बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिजोको पोखरा : भोलिको पोखरा

हिजोको पोखरा : भोलिको पोखरा


  • आनन्दराज मुल्मी
  • मंसिर २५ २०८२, बिहिबार

पोखरा अझै सुन्दर र रमणीय छ । हिजो पनि उत्तरबाट चहक प्रदान गर्ने माछापुच्छे«लगायतका हिमश्रृंखलाले पोखरालाई चित्ताकर्षक बनाउँदै आएको थियो । अझ १२ औं शताब्दीमा आएको अहिलेसम्मको ठूलो भूकम्पले हिमश्रृंखलालाई नष्ट नगरिदिएको भए पोखरा कति मनमोहक हुन्थ्यो होला ! भूगोलको रूपमा रहेको उपत्यका वरिपरिका डाँडा र चुचुरोहरू, सराङकोट, मेथलाङहुँदै पुम्दी–भुम्दीभन्दा परसम्मका हरियाया डाँडाहरु हिजोझैं आज पनि उत्तिकै सुन्दर छन् । भद्रकाली मन्दिर रहेको थुम्को त्यसपछाडि देखिने कन्दनीडाँडा, बरालडाँडाहुँदै काहुँडाँडाको आफ्नै पहिचान छ र त्योभित्रको चापापानीडाँडा, जयकोट जंगलले थप सुन्दरता प्रदान गरेकै छ । उत्तरतर्फ भलामडाँडाहुँदै अर्मलाडाँडा, कालमोहराको डाँडा र जंगलबाट धितालहुँदै घार्मीडाँडा हेम्जाकोट, नागडाँडा र याम्दीथुम्को, चान्दी थुम्कोबाट मिरुवाहुँदै चिसाखोला डाँडाले घेरिएको पोखरा उपत्यका आज जस्तो घना बस्ती बन्न झन्डै २७५ वर्ष लागेको इतिहास छ ।

घले राजाहरूले शासन गरेको त्यसपछि मिचाखाँले जितेर आफ्ना छोरा जगाती खाँ (पछि कुलमण्डन शाह रूपमा स्थापित नाम र पृथ्वीनारायण शाहका पूर्व) लाई राजा बनाएर दिइएको ‘कास्की’ को प्रमुख केन्द्र पोखरा नै रह्यो । अहिले नेपालको दोश्रो ठूलो सहर, सबैभन्दा ठुलो महानगरपालिकाको रूपमा पहिचान भएता पनि १९७० साल अगाडी खासै यसको नाम परिचित थिएन । त्योभन्दा बढी प्रचलित नाम कास्की कै थियो । किनभने जंगबहादुर कुँवर आफूलाई नेपालको शासकको रूपमा स्थापित गरेपछि कास्कीको श्री ३ महाराज जंगबहादुर राणा भनेर घोषणा गरेका थिए पछि लमजुङ पनि जोडेका थिए ।

विसं १९७० मा कास्कीको हर्ताकर्ताको रुपमा बबरशमशेर (हाल काठमाण्डौंस्थित बबरमहल र यसले ओगटेको सयौं रोपनीका मालिक) पोखरा आए र पोखराको खानेपानीको व्यवस्थित बनाउन पानीपोखरी निर्माण गरी पाइपलाइन बिस्तार गरी १३ वटा सार्वजनिक धारामार्फत् पोखरामा बसोबास गर्नेहरुलाई पानीको सुव्यवस्था गरिदिएका थिए । यो काठमाडौं उपत्यकापछिको पहिलो पानी वितरण प्रणाली थियो । त्यसैले यो देशभर नै चर्चाको विषय बन्न पुगेको थियो । पोखराको चर्चा सुरु हुने काम यहीँबाट भएको थियो ।

