बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरो आतंक : ए ढुंगा तिमी किन बत्ताएको ?

पहिरो आतंक : ए ढुंगा तिमी किन बत्ताएको ?


  • माधव चापागाईं
  • मंसिर २२ २०८२, सोमबार

यहाँ पहिरोले वर्षौं आतंक मच्चाइ रहेछ । छिन्नभिन्न नदिको बगरझैं राता, सेता, खैरा र काला गेग्रानबीच बाटोले अस्तित्व खोजी रहेछ । छिनभरमै खोलाखोल्सामा परिणत हुने मेरो बाटोले वर्षौंदेखि अस्तित्वको लडाइ लडिरहेछ । अबुझहरु निर्दोष सडकलाई सरापी रहेछन् । बाटो आफैं अभिभावकको अभावमा निर्लज्ज छ । वर्षौं भइसक्यो उस्ले कहिल्यै सचेत नागरिक अनि नेतृत्वको साथ पाएन । उस्लाई पनि लाग्दो हो । म सबल बनुँ, सयौं यात्रुलाई यात्रा गराउँ, तर विडम्बना भनौं या दुर्भाग्य ऊ स्वयंले जीवन पाएको छैन ।

आहा ! बाटो खुल्यो ! २०÷२५ मिनेटको दुरी अब डेढ घण्टा घुम्नु पर्दैन । सहरबाट हिँडेको केही क्षणमै घर पुगिन्छ । आमालाई चिया पकाउनुस् भनेर बाइक स्टार्ट गरेपछि चिया उम्लिदा घरै पुगिन्छ । यो खुशी जनताले पटकपटक पाए । पटकपटक गुमाए । कति बर्खामा ज्यानकै जोखिम मोलेर यात्रा गरे । कति हिउँदमा धुलाम्मे सडक भित्रै खुशी खोजे । चाडबाड र हिउँद लाग्यो भनेर खुशी हुनुभन्दा पहिले गाडी आयो । मोटरसाइकल आयो, अनि परिवारका सदस्य आए भनेर खुशी हुने आमाबाबु अनगिन्ती छन् । धन्यवाद त कस्लाई भन्नू र यहिं बाटोमा वर्षौं राजनीति गरेर जिविता चलाउने नेतालाई भन्दा मौसमी प्रणालीप्रति कृतज्ञ बनौं । मुख्य कुरा त हिउँदको प्रकृतिले सतप्रतिशत मद्दत गरेको हुनुपर्छ । कालीको खोँचदेखि भैरवस्थानको शिरसम्म, काठेखोलादेखि रुद्रमतीसम्म सवारी गुडाउने र सवार हुने सर्वसाधारणको हर्ष र पीडाको कथा यहिं पहिरोको स्वामित्वमा छ । आजको अत्याधुनिक युगमा जनताको पहिलो सर्तभित्रको यो परिदृश्यले जनतामा हरेक वर्ष हर्ष र विस्मात उत्पन्न गराइरहन्छ । जनताले वर्षेनी बग्ने पहिरोका कारण यथास्थानमा आसन ग्रहण गर्नुपर्ने प्रतिकूलता सिर्जना हुन्छ । रोग लागेको मान्छे निरोगी भएर घर फर्किन पाउँदैन । सुत्केरी व्यथा लागेकी आमाले गर्भको शिशुलाई संसार देखाउन पाउदिनन् । हरेक वर्ष बर्खायाम लाग्दा नलाग्दै बन्द हुने सडकले हिउँद लाएलगत्तै पुर्ववत् स्वरुप पाउँछ । अनि सबैले बर्खे भेलका कथा र सास्ती बिर्सिन्छन् ।

