर्ने दाजुलाई सोधेँ, के सधैं यस्तै भीड हुन्छ यहाँ ? भीडलाई लक्षित गर्दै उहाँले पानको बुजोसंगैको मुखबाट आवाज निकाल्नु भो, हँ सिजन चलिरहेछ भ्रमणको हजारौं मान्छेले मन्दिर हेर्छ हरेक दिन रस्ता खुब चलिरहेछ नि, मानिसको हुल छिचोली साध्य थिएन । हामीले टिकट लिएर करिब एक घण्टा उभिएरपछि मन्दिरमा प्रवेश पायौं ।
मन्दिरमा हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरू भ्रमण गर्ने गरेको यथार्थ हामीसामु थियो नै, धार्मिक तथा ऐतिहासिक पृष्ठभूमिमा पनि विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि पनि यो स्थान महत्वपूर्ण छ । बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थलका बारेमा यावत् विषयवस्तु समेटिएका छन् । तिनै विषयमा साक्षात्कार गर्ने विद्यार्थीहरुको प्रतीक्षाको घडी समाप्त भएको थियो । मायदेवीको मन्दिरबाट उनीहरु प्रसन्नता र गाम्भिर्यता मिश्रीत भाव समेटेर निस्किएका थिए । मन्दिर आसपासमा स्वदेशी तथा विदेशी पर्यटकहरुले ध्यान गरिरहेका थिए । छुट्टाछुट्टै झुण्डमा ध्यानासिन मानिसहरूसङ्गै हामीले पनि केही समय ध्यानमा समय बितायौं । लगत्तै बाहिरिने जमर्को गर्दै थियौं । नजिकै मौर्य सम्राट अशोकले निर्माण गरेको स्तम्भ ठिङ्ग उभिएको थियो । विद्यार्थीहरु त्यतै आकर्षित भए । विश्वको एक मात्र ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलमा पुगेका उनीहरु फोटो खिच्ने तयारीमा थिए । यो स्थानमा आजभन्दा करिब २६०० वर्ष अगाडि कपिलवस्तु गणराज्यकी महारानी मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध) को जन्म भएको थियो ।




