पोखरा/काठमाडौंका रैथाने नेवारी टिटो नारायणगोपालले दार्जिलिङकी पेमलासँग पत्रमित्रता ग¥यो । पत्र कोर्ने बेलासम्म नारायणगोपाल ‘सेलिब्रेटी’ बनिसकेका थिए । रत्नशमशेर थापाको शब्दमा रहेको ‘स्वर्गकी रानी मायाकी खानी’,‘आँखाको भाका आँखैले’ लगायतका गीतले उनलाई गायकको परिचय दिइसकेको थियो । ती गीतहरु दार्जिलिङतिर पनि लोकप्रिय थिए ।
पेमला गीतबाटै नारायणगोपालकी ‘फ्यान बनिन् । उनले त्यो बेला काठमाडौंमा रहेका आफन्तले ‘के ल्याइदिऊँ कोसेली ?’ भनेर सोध्दा भनेकी थिइन् रे–कोसेली–सोसेली चाहिँदैन । सक्नुहुन्छ भने नारायणगोपालको ठेगाना ल्याइदिनू ।’ पेमलाले नारायणगोपालको ठेगाना पाइन् । उनलाई आफन्त पर्ने भीम मुखियाले नारायणगोपालको ठेगाना दिएका थिए ।
चिठी कोरिन् । अहिलेजस्तो एसएमएस वा भिडियो कलको जमाना थिएन । नारायणगोपाल दार्जिलिङबाट आउने पेमलाको चिठी कुर्थे । उत्तर लेख्थे । प्रेम झांगियो । नारायणगोपाल पेमला भेट्न मितज्यू गोपाल योञ्जन,मित्र नगेन्द्र थापा र कर्म योञ्जनसहित दार्जिलिङ पुगे । नारायणगोपालको फोटोसमेत नदेखेकी पेमलाले नगेन्द्र थापालाई नै नारायणगोपाल बनाइछन् । त्यो थाहा पाएर नगेन्द्रले नै ‘ऊ नारान’भन्दै नारायणगोपाललाई चिनाइदिएछन् । नारायणगोपालले त्यो बेला पेमलालाई ‘चिनारी हाम्रो धेरै पुरानो’ गीत सुनाएका थिए रे ! पेमला आफ्नो गाउँ सुखियापोखरीकै स्कूल पढाउँथिन् । विहे हुने भयो । पैसा थिएन । नगेन्द्रले नै विहेको खर्च जुटाइदिए । २०२७साल फागुनमा उनीहरुको विहे भयो । तर, पिता आशागोपालले अन्तरजातीय विहे स्वीकारेनन् । नयाँ दुलही लिएर नारायणगोपाल पोखरा आइपुगे । कवि भूपी शेरचनको घरमा पाहुना बने ।
भूपी कविमात्र थिएनन्, उस्तै धनी थिए । पोखराको मोहोरियाटोलमा बडाहाकिम धन शमशेरसँग किनेको भव्य सेतोदरबार थियो । भूपीले त्यही बेला एउटा गीत लेखे । गीत यस्तो थियो–
सानै हुरीमा बैंसको सपना
सिमलको फूलझैं झरिगयो
तिमी के गयौ खुसीले पनि
मलाई आँखा तरि गयो ।
सानै हुरीमा बैंसको सपना ।
धेरै हाँसे साँच्ची नै रुनुपर्दो रहेछ
हाँसोलाई आँसुले धुनुपर्दो रहेछ ।
बिर्स भन्ने निष्ठुरी बिर्सुं कसरी ?
पहिले यहाँ टाढाटाढा हुनुपर्दो रहेछ
सानै हुरीमा बैंसको सपना ।
वेदनाले ओठ निलो भइसक्यो अब त
आँखा पनि गिलोगिलो भइ सक्यो अब त
नरोऊ भन्दैमा के रुक्थे यी मेरा आँशुहरू
सारै नै सारै ढिलो भइसक्यो अब त
सानै हुरीमा बैंशको सपना
सिमलको फूलझैं झरिगयो
तिमी के गयो खुसीले पनि
मलाई आँखा तरि गयो
सानै हुरीमा बैंसको सपना
नारायणगोपालले हार्मोनियम समाए । भूपीलाई अगाडि राखेर संगीत भरे र गाए । पोखरामा रहँदा पेमलाले यहाँको नदीपुरमा रहेको रत्नराज्यलक्ष्मी कन्या स्कूलमा अंग्रेजी पढाइन् भने नारायणगोपाल स्वयंले पनि अमरसिंह स्कूलमा केही समय इतिहास पठाएको कवि तीर्थ श्रेष्ठ बताउँछन् ।
दुबैले बाँच्नको लागि स्कूल पढाउने काम गरेका थिए । पोखरामै रहँदा २०२७ साल जेठ ६ गते उनले पिता आशागोपाललाई चिठी लेखे र आफ्नो दुखेसो यसरी पोखे–
पूज्य बुबा, आमा !