त्योभन्दा अगाडी वि.सं १९५६ मा ख्यातिप्राप्त विद्वान जापानी बौद्धगुरु कावागुची तिब्बत जाने क्रममा काठमाडौंबाट पोखरा आइ दुई दिन बसेको र आफ्नो पुस्तकमा पोखराको सुन्दरता वर्णन गर्नुभएको थियो । उहाँले लेख्नु भएको किताब प्रकाशन भएपछि अन्य मुलुकका र नेपालीले पनि पोखराबारे थप जानकारी पाएका थिए । विसं १९८५ मा पहिलोपटक भारतका एक बौद्धगुरु महापद पोखरा आइ हाल नारायणस्थानमा रहेको बौद्ध विहार (जुन विसं १९७० मा श्री वन्त गुभाजूले निर्माण गरिदिएका थिए ।) मा बौद्ध प्रवचन गरिरहँदा त्यसबाट प्रभावित २ जना युवती भिक्षु बन्ने मनसुवासहित महापदसँगै कुशीनगर गएका थिए । केही समयपछि भिक्षु अनागरिका धर्मशिलाको रूपमा पोखरा फर्केर बसोबास र बौद्धशिक्षा प्रचार गर्न कायस्थ परिवारका एक शुभेच्छुकले १९९२ मा नदीपुरमा बौद्ध विहारको निर्माण गरिदिएका थिए । आज त्यसै ठाउँमा पुरानो सुन्दर कलात्मक बौद्ध विहार भत्काइ नयाँ निर्माणको चरणमा रहेको छ । पुरानो बौद्ध विहारमा अनागरिक धर्मशालाले महिला सशक्तीकरणका लागी महिला शिक्षा, दलित उत्थानको लागि शिक्षा र सहज पहुँच र राणा विरुद्धको आन्दोलन सशक्त बनाउन भेला÷बैठक÷आश्रय स्थल बनाउन ठूलो योगदान पु¥याउनुभएको विषय नेपालका अन्य ठाउँमा चर्चित बनेको थियो र पोखराको पहिचान बनाउन सघाउ पु¥याएको थियो ।

अहिलेको परिवेशमा उहाँजस्तो कार्य अन्य भिक्षु, भन्ते, अनागरिकले गरेको पाइँदैन÷ गर्नसकेका छैनन् । त्यसपछि पोखरा एकाएक चर्चामा आयो । २००६ फागुन चैतमा अब नेपालकै सबैभन्दा ठूलो आगलागी काण्डले झन्डै झन्डै पोखरा बजारमा रहेका अधिकांश घरहरु जलेर ध्वस्त भए । कैंयनको हताहति हुनपुग्यो । विन्ध्यवासिनी परिसरमा ब्राह्मण बन्धुहरुले सुरु गरेको यज्ञबाट उठेको आगोको लप्काले बजार नै सखाप हुन पुगेको थियो । त्यस आगलागीबाट बाँचेकामध्ये यो पंक्तिकार पनि एकजना हो । जसलाई आफ्ना बज्यैले एक महिनाको सुत्केरी आमासहित, एकमहिने बालकलाई साथ लिएर नदीपुर (हाल कन्या स्कूल, कन्या क्याम्पस जाने डहर हुँदै खुला ठाउँमा) पु¥याउनुभएको थियो । धन्न हाम्रो घर आगलागी हुनबाट सुरक्षित रहन गएको कुरा पिताजी स्व.प्रेमराज मुल्मीले बारम्बार उल्लेख गर्नुहुन्थ्यो । उक्त आगलागीबाट भएको नोक्सानी क्षतिपूर्तिको लागि काठमाडौंबाट टोली आइ मूल्याकंन गरी क्षतिपूर्ति तत्कालै वितरण गरिएको थियो र सो नोक्सानी आँकलन र क्षतिपूर्ति वितरण गर्न प्रतिष्ठित व्यक्तिमध्येबाट स्व. पिताजी प्रेमराज मुल्मीलाई खटाइ सहजीकरण÷मध्यस्थता गरेको उहाँका समकालीनहरुले पछिसम्म सम्झना राख्ने गर्दथे । सम्भवतः सबैभन्दा धेरै क्षतिपूर्ति (९० सालको भूकम्पपछि) छिटो पोखरेली जनताले प्राप्त गरेका हुनाले नेपालमा चर्चित बनेको थियो ।