देशले संघियताको गलबन्दी भिरेपछि वडा कार्यालय आसपास गरिएका कालोपत्रे सडकले जनतालाई नै गिज्याइरहेका छन् । शिक्षा, स्वास्थ्य, यातायात र खानेपानी मानिसका लागि अत्यावश्यक मानिन्छन् । हाम्रो विकासमा पानी बाहेक सबै सुविधा शहरमै सिमित छन् । सर्वसाधारण शहरबिना केही पनि कल्पना नगर्नेमा छन् । जुन केन्द्र शहर वा मुकाम छिर्न पहिरो बाधक छ । कति ठाउँका ढलानले अस्थिपन्जर उतारेको छ । ढलान र कालोपत्रे भाँसिने, पुरिने, टुक्रिने, चर्किने र अस्तित्व समाप्तीको क्रम चलिरहेकै छन् । यता एउटै पहिरोले जिल्ला सदरमुकामलाई ङिच्च दाँत देखाएर गिज्याइ रहेछ ।

एक दिन होइन दुई दिन होइन । पटकपटक पहिरो खुल्ने र बन्द हुने क्रम चलिरहन्छ । खाद्यान्न बोकेका गाडी हुनकी एम्बुलेन्सको साइरन घन्किएको गाडी होस् । औषधि बोकेको गाडीले हर्न बजाओस् कि दूध र तरकारीको गन्ध नै फिजिओस् । पहिरोले सुन्दैन । मलामी हुन या जन्ती रोकिउन्, पर्खिउन् या पहिरोबाट तर्किउन् आखिर प्रकृतिलाई के मतलब ? मतलब त तिनलाई हुनुपर्छ जसले वर्षौंदेखि पहिरोको नाममा भोट किने, अधिकारका नाममा प्रकृतिमाथी धाबा बोले । जस्ले वर्षौंदेखि यहि पहिरोलाई लिएर कहिले अध्ययन, कहिले अवलोकन त कहिले अनुगमन भनेर रमिते बने ।

दोष प्रकृतिलाई दिउँ । ए ! जमिन किन बग्छस् ? तँ किन यति हलुका भइस् ? अझै ए ! ढुङ्गा तँ किन बत्ताएको ? तेत्रो हेमानको गण्डकीले तँलाई के ठाउँ दिन्छ र जान्छस् ए तलतिर, नजाओ न ए ढुङ्गा, माटा र वृक्ष वनस्पति हाम्रो रक्षा तिमी उपर कसैले गरेनन्, खन्छन् । खनिरहन्छन्, तिमी जत्ती बग्छौ भनौं या कमजोर बन्छौ नि उति नै तिमी माथी अश्त्र चलाउँछन, तिम्रै नाममा राजनीति गर्छन् । तिम्रै नाम बेचेर यी शासकहरुले घर महल बनाए, आफन्त इष्टमित्रलाई माथी माथी पु¥याए । तिमी किन सधैं तल तल बग्छ्यौ ? त्यसैले हे प्रकृति ! तिमी शान्त बन । तिमी शालीन र समझदार बनिनौं भने सानो ठूलो वर्षाले तिम्रो स्वरुप बिगार्छ । अनि हाम्रो पैतालाको भरोसा तिमी र हामी सबैका खुशीहरू नदि किनारमै पुग्छन् । अनि हाम्रा र तिम्रा दुःख र खुशीका कुरा उस्तै उस्तै हुन्छन् ।