यतिका दिनसम्म एक अक्ष्।र पनि नलेख्दा हजुरहरूलाई अवश्यै चिन्ता लाग्दो हो । चिठी नलेख्नाको कारण अहिलेसम्ममा थाहा पाइसक्नु भइसक्यो होला । बा ! म के गरुँ परिस्थितिवश मैले यस्तो काम गरेँ, जुन हजुरहरूलाई मन पर्दैन । यतिमात्र कहाँ हो र हजुरहरूको त मैले गर्दा इज्जत नै गएजस्तो लाग्छ । जिन्दगीमा मैले हजुरहरूलाई कहिल्यै सुख दिइनँ, अहिले आएर झन् दुःख थपिदिएको छु । यसका लागि मलाई कस्तो किन सजाय नबक्सियोस् म सहर्ष स्वीकार गर्नेछु । तर, आमाबुबाको मायाबाट मलाई वञ्चित नगरिबक्सियोस् । म दुई हात जोडी प्रार्थना गर्दछु । म जहाँ गए पनि मेरा आमाबुबालाई सम्झिरहेको छु र अन्तिम साससम्म पनि सम्झिनै रहुँला । हजुरहरूको माया, स्नेह, प्यार पाएर म यत्रो भएको, म कति भाग्यमानी छु । तर, हजुरहरूदेखि आज टाढाबस्नु पर्दा मलाई कति दुःख लागेको छ । घर सम्झँदा हृदय चिरेर आउँछ । आमा ! मैले जस्तै अपराध गरे पनि हजुरहरूको ममता पाइनँ भने मलाई साहै्र चोट लाग्नेछ । बासित मलाई डर लाग्छ । बा मलाई क्षमा गरिदिनुस्, मूर्ख बालक सम्झेर । म हजुरको पाउ पर्छु । जात नमिलेकोसित मैले विवाह गरेँ त म के भयो र हाम्रो बाबुछोराको नाता त टुटेको छैन । आमा जात नमिलेको बुहारीलाई बुहारी नमाने पनि केही छैन, तर म त तिम्रो छोरा हूँ ।
नारायणगोपाल पोखराबाट काठमाडौं फर्के । जागिरका निम्ति हेटौंडा पुगे । तर,कवि भूपी शेरचनसँगको मित्रता सधैँ अटुट रह्यो । उनी भूपीलाई टेलिफोनबाटै गीत सुनाउँथे रे । अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा गीत भूपीले लेखेका हुन् भने संगीत गोपाल योञ्जनले भरेका हुन् ।
कवि तीर्थको भनाइ मान्ने हो भने, भूपीले नै त्यो बेला नारायणगोपाललाई ‘स्वरसम्राटको उपाधि दिएका थिए रे ! यता, नारायणगोपाल पोखरामै रहँदा नगेन्द्र थापाले त्यो बेलाको धूपी पत्रिकामा ‘प्रोमिथियससको आगो : अराकनीको आगो’ शीर्षकमा एक लेख लेख्दै नारायणगोपाललाई नेपालको स्वरसम्राट घोषणा गरेका थिए ।

‘पोखराको पृथ्वीनारायण क्याम्पसमा नारायणगोपालको एकल कार्यक्रम भएको मैले सानोमा देखेको हुँ,पछि पोखरामा उहाँको दोस्रो एकल साँझ पनि आयोजना भयो,’ कवि तीर्थ भन्छन्, ‘नारायणगोपाललाई नसुन्ने कुनै नेपाली छैन । पोखराले त उहाँलाई सुन्दै आएको छ र उहाँको पोखरासँगको साइनो पनि गहिरो छ ।’
तीर्थले भनेको कुरामा सत्यता छ । गायक नारायणगोपाल जीवनको कालखण्डमा पत्रकार पनि बने । उनले बाजा, गीत र नाचलाई समेटेर बागिना भन्ने पत्रिका प्रकाशनमा ल्याए । सोही पत्रिकाको १२ औं अंकका निम्ति भूपीसँग उनले अन्तर्वार्ता लिए । अन्तर्वार्तामा नारायणगोपाल सोध्छन्–आफैंले लेखेको गीतहरूमा कुन बढी मन पर्छ ?
उत्तर : तपाईंले (नारायणगोपाल) संगीत भरी गाएको ‘सानै हुरीमा बैंसको सपना…।’
नारायण गोपालको २०४७ साल मंसिर १९ गते काठमाडौंमा भएको थियो । २०६१ सालको असार १६ गते पेमलाले पनि यो संसारबाट बिदा लिइसकेकी छन् ।
नारायणगोपालप्रति पेमलाको कति प्रेम थियो भन्नेबारे पत्रकार विजयकुमारले आफ्नो पुस्तक खुसीमा लेखेका छन् ।
उनले पेमलासँग सोधेका रहेछन् –तपाईं अफिस जानेवेला वा किनमेल गर्न आउँदा नारनदाइको सालिकछेउबाटै हिँड्नुहुन्छ । कस्तो लाग्छ, त्यसबखत ?’
पेमलाको उत्तर थियो,‘विजय भाइ । मलाई थाहा छ, त्यो ढुंगाले बनेको एउटा सालिक मात्र हो, उहाँ होइन । तर, पनि पुस–माघको जाडोमा जब म कामबाट घर फर्कन्छु, उसको सालिकनेर पुग्दा टक्क रोकिन्छु । मनमनै सोच्छु, कति जाडो भइरहेको होला बिचरालाई । उसलाई एउटा ओभरकोट लगाइदिन पाए हुन्थ्योजस्तो लाग्छ । मलाई थाहा छ त्यो ढुंगाको एउटा निर्जीव सालिक मात्र हो, ऊ होइन तर पानी परेको दिन जब म त्यो बाटो हिँड्छु, उसलाई गएर छाता ओढाइदिन मन लाग्छ ।’