२००८ असोजमा पोखरामा रहेको घारीपाटन फाँटमा पहिलोपटक डकोटा हवाइजहाज ओर्लेर एउटा नयाँ इतिहास सुरु गरेको थियो । त्यो घारीपाटन फाँटको खयर वारी, डाँडाहरु पोखराका व्यापारीहरु, स्थानीयवासीहरुले कैंयन दिनसम्म श्रमदान गरी फाँडेर ओर्लनयोग्य जमिन तयार पारेका थिए र यसलाई सघाउन त्यसयताका मिलिटरी जवानहरुले पनि ठूलो सघाउ पु¥याएका थिए । बेलाबखत जहाज आउने भए पनि नियमित हवाइ उडान २०१३ अन्तिमबाट सुरु भएको थियो । सिमरा, काठमाडौंपछि पोखरा हवाइजहाज माध्यमबाट आउने–जाने सहरको रूपमा ख्याति पाएको थियो । काठमाडौं राजधानी आउन–जान १३÷१४ दिन लाग्ने गरेकोमा ४०÷४५ मिनेटमा पोखरा आइपुग्न सहज बनाएको थियो । त्यसपछि पोखराबाट देखिने हिमश्रृंखलाहरू, नदेखिने तर पोखरा बाटो भएर जानुपर्ने हिमाल आरोहण गर्न ठूलो संख्यामा पर्वतारोहीहरुको आउजाउ सुरु भएको थियो । यो पर्वतारोहण क्रम वृद्धि गर्न फ्रेन्च पर्वतारोही मौरिस हर्जोगले महत्वपूर्ण भूमिका निभाएका थिए । अन्नपूर्ण शिखर आरोहणपश्चात २÷४ दिन पोखरा बसेको र आरोहणको वर्णनसहितको उनको पुस्तकले पोखरा अनि नेपालको प्रचारमा अतुलनीय योगदान गरेको थियो÷गरिरहेको छ । पोखरा गधा–खच्चर र घोडाको आवतजावतको लागि पनि प्रख्यात थियो । त्यसताताका मोटर गुड्ने सडक थिएन, अनि सबै किसिमको सामानहरु सबै ठाउँमा पु¥याउन यी जनावरहरूको प्रयोग गर्नुपर्ने हुन्थ्यो । मानिसहरु पनि सहायक हुन्थे । । स्वीस भूगोलअध्येता टोनी हेगन जसले नेपालको सम्पूर्ण भूभागलाई आफै पुगेर, हेरेर, अध्ययन गरेर नेपालको जनजीवन, नदीनाला, तालतलैयाहरु, डाँडा, समथर भूभाग, वनस्पति र जंगल जनावरबारेको खोजपूर्ण अनुपम उपहार दिएका थिए जुन आज पनि सान्दर्भिक छ । तिनै टोनी हेगनले पोखरा र यसको सेरोफेरोबारे सचित्र विस्तृत विवरण दिएपछि विश्वमा पोखराको पहिचान झन सशक्त बनेको थियो । २०१४–२०१५ सालमा भ्रमण गरेका टोनी हेगनको पुस्तक २०१६–२०१७ मा प्रकाशित भएको थियो ।

आजको हिजोभन्दा नितान्त फरक छ । फेवातालका पानी खानेपानीको श्रोत थियो । पानीमुनि वस्तु देखिने फेवाताल थियो । किनारमा रहेको जमिनमा खेती हुन्थ्यो । २०१५ सालमा त्यसयताका राजा महेन्द्रले ठूलो फाँट भएको किनार आफूले लिइ घर बनाउन सुरू गरेका थिए र सो घरको नामाकरण आफ्नी श्रीमती रत्नको नाममा रत्नमन्दिर नामाकरण गरे जुन अहिले नेपाल ट्रस्टको अधिनमा छ । आफूले सो जग्गा लिएपछि आफ्ना भाइ हिमालयको लागी अर्को नजिकैको जग्गा लिए र हिमागृह बनाए । कान्छो भाइ बसुन्धराको लागि ताल पारी जंगलबीचको जग्गा लिए कालान्तरमा सो फिस्टेल लजको नाममा एसियाको पहिलो रिसोर्टमा दर्ज भयो । रिसोर्ट निर्माण गर्न स्विस नागरिकले सघाएका थिए । त्यही रत्नमन्दिर नेपाल भ्रमणमा आएका चीनको प्रधानमन्त्री चाउ एनलाइलाई ३÷४ घण्टा आराम, डुंगा शयर गर्न र खाना खाने ठाउँको रूपमा उपयोग भयो । २०१७ वैशाख महिनामा भएको यो भ्रमण पहिलो निर्वाचित सरकारको प्रधानमन्त्री विश्‍वेश्‍वरप्रसाद कोइरालाको निम्तोमा भएकोले पोखरा भ्रमणमा उहाँ सँगसँगै हुनुहुन्थ्यो । यो विश्वमा उल्लेखनीय समाचार बनेको थियो । २०१७ पुस १ गते ९ महिनापछि निर्वाचित सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरी पञ्चायत व्यवस्थाको नाममा शासन सञ्चालन भएको थियो । २०१७ फागुनमा राजा महेन्द्रको निम्तोमा नेपाल आएकी बेलायतकी रानी एलिजावेथ द्वितीया पनि ४ घण्टा पोखरा भ्रमण गरेर रत्नमन्दिरमै बसेकी थिइन् । यी दुवै चीन र बेलायतका महत्वपूर्ण व्यक्तिहरुको पोखरा भ्रमणले विश्वमा पोखरा कहाँ पर्छ भन्ने उत्सुकता जगाएको त्यसयताका प्रकाशित समाचार पत्रहरूमा उल्लेख भएको पाइन्छ । पोखरामा क्रमशः विदेशीहरु आउने क्रम सुरू भएको थियो । विस. २०१७ सालमा चीनले नेपालको उत्तरी छिमेकी तिब्बतलाई आफ्नो मातहतमा लिँदा धर्मगुरु दलाई लामा भागेर भारत पुग्दा तिब्बतका लडाकु जाति खम्पालगायत तिब्बती नागरिकहरु शरणार्थीको रूपमा नेपाल पस्ने क्रममा सबैभन्दा धेरै तिब्बतीहरु मुस्ताङको कोरला नाकाबाट आइ मुस्ताङको विभिन्न गाउँहरूमा, ढोरपाटन क्षेत्र अनि पोखरामा बसेका थिए । तिनीहरू लाइ व्यवस्थित बसोवास गर्न हेम्जा, सिमलचौर, छोरेपाटन अनि दुलेगौंडा पारिपट्टि शरणार्थी क्याम्प बनाइ बसोबास गराइएको थियो । यस कार्यमा स्वीस रेडक्रसले अगुवाइ गर्दा अमेरिकालगायत पश्चिम देशले सहयोग गरेका थिए । विश्वको महत्वपूर्ण खबर पोखरामा तिब्बती शरणार्थीको ओइरो, खम्पा विद्रोहीहरु चीनविरुद्ध लडाइ शुरू, पश्चिम मुलुकले हातहतियार लगायत सैन्य सहयोग तिब्बत प्रवेश गरेको तथा कम्युनिष्ट पार्टीको चीन सरकार नेपालका भूभाग प्रवेश गर्न नपाओस् भन्नेमा केन्द्रीत रहन्थ्यो । र, पोखरा ती वर्षहरुमा निकै चर्चाको केन्द्र, धेरै विदेशीहरु अनुहार देखिने, स–साना जहाज उडिरहने, गधा–खच्चरहरूले सामान निरन्तर बोकीरहने सहरको रुपमा रहेको थियो । नेपाली सैनिकहरु पनि ठूलो संख्यामा पोखराको बाटोहुँदै मुस्ताङ जाने क्रम बढेको थियो (त्यसयताका मुस्ताङ सीमाना पुग्न ८÷९ दिनको समय लाग्थ्यो ।)