नेपाली सडकको मापदण्ड पनि कस्तो कस्तो – कहि ढलान, कहिँ पिच, कहिँ हिलाम्मे सडक त कहिँ अवरुद्ध सडक त्यसमा पनि मुख्य सडकको नाकामा अवरुद्ध हुँदाहुँदै वडा कार्यालय आसपास गरिएको कालोपत्रे सडक जनताको सौभाग्य या दुर्भाग्य बुझ्नै सकिएन । पहिरो जान्छ । सडक भासिन्छ । पुरिन्छ या स्वरुप नै परिवर्तन हुन्छ । यसमा निर्जीव सडकको के दोष ? दोष त तिनीहरुको हो जतिबेला सडकले प्रारम्भिक क्षति व्यहोर्यो त्यतिबेला सडकप्रति हेल्चक्र्याइ गर्ने शासकदेखि यहि सडक र पहिरोलाई पटकपटक बिर्सिएर जनताको करमा चोचोमोचो जोर्नेहरुको हो । पहिरोकै राजनीतिले सत्तारोहणको यात्रा तय गर्नेहरूको हो । यहाँ निकासभन्दा बाहिरी चरित्रमा रमाउनेहरुले वर्षौं निरिक्षण गरे । संघिय सांसद, मन्त्रीदेखि प्रदेश सांसद, मन्त्री र मुख्यमन्त्रीसम्मको टोलिले वर्षौंदेखि अध्ययन गरेकै हुन् । परन्तु पहिरोको समस्या ज्युँकात्युँ छ । जनता घाम लाग्दा खुशी हुन्छन् पानी पर्दा दुखी, बर्खामा खेत पटपटी फुटोस् । रोपेको धान सुकोस्, धारोमा पानी आओस् नआओस् चाहे पानीको मुहान सुकोस् । परन्तु आकाशबाट पानी नपरोस् । पानी नपरे खेत चर्किन्छ । धान सुक्छ । पानीको मुहान सुक्छ तर पानी पर्यो भने पैदल यात्री, मोटरसाइकल र गाडीहरु बग्छन्, पुरिन्छन् या नुन तेलको जोहो गर्न सदरमुकाम निस्किएका गाउँलेहरु बग्छन् । त्यसैले पानी नपर भन्ने अवस्था कस्ले बुझ्छ ? यहाँ चुनाव हुन्छ । नेताहरू घरघरमा आउँछन् । नमस्कार गर्छन् । ढोग गर्छन् । सडक, बत्ती, अस्पताल र खानेपानीका आश्वासन बाँड्छन् र फर्किन्छन् । जब उनीहरु चुनाव जितेर शहर पुग्छन् । अनि पानी पर्छ, सङ्गसङ्गै पहिरो पनि चल्छ । त्यसपछि नेताको गाडी चल्दैन । जनताले देखेका र देखाइएका सपनाहरु शहरमै अड्किन्छन् । जनता कहिले औधी खुशी हुन्छन् त कहिले विस्मातमा पर्छन् ।

वर्षौको प्रतीक्षापछि सडकले कालोपत्रे पायो । पिच गरेको पहिलो वर्षमै पहिरो गयो । अस्थायी बाटो जोडियो । त्यही पहिरोले हरेक समय सानोठुलो वर्षा सहिरह्र्यो । निरन्तर सडक अबरुद्ध भईरहँदा मुकाममै यात्रुहरु अलपत्र परे । पहिरोकै कारण समथर भू–भागमा जोडिएका स–साना बाटाहरुमा काउली प¥यो । खनिएका नाली पुरिए । सडक संजालकै कारण कृषियोग्य जमिन बगरमा परिणत भयो । दोष बर्खे झरी र बाढीको मात्र होइन । पुर्वाधार निर्माण गरेर संरक्षण नगर्ने उल्टै निर्मिमेष हेरिरहने सत्ताधारी शासकको पनि होला ।

भत्किएको ठाउँमा टाल्नु, दबेको ठाउँमा उकास्नु जस्तो सजिलो बगेको ठाउँमा हुँदैन परन्तु यहाँ पहिरोमा पूनः नयाँ ट्याक नै खोलेर लाखौं खर्च गरिदै आइएको छ । बाटो खुल्नु, खुलाउनु सह्रानिय कार्य हो । परन्तु यसरी बर्सेनि पहिरोमा हिउँदे बाटो खुलाउनु दीर्घकालीन समाधान अवस्य होइन । कुनै निकासबिना बर्सेनि डोजर चलाउँदा संकट त आउँछ नै, अब त अत्ति भो । समयमै सचेत बनौं । पहिरो माथिको राजनीति रोकौं । पहिरो आतंकलाई थप प्रेरणा नदिउँ । पहिरोसंगै सर्वसाधारणको जीवन नबगाउँ । यो आतंकित कथा बानपा १० दब्ल्याङको मात्र नभएर बागलुङको समग्र दक्षिणी भेगको जीवन यथार्थ भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->