२०१९ सालमा पोखरालाई भारतको सीमाना सहर सुनौली जोड्ने गरी भारत सरकारले नै राजमार्ग निर्माण गर्ने खबरले खुसीको माहोल बनेको थियो । त्यो भन्दा अगाडी फेवातालमा बाँध बनाएर सिँचाइको लागि नहर निर्माण, बिजुली निकाल्ने पावरहाउस बनाउने एकीकृत काम थालिसकेको थियो र भारतीय सेनामा काम गरेकाहरुलाई पेन्सन बाँड्न पोखरामा क्याम्प राखेर सुविधा दिन सुरु गरेका थिए । यो सबै पोखराको आर्थिक चहलपहल बढाउन, विकासका काम अगाडी बढाउन सहायक सिद्ध हुने भएकोले सबैको ध्यान केन्द्रीत थियो । पोखराले एउटा गति लिन सुरु गरेको थियो ।

२०२७ सालमा राजा महेन्द्रले पोखरालाई काठमाडौंसँग जोड्न राजमार्ग निर्माण गर्ने सम्झौता गरेको केही समय पछि देहान्त भयो । छोरा वीरेन्द्र नयाँ राजा बने । युवराज वीरेन्द्र हुनेताका वेलायतका राजकुमार चाल्र्ससँगै छोटो दूरीको पदयात्रा गर्न पोखरा लाइ रोजेपछि सँगै पदयात्रा गर्न वीरेन्द्र र चाल्र्सले भ्रमण गरेपछि पोखरा पुनः एकपटक विश्वमा चर्चित बन्यो । पदयात्राको लागि पोखरालाई प्रसिद्धि दिलायो, जुन आजसम्म कायम छ । यो कार्य गर्न गराउन बेलायती अवकाशप्राप्त कर्नेल रोवर्टले खोलेको माउन्टेन ट्राभल कम्पनीमार्फत् गरेका थिए ।

खर्ट ले सो कम्पनी नागढुंगा पोखरा हवाइअड्डा अगाडी कार्यालय खोलेर यस क्षेत्रको पदयात्राबारे जानकारी, चराचुरुंगीहरु देखाउनेदेखि पहाडी क्षेत्रको छोटो र लामो दूरीको पदयात्रा व्यवस्थापन गरेका थिए र खासगरी बेगनासताल र रूपाताल क्षेत्रको व्यापक प्रवद्र्धन गर्न ठूलो योगदान पु¥याएका थिए ।

राजा वीरेन्द्रको राज्यभिषेकको अवसरमा मुलुकको आर्थिक प्रगति छिटो र सन्तुलित गर्न सक्ने उद्देश्यले ५ वटा विकास क्षेत्रको घोषणा गरे । पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा रहने गरी उत्तरी चीन छुने मुस्ताङ, मनाङ, गोरखादेखि दक्षिण भारत छुने नवलपरासी, रुपन्देही, कपिलवस्तुसहित १६ जिल्लाको एउटा विकास क्षेत्र (क्लस्टर) स्थापित भयो । एउटा नयाँ उत्साह, आशा र भरोसा सृजना भयो । पोखरालाई विकास केन्द्र कायम गरी उत्तर मुस्ताङ पुग्ने, पश्चिम सुर्खेत पुग्ने – दक्षिण नवलपरासी पुग्ने, पूर्व गोरखा हुँदै धादिङ पुग्ने सडक निर्माण योजना बन्यो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, पोखरा सेतीनदी उपयोग गरी सिंचाइ र बिजुली निकाल्ने, पोखरालाई व्यवस्थित शहर बनाउन गुरुयोजना तयार गर्ने, ऋण सहयोग लिइ इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्जिनियरिङ कलेज, वनविज्ञान अन्तर्गत वन अधिकृत रेन्जर तयार गर्ने संस्था खडा गर्ने, विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने, क्षेत्रिय अस्पताल निर्माण गरी सबैखाले विषेशज्ञ सेवा दिनसक्ने नर्सहरू तयार गर्न नर्सिङ कलेज आदी कामहरू गर्न बनेको योजनाले पोखराको स्वरूप र मुहार परिवर्तन हुन सक्थ्यो । विभिन्न कारणले ती सबै काम सुरु हुन सकेननन्, कति अपुरो रहन गयो । त्यसपछि २०४६–०४७ को राजनीतिक परिवर्तन भयो । व्यवस्था परिवर्तन भएसँगै पोखरालाई अझ सशक्त अनुहार पहिचान दिलाउन केही प्रयासको थालनी भए ।

१. पोखरा उपत्यकालाई एकआपसमा जोड्न,सहरलाई अझ फराकिलो र व्यवस्थित बनाउन चक्रपथ आयोजना सुरु गर्ने ।
२. पोखरालाई अन्तर्राष्ट्रिय स्वरूप दिन र आर्थिक गतिबिधि बढाउन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सुचारु गर्ने ।
३. पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक केन्द्र निर्माण गरी पर्यटन क्षेत्रलाई अझ परिस्कृत र विस्तृत गर्ने ।
४. पोखरामा विश्वविद्यालय स्थापना गरी आवश्यक जनशक्ति तयार गर्ने साथै औद्योगिक अध्ययन संस्थान क्ष्लकतष्तगतभ या त्भजलययिनथ स्थापना गर्ने
५. पोखरा वरपर वृहत औद्योगिक क्षेत्र साथै सुख्खा बन्दरगाहसहित अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र स्थापना गर्ने ।
६. पोखराका सबै तालहरूको वातावरणीय संरक्षण गर्दै व्यावसायिक उपयोग गर्ने काम सुरू गर्ने ।
७. छुट्याइएको जग्गाहरूमा व्यवस्थित बस टर्मिनलसहित बसपार्कहरूको निर्माण गर्ने ।
८. सार्वजनिक यातयात प्रणाली प्रभावकारी बनाउन उत्तर–दक्षिण, पूर्व–पश्चिम आकाशे रोपवे मार्ग योजना सुरु गर्ने ।
९. व्यवस्थित हुन नसकेको पोखरालाई विस्तृतिकरण गर्न ४ दिशामा उपसहर निर्माण गर्न एकीकृत जग्गा विकास कार्यक्रम लागू गर्ने ।
१०. सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन हरियाली, रमणीय, प्रदुषणमुक्त बनाउन बगैँचा, पार्क हरित क्षेत्र निर्माण गर्ने ।
उपरोक्त सबै पोखराको दूरगामी भविष्यसँग सम्बन्धित बहुवर्षीय कार्यक्रमहरु थिए । यीमध्य कति हुन सके, कति हुन सकेनन् । नसक्नुका कारण को भाग २ मा चर्चा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->